बागलुङका ४ विद्यालय गाभिँदा ३१ विद्यालय घटुवा
बागलुङ । नयाँ शैक्षिकसत्रको सुरुआतसँगै सदरमुकामका संस्थागत विद्यालयले उच्च प्राथमिकताका साथ विद्यार्थी भर्ना अभियान चलाइरहेका छन् । अभिभावकको घर पुग्नेदेखि सामुदायिक विद्यालयका विद्यार्थी प्रेरित गर्ने अभियान चलिरहेको छ । सदरमुकामकै केही सामुदायिक विद्यालयमा पनि यो अभियान चलिरहेको छ । तर सबै सामुदायिकमा त्यो जाँगर देखिँदैन । घट्दो विद्यार्थी सङ्ख्या, संस्थागत विद्यालयमै अभिभावकको जोडबल र फितलो व्यवस्थापनले दुब्लाउँदै गएका सामुदायिक विद्यालयको व्यवस्थापनमा चुनौती छ । नयाँ शैक्षिकसत्रको सुरुआतसँगै बागलुङ नगरपालिकाले विद्यालय स्थगन र समायोजन गर्यो । यसले सामुदायिक विद्यालयमा सबै पक्षको चासो र मेहनत कम छ भन्ने सङ्केत गर्छ । नगरपालिकाले नगरभित्रका विद्यार्थी सङ्ख्या न्यून भएका चार विद्यालय स्थगन र ३१ विद्यालय समायोजन गरेको छ । शुक्रबार बसेको नगर कार्यपालिका बैठकले केही विद्यालय स्थगन गर्ने र केही विद्यालय घटुवा गर्ने निर्णय गरेको हो । बैठकले आधारभूत तहका चार विद्यालय नजिकका विद्यालयमा पूर्णरूपमा गाभ्ने निर्णय गरेको छ । वडा नं ९ का रानीभुमे र सरस्वती सामुदायिक प्रावि, वडा नं १२ को कालीगण्डकी र वडा नं १३ को लक्ष्मीनारायण संस्कृत पाठशाला स्थगन गर्ने निर्णय भएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । त्यस्तै आठ वटा विद्यालयमा बालविकास केन्द्र मात्रै सञ्चालन गर्ने, ११ विद्यालयमा बालविकास केन्द्र र कक्षा १ मात्रै सञ्चालन गर्ने, एउटा विद्यालयमा कक्षा १ मात्रै, पाँच विद्यालयमा कक्षा १ देखि ३ सम्म सञ्चालन गर्ने, दुई विद्यालयमा कक्षा ४ र चार विद्यालयमा कक्षा ६ सम्म कक्षा सञ्चालन गर्नेगरी ३१ विद्यालयमा तह मिलान गरिएको हो । बागलुङ बजारको मुटुमा रहेको बालमन्दिर आधारभूत विद्यालयदेखि भौगोलिक हिसाबले दूरदराजमा पर्ने ओख्ले प्राविसम्मका विद्यालय घटुवामा परेका छन् । नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यविधिअनुसार विद्यार्थी सङ्ख्या कम भएका, शिक्षक दरबन्दी नभएका विद्यालय नजिकका विद्यालयमा समायोजन गरिएको उनले बताए । नगरप्रमुख श्रेष्ठले विद्यालय सुधारको प्रयासलाई अगाडि बढाइएको बताए । सामुदायिक विद्यालयमा नयाँ प्रविधिको प्रयोगसँगै अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । शैक्षिक सुधारका लागि नगरपालिकाले विद्यालयको अवस्था बुझेर प्रतिवेदन तयार गर्न समिति बनाएको थियो । नगर शिक्षा समिति, अनुगमन तथा सिफारिस समिति र नगरसभा तथा कार्यपालिकामा भएका छलफलका आधारमा विद्यालय स्थगन तथा घटुवाको निर्णयमा पुगेको नगर प्रमुख श्रेष्ठ बताउँछन् । नगरको यो निर्णयबाट प्रभावित हुने शिक्षक विद्यार्थीको व्यवस्थापनका लागि उपयुक्त कदम चालिने उनले बताए । कक्षा १ देखि ३ सम्म २१ जना, ४ देखि ५ सम्म १४ जना, ६ देखि ८ सम्म २७ जना, ९ देखि १० सम्म ३० जना र ११ देखि १२ सम्म ३० जना विद्यार्थी हुनुपर्ने अनिवार्य मापदण्डलाई प्रमुख आधार बनाएर विद्यालय स्थगन तथा समायोजन भएका हुन् । घटुवा हुने विद्यालयमा वडा नं २ को बालमन्दिर आवासीय विद्यालय, वडा नं ३ को वसुन्धरा प्रावि, वडा नं ४ का देउराली प्रावि र उपल्लाचौर आवासीय विद्यालय , वडा नं ५ का मालिका आवासीय र कृष्ण आवासीय विद्यालय , वडा नं ६ का सदाशिवा प्रावि, आधारभूत प्रावि र भगवती प्रावि रहेका छन् । त्यस्तै वडा नं। ७ का जनचेतना प्रावि र ज्योतिपुञ्ज प्रावि, वडा नं ८ का भैण्डाँडा आवि र भगवती प्रावि, वडा नं ९ का सरस्वती प्रावि, जनसेवा प्रावि, तित्याङ प्रावि, इन्द्र प्रावि, कृष्ण प्रावि, वडा नं १० का सरस्वती प्रावि र बराहा प्रावि, वडा नं ११ का सरस्वती प्रावि, ओख्ले प्रावि, सिद्ध प्रावि र सहिद स्मृति प्रावि, वडा नं १२ का सरस्वती प्रावि, बुद्धिदात्री प्रावि, भैरव प्रावि र जगन्नाथ प्रावि, वडा नं १३ का दुर्गा भवानी प्रावि, सरस्वती प्रावि र वडा नं १४ को आधारभूत आवि रहेका छन् । स्थगन भएका विद्यालय विद्यार्थी सङ्ख्या पुगेका बेला जुनसुकै समयमा सञ्चालन गर्न सकिने गरी भौतिक संरचना संरक्षणको जिम्मेवारी दिने निर्णयसमेत बैठकले गरेको छ । सम्बन्धित वडाका वडाअध्यक्ष, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहेको समितिले खाली भएका संरचनाको व्यवस्थापन सहजीकरण गर्नेछन् । पुस्तकालय, सिकाइ केन्द्र, प्रशिक्षण केन्द्र तथा सामुदायिक भवनका रुपमा प्रयोग गर्न भवनको उपयोग गरिने नगर उपप्रमुख राजु खड्काले बताए । स्थगन र घटुवा हुँदा मौजुदा शिक्षक बच्ने भएकाले सोही वडाको अर्को विद्यालयमा व्यवस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ । रासस
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
म्याग्दी । अष्ट्रेलियाका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आएका थिए । पदयात्रा पर्यटकका रुपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीयस्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय छन् । नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा–खयर क्षेत्रमा पुगेका पिटर यहाँको प्राकृतिक सौन्दयर्ताले लोभिए । भ्रमण सकेर स्वदेश फर्किएपछि पिटरको समूह सन् १९९८ मा पुनःसोही क्षेत्रको भ्रमणमा निस्किए । दोस्रो पटकको भ्रमणमा पिटरको समूहले खोप्रा–खयर क्षेत्रको पदयात्रा मात्रै गरेनन्, उनीहरुले यसै पदमार्गमा पर्ने पाउद्वार गाउँमा पुगेर गाउँको अवस्था र समस्यासँग अन्तरघुलन हुने प्रयास गरेका थिए । ‘पहिलो पटक हामी हिमाल हेर्न नेपाल आएका थियौँ, दोस्रो पटक हामी यहाँको लालीगुराँस हेर्न आयौँ, त्यस बखत हामीले यहाँको जनजीवन र अवस्थासमेत बुझ्न पायौँ, यहाँका स्थानीयसँग भेट भएपछि हामी समुदायको अगुवाइमा शैक्षिक सुधारमा जोडिन पुगेका हौँ’, पिटरले भने । हिमाल र गुराँसलाई नजिकबाट हेर्न डाँडाकाँडामा घुम्न नेपाल आएका पिटर यसबीचमा १९ पटक नेपाल आए । सन् २००१ मा तेस्रो पटक पिटर दम्पती नेपाल भ्रमणको सिलसिलामा पुनःपाउद्वार गाउँमा पुगेका थिए । यसपटक पिटरको भ्रमण पाउद्वार गाउँको शैक्षिक सुधारमा योगदान गर्ने उद्देश्यमा केन्द्रित थियो । पिटर दम्पतीलाई स्थानीय पाउद्वार माविमा भव्य स्वागत भयो । गाउँलेको अगुवाइमा सञ्चालन भएको पाउद्वार माविसहित यस क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा पिटरको चासो र ध्यान केन्द्रित भयो । चौथो पटक सन् २००८ मा नेपाल आएका पिटरले ग्रामीण भेगका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण सिकाइ र शैक्षिक सामग्रीको व्यवस्थापन सम्बन्धमा शिक्षकलाई तालिम दिने योजना अघि सारे । तत्कालीन शिख गाविसअन्तर्गतका विभिन्न छ वटा विद्यालयलका शिक्षकलाई पिटरले व्यक्तिगतरुपमा आर्थिक सहयोग गरेर रिड नेपालमार्फत तालिम दिन सुरु गरेका थिए । सुरुआतका बर्षहरुमा व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आएका पिटरले पछिल्लो एकदशक यता भने संस्थागतरुपमा आर्थिक सहयोग गर्दै आएका छन् । तत्कालिन पाउद्वार माविका शिक्षकसमेत रहेका कृष्ण तिलिजाको नेतृत्वमा नेपालमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन ९लर्न० संस्था र अष्ट्रेलियामा पिटरको नेतृत्वमा क्वालिटी एजुकेशन संस्था दर्ता गरेर सहयोगलाई व्यवस्थित र पारदर्शी तथा शिक्षक तालिमलाई प्रभावकारी बनाउन थालिएको छ । लर्न र क्वालिटी एजुकेशनको साझेदारीमा तत्कालीन शिख गाविसका विद्यालयमा सुरु गरिएको शिक्षक तालिम अहिले म्याग्दीका तीन वटा स्थानीय तहमा विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षकलाई आधारभूत तथा स्तरीय शिक्षण सिकाइ सम्बन्धमा तालिम प्रदान गरिसकेको यस अभियानअन्तर्गत रघुगङ्गा र धवलागिरि गाउँपालिकाको साझेदारीमा समेत शिक्षक तालिमलाई कार्यान्वनयमा ल्याइएको लर्नका निर्देशक कृष्ण तिलिजाले बताए । ‘अभियन्ता पिटरको नेतृत्वमा क्वालिटी एजुकेसनमार्फत हामीलाई वार्षिकरुपमा रु ७० देखि ७५ लाख बराबरको सहयोग आउँछ, हामीले यहाँ स्थानीय तहसँग साझेदार गरेर शिक्षकलाई तालिम प्रदान गर्छौं, हामीले प्रदान गर्ने तालिमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा रचनात्मक सहयोग पुग्ने गरेको छ, आगामी वर्षमा म्याग्दीका थप पालिकाहरुमा शिक्षक तालिमको अभियानलाई जोड्ने जमर्को गरेका छौँ’, तिलिजाले भने । नेपालको हिमाललाई नजिकबाट नियाल्न भ्रमणमा आएका पिटरले यहाँको अवस्थालाई बुझेर शैक्षिक उन्नयनमा पुर्याएको योगदान प्रशंसनीय रहेको उनले बताए । लर्न र क्वालिटी एजुकेशनसँग गाउँपालिकाले साझेदारीमा शिक्षकहरुलाई कक्षाकोठामा शैक्षिक सामग्री निर्माण, प्रयोग, कक्षाकोठा व्यवस्थापन, विषयगत शिक्षण सिकाइ तथा सिर्जनात्मक कलालगायत विषयमा तालिम प्रदान भएपछि सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा महत्वपूर्ण उपलब्धि भएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षक कर्मचारीलाई छुट्टाछुट्टै ठाउँमा तालिम दिएका छौँ, यो तालिमले शिक्षकलाई सिर्जनात्मक बनाउन र कक्षाकोठालाई शैक्षिक सामग्रीयुक्त बनाउन सहयोग गरेको पाएका छौं’, अध्यक्ष भण्डारीले भने । लर्न र क्वालिटी एजुकेसनले शिक्षक तालिमसँगै सामुदायिक विद्यालयहरुमा आधुनिक कम्प्युटर प्रयोगशालासमेत स्थापना गर्न थालेको छ । क्वालिटी एजुकेसन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्याण्डको आर्थिक सहयोगमा लर्नले विद्यालयहरुमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालेको हो । यस वर्ष जिल्लाको रघुगगा–३ मौवाफाँटको ज्ञानोदय मावि, अन्नपूर्ण–४ नारच्याङको प्रभा मावि र धवलागिरि–४ मुदीको बुद्धिविकास माविमा २०र२० वटा कम्प्युटरको व्यवस्थापन गरेर सर्भर प्रणाली जडान भएको साथै कम्प्युटर कक्ष र प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।
नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण
काठमाडौँ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेस एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । एसीईबाट सम्बन्धन लिएर जिम प्रशिक्षक ट्रेनिङ (क्लास) सुरु गरेको क्लासिक फिटनेस एकेडेमीका प्रबन्ध निर्देशक रोजल शाहीले जानकारी दिए । नेपालमा प्रशस्त जिम सेन्टरहरू खोलिएका छन् र खोलिने क्रममा छ । तैपनि भनेजस्तो दक्ष जिम ट्रेनर नभएको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको प्रबन्ध निर्देशक शाहीको भनाइ छ । ‘पछिल्लो समय शारीरिक स्वास्थ्यता र आफूलाई फिट एण्ड राइट राख्नका लागि जिम गर्नेहरुको जमात बढ्दै गएको छ’, निर्देशक शाहीले भने, ‘थुप्रै जिम सेन्टरहरू पनि खुलेका छन् । तर, आवश्यक दक्ष ट्रेनर पाउने अवस्था छैन । त्यसैले अन्तराष्ट्रिय स्तरको जिम ट्रेनर उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’ अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि जिम तथा फिटनेश सेन्टरहरुमा आकर्षक रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ । निर्देशक शाहीले भने, ‘जिम ट्रेनर प्रशिक्षण जिम सेन्टरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को उद्देश्य पनि हो ।’ जिम ट्रेनर प्रशिक्षकले एसीईलगायत पाँच किसिमका अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउनेछन् । ईआरईपीएस फिटनेसका लागि युरोपभरि मान्यता प्राप्त छ । अन्य सर्टिफिकेटहरू पनि भारत, अमेरिकालगायतमा मान्यता प्राप्त हुनेछन् । अहिले पनि जिम ट्रेनरको क्लास भइरहे पनि औपचारिकरूपमा भने वैशाख १७ गतेदेखि सुरु हुने बताइएको छ ।
आउँदो माघसम्म यो सरकार टिक्दैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किनसक्ने दाबी गरेका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने भन्दै अहिहिलेको सत्ता गठबन्धन निर्माणबाट पनि चुनावअघिको गठबन्धन बेइमानी हो भन्ने पुष्टि हुने बताए । म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको’, उनले भने । नेता थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको उनको भनाइ छ । ‘चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ’, महामन्त्री थापाले भने ।
मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे
मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने गरेका छन् । सुविधा सम्पन्न होटलमा बस्न रुचाउने पर्यटक अहिले घरबास रोज्ने गर्दछन् । नासों गाउँपालिका–८ स्थित ताचै घरबासले बसाइ सस्तो हुनुका साथै स्थानीय उत्पादनको खानाले पर्यटकलाई आकर्षित गर्दै आएको छ । यहाँ बस्न आउने पर्यटक तथा पाहुनालाई स्थानीयरूपमा उत्पादित वस्तु खान दिने गरिएको नासों–८ का वडाध्यक्ष एवं ताचै घरबासका अध्यक्ष याद घले बताउँछन् । ‘यहाँ आउने पर्यटक तथा पाहुनालाई यही उत्पादन भएको खाद्यवस्तु खुवाउँछौँ, पानीघट्टामा पिसेको वस्तुको उपयोग हुन्छ, आफ्नै बारीमा उत्पादित सागपात, कोदो, तरकारी उपयोग गर्छौं,’ उनी भन्छन् । अधिकांश पाहुना सम्पर्क गरेर आउने गरेका उनले जानकारी दिए । अध्यक्ष घले भन्छन्, ‘यहाँ होमस्टेको अध्ययन गर्नकै लागि पनि पाहुना आउने गर्दछन्, होमस्टे सञ्चालनकै लागि अन्य होमस्टेबाट अध्ययनमा समेत आउने गर्नुहुुन्छ, यसले हामीलाई प्रोत्साहन मिलेको छ ।’ यहाँको हावापानी र प्राकृतिक सम्पदाले पनि आकर्षित भएको बताउने गरेको उनले सुनाए । यहाँका स्थानीय पाहुनालाई जैविक खानेकुरा खुवाउनका लागि कृषिकर्ममा जोडिएका छन् । अहिले ताचैगाउँमा हरियाली गहुँ, आलु, करु झुल्ने बेला भएको छ । मकै र कुलुु बोडी लगाउने तथा गोडिरहने काम गर्दै गरेको अवस्थामा यहाँका स्थानीय भेटिन्छन् । यहाँको संस्कार र संस्कृतिले पनि पर्यटक तथा पाहुनालाई लोभ्याउने गरेको छ । घरबासका सदस्य शारदा गुरुङ भन्छिन्, ‘हामीले यहीको उत्पादनमा मात्रै प्रयोग गर्छौं, बाहिरबाट ल्याउने भनेको चामल हो, त्यही पनि यहाँ नहुने भएर हो, यहीँको स्थानीय परिकारका लागि सबै सामान यही उत्पादित हुन् ।’ धेरै खाद्यान्न उत्पादन नभए पनि पाहुनालाई पुु¥याउने गरी उत्पादनमा जोड दिइएको उनले बताइन् । होमस्टेले महिलाका साथै गाउँलाई आयस्रोतसँग जोडेको उनले बताउइन् । गाउँका अधिकांश घर होमस्टे रहेको उनले जानकारी दिइन् । जैविक खानाका लागि यहाँको खाद्यान्नले पर्यटक तथा पाहुनालाई आकर्षित गरेको उनको भनाइ छ । ताचै गाउँमा घले र गुरुङको बसोबास रहेको छ । बोन धार्मावलम्बी यहाँका स्थानीयले आफ्नै संस्कार तथा सांस्कृतिक तवरबाट पाहुनालाई स्वागत गर्ने गर्दछन् । पाहुनालाई स्वागतका साथै यहाँका लोकसंस्कृति, नाचगानसँगै अर्ग्यानकि खाना खुुवाउने गरिन्छ । यहाँ आउने पर्यटकले ढिँडो, आलुुलगायतका खाना मन पराउने गरेका पाइन्छ । उनीहरुको माग स्थानीय उत्पादन हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ । यहाँका २६ घरधुरी घरबास सञ्चालनमा रहेको निवर्तमान वडाध्यक्ष एवं समाजसेवी हुपजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार करिब एक सयदेखि १ सय ५० जनासम्म घरबासले एकपटकमा पाहुना राख्न सकिन्छ । यहाँका घरबास विदेशी पर्यटककोसमेत रोजाइमा पर्दछन् । यहाँको स्थानीय संस्कृति अध्ययनका लागि पनि विदेशी पर्यटक आउने गरेको स्थानीयको बुझाइ छ । यसका साथै छोङ्रुपी झरनाले पनि यहाँको घरबासलाई थप आकर्षक बनाएको छ । झरनाले यहाँ आउने मानिसलाई लोभ्याउने गरेको छ । घरबास माथिबाट आएको झरनाले पर्यटकलाई आकर्षित गरेको छ । झरनाको काखमा रहेको यस घरबासलाई अझ राम्रोसँग नियाल्न झरनामा गएर हेर्न सकिन्छ । त्यसले गाउँलाई अझ मनमोहकरुपमा हेर्न पाइन्छ ।
सुनकोसी-मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब १ सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव एक सय ९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २६ गते सुरुङको ब्रेक थ्रु गर्नेछन् । त्यसका लागि तयारी भइरहेको छ । ‘प्रधानमन्त्रीको समय मिलाइसकिएको छ र अन्य आवश्यक तयारी पनि भइरहेको छ’, आयोजना प्रमुख मित्र बरालले भने । सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भए पनि त्यसलाई समाधान गरेर अगाडि बढिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले भने, ‘ग्राउटिङलगायतका विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ, सुरुङ निर्माण निरन्तररूपमा अगाडि बढिरहेको छ ।’ सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको छ । अन्य आयोजनाको पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन नियमित निर्देशन दिएका छन् । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ । निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले यसअघि नै निर्देशन दिएको थियो । प्रधानमन्त्री दाहालले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुगमन भइराखेको छ । आयोजना प्रमुख बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन ९टिबिएम० प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । आगामी बर्खााअघिसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई–मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटकपटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ । सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोसी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ । सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रूपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ । सो आयोजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइन्छ । रासस
बाँकेमा २ सय ६५ घरेलु उद्योग बन्द
राँझा ।बाँकेमा चालु आर्थिक वर्षको ९ महिनामा २ सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरूपमा बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका १ सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिए । उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । १ सय ५ उद्योगतर्फ र १ सय ६० वाणिज्यतर्फका फर्म बन्द भएका हुन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी÷व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका छन् । बाँकेमा गत आर्थिक वर्ष २०७९÷८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए । यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन् । यस वर्ष चालु आर्थिक वर्षको चैतसम्म ९ महिनाको अवधिमा उद्योगतर्फ ४ सय ३४ र वाणिज्यतर्फ ३ सय ७३ गरी ८ सय ७ घरेलु तथा साना उद्योग दर्ता भएको सूचना अधिकारीले जानकारी दिए । बाँकेमा चैत मसान्तसम्म उद्योगतर्फका ६ सय ३१ र वाणिज्य फार्म १ हजार १ सय ५० गरी १ हजार ७ सय ८१ घरेलु तथा साना उद्योग नविकरण भएका छन् । कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले बताए । उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौँ उद्योगी व्यवसायी नेपालगञ्जबाट विस्थापित हुन पुगेका छन् ।
सगरमाथा चढ्न ३५२ जनाले लिए अनुमति, उठ्यो ५० करोड रोयल्टी
काठमाडौं । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोडभन्दा बढी राजस्व संकलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका ३ सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार ३ सय ९९ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवर्द्धकरूपमा आरोही आइरहेको बताए । उनका अनुसार सगरमाथा आरोहीबाट हालसम्म राजस्व राजस्व संकलन भइरहेको छ । अघिल्लो वर्षकै हाराहारी रोयल्टी उठ्ने अनुमान गरिएको उनले बताए । विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र २ सय ८७ पुरुष गरी जम्मा ३ सय ५२ आरोहीले अनुमति पाएका छन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका हुन् । निर्देशक गुरुङले आरोहीको सङ्ख्या पनि अघिल्लो वर्षकै हाराहारीमा आउने अपेक्षा गरिएको बताए । अघिल्लो वर्ष हालसम्कै सर्वाधिक ४ सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए । उनीहरूबाट रोयल्टी रकम पनि बढ्ने विभागको अनुमान छ । गत वर्ष ७६ करोड रुपैयाँ रोयल्टी रकम जम्मा भएको थियो । यस वर्ष ५६ करोड रुपैयाँ रोयल्टी उठिसकेको छ । थप पाँचदेखि सात करोड रोयल्टी जम्मा हुने अनुमान गरिएको निर्देशक गुरुङले बताए । विभागका अनुसार सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रोयल्टी जम्मा भएको छ । यसमध्यै सगरमाथाबाट सर्वाधिक रोयल्टी उठेको हो । ‘यो यामको सगरमाथा आरोहण उत्साहजनक देखिएको छ, रोयल्टी रकम पनि अघिल्लो वर्षकै हाराहारी हुने विभागको अपेक्षा छ,’ निर्देशक गुरुङले भने, ‘सगरमाथा आरोहीको सङ्ख्या वैशाख ७ गतेसम्म तीन सय ५२ पुगिसकेको छ । अब तीनदेखि चार वटा अनुमति होला, त्यस हिसाबले हेर्दा ४ सयभन्दा बढी आरोही पुग्ने देखिन्छ ।’ विभागको विवरणमा सगरमाथापट्टी ल्होत्से हिमालबाट १ करोड ७२ लाख ५८ हजार ९ सय २२ र मकालु हिमालबाट १ करोड ७७ लाख ४८ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ । पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई ११ लाख रुपैयाँ दस्तुर लाग्छ । नेपालीले ७५ हजार रुपैयाँ तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । वसन्त ऋतु आरोहणका लागि उपयुक्त याम मानिन्छ । यस याममा सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट सर्वाधिक संख्यामा आरोही आउँछन् । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा पनि धेरै सङ्ख्यामा आरोही आएको बताए । वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि बाक्लो संख्यामा आरोही आइरहेको र यसले नेपालको पर्यटनमा उत्साह जगाएको बताउँछन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरि, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि आरोही हिमालतिर लागेका हुन् । यस यामको सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म बाटो खुलिसकेको विभागले जनाएको छ । सगरमाथाको चुचुरोसम्म बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ) का लागि सगरमाथा क्षेत्रमा खटिएका हुन् । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाएको छ । यस्तै दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ ।