मल्टीपर्पस फाइनान्सबाट बाहिरिँदै यूनाइटेड अजोड
काठमाडौं । मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर फाइनान्सबाट बाहिरिने भएको हो । फाइनान्स कम्पनीका अनुसार इन्स्योरेन्स कम्पनीले २ लाख ५० हजार ९७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । फाइनान्सको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने फाइनान्सले जनाएको छ ।
प्रभु हेलिकप्टरका क्याप्टेन निलम्बनमा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ । क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए । उनले भने, “क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म आज निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।”
फोनपेले सुरु गर्यो नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल
ललितपुर । फोनपे पेमेन्ट सर्भिसले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तर्गत यस संस्थाले सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात गरेको हो । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई फोनपे कार्ड स्कीम अन्तर्गत रहि पुर्णरुपको डिजिटल क्रेडिट कार्ड (फोनपे भर्च्युअल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत लिन सक्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम परियोजना अन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम फोनपे क्रेडिट कार्ड स्कीम सञ्चालनमा ल्याउन लागिएको हो । यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाद रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।
निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौं आइपुग्ने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौं आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिए । मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिँदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौं आउन लागेको बताए । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको बताए । जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौं फर्किन लागेको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज भोलि राति काठमाडौं आइपुग्नेछ । जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उनले जिकिर गरे । नाइन-एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो । इयूको उडान प्रतिबन्ध हटाउन पहल पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिए । उनले भने, ‘नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउनुपर्छ भन्ने हिसाबले मैले पद बहालीका क्रममा बोलेको थिए । त्यो कुरामा म अहिले पनि अडिग छु । सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेका छौँ, नेपालका जहाज संसारको आकाशमा निर्बाध रुपमा उड्न पाउनुपर्छ ।’ कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयल र मातहत निकायबाट गरिनुपर्ने काम नियमित भइरहेको बताए । नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका सचिव डा काफ्लेले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति निष्पक्ष र पारदर्शी हुने बताएका छन् । उनले सीइओ छनौट समिति आफैँमा स्वतन्त्र भएकाले नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष ढङ्गले हुने दाबी गरे । रासस
डेढ दशकभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य हुन्छ : मन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् । मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’ सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ ।’ श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आज छलफल आयोजना गरेको हो । मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए । उनले भने, ‘मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीका लागि आवश्यक पर्ने सीपका बारेमा जानकारी पाउनेछन् ।’ उनका अनुसार मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहेअनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको बताए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने उनको भनाइ छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि बृहत् रोजगार मेलाको परिकल्पना गरिएको बताए । छलफलमा नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, होटल व्यवसायी सङ्घका अध्यक्ष विनायक शाह, उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगारविज्ञ रामेश्वर नेपाललगायतले सुझाव दिएका थिए । रासस
हिरो मोटोकर्पले उद्घाटन गर्यो एसेम्बली प्लान्ट, तीन महिनाभित्र १०० बढी आउटलेट खोल्दै
काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने कम्पनी हिरो मोटोकर्पले नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको छ । नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा कम्पनीले आफ्नो आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको हो । हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू एक्सप्लस २०० ४भी, सुभर स्प्लेन्डर, स्प्लेन्डर प्सल मोटरसाइकल र जुम ११० स्कुटर बजारमा ल्याएको छ । अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार यस प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुनेछ र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्दैछ । हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो । यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ । सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्व-स्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्वपूर्ण बजार हो ।’ त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं ।’ यस नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा अवस्थित छ जसले गर्दा उत्पादनहरू द्रुत रूपमा देशभर उपलब्ध हुने सुनिश्चितता प्रदान गर्ने कम्पनीको दावी छ । साथै, सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले सबै ग्राहक आवश्यकताहरू सम्बोधन गरिएको सुनिश्चित गर्नेछ । सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ । साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने कम्पनीको योजना छ ।
रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीलाई स्काइवाक टावरमा छुट
काठमाडौं । रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीले वन्डर्स नेपालको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धमा रिलायन्स फाइनान्स र वन्डर्स नेपाल प्रा.लि बीच द्विपक्षीय सम्झौता भएको हो । रिलायन्स फाइनान्सले डिजिटल लेनदेनहरूलाई प्रोत्साहन गर्ने र त्यस्ता साझेदारीहरू मार्फत ग्राहकहरूको फाइदा बढाउने लक्ष्य राखेको छ । रिलायन्स फाइनान्स डिजिटल बैंकिङ च्यानलहरू विस्तार गर्न प्रतिबद्ध छ र ग्राहकहरूलाई डिजिटल भुक्तानी विधिहरू प्रयोग गर्न प्रोत्साहित गर्दछ । डिजिटल लेनदेनका लागि थप विवरणहरू फाइनान्सको वेबसाइटमा हेर्न सकिने संस्थाले जानकारी गराएको छ । हाल फाइनान्सले आफ्ना मुख्य कार्यालय, कमलादी काठमाडौंसहित अन्य २१ वटा शाखा कार्यालय मार्फत् आफ्ना ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरुमा कर्जा प्रदान गरिरहेको छ । साथै, संस्थाले विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ ।
लुम्बिनी सम्मेलनको शान्ति सन्देश उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण
काठमाडौं । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजना भएको लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश आइतबार उपप्रधान तथा विदेशमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । गत ९ र १० चैतमा लुम्बिनीमा आयोजना भएको सम्मेलनले पारित गरेको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट सचिव सेवा लम्साल लगायत नेपालका कार्यरत सवै अवैतनिक वाणिज्यदुतहरुले हस्ताक्षर गरेका हुन् । लुम्बिनी शान्ति सन्देशको क्यानभासलाई अवैतनिक वाणिज्युदुतको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)का अध्यक्ष विष्णु अग्रवालले उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । एचसीसीएन नेतृत्व तथा परराष्ट्र मन्त्रालयका समन्वयमा आयोजित लुम्बिनी सम्मेलनले अन्तराष्ट्रिय शान्ति र समृद्धिका लागि विश्व समुदायलाई आव्हान गरेकोछ । मानविय शान्ति, विकास तथा सामुहिकताको लागि शान्ति अपरिहार्य रहेको सम्मेलनको ठहर छ । हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हित प्रवद्र्धन गर्ने खालका कार्यक्रमको आयोजना गर्न एचसीसीएनलाई आग्रह गरे । उनले सम्मेललनले विश्व शान्ति, नेपालमा लगानी प्रवद्र्धन तथा पर्यटन विकासमा महत्वपुर्ण भूमिका खेलेको बताए । उक्त कार्यक्रममा बोल्दै एचसीसीएनका डिन विष्णु अग्रवालले विश्व शान्तिको सन्देश दिन सम्मेलन सफल भएको बताए । उनले सहभागी कुटनीतिक प्रतिनिधिले सम्मेलन आयोजनाको समय र सन्देश दुवै सान्दर्भिक रहेको बताएको चर्चा गरे । लुम्बिनी कन्क्लेभको अन्तमा जारी गरिएको सो सन्देशमा विश्वभाइचारा, सदभाव र समृद्धिका लागि लुम्बिनीको विशेष महत्व रहेको उल्लेख गरिएको छ । विद्यमान विश्वमा रहेको अशान्ती, अन्यौल तथा द्वन्द्वलाई अन्त गर्न विश्व समुदायले आफ्नो प्रयासलाई सशक्त पार्न सम्मेलनले आव्हान गरेको छ । बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपुर्ण योगदान गर्ने विश्वास एचसीसीएनले लिएको छ । सम्मेलनमा ग्रिस, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका साथै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानिया लगायत १९ वटा मुलुकका गैरआवासीय राजदूत सहभागी थिए । सम्मेलनमा सहभागी कैयन देशका कुटनीतिक प्रतिनिधीहरुले नेपाल पहिलो पटक भ्रमण गरेका थिए । यसैगरी, उक्त सम्मेलनमा नेपालमा कार्यरत ४५ देशका अवैतनिक वाणिज्यदुतहरु, परराष्ट्र मन्त्रालय, लगानी बोर्ड, नेपाल पर्यटनको उच्च अधिकारी लगायतका उपस्थिति थियो । सम्मेलनका क्रममा लगानी बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको विजनेस सेसनमा सहभागीलाई नेपालमा लगानी तथा पर्यटनका अवसर तथा छिटै आयोजना हुन लागेको नेपाल लगानी सम्मेलनका बारेमा जानकारी गराइएको थियो । बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपुर्ण योगदान गर्ने विश्वास गरिएकोछ । लुम्बिनी सम्मेलनका दौरान कला प्रदर्शनी, परम्परातगत नृत्य, लागनी तथा पर्यटन प्रवर्धनका विषयमा प्रस्तुती र छलफल भएको थियो ।