कब्जामा रहेका विद्यार्थीलाई फर्काउन पहल हुँदैछ : प्रधानमन्त्री
महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे । ‘सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’ उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे । ‘अझै पनि एकजना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।’ रासस
सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको हो । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका हुन् । भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार देखी २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् । भर्चुअल क्रेडिट कार्ड क्यूआरकोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ई.एम.आइ को सुविधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधि भित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशत देखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
ह्वाइट लोटसले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । ह्वाइट लोटस पावरले आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिसेयर अंकित मुल्य १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा बिक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरे । ह्वाइट लोटस पावरले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
बजारमा छायो हरियाली, १२ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । विगत पाँच दिनदेखि निरन्तर ओरालो लागेको बजारमा आइतबार भने अन्तिमको समयमा दोहोरो अंकले बढेर हरियाली छाएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.६२ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । गत बिहीबार २ अर्ब ९ करोडको सेयर कारोबार भएको बजारमा आइतबार भने २ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । आइतबार ३१० वटा स्क्रीप्स कारोबार भएकोमध्ये गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । फाइनान्सको एकैदिन १० करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूूल्य भने ३२.९० अंकले घटेर प्रतिकित्ता ७८७.१० रुपैयाँमा झरेको छ । सो दिन बैंकिङ र म्युचुअल फण्ड बाहेक बाँकी समूह हरिया देखिएका छन् । दोल्टी पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ४८७ रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.४८ प्रतिशत र रु रु जलविद्युत् परियोजनाको सेयर मूल्य ८.१८ प्रतिशतले बढेको छ । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ७०० र ५४६ रुपैयाँ रहेको छ । टप लुजरको शीर्ष स्थानमा भने पिपुल्स पावर रहेको छ । जसको सेयर मूल्य ७.४६ प्रतिशतले घटेर प्रतिकित्ता ६०८ रुपैयाँमा झरेको छ ।
चन्द्रागिरी नगरपालिकामा सरसफाई अभियान कार्यक्रम सम्पन्न
काठमाडौं । चन्द्रागिरी नगरपालिकामा शनिबार सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका र चन्द्रागिरी पूर्व सुरक्षाकर्मी परिषद्को संयुक्त आयोजनामा (नागढुङ्गा -ढुङ्गे अड्डा) सरसफाई गरिएको हो । उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरी, उप-प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, अध्यक्ष विक्रम पाण्डे लगायत नगर प्रहरी र पूर्व सुरक्षाकर्मीहरुको सयौँको संख्यामा उपस्थित थियो । पूर्व सुरक्षाकर्मी नगरपालिकाका सचिव नेपाली सेनाका अवकास प्राप्त प्रमुख सुबेदार सुब्बा थपलियाले विभिन्न ४ स्थानबाट सरसफाइ अभियान प्रारम्भ गरी करिब ३ घण्टा पछि उक्त अभियान समापन भएको बताए । उनले आगामी दिनहरुमा पनि नगरपालिका सँग सहकार्य गर्दै नगर भित्रका विभिन्न धार्मिक, सांस्कृति, एतिहासिक तथा पर्यटकीय महत्वको स्थानहरुमा सरसफाइ, स्वयं सेवकको भुमिका निर्वाह गर्दै नगर भित्र जुनसुकै कार्य गर्ने पनि जानकारी दिए ।
एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा कम्पनीको थप २४ लाख ४५ हजार ३५७ कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।
साढे ११ खर्बको आयात हुँदा निर्यात १ खर्बमा सीमित, १० खर्ब बढीको व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म साढे ११ खर्ब बढीको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतमा आयात २.८४ प्रतिशत आयात घटेर ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाखरुपैयाँको आयात भएको हो । आयात साढे ११ खर्ब पुग्दा निर्यात भने १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँमा सीमित छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा कुल १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतसम्म कुल १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँबराबरको व्यापार घाटा रहेको छ । कुल व्यापारमा आयातको हिस्सा ९१.११ प्रतिशत छ भने निर्यातको हिस्सा ८.८९ प्रतिशत मात्रै छ । २०८०÷८१ को ९ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको छ भने निर्यात साढे १२ अर्ब रुपैयाँमा सीमित छ । नेपालले १ सय ५० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गर्दै आएको छ । त्यसमध्ये भारतसँग सबैभन्दा धेरै व्यापार छ । तथ्यांकअनुसार भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोडको आयात भएको छ ।
चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए अन्टार्कटिकामा ४६ वटा सबग्लेसियल ताल
काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् । अन्टार्कटिका दुई हजार चार सय मिटरभन्दा बढीको औसत मोटाइसहित विशाल बरफले ढाकिएको छ । यस बरफको पत्रमुनि असङ्ख्य सबग्लेसियल तालहरू रहेका छन् । पोलार रिसर्च इन्स्टिच्युट अफ चाइना (पिआरआइसी) को अनुसन्धान समूहका नेता ताङ जुयुआनका अनुसार पग्लिँदै गरेको बरफको धाराहरू यसको पत्रमुनिको खाडलमा बग्दा सबग्लेसियलहरू बन्छन् । ‘बरफको पत्रको गतिशीलता, पानीमुनि जम्ने प्रक्रिया, सबग्लेसियल भू–रासायनिक चक्रका साथै जीवनको विकास बुझ्नका लागि अन्टार्कटिकामा सबग्लेसियल तालहरूको अध्ययन महत्त्वपूर्ण छ’, ताङले भने । वैज्ञानिकहरूले भेरिएसनल अटोएनकोडर (भिएई) प्रयोग गरी बरफ राडारमा देखाइएको बरफको तल्लो प्रतिबिम्बको वेभफर्म सुविधाको विश्लेषण गर्न नयाँ विधि प्रस्तुत गरेका छन् । उक्त विधि प्रयोग गरेर अनुसन्धान टोलीले पूर्वी अन्टार्कटिकाका गम्बर्टसेभ सबग्लेसियल पर्वतहरूको एजिएप–एस क्षेत्रमा बरफ राडार छविको व्यापक स्क्यान गरेको छ । परम्परागत विधिहरूले पहिचान गरेकोभन्दा ज्यामितीय रूपरेखा धेरै सानो भएका ४६ वटा सबग्लेसियल तालको अस्तित्व रहेको नतिजाले देखाएको छ । यस नयाँ विधिले सबग्लेसियल ताल खोजको दक्षता र शुद्धतामा उल्लेखनीय सुधार गरेको र अन्टार्कटिकामा अन्य प्रकारका सबग्लेसियल वातावरण पत्ता लगाउन र लेबलिङलाई विस्तार गर्न सकिने विश्वास गरिएको छ । उक्त अनुसन्धान पिआरआइसी, चाइना युनिभर्सिटी अफ जियोसाइन्सेस (वुहान) र दक्षिणी विश्वविद्यालय विज्ञान तथा प्रविधिको टोलीले संयुक्तरूपमा गरेको हो । हालसम्म विश्वभरका वैज्ञानिकहरूले अन्टार्कटिक बरफको पत्रमुनि कूल छ सय ७५ सबग्लेसियल ताल पत्ता लगाएका छन् । रासस