विकासन्युज

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले सोमबार एक सूचना जारी गरी दुई जना संस्थापकको नाममा रहेको १२ हजार ८४० कित्ता र ६ हजार ४२० कित्ता गरी जम्मा १९ हजार २६० कित्ता सेयर बिक्री गर्न लागिएको जनाएको छ । हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई कैलालीको लम्कीचुहामा रहेको लघुवित्तको केन्द्रीय कार्यालय वा काठमाडौं मण्डीखाटारमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित निवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया थालिने लघुवित्तले जनाएको छ ।

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी, कोशी, मधेस, बागमती गण्डकी र कर्णाली प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । त्यसैगरी, राति गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी भागका मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । आज अपराह्न र राति लुम्बिनी, कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नारायणी अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी बढे

वीरगञ्ज । गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चीतरञ्जन शाहले अन्य दिनको तुलनामा गर्मी बढेसँगै आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताए । ‘‘अहिले अस्पतालमा ज्वरो र पेट दुख्ने समस्या लिएर अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या भने बढेको छ,’ उनले भने, ‘‘सामान्य दिनमा आकस्मिक कक्षमा धेरै बिरामी आउँदैन्थे । तर, अहिले दैनिक ९० भन्दा धेरै जना ज्वरो तथा पेट दुख्ने समस्याका बिरामी आकस्मिक कक्षमा उपचार गर्न आइरहेका छन् ।’ नारायणी अस्पतालमा दैनिक नौ सयभन्दा धेरै बिरामी उपचार गर्न आउने गर्छन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शाहले विगत १५ मा समग्रमा अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा भने धेरै घटबढ नभएको जानकारी दिए । ‘‘हामीले आज अस्पतालमा भर्ना भएका बिरामीको १५ दिने तथ्यांकको विषयमा समीक्षा गरेका थियौँ । समग्रमा बिरामी भर्ना हुने अवस्थामा खासै फेरबदल भएको देखिएको छैन ।’ आइतबार सिमराको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम भने २० डिग्री सेल्सियस रहेको छ । अन्य तराई÷मधेसका जिल्ला मुलुककै सबैभन्दा ठूलो औद्योगिक नगरी पर्सामा जनजीवन प्रभावित हुँदै आइरहेको छ । दिनको समयमा अत्यावश्यक काम परे मात्रै सर्वसाधारण बाहिर निस्कने गरेका छन् । अन्य दिनको तुलनामा सरकारी कार्यालयमा पनि सर्वसाधारणको भीड न्यून हुँदै आइरहेको छ । वीरगञ्जमा कपडा पसल गर्दै आइरहेका अनिल गुप्ता चर्को गर्मी बढेसँगै सर्वसाधारण किनमेलको लागि निकै कम मात्रै आउने गरेको बताए । ‘‘अहिले दिनको समयमा त अत्यावश्यक समान किनमेल गर्ने मात्रै आउने गर्छन,’ उनले भने, ‘बिहान र बेलुकीपख मात्रै पसलहरूमा भीडभाड लाग्ने गर्छ ।’ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि सार्वजनिक सूचना जारी गरेर विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भू–भागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको थियो । महाशाखाले आगामी केही दिनसम्म तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले यही वैशाख १० गतेदेखि १४ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

कतारका अमिर आज अपराह्न आउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । साथै, उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लागेका हुन् । साथै, उनको भ्रमणका अवसरमा सरकारले आज नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’ बीच समाचार आदाप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन् । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ । कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका अमिर थानी वैशाख १२ गते अपराह्न काठमाडौंबाट प्रस्थान गर्नेछन् ।

भारतीय दूतावासद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

कास्की । भारतीय दूतावासले माछापुच्छ्रे गाउँपालिका–२ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत दूतावासले विद्यालयलाई आज उपहार स्वरूप बस प्रदान गरेको हो । नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमित शर्माले एक समारोहका बीच बस हस्तान्तरण गरे । विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा सार्वजनिक यातायात नियमित नहुँदा विद्यालय आउजाउ गर्न विद्यार्थीले भोग्नुपरेको कठिनाइ अब समाधान हुने बताए । विद्यालयको आवश्यकता बुझेर बस सहयोग गरेकामा उनले दूतावासप्रति आभार व्यक्त गरे । प्रधानाध्यापक आचार्यका अनुसार भराभरी, करुवा, मिर्सा, धिप्राङलगायत टाढाका गाउँबाट पैदल विद्यालय आउन दुई घण्टा बढी समय लाग्ने गर्छ । ती ठाउँमा बस सेवा सञ्चालन गरिने उनले जानकारी दिए । उनले भने, ‘यहाँ चल्ने बसहरू नियमित नहुँदा विद्यार्थीको कक्षा छुट्ने गरेको थियो, त्यो समस्या अब हट्ने छ । हामी आफ्नै बसमा विभिन्न कार्यक्रममा विद्यार्थी लैजान पनि सक्नेछौँ ।’ सो अवसरमा भारतीय रक्षा सहचारी शर्माले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताए । उनले आगामी दिनमा थप सहयोगको प्रतिबद्धता जनाए । बस सहयोगले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन मद्दत पुग्ने उनको भनाइ छ । गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले भारतीय सहयोगप्रति आभार व्यक्त गरे । उनले माछापुच्छ्रे गाउँपालिकाका अन्य विद्यालयमा पनि सहयोगका लागि आग्रह गरे । वडाध्यक्ष गणेश आचार्यले स्कुल बस सुविधाबाट सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने बताए । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बमबहादुर गुरुङले दूतावासबाट बस प्राप्त गर्नका लागि लामो समयदेखि गरेको प्रयास अहिले सफल भएकोमा खुशी व्यक्त गरे । ‘स्कुल बसका लागि हामीले चार वर्षदेखि पहल गरेका थियौँ । यहाँका भूपू भारतीय सेनाहरुबाट थप पहल भयो र अहिले ल्याउन सफल भएका छौँ,’ उनले भने ।

सरकारले बिजनेस गर्दैन, निजी क्षेत्रलाई अगाडि सार्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकार आफैंले बिजनेस गर्ने नभई निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्ने बताएका छन् । लगानी सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले आफैंले व्यापार व्यवसाय नगरेर निजी क्षेत्रलाई लगानी गर्नका लागि नीतिगत रूपमा सहजीकरण गरिदिने बताएका हुन् । ‘सरकार आफैं बिजनेस गर्दैन, निजी क्षेत्रलाई लगानी गर्न दिने हो, त्यसैले पनि सरकारले अध्यादेशमार्फत् कानून संशोधन गर्ने निर्णय गरको हो, विभिन्न विदेशी कम्पनीले लगानीका लागि इच्छा देखाइसकेका छन्, हामीले सहजीकरण गरिदिने हो,’ उनले भने । उनकाअनुसार लगानीकर्ताले नाफा खोज्ने भएकोले कुनै पनि शासन प्रणाली वा बादले कुनै फरक नपार्ने तर्क राखे । उनले फरक–फरक शासन प्रणाली भए पनि भारत र चीनमा विदेशी लगानी राम्रै आइरहेको उदाहरण सुनाए । ‘कुन देशमा कस्तो किसिमको पनि शासन प्रणाली वा बाद छ भन्ने विषयले लगानीलाई फरक पर्दैन, लगानीकर्ताले आफूले लगानी गरको पुँजीको नाफा हेर्ने हो, प्रतिफल छ वा छैन भन्ने विषय प्रमुख हो, यस विषयमा धेरै शंका गर्ने भन्दा पनि नेपालमा पनि लगानीकर्ता आइरहेका छन्, विस्तारै बजार बढ्छ, हामीले नीतिगत सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘लगानीकर्तालाई उत्साह दिने वातावरण सिर्जना गर्ने हो ।’ उनले तेस्रो सम्मेलन सफल हुने विषयमा आफू विश्वस्त रहेको बताए । विगतका सिकाइबाट पनि यो सम्मेलन सफल हुने उनको दाबी छ । ‘नेपालको जनशक्ति, प्राकृतिक स्रोत र प्रतिस्पर्धा क्षमतालाई हेरेर काम गर्छौं, जलविद्युतलाई प्राथमिकता दिँदै आएका छौं, त्यसमा लगानी पनि राम्रै आइरहेको छ, अहिले विभिन्न देशका मल्टिनेश्नल कम्पनीले पनि सहभागी हुने ग्यारेन्टी गरेका छन्, त्यसले हामीलाई टेवा नै पुग्छ,’ उनले भने ।

कोइकाबाट ९८ लाख अमेरिकी डलर स्वीकार गर्ने नेपाल सरकारको निर्णय

काठमाडौं । सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीस फ्य्राङ्क र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकाका लागि अमेरिकी डलर ९८ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को सोमबारको बैठकले सो निर्णय गरेको जानकारी दिइन् । बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८१ वैशाख १५ र १६ गते काठमाडौंमा आयोजना हुने नेपाल चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२औँ बैठकको पूर्वकार्यसूची स्वीकृत गर्ने र उक्त बैठकमा सहभागी हुन मन्त्रालय सहसचिवको संयोजकत्व वार्ताटोली गठन गर्ने निर्णय गरेको उनले बताइन् । गृह मन्त्रालयको प्रस्तावमा विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहका सरकारको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने निर्णय बैठकले गरेको सरकारको प्रवक्ता शर्माले जानकारी दिइन् । नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षीलाई हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताइन् । त्यसैगरी, सचिव मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा र डा कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवका रुपमा जिम्मेवारी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमणका क्रममा २०८१ वैशाख ११ गते मङ्गलबार देशभर सार्वजनिक बिदा दिने निर्णय पनि बैठकले गरेको छ । यही वैशाख ६ गतेको मन्त्रिपरिषद्का बैठकका निर्णयहरु पनि प्रवक्ता शर्माले आजै सार्वजनिक गरेकी छिन् । उक्त बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा २०८१ साल वैशाख १० देखि १२ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना हुने फुड लेबलिङ वर्कशपमा भाग लिन राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी, २०८१ वैशाख १० देखि १४ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना हुने एसिया तथा प्यासिफिक क्षेत्रको आर्थिक तथा सामाजिक सहकार्यसम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेललाई सहभागी हुने स्वीकृत प्रदान गर्ने निर्णय गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आगामी जेठ १५ देखि १७ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई स्वीकृति बैठकले दिएको प्रवक्ता शर्माले जानकारी दिइन् । नेपाल आयल निगमको कार्यकारी निर्देशकको मासिक तलब र अन्य सुविधा तोक्ने, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सिँचाइको विकास तथा व्यवस्थापन गर्ने र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय बैठकले गरेको उनले बताइन् । प्रवक्ता शर्माले आगामी जेठ १४ देखि १७ गतेसम्म आयोजना हुने सानाटापु विकासशील राष्ट्रको सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने तथा नेपाल–बङ्गलादेश द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकको कार्यसूची स्वीकृत गर्ने र उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने बैठकले निर्णय गरेको जानकारी दिइन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने र कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको थियो । नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । शनिबारबाहेक अन्य सार्वजनिक बिदाका दिनमा समेत गोश्वारा हुलाक कार्यालय, हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयहरु सञ्चालन हुने, उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको उनले बताइन् । रासस

काठमाडौंको जमिनमुनि तीन मेट्रोरेल, लगानी गर्न विदेशीसँग आव्हान

काठमाडौं । काठमाडौं उपत्यकामा तीन वटा मेट्रोरेल निर्माणका लागि लगानी आव्हान गरिएको छ । सरकारले बैशाख १६ र १७ गते आयोजना गर्ने लगानी सम्मेलनमा तीन वटा मेट्रोरेल परियोजना निर्माण गर्नका लागि विदेशी लगानीकर्तालाई लगानी गर्न आव्हान गरेको हो । लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायका अनुसार सरकारले सोकेस गरिएका १४८ वटा परियोजनामध्ये तीन वटा मेट्रोरेल सम्बन्धि परियोजना रहेका छन् । जुन जमिनमुनि सञ्चालन गर्न सकिनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा उपत्यकामा तीन वटा रेलमार्ग प्रस्ताव गरिएको उनको भनाइ छ । लगानी सम्मेलनमा सरकारले सातदोबाटो-रत्नपार्क-नारायण गोपाल चोक मेट्रोरेल, कीर्तिपुर-कालिमाटी-नयाँ बानेश्वर–एयरपोर्ट मेट्रोरेल र चाबहिल-स्वयम्भू-कोटेश्वर मेट्रोरेल परियोजनालाई सोकेसमा राख्ने तयारी गरेको उनको भनाइ छ । काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनका लागि गरिएको यो प्रस्ताव नयाँ नभए पनि यसपटक फरक ढंगबाट सञ्चालन गर्ने सरकारको तयारी छ । विंस २०७५ चैतमा आयोजना भएको दोस्रो लगानी सम्मेलनमा पनि उपत्यकामा मेट्रोरेल सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो । त्यतिबेला जमिनमाथि मेट्रो सञ्चालन गर्ने गरी भनिए पनि अहिले भने जमिनमुनिबाट रेल सञ्चालन गर्ने योजना बनाएर भौतिक पूर्वाधार मन्त्रालयले प्रस्ताव पेस गरेको उपाध्यायले बताए । ‘पहिले मेट्रो रेलको सम्वभानाबारे राम्रै अध्ययन भएको रहेनछ, त्यतिखेर माथिबाटै मेट्रोरेल चलाउने हिसाबले अध्ययन गरिएको थियो, पछि जग्गा प्राप्तिसहितका विषयमा विवाद तथा समस्या आउने देखियो, जमिन माथिबाट मेट्रोरेल सम्भव देखिएन,’ उनले भने, ‘अब जमिनमुनिबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रस्ताव आएको छ, अहिलेलाई जानकारी दिने हिसाबले सोकेसमा राख्न लागिएको हो ।’ उनका अनुसार प्रारम्भिक अध्ययनकै चरणमा रहेकाले राष्ट्रिय योजना आयोगले मेट्रोरेल परियोजनालाई प्राथमिकतामा राखेको छैन । तर, सोकेसमा राख्दा कुनै लगानीकर्ता इच्छुक पनि देखिन सक्ने भएकाले परियोजनालाई समावेश गरिएको उपाध्याय बताउँछन् । काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भावनाबारे अध्ययन भएको १२ वर्ष बितिसकेको छ । सन् २०१२ मा भएको सम्भाव्यता अध्ययनअनुसार उपत्यकामा पाँच वटा रुटमा कुल ७७.२८ किलोमिटर रेल सञ्चालन गर्न सकिने उल्लेख थियो । उक्त अध्ययनले यी रूटमा मेट्रोरेल निर्माण गर्न साढे ५ खर्ब रुपैयाँ लगानी लाग्न सक्ने अनुमान गरिएको थियो । तर, अहिले भने लागत बढ्न सक्ने देखिएको छ । त्यतिबेला तीनवटा रेलमार्ग जमिनमाथि र दुईवटा जमिनमुनिबाट सम्भव रहको अध्ययनले देखाएको थियो । सन् २०१२ को सम्भाव्यता अध्ययनअनुसार सातदोबाटो-रत्नपार्क-नारायणगोपाल चोकसम्म १२.१ किलोमिटर रूटमा रेलका लागि प्रस्ताव गरिएको छ । यसअघि जमिनमाथि रहने रेलमार्गमा यात्रुहरू चढ्न र ओराल्न ११ स्टेसन बन्ने भनिएको थियो । तर, अब जमिनमुनि नै स्टेन बन्नेछ । कीर्तिपुर–कालीमाटी-बानेश्वर-एयरपोर्टसम्म ११.१५ किलोमिटर लामो रेलमार्ग रहने र जमिनमाथि नै हुने रेलमार्गमा ९ वटा स्टेसन हुने भनिएको थियो । चाबहिल-स्वयंम्भू-कोटेश्वरसम्मको २८.५३ किलोमिटर रूटमा १७ वटा स्टेसन रहने प्रस्ताव गरिएको छ । जसमा खुलारूपमा (वर्गीकरणबिना) २७ परियोजना सोकेस गरिँदैछ ।