सुरु भयो बाइसधारा मेला, भक्तजनको घुइँचो (फोटो फिचर)
काठमाडौं । काठमाडौंको बालाजुमा बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ । काठमाडौं उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा रहेको बाइसवटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएको रोगब्याध सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वासले विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्छन् । यहा स्नान गरीसकेपछि स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन रहेको छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्ध आई बसेको मानिन्छ ।
सिद्धार्थ प्रिमियरद्वारा २१ करोडको बीमा दाबी भुक्तानी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २१ करोड बढीको बीमा दाबी भुक्तानी गरेको छ । २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सह–बीमा रहेको अपर हेवा खोला हाइड्रो पावर कम्पनीमा ठूलो क्षति भएको थियो । सो हाइड्रो पावरको भौतिक संरचना, वाँध, पेनस्टक पाइप, सिल्टीङ्ग वेसिन सस्पेन्सन ब्रीज, लगायतको सम्पत्तिको क्षति तथा घटना पश्चात विद्युत उत्पादन अवरुद्ध भएको करिव ६ महिनाको क्षति समेतको जम्मा २११,९६०,५०० रूपैयाँको दावी फछ्र्यौट गरेको छ । कम्पनीमा आयोजित एक समारोहमा सो हाइड्रो पावरका प्रवन्ध सञ्चालक डेढराज खड्कालाई नाफाको नोक्सान वापत १०४,५३१,५०० रूपैयाँ बराबरको चेक इन्स्योरेन्सका कार्यकारी प्रमुख वीरेन्द्र बैदवार क्षेत्री द्धारा हस्तान्तरण गरियो भने सम्पत्ति क्षति वापतको बीमा रकम १०७,४२९,००० रूपैयाँ दावी फछ्यौट पूर्जा समेत हस्तान्तरण गरियो । सो अवसरमा दुवै कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो । चेक हस्तान्तरण पश्चात इन्स्योरेन्सका कार्यकारी प्रमुख क्षेत्रीले इन्स्योरेन्समा पर्न आएको दावीहरुलाई उच्च प्राथमिकताका साथ फछ्र्यौट गर्दै आएको बताए भने हाइड्रो पावरका प्रवन्ध सञ्चालक खड्काले बीमा भुक्तानीमा कम्पनीले पुर्याएको सेवा प्रति सन्तुष्ट रहेको बताए ।
दुलेगौडा-लामागाउँ सडक स्तरोन्नति
दमौली । दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार ८ सय ३४ रुपैयाँको लागतमा स्तरोन्नति सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गरेका हुन् । विश्व बैंककको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत सात दशमलव एक किलोमिटर कालोपत्र गर्न निर्माण कम्पनी बानियाँ निर्माण सेवासँग सम्झौता भएर काम थालिएको हो । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले नगरपालिका–८, ९ र १२ वडालाई जोड्ने छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ ।
फोहरबाट मोहर बनाउन जुटे रामेछापका युवा
मन्थली । नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् । कागजजन्य फोहर संकलन गरी अण्डा राख्ने क्रेट बनाएर उनीहरूले नगरको सरसफाइमा योगदान गरेका छन् भने त्यसलाई आय आर्जनको स्रोत पनि बनाएका छन् । जिल्लाको सहरी क्षेत्रमा फालिएका कागजजन्य वस्तुलाई संकलन गरेर त्यसलाई पुनः प्रयोग गर्ने उद्देश्यले यहाँका सातजना युवा मिलेर ग्रिन हाइलाइट प्रालि स्थापना गरेका हुन् । जिल्लालाई सफा राख्ने र केहीलाई रोजगारी दिएर आय आर्जनको बाटो बनाएको उक्त अभियानका साथ स्थानीयलाई रोजगारी दिएर सुरु गरिएको यो उद्योग समस्यामा परेको छ । सुरुमा प्रतिगोटा सात रुपैयाँका दरले बिक्ने क्रेट अहिले प्रतिगोटा चार रुपैयाँमा पनि बिक्न मुस्किल छ । यसअघि यसले राम्रै बजार पाएको भए पनि विद्युत् नियमित नहुने र भारतीय क्रेटसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था यस उद्योगले झेल्नुपरेका कारण समस्या बढ्दै गएको हो । उत्पादन भएका क्रेट स्थानीय रामेछापका बजार, सिन्धुली दोलखा, ओखलढुङ्गा र काठमाडौंसम्म लगेर बिक्री गर्ने गरिएको थियो । तर, अहिले राम्रो बजार नपाएपछि निर्माण गरिएका क्रेट गोदाममै थन्किएर बसेका छन् । मेसिन बेलाबेलामा बिग्रने, पार्टपुर्जा सर्वसुलभ नहुने भएकाले उद्योगमा समस्या आएको उद्योग सञ्चालक सुनिल रायले बताए । उद्योगमार्फत प्रत्येक शनिबार जिल्ला सदमुकाम मन्थलीलगायतका अन्य सहरी क्षेत्रमा कागजजन्य फोहर प्रतिकिलो १० रुपैयाँका दरले खरिद गरी त्यसलाई प्रशोधन गरेर विभिन्न साइजका अण्डा राख्ने क्रेट बनाउने गरिएको छ । यस उद्योगमा महिला एवं पुरुष गरी १५ जनाभन्दा बढीले रोजगारी पाएको अर्का सञ्चालक जयराम मानन्धरले बताए । उद्योग स्थापना हुनुअघि आफ्नो घर तथा पसलबाट निस्कने फोहरलाई पैसा तिरेर नगरपालिकाको गाडीमा पठाउनुपर्ने बाध्यता भए पनि अहिले भने काजगजन्य फोहर बिक्री गर्न पाउँदा आफूलाई खुसी लागेको उप्रेती स्टोर्सका प्रोप्राइटर रामहरि उप्रेतीले बताए । उनले भने, ‘कागजजन्य वस्तुजस्तै प्लास्टिकजन्य वस्तु पनि यसैगरी उठाउने हो भने मन्थली बजार सधैँ सफा हुने थियो ।’ अण्डाको क्रेटसँगै यस उद्योगले सिमेन्टका ब्लक पनि निर्माण गरेको छ । प्लास्टिकजन्य र फलामका टुक्रालाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने वस्तु निर्माण गर्ने उद्योगको योजना छ । स्थानीय तहमा उत्पादन हुने वस्तुलाई सम्बन्धित पालिकाले प्राथमिकता दिनुपर्नेमा उद्योगका सञ्चालक रुद्रकुमार श्रेष्ठ बताउँछन् ।
६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति
झापा । झापाको झापा गाउँपालिकाले ६ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिइन् । यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताइन् । गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार ६ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो । कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा तीन सय ५२ विद्यार्थी र जनता माविका दुई सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो । झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् ।
राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए । मन्त्रिपरिषद बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानूनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो । लगानी सम्मेलन सरकार वा सत्ता पक्षमा रहेका राजनीतिक दलको मात्र नभई नेपालको भएको मन्त्री पुनको भनाइ थियो । उनले सम्मेलनमा सरकार मात्र नभई सत्ता पक्ष र प्रतिपक्षको अनुहार देखिने उल्लेख गरे । ‘नेपालमा वैदेशिक लगानी ल्याउनुपर्छ र मुलुकको विकास गर्नुपर्छ भन्नेमा सत्तामा र सत्ताबाहिर रहेका कसैको पनि असहमति वा विरोध छैन’, मन्त्री पुनले भने, ‘लगानी सम्मेलन सरकारको वा सत्तापक्षमा भएका दलहरुको मात्र होइन । प्रतिपक्षको पनि हो र यो नेपालको हो । सम्मेलनको उदघाटनदेखि समापनसम्म सबै राजनीतिक दलको अनुहार देखिने गरी कार्यक्रम बनाएका छौं ।’ मन्त्री पुनले राजनीतिक संक्रमण र निर्वाचन प्रणालीका कारण बीचबीचमा सरकार परिवर्तन हुने गरेको भए पनि विकास, लगानी तथा स्वदेशी र विदेशी निजी क्षेत्रका लागि नीतिगत निरन्तरता रहँदै आएको स्पष्ट गरे । ‘सरकारमा अनुहार फेरिने गरेको छ । तर, नीतिगत निरन्तरता छ’, पुनले भने, ‘०६४ सालमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिगत निरन्तरताका कारण आज हामी विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं । सिमेन्टमा आन्तनिर्भर मात्र भएका छैनौं निर्यात हुन थालेको छ ।’ मन्त्री पुनले पहिलो र दोश्रो लगानी सम्मेलनमार्फत आएका लगानीकर्ता तेश्रो सम्मेलनमा पनि उत्साहित भएको आफूले पाएको बताए । पुँजी र लगानीको प्रवृत्ति नाफा कमाउनु भएकाले नेपालमा त्यसको वातावरण बन्दै गएकाले ठूलो संख्यामा वैदेशिक लगानी भित्रिने उनको विश्वास थियो । ‘पुँजीको प्रवृत्ति भनेकै बजार र नाफा हो’, उनले भने, ‘सरकारमा समाजवादी वा पुँजीवादी अनुहारको व्यक्ति छ भन्ने कुरामा लगानी निर्भर गर्दैन । वाद र विचार धाराभन्दा अहिले मानिसले बजार र नाफा हेरेर लगानी गर्ने अवस्था छ ।’ वैदेशिक लगानी आकर्षित गर्ने मात्र नभई सरकारले आन्तरिक लगानीकर्ता र उद्यमीलाई समेत प्रेरित गर्ने तथा उनीहरूको मनोबल उठाउने काम गरिरहेको मन्त्री पुनले उल्लेख गरे ।
शुक्लाफाँटामा बाघ बढे
कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ । १० वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४४ पुगेको हो । गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको संख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । ‘यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्,’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको संख्या बढ्दै गएको छ ।’ शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको संख्या पनि बढेको उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउँछन् । ‘शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्,’ उनले भने । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
आज सेयर बजार बन्द रहने
काठमाडौं । आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन । शेख आज अपराह्न दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।