विकासन्युज

भारतीय आइटी कम्पनी इन्फोसिसको राजस्व वृद्धि अपेक्षाभन्दा कम

काठमाडौं । भारतको सूचना प्रविधि (आइटी) कम्पनी इन्फोसिसले बिहीबार मार्चमा समाप्त हुने त्रैमासिकका लागि अपेक्षाभन्दा कम राजस्व वृद्धि भएको बताएको छ । कम्पनीले अमेरिकामा ग्राहक खर्चमा देखिएको सुस्तताले सफ्टवेयर सेवा उद्योगका लागि सुधारको अपेक्षालाई प्रभावित गरेको जनाएको छ । बेङ्गलुरु प्रधान कार्यालय रहेको कम्पनी गत वर्ष कोभिड–प्रेरित वृद्धिपछि लडखडाएको छ । कम्पनीले आफ्नो आम्दानीको ८० प्रतिशतभन्दा बढी पश्चिमी बजारहरूबाट कमाउँछ । उच्च ब्याजदर र मुद्रास्फीतिले विश्वव्यापी कम्पनीहरूको प्राविधिक खर्चमा असर पुर्याउँदा थोरै मात्र सम्झौता भएका छन् भने भारतीय सफ्टवेयर आउटसोर्सिङ क्षेत्रको विद्यमान करार पत्रहरू रद्द भएका छन् । इन्फोसिसले त्रैमासिकका लागि ४ अर्ब ५४ करोड अमेरिकी डलर आम्दानी भएको बताएको छ । यो गत आर्थिक वर्षको समान अवधिको तुलनामा एक दशमलव तीन प्रतिशतले बढी हो । कम्पनीको खुद मुनाफा ३० प्रतिशतले बढेर ९५ करोड ४० लाख डलर पुगेको छ तर अन्य आम्दानीमा भएको वृद्धिले यसलाई सहयोग गरेको छ । इन्फोसिसका प्रमुख कार्यकारी सलिल पारेखले समष्टिगत परिदृश्यमा ‘मिश्रित दृष्टिकोण’ रहेको बताए । ‘तपाईंले देखेजस्तै अमेरिकामा हाम्रो दृष्टिकोण सुस्त थियो भन्ने मलाई लागेको छ,’ उनले भने । कम्पनीको सबैभन्दा ठूलो बजार उत्तरी अमेरिकी व्यापारबाट आम्दानीमा दुई दशमलव एक प्रतिशतले कमी आएको छ । ‘लागत, दक्षता र ठूला सम्झौताहरूको एकीकृत प्रकृतिसँग राम्रो प्रवृत्ति छ तर डिजिटल कार्यक्रम वा कुनै विवेकपूर्ण काम अझै पनि हामीले देखिरहेका कामहरूमा देखिरहेका छैनौँ ।’ इन्फोसिसले आगामी १२ महिनाका लागि सुस्त बिक्री वृद्धिको अनुमान गरेको छ । कम्पनीले स्थिर मुद्राका आधारमा आम्दानी एकदेखि तीन प्रतिशतको बीचमा बढ्ने अनुमान गरेको छ । बिहीबार मुम्बईमा कारोबारको अन्त्यमा इन्फोसिसको सेयर एक दशमलव शून्य छ प्रतिशतले बढेर बन्द भएको छ । एजेन्सी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ८ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा ८ प्रतिशत बढेर ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ११ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । चैतसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.८० रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.२१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १७२.५७ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खरा कर्जा बढेर ४.६६ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा ३.९४ प्रतिशत खराब कर्जा थियो । साथै, बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँ ऋणात्मक छ ।

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना छ । आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार कोशी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्नेछ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भारतबाट आएको जहाजमा एक किलो सुन बेवारिसे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट टभ्ज्ञज्ञछज्ञको इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । उनले भने, ‘बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरू दुई, सिक्री जोड्ने स-साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल १ किलो ७० ग्राम रहेको छ ।’

सानिमा बैंकको वितरणयोग्य नाफा ७.९५ प्रतिशत, खराब कर्जा घटायो

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा वितरणयोग्य नाफा ७.९५ प्रतिशत रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैतसम्म वितरणयोग्य नाफा ७५ करोड ६८ लाख २२ हजार रुपैयाँ रहेको छ । ९ महिनाको अवधिमा बैंकको खुद नाफा १६.१७ प्रतिशत बढेर १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ९४ करोड रुपैयाँ, सञ्चालन नाफा २ अर्ब ६ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ र जगेडा कोष ५ अर्ब ६५ करोड रुपैयाँ छ । साथै, बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.२७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४७.२४ रुपैयाँ छ । बैंकले यस अवधिमा खराब कर्जा पनि घटाएको छ । गत वर्षको चैतमा २.२७ प्रतिशत खराब कर्जा रहेकोमा यस वर्ष घटाएर १.८९ प्रतिशतमा झारेको छ ।

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालय, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा मावि र धवलागिरि गाउँपालिका–४ मुदीको बुद्धिविकास माविमा २०÷२० वटा कम्प्युटरको व्यवस्थापन गरेर कम्प्युटर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । क्वालिटी एजुकेसन नेपाल, अष्टे«लिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) ले संयोजन गरेर १५÷१५ लाख रुपैयाँ लागतमा उक्त आधुनिक कम्प्युटर प्रयोगशला स्थापना गरिएको छ । तीनवटा विद्यालयमा सर्भर सिस्टमबाट चल्ने २० वटा कम्प्युटर जडान गरिएको लर्नका निर्देशक कृष्ण तिलिजाले जानकारी दिए । उनका अनुसार, आधुनिक कम्प्युटर ल्याबका रुपमा स्थापना गरिएको कम्प्युटर कक्षलाई डिजिटल साक्षरताका रूपमा विकास गर्न उपयोग गरिनेछ । तीनवटै विद्यालयमा फर्निचरलगायत व्यवस्थापनमा विद्यालयले करिब तीनदेखि चार लाख रुपैयाँ खर्च जुटाएको र कम्प्युटर, इन्भटर, सर्भरलगायतको खरिदमा दुईवटा संस्थाले १०÷१० लाख रुपैयाँ बढी लगानी गरेको लर्नका निर्देशक तिलिजाले बताए । बुधबार क्वालिटी एजुकेसन नेपाल, अष्ट्रेलियाका अध्यक्ष पिटर जेटी हलले प्रभा मावि र ज्ञानोदय माविको कम्प्युटर ल्याब सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन् । प्रयोगशाला हस्तान्तरण गर्दै अध्यक्ष हलले नेपालमा शिक्षण सिकाइमा आधुनिक प्रविधिको उपयोगका लागि एक हजार सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्ने लक्ष्य रहेको जनाउँदै हालसम्म करिब दुई सय ५० वटा विद्यालयमा यस परियोजनालाई उपयोगमा ल्याइसकिएको जानकारी दिए । कक्षा ६ देखि १० सम्म नै कम्प्युटर विषयको पठनपाठन गराउँदै आएका सामुदायिक विद्यालयहरूले कम्प्युटरको अभावमा प्रयोगात्मक अभ्यासरहित तरिकाले पाठ्यपुस्तक मात्रै पठनपाठन गर्नुपर्ने बाध्यता रहेको थियो । विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्याससहित कम्प्युटर विषयको पठनपाठन गराउन सहज हुने ज्ञानोदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताए । ‘विद्यालयका कम्प्युटर पुराना भएर बिग्रिएपछि विद्यार्थीहरूले अभ्यास गर्न पाएका थिएनन्, हामीले कम्प्युटर बनाउन हैरानी खेप्नुपरेको थियो, अहिले लर्नको नेतृत्वमा दातृ संस्थाहरुको सहयोगमा सुविधा सम्पन्न र आधुनिक कम्प्युटर कक्ष तयार भएको छ, अब विद्यार्थीहरुसँगै समुदायमा नै डिजिटल साक्षरताको पहुँच विस्तार हुने विश्वास लिएका छौँ,’ उनले भने । विद्यालय समयबाहेक बिहान र बेलुकाको समयमा युवा क्लब, आमा समूहलगायत स्थानीयवासीलाई समेत लक्षित गरेर उक्त कम्प्युटरहरूलाई उपयोग गरेर कम्प्युटर सिकाइ सञ्चालन गर्ने अध्यक्ष सुवेदीले बताए । यस कम्प्युटर प्रयोगशाला सर्भर प्रणालीमा आधारित भएकाले कम्प्युटरमा विद्यार्थीहरुले सिकेका र खोजेका कुराहरुको कम्प्युटर शिक्षकले एउटै कम्प्युटरबाट नियन्त्रण गर्न र नियाल्न सक्ने व्यवस्था गरिएको छ । कम्प्युटर प्रयोगशाला हस्तान्तरण कार्यक्रममा रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी र विद्यालयका प्रअ विजय शर्माले सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापनाले विद्यार्थीहरुमा आकर्षण बढाउने र आधुनिक सिकाइको पहुँच बढाउनेमा जोड दिए । कार्यक्रममा सहयोगदाता संस्थाहरुलाई विद्यालयले सम्मान गरेको थियो ।

प्रभु बैंकको वितरणयोग्य नाफा धनात्मक, पौने २ अर्ब नाफा कमायो

काठमाडौं । प्रभु बैंकको वितरणयोग्य नाफा साढे १६ करोड रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा १६ करोड ६५ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा १८ करोड २९ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो । ९ महिनाको अवधिमा बैंकले पौने २ अर्ब रुपैयाँ नाफा गरेको छ । चैतसम्म बैंकले १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६८ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब १९ करोड रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोष ९ अर्ब ८६ करोड रुपैयाँ छ । चैतसम्म बैंकले २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ । बैंकको तथ्याङ्क अनुसार खराब कर्जा ४.८१ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा खराब कर्जा ३.४८ प्रतिशत थियो ।

लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशत बढ्यो

काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष २०८०÷८१ तेस्रो त्रैमासमा खुद नाफा २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १०३ प्रतिशत बढेर ८ अर्ब ५३ करोड २७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १०१ प्रतिशत बढेर १० अर्ब ४१ करोड रुपैयाँ र सञ्चालन नाफा ११.७८ प्रतिशत बढेर २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ७ प्रतिशत बढेर २३ अर्ब १८ करोड रुपैयाँ र जगेडा कोष १६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको निक्षेप संकलन ५ प्रतिशत बढेर ३ खर्ब ११ अर्ब रुपैयाँ र कर्जा लगानी १ प्रतिशत बढाएर २ खर्ब ४९ अर्ब रुपैयाँ गरेको छ । बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा १.८२ प्रतिशत रहेकोमा यस वर्ष बढेर ५.४९ प्रतिशत पुगेको छ । साथै, बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ ।