युक्रेनलाई ६१ अर्ब डलरको राहत प्याकेज अमेरिकी संसदबाट पारित
काठमाडौं । युक्रेनलाई सहयोग गर्न अमेरिकाको संसद्ले ६१ अर्ब अमेरिकी डलरबराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३ सय ११ मत परेको थियो । तर, यो प्रस्तावको विपक्षमा पनि १ सय १२ मत परेको थियो । अब यो प्रस्ताव पारितका लागि अमेरिकी सिनेटमा जानेछ । अबको केही दिनमा सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ । यसलाई सिनेटमा पारित गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरी कानुनी रूपमा मान्यता दिनेछन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘लोकतन्त्र र स्वतन्त्रता विश्वव्यापी मञ्चमा सधैं महत्त्वपूर्ण हुनेछ, र तिनीहरू कहिल्यै असफल हुन सक्दैनन् जबसम्म अमेरिका उनीहरूको रक्षा गर्न त्यहाँ छ।’ यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलरबराबरको सैन्य सहायता पनि दिइएको छ । गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेजमा राखिएको छ । एजेन्सी
सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको ३ लाख ६४ हजार २८६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नागपोखरीस्थित कुमारी क्यापिटल लिमिटेड आइपुग्ने गरी आवेदन दिनुपर्ने छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ निर्धारण गरिएको छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख पैयाँ बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो । ‘तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि सात वर्षदेखि अलपत्र थियो, यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेका छौँ,’ स्थानीय अगुवा एवं पूर्ववडासदस्य दिलबहादुर पुनले भने । सात वर्षअघि रु १३ लाख खर्चेर जङ्गलेखोलाको मुहाबाट करिब एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट पाँच सय मिटर दुई सय मिलीलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप तीन सय मिटर पाइप लाइन जडान भइरहेको जानकारी दिए । खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनीयर अन्जन खत्रीका अनुसार सो योजनाबाट पन्थोकको ५० हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उपभोक्ता समिति र स्थानीयवासी गरी दैनिक १२ देखि २० जनाले श्रमदान गरेर पाइप लाइन खन्ने र जोड्ने काम गरिरहेका छन् । योजनाको शनिबार अनुगमन गर्नुभएका खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलालगायत म्याग्दीका ६० वटा सिँचाइ आयोजना निर्माणाधीन रहेका बताए ।
सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो । जो कोही व्यक्ति, संस्था वा कम्पनीले यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने आवेदन माग गरिएकोमा उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार लगानीकर्ताले काठमाडौं बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरि निवेदन पेस गर्नुपर्नेछ ।
कुमारी बैंकको ६ लाख ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी संस्थापक सेयरधनीहरूको नाममा रहेको ६ लाख ९८ हजार ५ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी
काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ । लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । त्यसैगरी, राति कोशी, मधेस,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । मधेस तथा कोशी प्रदेशका तराई भेगका एक/दुई स्थानमा हुरीबतासको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । मधेस तथा कोशी प्रदेशका तराई भेगका एक/दुई स्थान र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल
ढोरपाटन । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै वनजङ्गलको स्वच्छ हावापानी र चराचुरुङ्गीको आवाजसँग रमाउनेको संख्या विस्तारै बढिरहेको छ । अझ पदयात्रा गर्नेहरू धेरै छन् । बागलुङको तल्लो क्षेत्रबाट उच्च पहाडसम्म आन्तरिक पर्यटकहरु घुमफिर गर्न थालेका छन् । दुई वर्षदेखि तमानखोलाको बराह ताल र ढोरपाटनको बुकी क्षेत्रलाई आन्तरिक पर्यटकले छोटो पदयात्राको मुख्य थलो बनाएका छन् । पश्चिम बागलुङको मुख्य व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट नजिकै रहेको बराह ताल क्षेत्रमा केही समय यता पदयात्रामा जानेको संख्या बढेको छ । चिसो हावापानी, शान्त वातावरण र प्राकृतिक सुन्दरताका कारण बराह तालमा पुग्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । घना जङ्गलको बीचमा अवस्थित छ बराह ताल । छेउमै रहेको सिद्ध बराह मन्दिर र यहाँबाट देखिने अनगिन्ती हिमशृङ्खलाका दृश्यले जोकोहीलाई मोहित बनाउँछ । तमानखोला गाउँपालिका–२ मा रहेको बराह तालसम्म धेरै ठाउँबाट पुग्न सकिने हुँदा पदयात्रा गर्नेका लागि आकर्षणको केन्द्र बनेको हो । बुर्तिबाङ बजारबाट तीन तीन घण्टा ३० मिनेट, अधिकारीचौरबाट तीन घण्टा, ढोरपाटन सिकार आरक्षबाट गुर्जाघाट हुँदै चार घण्टा र तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ । बराह ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि तमानखोला गाउँपालिकाले बर्सेनि लाखौँ रुपैयाँ पर्यटन पूर्वाधारमा लगानी गर्दै आएको छ । पाँच वर्ष अघिसम्म ताल ओझेलमा परेको थियो । गाउँपालिकाले पूर्वधार निर्माण र प्रचारप्रसार गर्न थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका हुन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बराह ताल क्षेत्रको विकासका लागि हालसम्म रु एक करोड ५० लाख बढी लगानी भएको बताए । तालक्षेत्रमा पर्यटनका पूर्वधार निर्माण हुनुअघि कहिलेकाहीँ नजिकैको गाउँमा स्थानीय घुम्न गए पनि बाहिरी जिल्लाबाट आउनेको संख्या निकै कम भएको उनको भनाइ छ । गाउँपालिकाले ताल संरक्षणसँग बराह मन्दिर, पदमार्ग निर्माणलगायतका संरचना बनाएको अध्यक्ष बुढामगरले बताए । पछिल्लो समय दैनिकजसो आन्तरिक पर्यटक तालमा आउने गरेको उनी बताउँछन् । ‘बराह तलामा आउनेको संख्या हरेक वर्ष बढिरहेको छ, अहिले पनि दिनहुँ पर्यटकले तालको अवलोकन गर्ने गरेका छन् । यतिबेला जङ्गल पूरै लालीगुराँसले राताम्य बनेको छ, फूल र यहाँको वातावरणसँग रम्न आउने धेरै छन्,’ अध्यक्ष बुढामगरले भने, ‘हामी निर्वाचित भएर आएदेखि सुरुको कार्यकालमै यसको विकासमा जुटेका थियौँ, सडक पुगेको थिएन, सडक पुर्यायौँ, पदमार्ग बनाएका छौँ, अन्य थुप्रै संचरना बन्ने चरणमा छन्, घुमफिर गर्नेहरुको रोजाइमा बराह ताल परेको छ ।’ चितवनबाट घुम्न आएका राजु पौडेलले बराह ताल निकै रमणीय रहेको बताए । गर्मी बिदामा ढोरपाटन घुम्न आएको सुनाउँदै ११ जनाको टोली बुर्तिबाङबाट बराह तालसम्म पदयात्रा गरेको सुनाउँदै एक रात ताल छेउमै ‘क्याम्प फायर’ गरेर बसेको बताए । आफूहरू बराह ताल पुग्दाको साँझ अन्य तीन टोली पनि त्यहाँ पुगेको सुनाउँदै यही रुट हुँदै ढोरपाटन पुगेको उनको भनाइ छ । वसन्त ऋतुमा फुलेका विभिन्न थरिका फूल, चराचुरुङ्गीको आवाज र यहाँबाट देखिने दृश्यले आफूहरुलाई लोभ्याएको पौडेलले बताए । उनले भने, ‘यो सिजन निकै उपयुक्त हुँदोरैछ, खासै चिसो पनि भएन, गर्मी पनि भएन, हाम्रो पुख्र्यौली घर यतै भएकाले साथीहरुसँग घुम्न आएका थियौँ, निकै रमाइलो भयो, बुर्तिबाङ बजारबाट धेरै टाढा रहेनछ, त्यही भएर होला अरु धेरै मान्छेहरू यहाँ आउँदा रहेछन्, यो ठाउँले हाम्रो मन जित्यो ।’
भारतीय नाका जोड्ने अमरपथ सडक धमाधम कालोपत्रे हुँदै
झापा । कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । ‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको सुरुंगा चोकदेखि डिगलबैंकसम्मको २४ किलोमिटर सडकमध्ये अब नौ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले जानकारी दिए । उनका अनुसार सो सडकको दुई खण्डमा निर्माण भइरहेको छ । मैनाचुली–रोशन जेभीले ५७ करोड १८ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का लिएको छ । जसमध्ये सुरुंगा चोकदेखि झापा गाउँपालिकाको सीमानासम्म पहिलो खण्डको आठ किलोमिटर सडक कालोपत्रे गत मंसिरमै सम्पन्न भएको थियो । अमरपथ सडक खण्डको दोस्रो चरणको निर्माण तीव्र गतिमा भइरहेको उनले जानकारी दिए । झापा गाउँपालिकादेखि दक्षिणतर्फ सात किलोमिटर सडकको कालोपत्रे भइसकेको बताए । इन्जिनियर चौधरीका अनुसार निर्माण कम्पनीले वि।सं। २०७६ मंसिर ३० गते चार वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर, कोभिड महामारी र सरकारले समयमा बजेट निकासी गर्न नसक्दा एक वर्षको म्याद थप गरी विसं २०८१ मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत सो सडकको निर्माण भइरहेको छ । सडक निर्माणमा बजेट अभाव भएको कार्यालयले जनाएको छ । ‘सडक सम्पन्न गर्न अझै १५ करोड रकम चाहिन्छ,’ उनले भने, ‘तर, कार्यालयसँग अब १५ लाख रुपैयाँ जति मात्र बजेट बाँकी छ ।’ उहाँले मन्त्रालयले बजेटको सुनिश्चितता नगरी योजना कार्यान्वयन गर्दा तोकिएको मितिमा काम सक्न सकस हुने गरेको बताए । उनका अनुसार थप बजेट निकास भएमा तोकिएकै मितिमा सडकको निर्माण सम्पन्न हुनेछ ।