होटल अनुगमन र कारबाहीबारे होटल संघ नेपालको ध्यानाकर्षण
काठमाडौं । होटल संघ नेपालले होटल अनुगमन र कारबाहीबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ । बिहीबार संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको टोलीले उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको कारबाहीबारे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा राज्यको नियम ऐन कानूनको पूर्ण पालना गर्दै सञ्चालित होटलहरुमा अनुगमनको नाममा अव्यावहारिक व्याख्या गरी कारबाही तथा जरिवाना भएको तथा तारे होटलहरुमा अखाद्य वस्तु रहेको जस्ता नकारात्मक समाचारहरु बारम्बार आइरहँदा विभागलाई समाचार प्रेषित गर्दा राष्ट्रिय पर्यटन उद्योगप्रति विश्वव्यापी रुपमा नकारात्मक सन्देश जाने र यस कार्यले नेपालको पर्यटन प्रवर्द्धनको गरिमामा समेत आँच आउनेबारे ध्यानाकर्षण गराइएको छ । सरकारबाट हुने निरीक्षण अनुगमनको सराहना गर्दै अझ यसलाई प्रभावकारी बनाउन एकलौटी ढंगबाट मात्र नभएर सरोकारवाला निकायसँगको समन्व्यमा हुन सके यस कार्य दीर्घकालीन हुने र अन्तर्राष्ट्रिय चेन तथा व्राण्ड लगायतका होटलहरुको सञ्चालन पनि व्यवस्थित प्रक्रिया बाट हुने हुँदा म्याद गुुज्रिएका सामानहरु उपभोक्ताहरुले उपभोग गर्ने खानामा प्रयोग नभइ यस्ता सामान आपूर्तिकर्ता कम्पनीलाई सोझै फिर्ता पठाइ सोधभर्ना गर्ने गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ । अदालतमा समेत मुद्दा परी विचाराधीन रहेको विषयमा सरकारी क्रियाकलापहरु प्रचारमुखी नभइ संयमित ढंगबाट हुनका लागि समेत अनुरोध गर्दै यस्ता कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल अखाद्य वस्तुको भण्डार भनी नकारात्मक प्रचारप्रसार भएको र यसबाट नेपाल आउने विदेशी पर्यटकहरुबाट बुकिङ रद्द समेत हुन सक्ने हुँदा आगामी दिनमा यस विषयमा समन्वय र सहकार्यको व्यवस्थाका लागि मन्त्रीसमक्ष आग्रह संघले आग्रहसमेत गरेको छ । नजिकिँदै गरेको लगानी सम्मेलनलाई समेत असर गर्ने गरी नेपालको पर्यटन विकास र व्यवस्थालाई समेत चुनौती हुने भइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रभाव पर्ने खालको यस्ता प्रचारमुखी क्रियाकलापहरु नदोहोरिनका लागि पनि अध्यक्ष शाहले अपिल गरे । भेटघाटमा मन्त्री भण्डारीले यसतर्फ सकारात्मकता प्रकट गर्दै छिटोभन्दा छिटो समस्या समाधान गर्ने आश्वासन दिए ।
लायन्स क्लबले गर्यो तुलसादेवी फाउण्डेसनलाई आर्थिक सहयोग
काठमाडौं । लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनले तुलसादेवी फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । क्लबले फाउण्डेसनलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो । बुधवार फाउण्डेसनकी संस्थापक सरु सुवेदीलाई ५० हजार रुपैयाँको चेक क्लबकी प्रेसिडेन्ट कल्पना बस्नेतले हस्तान्तरण गरेकी थिइन् । सो अवसरमा प्रेसिडेन्ट बस्नेतले लायन्स सामाजिक र मानवीय क्षेत्रमा काम गर्ने अभियान भएको र लायन्सको सोही अभियानको सहयात्री बन्न क्लबले फाउण्डेसनलाई सहयोग गरेको बताइन् । उनले क्लबको स्थापना भएको छोटो समय भएपनि सामाजिक क्षेत्रमा क्रियाशिलताका लागि विभिन्न क्रियाकलाप गर्दै आएको बताइन् । विभिन्न सामाजिक संस्थालाई सहयोग गर्ने उद्देश्यका साथ क्लब ले गत कात्तिकमा ‘यम बराल स् हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ को आयोजना गरेको उल्लेख गर्दै उनको कार्यक्रमबाट उठेको केही रकम फाउण्डेसनलाई सहयोग गरेको बताइन् । बस्नेतले कार्यक्रमको योजना अनुसार निकट भविश्यमै अन्य व्यक्ति तथा संस्थालाई सहयोग गरिने उनले बताइन् । फाउण्डेसनकी संस्थापक सुवेदीले क्लबबाट भएको सहयोगले संस्थाका गतिविधिमा सहयोग पुगेको उल्लेख गर्दै धन्यावाद दिएकी थिइन् । कार्यक्रममा क्लबकी प्रेसिडेन्ट बस्नेत, भाइसप्रेसिडेन्ट सविता ढकाल, सेक्रेटरी शुष्मा आचार्य, डिरेक्टर दीपा लामिछाने, सदस्य सुनिता पाण्डेय लगायत उपस्थित थिए ।
रोयल इन्फिल्डले बालकुमारीमा खोल्यो ट्रेनिङ सेन्टर
काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त सेन्टरको आज (विहिबार) एक कार्यक्रमका माझ रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजयराम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा उद्घाटन गरे । सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनुको साथै फ्रिलेन्सर मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्यूनिटी, मोटो भ्लगर लगायतलाई समेत तालिम प्रदान गरिने कम्पनीले जनाएको छ । ट्रेनिङ सेन्टर सञ्चालनमा आएसंगै यसले दक्ष जनशक्ति उत्पादन गर्न थप सहज हुने विश्वास लिइएको छ ।
किन सुकाइयो पिम्बहाल पोखरी ? (तस्बिरहरू)
ललितपुर। ललितपुर महानगरपालिका स्थित वडा न २० पर्ने पिम्बहाल पोखरी (जगमुदु पुखु) सुकाइएको छ। साँझपख चहलपहल हुने पाटन दरबार क्षेत्रमा रहेको उक्त पोखरी सफा गर्न सुकाइएको हो। पोखरीमा रहेको फोहोर सफा गर्ने उद्धेश्यले वडा कार्यलयले पानी सुकाएको हो । यसअघि नै पोखरीमा रहेको माछा निकालेर पोखरी भित्र रहेको फोहोर लेदो सफा गर्ने काम भइरहेको स्थनाीय एव पोखरी संरक्षक मदन ताम्राकारले बताए । उनका अनुसार ७ वर्षपछि सफा गर्न लागिएको हो। यसअघि सन् २०१७ मा पोखरी सफा गरिएको थियो। वर्षालाग्नु अगाडी नै पोखरी सफा गरेर वर्षाको पानीले पोखरी पर्ने योजना रहेको उनले बताए । लाखेले एक रातमा यो पोखरी बनाएको किम्बदन्ती रहेको छ।
६२० किमि रेन्ज दिने प्रीमियम ईभी सार्वजनिक
काठमाडौं । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्माईल प्रीमियम लक्जरी ईभी नेपालमा सार्वजनिक गरेको छ । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी बिहीबार एक भव्य समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुमको उद्घाटन साथै २ बान गाडी ग्राहक माझ डेलिभरी गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा नेपाल स्थित चिनिया दूताबासका ईकोनोमिक यन्त्र कमर्शियल कन्सुलर, चिनियाँ प्रतिनिधि भीमस जु र जी मोटर्स प्रालि अध्यक्ष दुर्गाप्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुद्घाटन गरिएको हो । गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । नाडा अटोशोबाट औपचारिक बुकिङ्ग एबम ब्रान्डको बिक्री सुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रेमियम एबम नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिंगल चार्जमा तय गर्ने र ८६ किलोवाट आवरको व्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने जनाएको छ । स्काइवेतका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । स्काईवेल ईटि५ को नेपाली बजार मूल्य १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ ।
पर्यटनमा नयाँ गन्तव्य : पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरुले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । त्यसपछि उनीहरु सवार बस विमानस्थलतर्फ लाग्यो । विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए । विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो । हिन्दु धर्ममा कैलाश पर्वतलाई महादेवको घर मानिन्छ । महादेव बस्ने ठाउँ हेर्ने अभिलासाले तिर्थयात्रीहरुको अनुहार उज्यालिएको थियो । ‘विमानले जसै ‘टेकअफ’ गरी उत्तरतर्फ उचाइ बढाउँदै गयो, यात्रीहरुको मनमा कौतुहलता बढ्दै गरेको प्रस्ट देखिन्थ्यो । झण्डै ३० मिनेटको उडानपछि विमान नेपाल–चीनको सीमा नजिकै पुग्यो’, पर्वतीय उडानबाट फर्केपछि पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले भने । विमानको झ्यालबाट एकोहोरो आँखा दौडाइरहेका यात्रुहरुले दुई हात जोडेर नमस्कार गरे । उनीहरुका आँखै अगाडि महादेवको घर अर्थात् कैलाश पर्वत बिराजमान थियो । उनीहरु मानसरोवर ताल हेरेर आपसमा केही कुराकानी पनि गरे । यत्तिकैमा विमानमा रहेका पण्डितले यात्रुहरुको ध्यानाकर्षण गराए । सबैलाई कैलाशतर्फ फर्किएर हात जोड्न लगाउँदै मन्त्रोचारण गर्दै विमानभित्रैबाट पूजा सुरु गरे । सामान्य पूजा सकाएपछि उनले कैलाश पर्वत र मानसरोवर तालको धार्मिक महत्व, आस्था र इतिहासबारे जानकारी गराउन थाले । महादेवको बासस्थान आँखै अगाडि हेर्न पाउँदा हर्षविभोर उनीहरु पण्डितले बताएका हरेक विषयमा चासोपूर्ण सुनिरहेका थिए । विमानले तीनरचार फन्को लगाइसकेको थियो । कैलाशलाई साक्षात दर्शन गर्न पाउँदाको खुसी यात्रुहरुहरुको आँखाबाट छल्किरहेको थियो । कोही आँखाभरी खुसीका आशु बगाउँदै एकोहोरो कैलाश हेरिरहेका थिए भने केहीले मौन मुद्रामा रुद्राक्षको माला घुमाउँदै जप सुरु गरिरहेका थिए । सिद्धार्थ हस्पिटालिटी ग्रुपका क्षेत्रीय निर्देशक केशब न्यौपानेको परिकल्पना, पथिल होलिडेजको व्यवस्थापन र नयाँ दिल्लीस्थित ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा श्री एयरलाइन्सको विमानमार्फत पर्यटकलाई पर्वतीय उडान गराउँदै आइएको छ । यात्रीहरुको आवासीय प्रवन्ध सिद्धार्थ हस्पिटालिटीले गर्दै आएको छ । बुधबार रामनमवीको दिन कैलाश दर्शनका लागि सात वटा माउन्टेन फ्लाइट (पर्वतीय उडान) भयो । जसमा आठ जना नेपाली र दुई सय ३४ भारतीय पर्यटकले कैलाश पर्वतको दर्शन गरेका थिए । कैलाश पर्वत दर्शनपछि उनीहरुले नेपालगञ्ज फर्केर रुद्राभिषेक पूजा समेत गरेका थिए । पथिल होलिडेजले नयाँ गन्तव्यका रुपमा यो पर्वतीय उडानलाई स्थापित गर्न भारतीय बजारमा सक्दो बजारीकरण गरिरहेको न्यौपानेको भनाइ छ । ‘हाम्रा लागि भारत ठूलो बजार हो, हामीले भरतका विभिन्न सहरबाट यहाँ ल्याएर माउण्टेन फ्लाइटमार्फत कैलाश पर्वतको दर्शन गराउँछौँ’ न्यौपानेले भने ‘तिर्थयात्रीहरुलाई दुइतर्फी यातायात, खान, बस्न र हवाई उडानका लागि एउटै प्याकेजमा बनाएर यात्रा सहज बनाइरहेका छौँ ।’ भारतको कलकत्ताबाट कैलाश दर्शन गर्न मङ्गलबार साँझपख नेपालगञ्ज आइपुगेकी सञ्चिता गाङ्गुलीले यो आफ्नो जीवनको महत्वपूर्ण पल भएको बताए । ‘हामी यहाँ योजना बनाएर आएका थिएनौँ, सायद महादेवको ‘ब्लेसिङ’ थियो होला, हाम्रो यो पारिवारिक ‘ट्रिप’ निकै राम्रो भयो’, उनले भने । उनले बादल पनि नभएकाले कैलाश पर्वत र दुवै ताल स्पष्ट हेर्न पाएकोमा आफूलाई निकै भाग्यमानी ठानेको सुनाए । पछिल्ला केही वर्षयता भारतीयहरु भिसाको समस्याका कारण कैलाश मानसरोवर दर्शन गर्न जान पाएका छैनन् । भिसा, समय तथा स्वास्थ्यको समस्या हुनेलाई पर्वतीय उडानमार्फतको कैलाश पर्वतको दर्शन सबैभन्दा उपयुक्त विकल्प भएको भारतको बैंगलोरबाट आउनुभएका ८० वर्षे विशाल कुँवरले बताए । कैशाल पर्वत दर्शन गरेर आफू निकै धन्य भएको दिल्लीबाट आउनुभएका विनोद शर्माले सुनाए । उनले भने, ‘जीवनमा यति सहज ढङ्गले कैलाश पर्वतको दर्शन गर्न पाउँछु भनेर कल्पना पनि गरेको थिइँन । म यो खुसीको बयान गर्न निशब्द छु ।’ उनले आफ्नो ‘बकेट लिस्ट’को एउटा योजना पूरा भएको बताए । आफूहरु कैलाश दर्शन गरेर सिद्धार्थ होटलमा आइपुग्दा रुद्राक्षको माला र प्रसादले स्वागत गरेको पल बिर्सन नसक्ने भन्दै उनले भोले बाबाको आशीर्वाद पाएको महसुस भएको सुनाए । गत माघदेखि नेपालगञ्जबाट कैलाश पर्वत दर्शनका लागि सुरु गरेको पर्वतीय उडानमार्फत हालसम्म पाँच सयभन्दा बढी भारतीय नागरिकले कैलाश पर्वतको दर्शन गरिसकेका छन् । साथै यही वैशाख १० गतेका लागि करिब दुई सय भारतीय नागरिकले बुकिङ गरिसकेको पथिल होलिडेजले बताएको छ । उद्योग वाणिज्य सङ्घ बाँकेका अध्यक्ष टङ्क धामीले नेपालगञ्जमा नयाँ पर्यटकीय गन्तव्यका रुपमा माउन्टेन फ्लाइट भएका भन्दै यसमार्फत यहाँको पर्यटन चलायमान हुन सहज भएको उल्लेख गरे । उनले यसले पर्यटकको आगमन र त्यसबाट हुने आम्दानी बढाएको बताए । रासस
नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ
काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रष्ठले रायालाई सपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति थिए । संवैधानिक परिषद्को सिफारिस र सङ्घीय संसदअन्तर्गत संसदीय सुनुवाई समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गरेका थिए । यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा प्रमुख तथ्याङ्क अधिकारीको भूमिकामा रहेका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय, उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।
सीए सम्मेलनमा समकक्षताको वहस, कहिलेसम्म मुद्दा लड्ने ?
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) को आयोजनामा लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ । सम्मेलनमा चार्टर्ड एकाउन्टेन्ट्स (सीए)को समकक्षताको विषयमा वहस केन्द्रीत भएको छ । चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष सिए दिपक पाण्डेले सीएको समकक्षताको सन्दर्भमा देखिएको अन्यौलता अन्त्य हुनुपर्ने धारणा राखे । १२ कक्षा पढे पछि ५ वर्ष चार्टर्ड अकाउन्टेन्ट पढ्दा पनि स्नातक/स्नातकोत्तर सरहको मान्यता निश्चित छैन,’ उनले भने ‘भारतमा आइआइएम, आइआरडी जस्ता संस्थाले सिएलाई पोस्ट ग्राजुएटको मान्यता दिइसकेको छ । हाम्रोमा भने मुद्दा लड्दा लड्दै पनि कुनै टुङ्गो लागेको छैन ।’ चार्टर्ड एकाउन्टेन्ट्सले निजी क्षेत्रमा आफ्नो सेवा विस्तार गरेपनि सरकारी निकायमा पहुँच कम भएको उनले बताए । साथै, उनले अहिले देशभर तीन हजार दुई सय चार्टर्ड एकाउन्टेन्टले सक्रिय रुपमा काम गरिरहेको र अहिले पारिश्रामिकमा प्रतिस्पर्धा आएको बताए । डिजिटल अर्थतन्त्र विस्तार हुँदै जाने क्रममा सोही अनुसार सीप र दक्षता विस्तार हुन नसके पेशागत चुनौति पनि देखापर्न सक्ने उनले बताए । सम्मेलनको प्रमुख वक्ता इन्टरनेश्नल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइफ्याक) की अध्यक्ष आस्मा रेस्मौकीले दिगो लेखा अभ्यासका लागि सार्वजनिक चासोका मुद्धालाई अघि बढाउन आवश्यक रहेको बताइन् । लेखा अभ्यास र व्यावसायिक लेखाको क्षेत्रमा धेरै अवसर रहेकोले त्यसलाई प्राप्त गर्न दु्रत गतिमा अगाडि बढ्न उनको सुझाव थियो । पछिल्लो समय सबै क्षेत्रहरुले दीगो विकासको अवधारणालाई अंगिकार गरेकोले लेखा व्यवसायलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । यसका लागि आचारसंहिता पालना गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताइन् । ‘समय परिवर्तनशील छ तर लेखा अभ्यासको आफ्नै महत्व रहनुका साथै नयाँ प्रतिस्पर्धा, विचार, परिवर्तन हुनु पर्ने नयाँ कुरामा ध्यान दिन आवश्यक छ’, उनले भनिन् । लेखा व्यवसायमा नयाँ पुस्ता ल्याउन आइक्यान र विभिन्न शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । यो पेशा चाहना अन्तर्गतको मात्र नभै मुलुककै अर्थतन्त्र सुधार गर्ने मुख्य आधार रहेको पनि उनले बताइन । नेपाल राष्ट्र बैंकका गभर्नर सिए महाप्रसाद अधिकारीले सिएले मुलुकको अर्थतन्त्रमा महत्वपूणर् भुमिका खेल्दै आएको बताए । मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूणर् भूमिका हुने भएकोले सम्मेलनले यसलाई थप उजागर गर्ने उनले बताए । ‘आइएमएफले यस बर्ष नेपालले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रतिवेदन सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ’, उनले भने ‘अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेशा अगाडि बढिरहेको अवस्था छ ।’ सो अवसरमा उनले आइक्यानसँगको सहकार्यमार्फत नेपाल राष्ट्र बैंकले राम्रो लाभ लिइरहेको पनि बताए । हालै प्रचलनमा आएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको पनि उनले जानकारी दिए । कार्यक्रमको आयोजक आइक्यानका अध्यक्ष सिए. सुजन कुमार काफ्लेले तेस्रो सम्मेलनले विश्वभर हुँदै आएको लेखा अभ्यासको अध्ययन र यस क्षेत्रको प्रवद्र्धन तथा विस्तारमा सहयोग पुग्ने बताए । सम्मेलनको पहिलो दिन दीगो लेखा अभ्यासमा केन्द्रित हुने र दोस्रो दिन सार्वजनिक लेखापरीक्षणको समसामयिक भूमिका बारे छलफल हुने उनले जानकारी दिए । सम्मेलनले वर्तमान अवस्थामा लेखा व्यवसायको क्षेत्रमा देखिएको चुनौति र त्यसको दीगो समाधानका लागि हुनुपर्ने प्रयास सम्बन्धमा नयाँ दिशा दिने पनि उनले बताए । उद्घाटन समारोहमा नेपाल अडिटर एसोसिएसन (अडान) का वरिष्ठ उपाध्यक्ष आरए. बद्री प्रसाद भट्टराईले दिगो लेखा अभ्यास केन्द्रित यस सम्मेलनले आगामी दिनमा मुलुकमा सुशाषन र आर्थिक वृद्धिमा टेवा पुग्ने बताए । सो अवसरमा उनले अडानमा आबद्ध आठ हजारभन्दा सदस्यमार्फत पारदर्शी पमा विभिन्न निकायको वित्तिय विवरण प्रस्तुत गर्ने काम भइरहेको जानकारी गराए । आइक्यानका उपाध्यक्ष सिए. प्रविण कुमार झाले सम्मेलन अवधिभर लेखा अभ्यास, लेखा व्यवसायीको जिम्मेवारी, दीगो व्यापार रणनीति, नियमन संयोजन लगायत विषयमा छलफल हुने बताए । उद्घाटन कार्यक्रममा आइक्यानले आफ्नो आधिकारिक गित पनि सार्वजनिक गरेको छ । शुक्रबारसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब एक हजार लेखा व्यवसायीहरुको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूणर् भूमिका हुने बताए । राम्रो लेखांकन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकोले यो पेशामा आचारसंहिताको परिपालना अनिवार्य हुने उनको भनाई थियो । ‘यस पेशामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्त अनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु’ उनले भने । अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उनको धारणा थियो । यसबाट देशभित्रै रोजगारी सिर्जना हुने र त्यसमा मुख्य योगदान लेखा व्यवसायीहरुकै हुने उनको भनाई थियो । सम्मेलनबाट प्राप्त हुने निष्कर्ष तथा सुझाव अनुसारको कारवाही अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सङ्ग छलफल गरेर मन्त्रिपरिषद्मा पेश गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।