स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो । सूचनामा भनिएको छ, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको छ । यस्ता सूचना/विज्ञापनमा कुनै सत्यता नभएकाले यस प्रकारका सूचनारविज्ञापनमा नहेर्नुहुनसमेत सम्पूर्ण सर्वसाधारणमा अनुरोध छ ।’ मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सामाजिक सञ्जालमा आएका गलत तथा भ्रामक सूचना तथा विज्ञापन प्रसारण गर्नेलाई विद्यमान कानुनअनुसार सम्बन्धित निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइ सकिएको जानकारी गराए । उनले सर्वसाधारणलाई पनि भ्रामक सामग्रीको प्रयोग नगरी जानकारीका लागि आधिकारिक निकायमा सम्पर्क गर्न अनुरोध गरे । रासस
फास्ट ट्रयाक समयमै सम्पन्न गर्न समितिको सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्रयाक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले द्रुत मार्गको खोकना क्षेत्रमा देखिएको समस्या तुरुन्तै समाधान गरी निर्धारित समयमै आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र संयोजन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै समितिले दार्चुला–टिङ्कर सडक लगायतका सेनाले बनाउँदै गरेका सडकहरूलाई पर्याप्त बजेट उपलब्ध गराउन पनि निर्देशन दिएको छ । समितिले उक्त क्षेत्रमा काम गर्ने सबै सैनिकहरूलाई जोखिम भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन पनि दिएको छ । बैठकले द्रुततर आयोजनामा निर्धारित समयमा नै सक्ने कार्यका साथ सेनाले गरेको प्रयासप्रति सहयोग पुर्याउन र आवश्यक सहजीकरण गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । त्यसैगरी नेपाली सेनाले बनाउँदै गरेका सबै सडक आयोजनाहरु समयमै सम्पन्न गर्न र पी वान तथा राष्ट्रिय गौरवका आयोजनाका सन्दर्भमा आवश्यक निर्णय र सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको पनि उहाँले बताउनु भयो र समिति बैठकले लाभकर छुट सम्बन्धमा सरकारले विगतमा गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा अर्थ मन्त्रालयसँग समन्वय र सरोकारवाला निकायलाई निर्देशन पनि दिएको छ । समितिले उपयुक्त समयमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग लगायत नेपाली सेनाले बनाएको सबै आयोजनाहरूमा स्थलगत अध्ययन तथा अवलोकन गर्ने निर्णय पनि गरेको छ ।
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी
नारायणगढ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहीन ढङ्गले छलफल गरी नीति ल्याइने बताए । मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने जानकारी गराए । उनले भने, ‘उद्योगी व्यवसायीले निराश हुनुपर्ने स्थिती आउन नदिन सरकार लागिपरेको छ, हामी अहिले देखिएको निराशालाई आशामा बदल्छौँ ।’ अहिले सरकार मुख्यतः लगानी सम्मेलनमा केन्द्रित रहेको उल्लेख गर्दै भण्डारीले उद्योगी व्यवसायीले महसुस गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याइने बताए । उनले भने, ‘मन्त्रालयले स्वदेशी वस्तु उपभोगसम्बन्धी नीति र ‘स्टार्टअप’ कार्यक्रम चाँडै ल्याउँदैछ, आन्तरिक उत्पादन बढाउन उद्योग नीति पनि समयसापेक्ष परिवर्तन गर्नुपर्ने छ ।’ तीन तहका सरकारबीच नीतिगत समस्याले पनि आर्थिक गतिविधि बढ्न नसकेको उल्लेख गर्दै उनले सरकार सबै यस्ता समस्या अन्त्य गरेर अगाडि बढ्ने बताए । मन्त्री भण्डारीले विगतका दुई लगानी सम्मेलनको अनुभवलाई आत्मसात गर्दै सरकार अहिलेको सम्मेलनलाई अझ सफल बनाउन लागिपरेको जानकारी गराए । रासस
महालक्ष्मी विकास बैंकले गर्यो महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ । हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरुलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको थियो । पर्यावरणीय मैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न अन्य स्थानीय तहहरुमा समेत बैंकले हरित कर्जा अन्तर्गत यस्तो अभियान थप विस्तार गर्दै जानेछ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सम्झौता भएको छ । गरिमा विकास र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै ५ लाख रुपैयाँसम्म को बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ । यि सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्नेछन् । साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रिय संगठनसंग काठमाडौंमा यसै किसिमको सम्झौता गरिसकेको बैंकले जनाएको छ ।
हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, १२ देशबाट प्रतिनिधि आउने
काठमाडौं । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिएको हो । एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने बैशाख १३ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए । विद्युतको आन्तरिक खपत वृद्धिगर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इभी र्याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने छ । र्यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन इभी र्यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरु पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुनेछन् । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको छ । आर्थिक गतिविधिहरु सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता भएको अध्यक्ष कार्कीले बताए । एउटा आयोजना बनाउन जेजति सेवा र वस्तुहरु चाहिन्छन् सबै एकैठाउँमा पाइने भएकाले ऊर्जा क्षेत्रसँग सरोकार राख्ने सबैले एकपटक एक्स्पोमा भिजिट गर्नै पर्ने पनि उनले बताए । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भैसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्माण गरिसकेको सन्र्दभममा र लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानको अपेक्षा छ । ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजनाा गरिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानका महासचिव बलराम खतिवडाले बताए । एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालयरकलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागीता निश्चित भइसकेको एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीका कार्यकारी निर्देशक बिजय सागर प्रधानले बताए । एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । यी सबै प्राविधिक सत्रहरुलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागीता तथा अवलोकन गर्न सकिने छ । साथै एक्स्पोमा सहभागी प्रदर्शनकर्ताहरुसँग सिधै सम्पर्क पनि गर्न सकिनेछ । हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्ने आयोजकले जानकारी दिएको छ ।
एसईईपछि म्यानेजमेन्ट पढ्ने सोचमा हुनुहुन्छ ? यी हुन् काठमाडौंका उत्कृष्ट कलेज
काठमाडौं । के तपाईं एसईई दिएर बसिरहनुभएको छ ? त्यसो हो भने मैले कति जीपीए ल्याउँछु ? चाहेको विषय पढ्न पाउँछु कि पाउँदिन ? भन्ने कौतुहलता पक्कै होला । आजभोलि नेपालमा एसईईपछि व्यवस्थापन (म्यानेजमेन्ट) पढ्ने विद्यार्थीको संख्या बढेको छ । यसैको लागि अहिले एसईई दिएर बसेका विद्यार्थी ब्रिजकोर्सको तयारी गरिरहेका छन् । म्यानेजमेन्ट पढेका विद्यार्थीलाई रोजगारीको अवसर भएकाले विद्यार्थीको रुचीमा म्यानेजमेन्ट पर्न थालेको हो । व्यवस्थापन विषयमा सैद्धान्तिक र व्यवहारीक दुवै विषयको मिश्रण हुन्छ । म्यानेजमेन्ट अन्तर्गत अर्थशास्त्र, लेखा, आइटी, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट मार्केटिङ लगायतका विषय पर्छन् । यी विषयको लागि राम्रो कलेज कुनकुन हुन् ? कहाँ पढ्ने भन्नेमा हुनुहुन्छ ? त्यसो भए आउनुहोस् हामी तपाईंलाई म्यानेजमेन्टका लागि मात्र हैन अन्य संकायको लागि पनि अब्बल ठानिएका कलेजको बारेमा जानकारी गराउँछौँ । प्रसादी एकेडेमी ललितपुरमा रहेको प्रसादी एकेडेमी महंगो र राम्रो कलेजमध्येमा चिनिन्छ । आजभन्दा करिब २७ वर्ष अगाडि ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’को अवधारणा सहित सुरुवात भएको हो । यहाँ कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन हुन्छ । प्रसादीको शैक्षिक परिणाम हरेक वर्ष उत्कृष्ट हुन्छ । यो कलेजले ९७ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल रहेको दाबी गरेको छ । यो एकेडेमीले म्यानेजमेन्टतर्फ २ सय जनाको सिटमा भर्ना लिएर अध्यापन गराउँदै आएको छ । यहाँ भर्ना हुन २.५ जीपीए ल्याएको हुनुपर्छ । कलेजले विद्यार्थीले ल्याएको ग्रेड र प्रवेश परीक्षाको रिजल्ट हेरेर मात्र छात्रवृतिको व्यवस्था गरिने कलेजले जनाएको छ । यसका लागि विद्यार्थी भर्ना शुल्क र मासिक शुल्क गरी ८९ हजार तिनुपर्छ । तर, यो वर्षको शुल्क भने निर्धारण गर्न बाँकी रहेको जनाएको छ । ट्रिनिटी कलेज काठमाडौंको डिल्लीबजारमा अवस्थित यो कलेज पनि म्यानेजमेन्ट पढ्न विद्यार्थीका लागि राम्रो मानिन्छ । ‘शिक्षा नै भविष्यको आधार’ भन्ने उद्देश्यले सञ्चालनमा आएको कलेज गुणस्तरि शिक्षामा आफु उत्कृष्ट रहेको दाबी गर्छ । दक्ष र अनुभवी शिक्षकबाट गुणस्तरिय शिक्षा दिदै आएको कलेज सतप्रतिशत रिजल्ट दिरहन सफल कलेज हो । बृहत पुस्तकालय, खेलमैदान, साइन्स ल्याब, क्यान्टिनको कलेजमा सुविधा छ । बायोमेट्रिक, फिजिक्स, साइन्स लगायतका छुट्टा छुट्टै ल्याबहरू छन् । पाठ्यक्रममा मात्र विद्यार्थीलाई सीमित नराखेर कलेजले प्रयोगात्मक सिप पनि सिकाउने गरेको छ । यस्तै अध्ययन भ्रमण, गोष्ठी लगायतका कार्यक्रम पनि गर्ने गरेको छ । पठनविधि प्रयोगात्मक र व्यवहारिक, शतप्रतिशत रिजल्ट दिने कलेजका रुपमा आफुलाई दाबी गर्दै आएको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट काठमाडौंको मध्यबानेश्वरमा रहेको यो कलेज म्यानेजमेन्टको लागि उत्कृष्ट ठहरिन्छ । सन् २००१ मा स्थापना भएको यो कलेजले अत्याधुनिक ल्याबसहित शिक्षा दिरहेको छ । व्यवस्थापनको अध्यापनमा सफल बनेपछि यसले ग्लोबल स्कुलअफ साइन्स सञ्चालनमा ल्याएको छ । यो कलेजमा कक्षा ११ मामात्र हरेकवर्ष ९ सय विद्यार्थी भर्ना हुन्छन् । यो कलेजले भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, आधुनिक ल्याब र लाइब्रेरीमा विशेष ध्यान दिएको छ । विद्यार्थीले ल्याएको जीपीए र विद्यार्थीको क्षमता हेरेर सबै विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको कलेजका कार्यक्रम कोर्डीनेटर जय गौडेलले बताए । यो कलेजमा अध्यनरत विद्यार्थी गएको ८,९ वर्षदेखि उत्कृष्ट नतिजा ल्याइरहेका छन् । उत्कृष्ट शिक्षकबाट शिक्षा प्रदान गर्ने यो कलेजमा रेगुलर पढ्ने विद्यार्थी सबै पास हुन्छन् । विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि ग्लोबल कलेजमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन् । यो कलेज विद्यार्थीका लागि उत्कृष्ट कलेज हो । काठमाडौं मोडल कलेज काठमाडौंको मुटु बागबजारमा रहेको काठमाडौं मोडल कलेज एक उत्कृष्ट शैक्षिक संस्था हो । कक्षा ११ र १२ मा टप ५ भित्र परेको यो कलेज सन् २००२ मा स्थापना भएको हो । यहाँ अनुभवी र मिहिनेती शिक्षकबाट अध्यापन गराइन्छ । राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा यसलाई उत्कृष्ट क्याम्पस घोषणा गर्दै विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा निजीतर्फ पुरस्कृत भएको थियो । विद्यार्थीलाई पायक पर्ने ठाउँमा रहेको यहाँ विश्वस्तरीय भवन, ल्याब, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, खेल मैदान विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने कलेजको अर्को विशेषता हुन् । आइएसटी कलेज काठमाडौंको ज्ञानेश्वरमा रहेको आइएसटी कलेज सार्लजबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धनमा सञ्चालित छ । नेपालमै उत्कृष्ट ‘हस्पिटालिटी’ एजुकेसन उपलब्ध गराउने उद्देश्यसहित यो कलेज सन् २००४ मा स्थापना भएको हो । होटेल म्यानेजमेन्ट र टुरिजमको लागि यो कलेज उत्कृष्ट मानिन्छ । कक्षा ११ मा होटेल म्यानेजमेन्ट, आइटी, जनरल म्यानेजमेन्ट यो कलेजमा पढाइ हुन्छ । यो कलेजमा बेकरी, बार, प्राक्टिकल किचन, प्राक्टिकल रेस्टुरेन्ट, हाउस किपिङका लागि मेकअप रुम, होटल रिजर्भेसन सिस्टमलगायत सुविधा छन् । जसले यस कलेजलाई होटल म्यानेजमेन्ट अध्ययनका लागि उपयुक्त बनाएको कलेका प्रधानाध्यापक सम्झना बस्न्यातले बताइन् । उनका अनुसार यो कलेजमा विद्यार्थीलाई शैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिइन्छ । अन्य कलेजभन्दा फरक र प्रयाक्टिकल्ली शिक्षा प्रदान गरिने भएकाले यो कलेज महंगो पनि मानिन्छ । यहाँ कक्षा ११ मा पढ्ने विद्यार्थीहरूले १० देखि १२ हजार माशिक शुल्क तिर्नुपर्छ । लिटिल एञ्जलस् कलेज व्यवस्थापन संकाय कक्षा ११ मा भर्ना हुनको लागि लिटिल एञ्जलस् कलेज पनि राम्रो मानिन्छ । ललितपुरको हातीबनमा रहेको यो कलेजमा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयहरू पढाइ हुने गर्छन् । यो कलेजले राम्रो जिपीए ल्याउने विद्यार्थी र इन्ट्रान्स परिक्षामा राम्रो ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । यो कलेजमा पनि माशिक शुल्क र कूल कति शुल्कमा पढाइ पुरा गर्ने भन्ने विषयमा छलफल गर्न भने बाँकी छ । तर अन्य कलेजहरू भन्दा यो कलेज महंगो मानिन्छ । गएका वर्षमा मासिक शुल्क ३७ हजार, मासिक शुल्क ७ हजार लिँदै आएको कलेजले जनाएको छ । साउथ वेस्टर्न स्टेट काठमाडौंको बसुन्धारामा रहेको यो कलेज २०६६ सालमा स्थापना भएको हो । कलेजमा म्यानेजमेन्ट अन्तर्गत होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडी पढाइ हुन्छ । म्यानेजमेन्टका हिसामा आफुलाई अब्बल रहेको दाबी गर्दै वर्षेनी सयौँ विद्यार्थी अध्यापन गराउँदै आएको कलेजले ग्लोबल मार्केटले खोजिरहेको जस्तै विद्यार्थी उत्पादन गरिरहेको जनाएको छ । यहाँ शिक्षकले विद्यार्थीलाई पढाउने मात्र नभइ शिक्षकले पढाएको र विद्यार्थीले सिकेको विषय एकअर्कालाई सेयर गर्ने गरिन्छ । पाठ्यक्रममा भएको कुरा पढाउने भन्दा पनि प्राक्टिकल धेरै गरिन्छ । यहाँ क्लासलाई ल्याबसँग जोडिर पढाउने गरेको कलेजका कार्यक्रा निर्देशक गणेश महरा बताउँछन् । यो कलेजमा बिहान र दिउँसो पढ्ने विद्यार्थीको शुल्क अलग अलग छ । यो वर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थीबाट कति शुल्क लिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउँदै महराले गएका वर्षमा १ लाख ३० हजारमा विद्यार्थीबाट शुल्क लिएको बताए ।
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेम नारायण अर्यालको प्रमुख आतित्थ्यतामा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त स्वास्थ्य प्रयोगशाला उपकुलपती अर्यालको समुपस्थितीमा कामना सेवा विकास बैंकका संचालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक वहादुर भण्डारीलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बोल्दै उपकुलपती अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरुले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान भएको बताए । विश्वविद्यालय स्थापना देखी नै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भएतापनी हाल शिक्षण अस्पतालले १०० शैयाको संचालन अनुमती प्राप्त गरिसकेको जानकारी गराए । १०० शैयाको अनुमती प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.दिपक वहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरुमा विश्वविद्यालयलाई पुर्याएको योगदानको कदर गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका संचालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीहरुको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीहरुको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले खुशी व्यक्त गरे । साथै, प्रमुख कार्यकारी अधिकृत थकालीले आगामी दिनहरुमा विश्वविद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रमहरुमा समेत साझेदारी गर्ने समेत बताए । उक्त कार्यक्रम शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र यादवको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संकायका डिन, निर्देशक तथा बैंकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रमका बिच कामना सेवा विकास बैंक र पोखरा विश्वविद्यालयविच वित्तीय सेवा सुविधा प्रदान सम्बन्धी औपचारीक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा.दिपक बहादुर भण्डारी र बैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् । उक्त समझदारी पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारीहरुलाई बैंकले सहुलियत रुपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा प्रदान गर्नेछ । हाल पोखरा विश्वविद्यालयले देशैभरका विभिन्न ५८ वटा क्याम्पसहरुलाई सम्वन्धन प्रदान गरि उक्त क्याम्पसहरु तथा विश्वविद्यालयको केन्द्रीय क्याम्पसवाट विभिन्न २६ वटा कार्यक्रममा अध्यापन गराउदै आएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।