विकासन्युज

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८ वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसर पारेर आफ्ना ग्राहकका लागि विभिन्न योजना तथा कार्यक्रमहरू पनि ल्याएको छ । बैंकले वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १-३१ सम्म एक महिनाका लागि लागू हुने गरी विभिन्न सेवा-सुविधामा भारी छुट तथा क्यासब्याकलगायतका योजना पनि सार्वजनिक गरेको छ । सार्वजनिक योजनाअन्तर्गत डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाइनमार्फत एक हजार रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्दा १७ प्रतिशत वा एक सय ७० रुपैयाँ क्यासब्याक पाउनेछन् । त्यसैगरी, सिटिजन्स स्मार्टमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले पनि पाँच सय वा सोभन्दा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा एक सय ७० क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराउने जनाएको छ । त्यसैगरी, बैंकले यस योजना अवधिभर ग्राहकका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा दिने भएको छ  । साथै, बैंकका निष्क्रिय मोबाइल बैंकिङ ग्राहकलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १ सय ५० रुपैयाँ छुट प्रदान गरिनेसमेत जानकारी बैंकले गराएको छ । यसैगरी बैंकले वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइरहेकालाई करिब १७०० जनालाई १७ दिनको भोजनको व्यवस्था गरेको छ । बैंकले गत चैत २० देखि २०८१ वैशाख ६ सम्म भोजन व्यवस्था गरेको हो । भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई भोजन वितरण गरेको बैंकले जनाएको छ । सन् २०२० मा कोभिड १९ को सुरुवात सँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरुलाई खाना खुवाउने कार्यको थलानी गरेको संस्थाले हालसम्म ३ लाखभन्दा बढीलाई खाना खुवाएको छ भने ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको बैंकले उल्लेख गरेको छ । साथै, बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा बिहीबार कोशी प्रदेशको धरान शाखाबाट निःशूल्क स्वास्थ्य शिविर संचालन गरि करीब १५० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथैे आवश्यक औषधीहरू समेत निःशूल्क वितरण गरेको छ । हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । सिटिजन्स बैंकको चुक्ता पुँजी १४ खर्ब २० करोड रुपैयाँ रहेको छ । बैंकले १ खर्ब ५६ अर्ब कर्जा लगानी गरेको छ भने १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल ६० जिल्लामा बैंकले सेवा प्रदान गरिरहेको छ ।

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । शुक्रबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा बोनस अफर

काठमाडौं । ‘खुसीको रिचार्ज’ अफर अन्तर्गत डिशहोमले जति पैसाको रिचार्ज उतिनै पैसा अफर ल्याएको छ । कम्पनीका अनुसार डिशहोम डिटिएचका ग्राहकहरूले अब जति रकम रिचार्ज गर्छन् उतिनै रकम बोनस स्वरूप प्राप्त गर्ने भएका छन् । ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् । ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरूलाई लक्षित गरी कम्पनीले यो योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्छन् उति पैसा बोनस स्वरूप पाउनेछन् । यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गरेमा २००० नै बोनस प्राप्त गर्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागु गरिएको छ । नियमित रिचार्ज गरिरहेका ग्राहकहरूले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउने कम्पनीले जनाएकाे छ ।

फेसियल हाउसको शाखा अब भरतपुर सिजि ल्याण्डमार्कमा

काठमाडौं । वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गरेको छ । फेसियल हाउसको सातौं शाखा भरतपुरस्थित सिजि ल्याण्डमार्कमा खुलेको हो । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चितवनमा आयोजित समारोहमा शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै भरतपुरको समृद्वि यात्रामा फेसियल हाउस विस्तार उपयोगी हुने बताए । उनले स्मार्ट सिटी भरतपुर बनिरहँदा सौर्यन्दसँग सम्बन्धित व्यवसायले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । हरियाली र सौर्यन्दयकरण उन्मुख बनिरहेको भरतपुरमा फेसियल हाउसले राम्रो भूमिका खेल्ने बताए । फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखा अन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताईन् । ‘सुन्दर देखिने चाहना सृष्टिको आदिकालदेखि नै सबैलाई रहँदै आएको पाइन्छ ।’ उनले भनिन्, ‘समयको परिवर्तनसँगै यो चाहना महिला र पुरुष दुबैमा बढ्दै आएको छ ।’ उनले आजको प्रतिष्पर्धात्मक समयमा व्यक्तिको बौद्धिक क्षमतासँगै उसको आवरणीय सुन्दरताको महत्व र आवश्यकतालाई निर्विवाद रुपमा प्राथमिकता दिन थालिएको बताईन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिए । काठमाडौं मलको चौथो तलामा प्रमुख शाखा रहेको फेसियल हाउसले चावहिल केएल टावर, पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमा पनि सेवा विस्तार गरेको छ । फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्रयाएको छ । फेसियल हाउसले हेयर, व्युटी र स्किन केयर संगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरु दिँदै आएको छ । चितवनका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् । फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जनाभन्दा बढी सेवाग्राहीले सर्भिस लिने सक्नेछ । फेसियल हाउसले ब्यूटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ । अन्य शाखाबाट पाउने जस्तै सम्पूर्ण सेवा भरतपुर शाखाबाट त्यस क्षेत्रका सेवाग्राहीले प्राप्त गर्नेछन् । फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरु प्रयोग गर्ने फेसियल हाउसले चायापोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको महराले जानकारी दिइन् । ‘सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् । नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १६ वर्ष पुरा भइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् । ‘फेसियल हाउसको नामको अगाडि वा पछाडि नाम जोडेर कपी गर्ने क्रम पनि बढेको छ,’ उनले भनिन्, ‘फेसियल हाउस मात्रै लेखेको मात्रै हेर्नुहोस् । जहाँ मेरो फोटो समेत देख्न सकिन्छ ।’ आफ्ना ग्राहकहरुको स्वास्थ्यलाई विशेष ख्याल गर्दै फेसियल हाउसमा प्रयोग हुने सबै औजारहरु पूर्ण रुपमा निर्मलीकरण गर्नुका साथै ब्यक्तिको छाला तथा कपालहरु परीक्षण गरेपश्चात मात्र कस्मेटीकको प्रयोग गर्ने गरिन्छ । फेसियल हाउसले कस्टमर केयरको लागि छुट्टै डेस्कको व्यवस्था गरेको छ । नेपालीहरुको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेशिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरुसंग सहकार्य गरेर हर्वल व्युटी, हेयर कस्मेटीक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिदै आएको छ । केही समयभित्र नै नेपालमा नै हर्वल कस्मेटीक उत्पादन गर्ने लक्ष्य पनि फेसियल हाउसले लिएको छ । सौन्दर्य सम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटीक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस ईन्टरटेन्मेन्टबाट पनि आफुलाई बिस्तारित र बहुआयामिक योजनाको धनी बनाएको छ । को हुन् सुस्मा महरा ? फेसियल हाउसलाई कुशल नेतृत्व प्रदान गर्दै त्यसलाई ग्राहकहरु माझ आवश्यकता अनुसार परिमार्जन र परिस्कृत गर्न दक्ष र सक्षम ब्यक्ति हुन् फेसियल हाउसकी संचालिका सुष्मा महरा । उनको सोच र निर्देशनमा अघि बढिरहेको दक्ष सहयात्रीहरुको मेहनतबाट फेसियल हाउस नेपाली परिवेशमा सौन्दर्य सम्बन्धी सेवा दिने संस्थाहरुमा आफ्नो विशेष पहिचान बनाउन सफल हुँदै आफ्नो स्थापना कालको १६ औ वर्षको दौडमा रहँदै गर्दा देशमै अग्रस्थान हासिल गर्न सफल भएको छ । सौन्दर्य पेशासंग मुलुकभर हजारौं महिला पुरुष संलंग्न रहेका छन् । यही पेशालाई व्यवसायको रुपमा अंगालेर सफलता हासिल गरी आफ्नो अलग पहिचान बनाउने सीमित व्यक्तिहरुमध्येको पनि एक नाम हो सुस्मा महरा ।महराले २०५५ सालबाट सौन्दर्य पेशा अंगाल्दै महिलाहरु व्यावसायिक रुपमा आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै फेसियल हाउसको जन्म भएको हो । त्यसबेला नेपाली समाजमा घर परिवारमा निकै ठूलो चुनौती थियो पार्लर व्यवसाय गर्न । भने व्यवसायिक यात्रा भने २०६४ सालदेखि ६ जना रोजगारी प्रदान गर्दै सुरु भएको थियो । यो चुनौतीको सामना गर्दै काठमाडौ मलको चौथो तल्लामा फेसियल हाउसको शुभारम्भ भएको हो । सुस्मा महराले व्युटीसियन पेशा अंगालेको २६ वर्ष भएको छ । यहाँसम्म आइपुग्दा फेसियल हाउस काठमाण्डौ उपत्यकाभित्रको मात्र नभई नेपालकै उत्कृष्ट लेडिज एण्ड जेन्स शैलुन बन्न पुगेको छ । १ सय ८० भन्दा बढी व्युटीसियनलाई फेसियल हाउसले रोजगारी प्रदान गरेको छ । नेपालमा अझै पनि व्युटीसियन पेशालाई मर्यादित र सम्मानित पेशा बनाउनु निकै चुनौतीपूर्ण रहेको उनी बताउँछिन् ।

लैनचौर ब्याङ्क्वेटमा जिल्ला प्रशासनले लगायो ताला (तस्विरहरु)

काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको लैनचौर ब्याङ्क्वेटमा जिल्ला प्रशासनले शिल गरेको छ ।

बैंकविरुद्ध अराजक गतिविधिको नतिजा खराब कर्जा, २६२ प्रतिशतसम्म बढ्यो

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्था विरूद्दका अराजक गतिविधि र अर्थतन्त्रमा परेको समस्याका कारण वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) ह्वात्तै बढेको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार एनपीएल २२ प्रतिशतले बढेको छ । विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध अराजक गतिविधि र बैंकरमाथि दूव्र्यवहारदेखि कुटपिटसम्मका घटनाका कारण प्रणालीमा ठूलो असर परेको देखिन्छ । बैंकबाट लिएको ऋण मिनाह गर्नु पर्ने र सावाँ ब्याज नै नतिर्न उर्दी जारी गर्ने केही व्यक्तिका कारण बैंकको खराब कर्जा बढ्न पुगेको बैंकरहरू बताउँछन् । अराजक गतिविधि गरिरहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र मनिराम ज्ञवालीले बैंकबाट लिएको ऋण नै तिर्न नपर्ने भ्रमपूर्ण अभिव्यक्ति पछि लागेर धेरैले सावाँ ब्याज नै नतिरेको बैंकरहरूको गुनासो छ । नकारात्मक प्रभावका रूपमा ऋणीहरूले समयमै कर्जा र ब्याज भुक्तानी नगर्दा खराब कर्जा औसत २१.९७ प्रतिशत अर्थात् ०.६६ प्रतिशत बिन्दु बढेर ३.६५ प्रतिशत बिनदु पुगेको छ । जबकी अघिल्लो वर्षको चैतमा बैंकहरूको खराब कर्जा औसत २.९९ प्रतिशत मात्रै थियो । एक बैंकरका अनुसार मर्जर पछि कर्जाको व्यवस्थापन गर्न समय लागेका कारण खराब कर्जा बढेको हो । साथै, घरजग्गा बिक्री गरेर कर्जा तिर्न चाहेको भएपनि बिक्री हुन नसकेको उनले बताए । साथै, व्यवसाय नबढेका कारण पनि कर्जा तिर्न ऋणीहरूलाई समस्या परेको उनको भनाइ छ । ‘सेयरको मूल्य पनि कम छ, सेयर बिक्री गर्ने अवस्था पनि छैन, अहिले अर्थतन्त्रको अवस्था पनि कमजोर नै छ,’ उनले भने । समीक्षा अवधिमा ५ वटा वाणिज्य बैंकको खराब कर्जा घटेको छ भने अन्य १४ बैंकको बढेको छ । सिद्धार्थ बैंकले सबैभन्दा धेरै खराब कर्जा घटाएको छ । यस बैंकले गत वर्षको तुलनामा ३६.२ प्रतिशत घटाएर २.५२ प्रतिशत बिन्दुमा कायम राखेको हो । यस्तै, कृषि विकास बैंकले २१.४३ प्रतिशत घटाएर ३.३० प्रतिशत बिन्दु, सानिमा बैंकले १६.७४ प्रतिशत घटाएर १.८९ प्रतिशत बिन्दु, सिटिजन्स बैंकले ५.५३ प्रतिशत घटाएर ३.७६ प्रतिशत बिन्दु र एनएमबि बैंकले ३.३८ प्रतिशत घटाएर २.८६ प्रतिशत बिन्दुमा खराब कर्जा झारेको छ । समीक्षा अवधिमा एभरेष्ट बैंकको खराब कर्जा भने स्थिर रहेर ०.७० प्रतिशत बिन्दु कायम छ । चैत मसान्तसम्म सबैभन्दा धेरै खराब कर्जा एनआईसी एशिया बैंकको छ । यस बैंकको २६२.३५ प्रतिशत बढेर ३.०८ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको २०१.६५ प्रतिशत बढेर ५.४९ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १३७.७८ प्रतिशत बढेर २.१४ प्रतिशत बिन्दु एनपीएल पुगेको ट । यस्तै, नेपाल एसबिआई बैंकको १०४.१२ प्रतिशत बढेर १.९८ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ५५.२७ प्रतिशत बढेर ३.६८ प्रतिशत बिन्दु, प्राइम बैंकको ४०.२ प्रतिशत बढेर ४.२९ प्रतिशत बिन्दु, प्रभु बैंकको ३८.२२ प्रतिशत बढेर ४.८१ प्रतिशत बिन्दु एनपीएल पुगेको छ । चैतसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको २४.६९ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको १९.७ प्रतिशत बढेर ४.७४ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको १८.२७ प्रतिशत बढेर ४.६६ प्रतिशत बिन्दु, नेपाल बैंकको १६.५८ प्रतिशत बढेर ४.८५ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको १०.८२ प्रतिशत बढेर ४.३० प्रतिशत बिन्दु, हिमालयन बैंकको ८.७७ प्रतिशत बढेर ४.९६ प्रतिशत बिन्दु र नबिल बैंकको ४.३९ प्रतिशत बढेर ४.०४ प्रतिशत बिन्दुमा एनपीएल पुगेको छ ।

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की । पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको १७ लाख जम्मा गर्न १:३० बजेतिर बैंक निस्किए । मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र पैसा राखेर उनी नयाँ बजारस्थित कृषि विकास बैंक गए । बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन । पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाएनन् । वरपर खोज्दा झोला फेला नपरेपछि उहाँ ठूलो तनावमा परे, यसबारेमा प्रहरीलाई खबर पुग्यो । पोखराका मुख्य बजारबाट ठूलो रकम हराएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माको कमाण्डमा तत्कालै प्रहरी परिचालित भयो । हराएको पैसाको झोला भारत घर भई पोखरा–३ नदीपुर बस्ने ६५ वर्षीय छोटुलाल शर्माले बाटोमा भेटाए । टिस्यु पेपर लगायतका व्यापार गर्ने शर्माले पैसाको झोला फेला पारेपछि प्रहरी खोज्दै हिँडेको अवस्थामा खोजीमा खटिएको प्रहरी टोलीले भेटाएको थियो । शर्माको साथमा मोबाइल नभएकाले प्रहरीमा समयमै सम्पर्क गर्न सकेका थिएनन् । ‘पृथ्वीचोकबाट १७ लाख हरायो भनेपछि ठूलो घटना हुने भयो भनेर सबै ठाउँबाट तत्कालै प्रहरी परिचालित भयो’ प्रनाउ शर्माले भने, ‘पैसाको झोला भेटाएपछि उहाँ (छोटुलाल) प्रहरी खोज्दै हिँड्नुभएको रहेछ, प्रहरीलाई देख्ने वित्तिकै उहाँले पैसाको झोला बुझाउनुभयो ।’ प्रनाउ शर्माले फेला परेको पैसा सम्बन्धित व्यक्तिको पुष्टि भएपछि शर्माको रोहबरमा ज्वैलर्सका सञ्चालक पोखरा–५ बस्ने ४३ वर्षीय धुव्रकुमार सुनार बुझाइएको जानकारी दिए । रासस

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौं ढुवानी

चौतारा । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौंतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौं पठाइएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौं पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौं पुग्नेछ । रासस