विकासन्युज

एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा कम्पनीको थप २४ लाख ४५ हजार ३५७ कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

साढे ११ खर्बको आयात हुँदा निर्यात १ खर्बमा सीमित, १० खर्ब बढीको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म साढे ११ खर्ब बढीको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतमा आयात २.८४ प्रतिशत आयात घटेर ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाखरुपैयाँको आयात भएको हो । आयात साढे ११ खर्ब पुग्दा निर्यात भने १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँमा सीमित छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा कुल १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतसम्म कुल १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँबराबरको व्यापार घाटा रहेको छ । कुल व्यापारमा आयातको हिस्सा ९१.११ प्रतिशत छ भने निर्यातको हिस्सा ८.८९ प्रतिशत मात्रै छ । २०८०÷८१ को ९ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको छ भने निर्यात साढे १२ अर्ब रुपैयाँमा सीमित छ । नेपालले १ सय ५० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गर्दै आएको छ । त्यसमध्ये भारतसँग सबैभन्दा धेरै व्यापार छ । तथ्यांकअनुसार भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोडको आयात भएको छ ।

चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए अन्टार्कटिकामा ४६ वटा सबग्लेसियल ताल

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् । अन्टार्कटिका दुई हजार चार सय मिटरभन्दा बढीको औसत मोटाइसहित विशाल बरफले ढाकिएको छ । यस बरफको पत्रमुनि असङ्ख्य सबग्लेसियल तालहरू रहेका छन् । पोलार रिसर्च इन्स्टिच्युट अफ चाइना (पिआरआइसी) को अनुसन्धान समूहका नेता ताङ जुयुआनका अनुसार पग्लिँदै गरेको बरफको धाराहरू यसको पत्रमुनिको खाडलमा बग्दा सबग्लेसियलहरू बन्छन् । ‘बरफको पत्रको गतिशीलता, पानीमुनि जम्ने प्रक्रिया, सबग्लेसियल भू–रासायनिक चक्रका साथै जीवनको विकास बुझ्नका लागि अन्टार्कटिकामा सबग्लेसियल तालहरूको अध्ययन महत्त्वपूर्ण छ’, ताङले भने । वैज्ञानिकहरूले भेरिएसनल अटोएनकोडर (भिएई) प्रयोग गरी बरफ राडारमा देखाइएको बरफको तल्लो प्रतिबिम्बको वेभफर्म सुविधाको विश्लेषण गर्न नयाँ विधि प्रस्तुत गरेका छन् । उक्त विधि प्रयोग गरेर अनुसन्धान टोलीले पूर्वी अन्टार्कटिकाका गम्बर्टसेभ सबग्लेसियल पर्वतहरूको एजिएप–एस क्षेत्रमा बरफ राडार छविको व्यापक स्क्यान गरेको छ । परम्परागत विधिहरूले पहिचान गरेकोभन्दा ज्यामितीय रूपरेखा धेरै सानो भएका ४६ वटा सबग्लेसियल तालको अस्तित्व रहेको नतिजाले देखाएको छ । यस नयाँ विधिले सबग्लेसियल ताल खोजको दक्षता र शुद्धतामा उल्लेखनीय सुधार गरेको र अन्टार्कटिकामा अन्य प्रकारका सबग्लेसियल वातावरण पत्ता लगाउन र लेबलिङलाई विस्तार गर्न सकिने विश्वास गरिएको छ । उक्त अनुसन्धान पिआरआइसी, चाइना युनिभर्सिटी अफ जियोसाइन्सेस (वुहान) र दक्षिणी विश्वविद्यालय विज्ञान तथा प्रविधिको टोलीले संयुक्तरूपमा गरेको हो । हालसम्म विश्वभरका वैज्ञानिकहरूले अन्टार्कटिक बरफको पत्रमुनि कूल छ सय ७५ सबग्लेसियल ताल पत्ता लगाएका छन् । रासस

धोबीखोला कोरिडोरमा फुल ढकमक्क (फोटोफिचर)

काठमाडौं । धोबीखोला कोरिडोरको रातोपुल र कालोपुल बीचको खण्ड अहिले बेगम बेली फुल ढकमक्क फुलेका छन् । धोबीखोला किनारको यो खण्डमा विभिन्न रङ्गका बेगमबेली फुलेका छन् । रङ्गिचङ्गी फुलेका बेगमबेलीले प्रदुषित खोला किनार सुन्दर देखिएको छ । बसन्त ऋतुको यो समयमा बेगम बेली सङ्गै अन्य फुलहरुले खोला किनार सडक किनारहरु मनमोहक देखिन्छ । काठमाडौं महानगरले सुरु गरेको धोबीखोला सरसफाइ अभियानले पनि केहि खोला केहि हद सम्म सफा देखिएको छ ।      

एक वर्षमा थपिए २ सय होटल, पर्यटन उद्योगमा उत्साह

काठमाडौं । कोरोना महामारीपछि बिस्तारै लयमा फर्किन थालेको मुलुकको पर्यटन उद्योगका सकारात्मक खबर आइरहेका छन् । यहीबीच होटल क्षेत्रमा पनि लगानी विस्तार भएर होटल र कोठा (रुम) संख्या बढेको तथ्यांक सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको चालु सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार २०२३ मा झन्डै २ सय नयाँ होटल थपिएका छन् । तिनमा तारेस्तरका नयाँ ९ होटल थपिएका छन् भने तारेस्तर नभएका १ सय ८८ वटा नयाँ होटल छन् । प्रतिवेदनअनुसार २०२२ मा मुलुकमा तारे होटलको संख्या १ सय ७३ थियो । एक वर्षपछि २०२३ मा बढेर १ सय ८२ पुगेको छ । तारेस्तर नलिएकातर्फ २०२२ मा १ हजार २ सय २८ थियो भने २०२३ सम्म आइपुग्दा १ हजार ४ सय १६ पुगेको छ । ती सबै र नयाँ बनेका होटलमा रुम संख्या पनि राम्रै बढेको छ । २०२२ मा तारे र तारेस्तर नभएका होटल दुवैमा गरी ५३ हजार ३ सय ६५ रुम थियो । एक वर्षपछि २०२३ मा आइपुग्दा ५४ हजार ३ सय ७० पुगेको छ । यो भनेको नयाँ १ हजार ५ रुम थपिएको हो । यसैगरी मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले २०२३ मा नेपालमा ७२ वटा ट्राभल एजेन्सी थपिएको देखाएको छ । २०२२ मा ट्राभल एजेन्सीको संख्या ४ हजार ७ सय ७३ वटा थियो भने २०२३ मा आइपुग्दा त्यसको संख्या बढेर ४ हजार ८ सय ४५ पुगेको छ । यस्तै ट्रेकिङ एजेन्सीको संख्यामा पनि बढोत्तरी भएको छ । २०२२ मा ट्रेकिङ एजेन्सीको संख्या ३ हजार १ सय ३६ थियो भने २०२३ मा आइपुग्दा यो संख्या बढेर ३ हजार १ सय ९१ पुगेको छ । यो २०२२ को तुलनामा २०२३ मा ५५ वटा नयाँ ट्रेकिङ एजेन्सी थपिएका छन् । पर्यटन क्षेत्रसँग जोडिएको एउटा महत्वपूर्ण पाटो हो, ‘टुरिस्ट गाइड’ । २०२२ को तुलनामा टुरिस्ट गाइडको संख्या पनि बढेको छ । २०२३ मा १ सय ४८ जना टुरिस्ट गाइड थपिएका छन् । २०२२ मा टुरिस्ट गाइडको संख्या ४ हजार ९ सय ७५ थियो भने २०२३ मा पुग्दा यो संख्या बढेर ५ हजार १ सय २३ पुगेको छ । यस्तै, ट्रेकिङ गाइड पनि २०२२ को तुलनामा २०२३ मा बढेका छन् । २०२२ मा ट्रेकिङ गाइडको संख्या २५ हजार ४ सय ८३ थियो । २०२३ मा आइपुग्दा यो संख्या बढेर २६ हजार २ सय ९२ पुगेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ८ सय ९ ले बढी हो ।

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिएका हुन् । मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आज मात्र सार्वजनिक भएको हो । उनले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) वमोजिम राजीनामा दिएको उल्लेख गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते मा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना बिभागिय मन्त्री नियुक्त भएका थिए । वैशाख ६ गते उाले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाएका थिए । सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबीच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो । प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ । रासस

६७८ जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार

काठमाडौं । सरकारले हालसम्म ६ सय ७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म सो संख्यामा रहेका दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क उद्धार गरी उपचारको व्यवस्था मिलाएको हो । आर्थिक वर्ष २०७५/०७६ बाट यो कार्यक्रम लागू भएको र हालसम्म ६७८ जनाको हवाई उद्धार भईसकेको राष्ट्रपति महिला उत्थान समन्वय इकाईकी प्रमुख नीता शर्माले जानकारी दिइन् । आइतबार  उनले चालु आर्थिक वर्षको हालसम्म १२६ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार भईसकेको बताइन् । दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसलाई आधार मानेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जानकारीमा सो ईकाईले तत्काल नेपाली सेनाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरी उपचार हुने व्यवस्था मिलाइएको छ । सो कार्यक्रम हालसम्म ४८ वटा जिल्लामा लागू गरिएको छ । १९ वटा जिल्लामा पूर्ण र २६ वटा जिल्लामा आंशिक गरी ४८ वटा जिल्लाको सो कार्यक्रम लागू गरिएको पनि ईकाईकी प्रमुख शर्माले बताइन् । सरकारले सो कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धि कार्यविधि–२०७७ अनुसार सञ्चालन गरिरहेको छ । ईकाईले पीडितलाई तत्काल उद्धार गर्नका लागि ९८५१२५५२५४ को निःशुल्क हटलाईन सेवा पनि उपलब्ध गराएको छ । सोही हटलाईनमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आधिकारिक जानकारी दिएपछि पीडितलाई निःशुल्क हवाई उद्धार गर्ने काम तत्काल हुने व्यवस्था मिलाइएको पनि ईकाईकी प्रमुख शर्माले बताइन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको अगुवाईमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सो निःशुल्क हवाई उद्धार सम्बन्धि कार्यक्रम लागू गरिएको हो । सो सेवा लिएकाहरुलाई सरकारले यातायात खर्चबापत प्रतिव्यक्ति २० हजार रुपैयाँ पनि उपलब्ध गराउने गर्दछ । सेवाग्राहीलाई राहतका लागि सो रकम पनि उपलब्ध गराउने व्यवस्था मिलाइएको पनि राष्ट्रपति महिला उत्थान समन्वय ईकाईले जनाएको छ ।

११ करोडको लिफ्ट सिँचाइ योजना अलपत्र, आकाशे पानीको भरमा खेतीपाती

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका-६ सोल्टामा निर्माणाधीन लिफ्ट सिँचाइ योजना अलपत्र परेको छ । मोहन्याल गाउँपालिका र अल्ट्रा सोलार एण्ड स्टिल इञ्जिनीयरिङबीच २०७७ सालमा ११ करोड रुपैयाँको लागतमा निर्माणको ठेक्का सम्झौता भएको सो योजना बजेट अभावका कारण अलपत्र परेको हो । सो योजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि बजेट अभावमा काम अघि बढ्न सकेको छैन् । लिफ्ट सिँचाइका लागि कर्णाली नदीको पानी तान्न राष्ट्रिय माध्यामिक विद्यालयको छतमा उपकरण जडान गरिएको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउदले बताए । लिफ्ट सिँचाइ योजना अघि बढाउनका लागि बजेट अभाव भएको बताउँदै उनले गाउँपालिकाले जडान गरिएका उपकरणको भुक्तानी दिन नसकेपछि काम रोकिएको जानकारी दिए । गाउँपालिकाले बजेट अभाव हुँदा कम्पनीलाई सोलार, मोटर लगायतका सामग्रीको भुक्तानी दिन नसकेको उपाध्यक्ष साउदको भनाइ छ । गाउँपालिकाले कम्पनीलाई अझैँ चार करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जनाइएको छ । गाउँपालिकाले तीन वर्षअघि कर्णाली नदीको पानीले बाँझो जमिनमा सिँचाइका लागि लिफ्ट सिँचाइ योजना सुरु गरेको थियो । गाउँपालिकाका जनप्रतिनिधिले बजेटको जोहो गर्न नसक्दा आयोजना अलपत्र परेको मोहन्याल-६ का पूर्व वडाध्यक्ष टीकाराम भण्डारीले गुनासो गरे । गाउँपालिकाका आठ स्थानमा कर्णाली नदी, ठूलीगाड र बोटखोलाको पानी लिफ्टिङ गर्ने योजना रहेको छ । लिफ्ट गरेको पानीले पूर्व सोल्टा, रुइनीकोट, अजिङरे, राजीरेक्चा, रागा मलेखा, बिर्खेत, पण्डोनलगायत अन्य गाउँका जमिनमा सिँचाइको सुविधा उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ । सोल्टा, रुइनीकोट, अजिङरे, राजीरेक्चा, रागा मलेखा, बिर्खेत, पण्डोनलगायत अन्य गाउँमा सिँचाइ नहुँदा आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । सो सिँचाइ योजना काम पूरा भए किसानलाई सहज हुने स्थानीय किसान हर्क साउदले बताए । सिँचाइ नभएकाले मोहन्याल-६ सोल्टाको अधिकांश जमिन बाँझो रहेको उनको भनाइ छ । उपाध्यक्ष साउदले पूर्व जनप्रतिनिधिले बजेटको सुनिश्चिता नगरेर ठेक्का गरेकाले समस्या भएको बताए । रासस