हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त
काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतम (सीईओ)मा आशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् । बैंकको २०८० चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको हो ।
मनाइयो तेमाल जात्रा (फोटो फिचर)
काठमाडौं । प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइएको छ। तिमालजात्रा तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो । तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा बिशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् । प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायलेमनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीले यो पर्व मनाउने गरेको छ । यस जात्राका क्रममा पितृमोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ । उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना गर्दछन् ।
पर्यटकको रोजाइमा हात्तीदह सिमसार
सिरहा । दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’को विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गरेका छन् । हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिले वार्षिकोत्सवको अवसर पारी एक समारोहका बीच अध्यक्ष रुद्रनारायण चौधरीले पछिल्लो एक वर्ष अवधिको पर्यटक आगमनको अभिलेख सार्वजनिक गरेका हुन् । सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको अध्यक्ष चौधरीले बताए। ‘सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन रहन गयो । यसले हामीलाई थप उत्साहित बनाएको छ’, अध्यक्ष चौधरीले भने, ‘पर्यटकको रोजाइमा यस क्षेत्र पर्नुमा विभिन्न सहयोगीहातको भूमिका महत्वपूर्ण रहेको छ । आगामी दिनमा यस पर्यटकीय क्षेत्रलाई अझै व्यवस्थित बनाइँदै लगिने छ ।’ डिभिजन वन कार्यालय, लहानको जैविक विविधता साथै पर्यापर्यटनको लागि सहयोग, लहान नगरपालिकाले सडक बाटोे निर्माण तथा मर्मत, दिवङ्गत नेता प्रदीप गिरीको सङ्घीय संसदीय विकास कोषबाट खानेपानी ट्याङ्की निर्माण, १५ नं वडाले विद्युतीकरण र खानेपानी धारा जडान, बृहत् जलाधार व्यवस्थापन कार्यलय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले वनभोजस्थल निर्माण र पर्यापर्यटन प्रवद्र्धनको लागि सहयोग प्राप्त भएपछि इको टुरिजम क्षेत्रको विकास गर्न सम्भव भएको अध्यक्ष चौधरीले जानकारी दिए । चुरे पर्वतको फेदमा हरियाली वनजङ्गल, बीचमा ‘बोटिङ’ सहितको स्वच्छ र सफा पोखरी, उद्यान निर्माण, चिसो हावापानी र शान्त वातावरण यहाँको आकर्षण हुन् । त्यसैगरी फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइन र प्राणी उद्यान केन्द्र सञ्चालन । करिब ५६ हेक्टरमा फैलिएको लहान १५ ढोड्नास्थित ‘कोइरालो समुदायिक वन’मध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाइएको हो । आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्नको लागि साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे प्रवद्र्धन, घोडा सवारी, पोखरी माथि पुल निर्माण तथा सूचना केन्द्र स्थापना गर्नेजस्ता योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए । यस पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट प्रत्यक्षरुपमा आठ जना र अप्रत्यक्षरुपमा ३० जना संरक्षणकर्मीले रोजगार पाएका पनि अध्यक्ष चौधरीले बताए । नजिकै प्रसिद्ध राजदेवी मन्दिर भएकाले धार्मिक एवं वातावरणीय पर्यटनको एकसाथ विकास गर्न स्थानीय तह लागिपरेको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। यस सिमसार पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै नगरप्रमुख चौधरीले आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट भौतिक विकास र स्थानीय युवाको रोजगारी सिर्जनामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । रासस
अरुण भ्याली हाइड्रोको २० लाख कित्ता सेयर बिक्री खुला
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको करिब २० लाख कित्ता हकप्रद सेयर आज (बैशाख १० गते) देखि बिक्री खुला गरिएको छ । कम्पनीको अवितरित १९ लाख ९२ हजार १३४ कित्ता कित्ता हकप्रद सेयर बिक्रीमा राखिएको हो । हाइड्रोपावरले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको १९ लाख ९२ हजार १३४ कित्ता सेयर आजदेखि लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले बैशाख २४ गतेगतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
नेकपा स्थापनाको ७५ वर्ष पूरा, आज हीरक महोत्वस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ । नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको हो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए। स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन् । मुलुकको एक प्रमुख कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव)का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ । नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान दिने विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरिने भएकाले समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । आइतबार सम्पन्न एमालेको परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । मुलुकबाट निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापना गर्न अग्रजको सङ्घर्ष, निष्ठा र त्यागलाई स्मरण तथा सम्मान गर्न एमालेले उक्त सम्मान प्रदान गर्न लागेको प्रचारप्रसार विभाग प्रमुख गौतमले बताए । हीरक महोत्सव समारोहमा राष्ट्रिय परिषद् सदस्यका साथै एमालेका काठमाडौं उपत्यकाबाट जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्य, सबै पालिकाका पदाधिकारी र सचिवालयका सदस्य, सबै वडाका पदाधिकारी, सबै जनप्रतिनिधि (प्रतिनिधिसभा/राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख, स्थानीय तहका वडाध्यक्ष र सदस्य, सबै जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, उपत्यकामा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य तथा हाल असङ्गठित रहेका तर पार्टीका पुराना र प्रतिष्ठित०लाई सहभागी गराउने तयारी गरिएको एमालेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।
कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१८ प्रतिशत बढ्यो
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा २ करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको चैतमा १ करोड ७३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ६६.१८ प्रतिशत बढी हो । चैत मसान्तसम्ममा बैंकले ८ करोड ३१ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १० करोड १९ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८ करोड ९२ लाख रुपैयाँ, सञ्चालन नाफा २ करोड ८८ लाख रुपैयाँ, नेट पि एण्ड कमिसन आम्दानी६१ लख ८७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा भने२ करोड ५१ लाख ३४ हजार रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ र जगेडा कोष ५ करोड ३५ लाख रुपैयाँ रहेको छ । साथै, बैंकले ४ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४० करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ । यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ७१.५६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०५.७५ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.२६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । यस्तै, बैंकको आधार दर ११.४७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७२.६३ प्रतिशतमा झरेको छ ।
मल्टीपर्पस फाइनान्सबाट बाहिरिँदै यूनाइटेड अजोड
काठमाडौं । मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर फाइनान्सबाट बाहिरिने भएको हो । फाइनान्स कम्पनीका अनुसार इन्स्योरेन्स कम्पनीले २ लाख ५० हजार ९७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । फाइनान्सको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने फाइनान्सले जनाएको छ ।
प्रभु हेलिकप्टरका क्याप्टेन निलम्बनमा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ । क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए । उनले भने, “क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म आज निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।”