‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ’, प्रधानमन्त्री दाहालले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौँ ।’ आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उनले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए । लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए । ‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौँ’, प्रधानमन्त्री दाहालले भने, ‘सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, नयाँ सन्देश दिनेगरी सम्मेलन गरौँ ।’ विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले केही राम्रो गर्न खोज्दा अठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताए । नेपालमा स्टील उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिचाइँलाई प्राथमिकता दिन र विकासका काम रोकिएका भए अघि बढाउन दिर्नेशन दिए ।
अब स्टील उद्योगमा जोड दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा स्टील उद्योगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्टील उद्योगलाई प्राथमिकता दिएर उद्योग स्थापनाका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने पनि बताएका छन् । विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । ‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ’, प्रधानमन्त्री दाहालले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौँ ।’ आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उनले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए । लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए । ‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, नयाँ सन्देश दिनेगरी सम्मेलन गरौँ ।’ विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले केही राम्रो गर्न खोज्दा अठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताए । उनले कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिचाइँलाई प्राथमिकता दिन र विकासका काम रोकिएका भए अघि बढाउन दिर्नेशन दिए ।
आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक
गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्सले दुई वर्षभित्रमा काम सक्ने लक्ष्य राखेर विसं २०७८ माघमा उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले काम नसकेपछि आठ महिना ठेक्का म्याद थपिएको आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए । ‘निर्माण कम्पनीले पोखराको भौगर्भिक बनावटलगायत कारण देखाउँदै काम ढिलो भएको बताइरहेको छ, अपेक्षित रुपमा आयोजनाले गति लिन सकेको छैन’, उनले भने, ‘आयोजनाका पेटी ठेकेदारले काम छाड्दै हिँड्न थालेपछि थप समस्या निम्तिएको छ ।’ अहिलेको जस्तै सुस्त गतिमा काम भइरहे थपिएको समयावधिमा पनि आयोजना पूरा हुन मुस्किल हुने देखिन्छ । आयोजना प्रमुख सुवेदीका अनुसार ठेक्का सम्झौता भएको १५ महिनापछि अघिल्लो वर्षको वैशाखमा बल्ल निर्माण सुरु भएको थियो । उनले आयोजना प्रगति न्यून देखिनुमा निर्माण कम्पनीको ढिलासुस्ती पनि एउटा कारण रहेको बताए । ‘सुरुमा इन्जिनियरिङ डिजाइन, उपकरण र निर्माण सामग्री खरिदमा केही समय लागेपनि निर्माण कम्पनीले सोचे जसरी काम देखाउन सकिरहेको छैन’, आयोजना प्रमुख सुवेदीले भने । पोखराको चट्टानी जमिनका कारण आयोजनासँग पहिले भएको सुरुङ खन्ने उपकरणले काम नगरेपछि उच्च क्षमताको नयाँ उपकरण ल्याउनुपरेको उनले बताए । अहिले आयोजनासँग सुरुङ खन्ने तीन उपकरण छन् । निर्माण कम्पनीले ५० जनाभन्दा बढी जनशक्तिलाई आयोजनामा खटाएको छ । आयोजना प्रमुख सुवेदीले प्राथमिकता तोकेर पोखराका विभिन्न ठाउँमा तार भूमिगत गर्ने काम भइरहेको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारअघिको सडकदेखि सेती पुलसम्म सुरुङ खन्ने र पाइप बिछ्याउने काम भइरहेको छ’, उनले भने, ‘लेकसाइडको गल्ली नं. १५, १६ र १७ मा पाइप बिछ्याउने काम भइसकेको छ ।’ सुरुङ निर्माण सकिएपछि पोखरा महानगरपालिका–१० कुँडहरमा रहेको प्राधिकरणको सब–स्टेसन क्षेत्रबाट तार बिछ्याउन सुरु गरिने आयोजनाले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्र बैङ्कचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना प्रमुख सुवेदीले बताए । उनका अनुसार विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ । ‘विद्युत्सँगै केबल र दुरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्’, उनले भने, ‘पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।’ पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड खर्च रुपैयाँ हुने प्राधिकरणले जनाएको छ । पोखरा सहरभरिको तारलाई भूमिगत गर्न पाँच अर्ब रुपैयाँ बढी बजेट चाहिने आयोजना प्रमुख सुवेदीले बताए । पोखरा र भरतपुरमा तार बिछ्याउन दुई अर्ब ५० करोड ३३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको हो । तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताउनुभयो । यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम भइरहेको उनको भनाइ छ । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने प्राधिकरणले जनाएको छ । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनेछ । तार भूमिगत गर्दा पर्यटकीय राजधानी पोखराको सौन्दर्य बढ्नुका साथै विद्युतीय दुर्घटनासमेत न्यूनीकरण हुने पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने प्राविधिक बताउँछन् । तार बिछ्याउँदा ठूलो बजेट लाग्ने भएपनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उनीहरुको भनाइ छ । भूमिगत प्रणालीलाई अन्य सहरमा विस्तार गर्दै जाने योजनामा प्राधिकरण छ । काठमाडौं उपत्यकापछि भरतपुर र पोखरामा सो परियोजना अघि बढेको हो । रासस
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । रासस
एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कारोबार भएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १६ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
एनएमबी बैंक जीवाश्म इन्धनको अन्त्य गर्ने विश्वव्यापी आह्वानमा सामेल
काठमाडौं । एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ अग्रणी बैंकहरूको समूहसँग जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो गरेको छ । बैंकले जीवाश्म ईन्धनको अन्त्यका लागि ‘फोसिल फ्युल नन प्रोलिफिकसेन ट्रिटी’ लाई अनुमोदन गरेको हो । ‘फोसिल फ्युल नन प्रोलिफिकसेन ट्रिटी’ सबैका लागि हरित उर्जाको व्यवस्था, जीवाश्म इन्धनको विस्तारको अन्त्य र वर्तमानको उत्पादनलाई निर्मुल पारि अन्तर्राष्ट्रिय हातेमालो गरी पेरिस सम्झौताका लक्ष्यहरु हासिल गर्ने एउटा विश्वव्यापी प्रयास हो । यो सन्धिप्रति प्रतिवद्धता जाहेर गर्ने वित्तीय संस्थाहरुको संख्या बढ्दो क्रममा रहेको छ । यसका साथै उनीहरु जलवायु संकटको मूल कारण तेल, ग्याँस र कोइलाको उत्पादन र प्रयोगलाई सम्बोधन गर्न विश्वव्यापी प्रयासमा महत्त्वपूर्ण कदम अघि बढाईरहेका छन् । ‘यस कदमले जलवायु कार्यलाई अगाडि बढाउने र पेरिस सम्झौताका लक्ष्यहरूसँग पङ्क्तिबद्ध गर्ने, कार्बन उत्सर्जन प्रकटीकरण र व्यवस्थापनमा हाम्रा प्रयासहरूलाई बढावा दिने हाम्रो प्रतिवद्धतालाई दर्साउँछ । हामी सचेत छौं कि जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरू मध्ये एक हो, र हामी समाधानको एक हिस्सा बन्न प्रतिबद्ध छौं,‘ एनएमबी बैंकका सीईओ सुनिल केसीले भने । यो कदमले उज्यालो, स्वच्छ भविष्यको प्रतिज्ञा गर्ने र वातावरणीय कल्याण र दीर्घकालीन दिगोपनलाई प्राथमिकता दिने दिगो अभ्यासहरूतर्फ बैंकको परिवर्तनलाई जनाउने एनएमबी बैंकले जनाएको छ । जीवाश्म ईन्धनमा कम निर्भरता भनेको स्वच्छ हावा, पानी र जमिन हो, जसले स्वास्थ्य र जीवनको गुणस्तरलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउने बैंकले बताएको छ । यसले हरित अर्थतन्त्रमा आर्थिक वृद्धि र स्थीरतालाई प्रोत्साहन गर्दै दिगो विकासको ढाँचा प्रदान गर्दछ ।
महानगरको सक्रियतामा ठूला आयोजना निर्माण सम्भव भएको हो : प्रमुख दाहाल
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठूला विकास निमाणका आयोजना अघि बढेको बताएकी छन् । नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गरिन् । पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अवनरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाई छ । नारायणगढ बुटवल सडकखण्ड शिलान्यास भईसक्दा पुलचोक गोन्द्राङ सडकको विस्तरको काम भएको थिएन, संघीय बजेट भएपनि महानगरले नेतृत्व लिएको प्रष्ट पारिन् । ‘विमानस्थल विस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले विस्तारको काम सुरु भएको छ’, उनले भनिन् । ‘रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरि देशमै ठुलो सन्देश प्रवाह गर्न सफल भयौ, काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ’, उनले भनिन्, ‘काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ। यो छुट्टाउने काम जनता हो, जनता जनार्दन हुन्छन्।’ भरतपुरको आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भई सकेको र बाँकी ३ वर्ष पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धाराणा थियो । जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए । सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो ।
वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए । ‘सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ’, उनले भने, ‘ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए । आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा रु १० लाख ६३ हजार बराबरको क्षति भएको छ । सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन् । आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी आठ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित चार लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा ११ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ । पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी चार लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । अभय सहनी सात लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँकै अदालत साहको छ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए । यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा १२ करोड ८४ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । रासस