विकासन्युज

सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन : आरजु राणा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवालेले सहकारी अनुगमनका लागि सरकारले गठन गरेको छानबिन आयोग भरपर्दो नरहेको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सहकारीका पीडितहरूलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाइन् । २० वटाभन्दा बढी सहकारी क्षेत्र समस्याग्रस्त हुँदा पनि उक्त समस्या समाधान गर्न सरकार गम्भीर नभएको उनको आरोप छ । सहकारी संस्थाहरूले मान्छेलाई घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको उनले बताइन् । २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

मस्कको भारत भ्रमण स्थगित

एलाेन मस्क काठमाडौं । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिबार बताएका छन् । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो । मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेको एक दिनपछि उनको भारत भ्रमण स्थगित भएको समाचार आएको हो । ‘दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु,’ आफ्नो सामाजिक मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा उनले लेखेका छन्। सञ्चारमाध्यमहरूले आइतबारदेखि हुने दुई दिवसीय भ्रमणका क्रममा मस्कले मोदी र एयरोस्पेस कम्पनीहरूसँग भेट गर्ने बताएका थिए । गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने स्थानहरूको खोजी गरिरहेको थियो । कम्पनीले ५० करोड डलर लगानी गर्ने र तीन वर्षभित्र स्थानीय उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएको थियो । सरकारको उक्त नीतिले प्रत्येक वर्ष ३५ हजार डलर वा त्योभन्दा धेरै मूल्य भएका आठ हजार विद्युतीय सवारीको आयातमा शुल्क घटाएको छ । टेस्लाले उत्पादन लाइन स्थापना गर्नेबारे अन्तिम निर्णय नलिएसम्म उसले पहिलो पटक आफ्नो बर्लिन कारखानाबाट कारहरूको आयात गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । टेस्लाका कारहरूको मूल्य धेरै भएकाले भारतीय बजारमा कम्पनीलाई तत्काल बढत मिल्ने सम्भावना कम रहेको विशेषज्ञहरूले बताएका छन् । टेस्लाको अहिलेसम्मको सबैभन्दा सस्तो मोडेल भनेको मोडेल ३ सेडान हो । यसको मूल्य अमेरिकामा करिब ३९ हजार डलर छ । भारतमा मस्कको वर्तमान व्यावसायिक रुचि यसअघि ट्विटर नामले चिनिने एक्ससम्म सीमित छ । आफ्नो सामाजिक मिडिया प्लेटफर्ममा कथितरूपमा आलोचनात्मक पोस्ट हटाउन भारत सरकारको मागलाई लिएर उनले अभिव्यक्ति स्वतन्त्रताका कार्यकर्ताहरूको प्रश्नहरूको सामना गर्नुपरेको छ । आफूलाई मोदीको प्रशंसक बताउने मस्कले पछिल्लो पटक सन् २००७ मा भारतको भ्रमण गरेका थिए र भारतलाई ‘अद्भूत’ भन्दै ताज महल ‘वास्तवमा विश्वको आश्चर्य’ रहेको बताएका थिए । एजेन्सी

वीरगञ्ज भन्सारद्वारा १ खर्ब १४ अर्ब राजस्व संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले १ खर्ब १४ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । चालु आवको ९ महिनाका लागि भन्सार विभागले १ खर्ब ८१ अर्ब ९९ करोड रुपैयाँको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले लक्ष्यभन्दा ६७ अर्ब ८२ करोड रुपैयाँ कम राजस्व संकलन गरेको छ । विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व संकलनलाई प्रभावित गरेको बताए । गत आवको तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए । उनले गत आवको ९ महिनाका लागि विभागले दिएको लक्ष्यको तुलनामा ६० प्रतिशतमात्र राजस्व संकलन भएको बताए ।

चीनमा प्रतिबन्धको मार खेप्दै अमेरिकाका ह्वाट्सएप र थ्रेड्स

काठमाडौं । अमेरीकाको सामाजिक सञ्जाल कम्पनी मेटाद्वारा सञ्चालित ह्वाट्सएप र थ्रेड्सले चीनमा प्रतिबन्धको सामना गरिरहेको छ । एप्पलले पनि मेटाका दुई सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप र थ्रेड्सलाई आफ्नो एप स्टोरबाट हटाएको छ । यसको मतलब यो हो कि विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा आईफोन प्रयोगकर्ताहरूले मेटाको सोसल मिडिया एप्स ह्वाट्सएप र थ्रेड्स प्रयोग गर्न पाउनेछैनन् । चीनको इन्टरनेट नियमन निकाय साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) ले राष्ट्रिय सुरक्षा कारण देखाउँदै यी दुवै एप हटाउन आदेश दिएको प्रतिवेदनले दाबी गरेको छ । उक्त एप हटाउने चीनको निर्णयलाई अमेरिकासँगको द्वन्द्वका रूपमा हेरिएको छ । चीनको स्वामित्वमा रहेको सर्ट भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउने विषयमा अमेरिकी कंग्रेसमा मतदान हुन लागेको छ । अमेरिकीले राष्ट्रिय सुरक्षा चिन्ताको कारण टिकटकमा प्रतिबन्ध लगाउन निर्देशन पनि दिएको छ । एप्पलले यो निर्णय चीनको भएको र कम्पनीको हैसियतले आफूले सञ्चालन गरेको देशको स्थानीय नियम कानुन पालना गर्न बाध्य भएको बताएको छ । एप्पलले भनेको छ, ‘हामी त्यो नियमसँग असहमत भए पनि ती नियमहरू पालन गर्नुपर्छ ।’ यसअघि अप्रिल १ मा चीनमा काम गर्ने एपहरूलाई सरकारमा दर्ता गर्न निर्देशन दिइएको थियो । ह्वाट्सएपको विश्वभरि मासिक २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । यो विश्वव्यापी रूपमा सबैभन्दा डाउनलोड गरिएको एप बनेको छ । एजेन्सी

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ । शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन् । नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताए । उनले नगरवासीको सुविधाका निम्ति बाटो, भवन, पुललगायत संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत दमनसिंह अब सेवा प्रवाहमा सहजता हुने बताउँदै जनभावनाअनुसार जनप्रतिनिधि र कर्मचारीले नगरवासीको सेवा गर्ने विश्वास व्यक्त गरे । तत्कालीन नारायणपुर गाविका पूर्वअध्यक्ष फकिरसिंहले सेवा प्रवाहमा सुधार गरी नागरिकको मन जित्न सुझाव दिए । कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले जिल्ला समन्वय समिति, नगरपालिका लगायत निकायले भवन निर्माणमा सघाएकामा कृतज्ञता व्यक्त गरे ।

लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि यी स्थानमा विद्युत सेवा अवरुद्ध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध गरिएको छ । लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर ‘सटडाउन’ गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार गोसले जानकारी दिए । उनले भने, ‘अन्य कुनै कारण नभएर लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध भएको हो, ग्राहक सेवामा पर्न जाने असुविधाप्रति प्रधिकरण क्षमाप्रार्थी छ ।’ आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाँल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध गरिएको प्राधिकरणले जनाएको छ । यसैगरी डाँछी फिडरअन्तर्गतका शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ, ग्रिनहिल सिटीलगायतका क्षेत्रमा मध्याह्न १२ः३० बजेसम्म, रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने पानीट्याङ्की, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल, मैतीदेवी जाली कारखाना, घट्टेकुलो, गोरखा एफएमलगायतका क्षेत्रमा बुलकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध गरिएको छ ।

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ । नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो । अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिबी क्षेत्रीले जानकारी दिए । स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाबाट सूचीकृत हुन बाँकी रहेकाले आंशिकरूपमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उनले बताए। ‘उक्त कार्यक्रममा अस्पताल सूचीकृत भएपछि डायलाइसिसका बिरामीले प्रति उपचार ‘सेसन’मा दुई हजार पाँच सय तिर्नुपर्दैन,’ उनले भने, ‘नेपाल सरकारबाट रकम उपलब्ध गराइने हुँदा बिरामीले सहज रुपमा सेवा पाउने छन् ।’ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त अस्पताललाई डायलाइसिस सेवा सञ्चालनको स्वीकृति दिएको छ। अस्पतालमा रहेका तीन थान डायलाइसिस मेसिनसहित अब पाँच वटा भएकाले चौबिस जना बिरामीलाई उपचार दिन सकिने डा. क्षेत्रीले बताए । ‘हाल २४ जना डायलाइसिसका बिरामीले उपचारका लागि निवेदन दिएर पालो पर्खिरहेका छन्,’ उनले भने, ‘विपन्न नागरिक उपचार सेवा’मा अस्पताल सूचीकृत हुने बित्तिकै सेवा दिन सुरु गर्नेछौं ।’ अस्पतालले प्रत्येक सेसनमा प्रतिबिरामी दुई हजार पाँच सयका दरले खर्च गर्नसक्ने अवस्था नरहेकाले पूरा सेवा प्रदान गर्न नसकिएको उनले बताए । कोही बिरामी पैसा तिरेर डायलाइसिस गर्न आएको अवस्थामा अस्पतालले सेवा दिँदै आएको छ तर निःशुल्क गर्न सकिएको छैन । डायलाइसिस बिरामीको संख्या बढ्दै गएको अवस्थामा अस्पतालले नर्सिङ कर्मचारी थप गरी नागरिकलाई सेवा दिन सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पतालमा डायलाइसिस सेवालाई निःशुल्क प्रदान गर्न गाउँपालिकाले सम्बन्धित निकायसँग आवश्यक पहलकदमी गर्दै आएको उनले बताए ।

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

काठमाडौं । पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ० ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) संक्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि संक्रमित स्तनधारीहरूको संख्यामा वृद्धिसँगै चराहरूमा प्रकोपको संख्या तीव्र रूपमा बढेको छ । वर्ड फ्लुको यो प्रजातीका कारण दशौं लाख कुखुरा जंगली चराहरूको मृत्यु भएको छ भने जमीन र समुद्री स्तनधारीहरू पनि संक्रमित भएका छन् । गत महिना यसबाट संक्रमित हुने सूचीमा यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूसमेत परेका भेटिएका थिए । विशेषज्ञहरूको लागि यो अर्को चुनौतीको बिषय बनेको छ । अमेरिकी अधिकारीहरूले यसै महिनाको सुरुमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट मुक्त भएको बताएका थिए । विश्व स्वास्थ्य संगठनको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङले भने, ‘टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा संक्रमण भएको यो पहिलो घटना हो । चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने सङ्क्रमण पनि पछिल्लो प्रकोपको समयमा भेटिएको छ । यसले हामीले पहिले बुझेको भन्दा संक्रमणका अन्य मार्गहरू फेला पारेको हुन सक्छ भन्ने देखाउँछ ।’ संयुक्त राज्य अमेरिकामा बर्ड फ्लुको लागि एक मानव परीक्षण गरिएको यो दोस्रो घटना थियो र भाइरसले जङ्गली चराहरूको सम्पर्कमा आएका झुण्डहरूलाई बिरामी पारेपछि यो घटना सार्वजनिक गरिएको थियो । झाङले भने, ‘अहिले हामीले अमेरिकी राज्यहरूमा गाईका धेरै झुण्डहरू प्रभावित भएको देख्छौं, जसले स्तनधारी जनावरहरूमा भाइरस फैलिने अर्को कदम देखाउँछ ।’ संक्रमित जनावरको दूधमा पनि यो भाइरस देखिएको छ । झाङले भने ‘याईको काँचो दूध (छाले दुध) मा भाइरसको सघनता धेरै थियो, तर विशेषज्ञहरूले अझै पनि दूधमा भाइरस कति समयसम्म बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेका छन् ।’ टेक्सासको स्वास्थ्य विभागले बिरामी गाईको दूध नष्ट गर्न डेरीहरू आवश्यक पर्ने भएकाले व्यावसायिक रूपमा दूध आपूर्तिका लागि पशुको संक्रमणले चिन्ता सिर्जना गरिनसकेको बताएको छ । दुध शुद्ध पार्ने प्रक्रिया ‘पाश्चराइजेशन’ले यो भाइरसलाई मार्ने बताइएको छ । झाङले भने, ‘मानिसहरूले सुरक्षित खाद्य अभ्यासहरू सुनिश्चित गर्न महत्त्वपूर्ण छ । यसका लागि ‘पास्चुराइज्ड’ दूध र दुग्धजन्य उत्पादनहरू मात्र उपभोग गर्नु सुरक्षित हुनेछ ।’ सन् २००३ देखि यस वर्षको अप्रिल १ सम्म विश्व स्वास्थ्य संगठनले २३ देशमा ८८९ जना मानिसमा संक्रमण हुँदा ४६३ जनाको मृत्यु भएको जनाएको छ । झाङका अनुसार पछिल्ला केही वर्षयता युरोप र संयुक्त राज्य अमेरिकामा भाइरस बढेयताका मानवीय घटनामा हल्का सङ्क्रमण देखिएको छ । अहिलेसम्म मानिसमा फैलिरहेको कुनै प्रमाण भेटिएको छैन । यदि आवश्यक भएमा उपचारका लागि एचफाइभ एनवानविरूद्धको केही खोप उत्पादनको तयारी भइसकेको झाङले बताए । उनले भने, ‘हामी आवश्यक परेको खण्डमा मानवका लागि छिटो खोप उत्पादन गर्न तयार छौँ ।’ एजेन्सी