विकासन्युज

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन् । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएको अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ । मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने तथा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो । त्यसभन्दाअघि कतारको दिल्लीस्थित दूतावासले नेपाल मामिला पनि हेर्ने गथ्र्यो । नेपाल र कतार दुवै संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर हुन् । शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरुमा यी दुवै राष्ट्रहरु सदस्यका रुपमा छन् । दुई देशबीच विभिन्न क्षेत्रगत सहकार्यका लागि सम्झौताहरु भएका छन् । तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौँमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो । यद्यपि हालसम्म उक्त सम्झौता पुनरावलोकन हुन सकेको छैन । दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो । सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् । नेपाल र कतारबीच द्विपक्षीय हवाई सेवा (नागरिक उड्डयन)सम्बन्धी सम्झौता सन् २००२ जुलाइ ८ मा सम्पन्न भएको थियो । त्यस्तै दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा सन् २०११ मा हस्ताक्षर भएको थियो । दुई देशका निजी क्षेत्रबीच पनि सहकार्य हुँदै आएको छ । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सले सन् २०१८ मा दुईपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसैगरी, कतारको मुख्य बैंकमध्ये एक दोहा बैंकले सन् २०१८ डिसेम्बरमा काठमाडौँमा सम्पर्क कार्यालय खोलेको थियो । नेपालका उद्यमीहरु कतारमा सङ्गठितसमेत भएका छन् । सन् २०२१ मार्चमा कतार वित्तीय प्राधिकरण (कतार फाइनान्सियल अथोरिटी) मा ‘नेपाली विजनेस एशोसिएसन कतार’ नाममा नेपालीहरु सङ्गठित भएर संस्था दर्ता भएको थियो । कतार बेलायतबाट सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो । स्वतन्त्र हुनुअघि कतारले आफ्नो अस्थायी संविधान लागू गरिरहेकामा औपनिवेशिक स्वतन्त्रतापछि उक्त संविधानलाई थप संशोधन र परिस्कृत गरी कार्यान्वयनमा ल्याएको थियो । कतारको शासकीय व्यवस्था, कानुन प्रणाली, कार्यकारी अधिकार तथा शासनको उत्तराधिकारीलगायत महत्वपूर्ण विषयहरु समेटेर सन् १९९९ मा स्थायी संविधानको मस्यौदा निर्माणका लागि समिति गठन गर्न अमिरी आदेश जारी गरियो । कतारले सोही वर्ष अर्थात् सन् १९९९ मा पहिलोपटक केन्द्रीय नगर परिषद्को चुनाव गरेको थियो । यसलाई लोकतन्त्रप्रतिको पहिलो कदमका रूपमा कतारले लिँदै आएको छ । विभिन्न समयमा दुवै देशबाट उच्चस्तरीय भ्रमणहरु भएका छन् । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सन् २०११ को अक्टोबरमा कतारको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म कतारको राजकीय भ्रमण गरेकी थिइन् । सन् २०२२ मार्च २१ देखि २३ गतेसम्ममा नेपालका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार भ्रमणमा गएका थिए । त्यसैगरी, सन् २०१९ नोभेम्बर २० देखि २२ गतेसम्म तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कतारको भ्रमण गरेका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महराले सन् २०१९ अप्रिल ६ देखि १० गतेसम्म कतार भ्रमणमा गएका थिए । तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सन् २०१८ नोभेम्बर १३ देखि १४ कतार भ्रमण गरेका थिए । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेका अवसरमा सन् २०१७ जनवरीमा तत्कालिन परराष्ट्रमन्त्री प्रकाशशरण महत कतारको आधिकारिक भ्रमणमा गएका थियो । त्यस्तै तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सन् २०१५ अप्रिल ११ देखि १४ गतेसम्म भ्रमण गरेका थिए । कतारकातर्फबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरुमा सन् २०१५ अप्रिल ४ देखि ७ गतेसम्म कतारको श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्लाह विन सलेह मुबारक अल–खुलाफी नेपाल भ्रमणमा आएका थिए । कतारका वातावरणमन्त्री अब्दुल्लाह विन मुवारक विन अबुद अल–मिधाधीले सन् २०१२ अप्रिल ५ देखि ९ गतेसम्म नेपाल भ्रमणमा आएका थिए । कतारका वैदेशिक मामिला मन्त्री शेख हमाद विन जसिम विन अल थानी सन् २००९ मा नेपाल भ्रमणमा आएका थिए । कतारको योजना तथा तथ्याङ्क प्राधिकरण (प्लानिङ) एन्ड स्टाटिस्टिक अथोरिटीको तथ्याङ्कअनुसार कतारको जनसङ्ख्या २०२४ मार्च महिनासम्ममा ३१ लाख १९ हजार पाँच सय ८९ बराबर छ । जसमध्ये पुरुषको जनसङ्ख्या २२ लाख १२ हजार चार सय ६८ र महिलाको सङ्ख्या नौ लाख सात हजार एक सय २१ बराबर छ । कतारमा आर्थिकरुपमा सक्रिय जनसङ्ख्या करिब ८७ प्रतिशत हाराहारी छ । कतारले सन् २०२३ को पहिलो त्रैमास अवधिसम्ममा गरेको श्रमशक्ति नमुना सर्वेक्षण (लेबर फोर्स स्याम्पल सर्भे) अनुसार कतारमा शून्य दशमलव एक प्रतिशत हाराहारीमा मात्रै बेरोजगारी रहेको छ । कतार प्रतिव्यक्ति आय बढी भएका मुलुकको शीर्ष स्थानमै पर्दछ । कतारको प्रतिव्यक्ति औसत आय अमेरिकी डलर एक लाख १४ हजार हाराहारी छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अमेरिकी डलर दुई खर्ब २४ अर्ब ६९ करोड अमेरिकी डलर बराबर रहेको छ । नेपाल र कतारबीचको वैदेशिक व्यापारको क्षेत्र पनि विस्तारै बढ्दै गएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा एक अर्ब ५३ करोड ५१ लाख ६७ हजार बराबरको आयात र नौ करोड १९ लाख बराबरको निर्यात भएको छ । नेपालको चिया, कफी, पिउने पानी, मसला, अलैँची, कतारमा निर्यात हुने गरेका छन् भने कतारबाट धुलो दूध, मह, काजुलगायत ड्राइफ्रुट, कफीलगायत वस्तुको बढी आयात बढी हुने गरेको छ । रासस

काठमाडौंका २७ विद्यालयले कक्षा र विषय थप्ने, नाम परिवर्तन गरे थप ४ वटालाई अनुमति दिइने

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षा/विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकले, सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक र महानगरपालिकाको सहरी योजना आयोगले गरेको स्थलगत अनुगमनबाट प्राप्त शिफारिसका आधारमा कक्षा/विषय थप गर्न अनुमति दिएको हो । यसका लागि ४१ वटा निवेदन आएका थिए । यीमध्ये ७ वटालाई अनुमति नदिने, नाम परिवर्तनको निवेदन प्राप्त भए थप ४ वटालाई अनुमति दिने निर्णय भएको छ । धार्मिक विद्यालय दर्ताका सम्बन्धमा नेत्रनारायण पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । कानुन विभागको अधिकृत स्तरको प्रतिनिधि र सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षकलाई समितिको सदस्य राखिएको छ । बैठकले, नामसारीका लागि आएका ४ वटा निवेदनमध्ये २ वटालाई अनुमति नदिने, २ वटाले नाम परिवर्तनका लागि निवेदन दिए अनुमति दिने निर्णय गरेको छ । स्थान परिवर्तनका लागि आएका ७ वटा निवेदनमाथि छलफल गर्दै, नाम परिवर्तनको निवेदन दिएमा ४ वटालाई अनुमति दिने निर्णय भएको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा उल्लेख भएको तर उल्लेख गरिएको ठाउँमा विद्यालय नभएकोले वडा नं. १० थापागाउँको डेनेव एकेडेमीलाई अनुमति दिइएन । यस्तै ठेगाना दिएको स्थान, महानगरपालिका वडा नं. १० वानेश्वरमा नभएकोले काठमाडौं मेरिगोल्ड स्कूलले पनि अनुमति पाएन । यस शीर्षकका निवेदकमध्ये वडा नं. ३१ भी. एस. निकेतन सेकेण्डरी स्कूलले वडा नं. ३२ को सुविधानगरमा स्थान सर्ने अनुमति पाएको छ । स्वामित्व परिवर्तनका आएका ४ वटा निवेदनमाथि बैठकले छलफल गरेको थियो । यीमध्ये वडा नं. ३ बसुन्धराको ज्येष्ठ स्कूलको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा रेकर्ड देखिएन । नाम परिवर्तनका लागि निवेदन दिएमा निवेदकमध्येका २ वटा विद्यालयलाई अनुमति दिने निर्णय भएको छ । स्थान परिवर्तनसँगै स्वामित्व परिवर्तनको निवेदन दिएको वडा नं. १० को काठमाडौँ मेरिगोल्ड स्कूल ठेगाना राखिएको ठाउँमा नभएकोले अनुमति प्राप्त भएन । दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धमा यस अघि तयार पारिएका प्रतिवेदन, शिक्षा तथा स्वास्थ्य समितिको शिफारिस सहित थप अध्ययन गर्न सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा सहरी योजना आयोगको सचिवालयका प्रमुख नेत्रनारायण पौडेल र शिक्षा अधिकृत रामचन्द्र खड्का सदस्य छन् । कोटेश्वर सरस्वती माध्यमिक विद्यालयमा यस अघि गठन गरिएको विद्यालय व्यवस्थापन समिति कानुनसम्मत नदेखिएकोले पुनः गठनका लागि पत्राचार गर्ने बैठकले निर्णय गरेको छ । वडा नंं ६ को अरुणिमा एजुकेसन फाउन्डेसनले तारकेश्वर नगरपालिका वडा नं. २ मा खरिद गरेको जग्गा अपायक भएकोले उक्त जग्गा बेचेर विद्यालयको भवन निर्माण गर्ने सम्बन्धमा प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलको संयोजकत्वमा ३ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा सहरी योजना आयोगका सहायक विज्ञ प्रतिक श्रेष्ठ र सदस्य सचिवमा शिक्षा विभागका इञ्जिनियर प्रभु योङ्हाङ्लाई राखिएको छ । बैठकले, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा शुल्क मापदण्ड निर्धारण समिति गठन गरेको छ । समितिले दिएको प्रतिवेदनका आधारमा शिक्षा समितिका संयोजकबाट शुल्क निर्धारण मापदण्ड स्वीकृत हुनेछ । समितिको सदस्यमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, शिक्षा अधिकृत, नेत्रनारायण पौडेल, शिक्षा समितिका सदस्यहरु रुपक राजवंशी, रीता दाहाल, कपिलजंग पाण्डे छन् । यस्तै स्रोत शिक्षक दिनेश के. सी. सदस्य सचिव हुन् । सहरी योजना आयोगका सदस्य झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन भएको छ । सामाजिक विकास विभागबाट स्थान उपलब्ध गराउन माग आएको छ । महानगरभित्रका सामुदायिक विद्यालयमध्ये कुनैमा पनि यस प्रकारको अवस्था (अटिजम) भएका बालबालिकाका लागि विद्यालय नभएकोले, महानगरपालिकाले आफैँले अटिजम विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन गरेर प्रतिवेदन दिन समितिलाई १ महिनाको समय दिइएको छ । समितिको सदस्यमा स्रोत शिक्षक योग्य प्रसाईं र सदस्य सचिवमा शिक्षा अधिकृत इन्द्रप्रसाद दाहाल छन् । वडा नं. १६ मा रहेको तरुण माध्यमिक विद्यालयमा आविष्कार क्लव सञ्चालन व्यवस्था मिलाउन शिक्षा विभागलाई निर्देशन दिएको छ । महानगरपालिकाका ४० वटा सामुदायिक विद्यालयमा आविष्कार क्लब छन् । यीमध्ये वडा नं. ३१ मा रहेको भीमसेनगोला माध्यमिक विद्यालयले गएको वर्षमा प्रगति प्रतिवेदन पेश नगरेकोले यसको सट्टा तरुण माध्यमिक विद्यालयलाई अवसर प्रदान गरिएको हो । बैठकले, विद्यालयहरुको नाम नेपालीकरण गर्ने प्रक्रियाअन्तर्गत नाम परिवर्तन गर्दा लाग्ने राजस्व छुटका लागि कार्यपालिकालाई शिफारिस गरेको छ ।

नेपालमा अझै ५ दिनसम्म तातो हावा चल्ने, ‘लू’ लाग्ने खतरा बढी

काठमाडौं । विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । नेपालमा लुको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्न सुझाव दिएका हुन् । यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्व तयारीको काम अहिलेबाट नै शुरु गर्न सरकारसँग आग्रह गरेका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले सरकारले लूबाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको बताए । उनले राष्ट्रिय रुपमा लू आएको अवस्थामा, अत्याधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहर/गाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजनाहरु बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा जोड दिए । आम नागरिकहरुलाई लूबाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न आग्रह गरे । उनले रोजगारीको क्षेत्रदेखि किसानहरुलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको बताए । धेरै देशहरुले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा.उप्रेतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिहरुमा पर्ने असरलाई मध्यनजर गरी हिट एक्शन प्लान बनाउन जरुरी रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा गर्मीको प्रभाव न्युनिकरणका लागि नेपालले दिशानिर्देशका उपायहरु नबनाएको गुनासो गरे । उनले तापक्रम वृद्धि भएको आधारमा लू भयो भन्ने मात्रै नभइ प्रभावमा आधारित पूर्वसूचनाको रुपमा रणनीति बनाइ अघि बढ्न जरुरी रहेको बताए । पूर्व चेतावनीलाई बेवास्ता गर्नु नहुने भन्दै विज्ञ उप्रेतीले संवेदनशील भएर सरकारले काम थालिहाल्न आवश्यक रहेको बताए । तातो हावा लूले निम्त्याउने समस्यालाई समयमै नबुझे जटिल बन्दै जाने चेतावनी दिँदै उनले स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए । उनले भने ‘जल तथा मौसम विज्ञान विभागले हिजो लूको अवस्था घोषणा गरेको छ । त्यो एक खालको यस्तो अवस्था आयो है भनेर साइन्स बोलेको अवस्था हो । तर के गर्न बाँकी छ भने अब हिट एक्शन प्लान । राष्ट्रिय रुपमा लू आएको अवस्थामा, अत्याधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहर, गाउँ, हाम्रो टोल, रोजगारीको क्षेत्रमा केके गर्ने भन्ने स्ट्याण्डर अप्रेटिङ प्रोसेस हुन्छ, त्यो बनेको छैन । हिटले ल्याउने सिधा असर मानव स्वास्थ्यमा, पशु, वनस्पति र वन सम्पदामा असर पर्छ । मानव स्वास्थ्यमा हिटको असर के हुन्छ भनेर धेरै वटा देशले हिट एक्शन प्लान इन हेल्थ बनाइसकेका छन् । स्वास्थ्य क्षेत्रमा हिटको प्रभाव भनेर गाइडलाइन बनाएको पाइन्छ । हाम्रोमा भने त्यो गाइडलाइन देखिएन, बनाइएको छैन । गाइडलाइन बनाउन जरुरी छ । आज हामी ४३ डिग्रि तापक्रममा छौँ । ४५ वा सो भन्दा बढी तापक्रम दुई वा दुई दिन भन्दा बढी रह्यो भने रेड अलर्ट तिर जान्छ । ४७ डिग्रि भन्दा माथि गए त्यो एक्स्ट्रिम हिटको अवस्था हुन्छ । भारतका धेरै जसो भूभागमा गत साल ४७ डिग्रि नाघेको थियो, यस वर्ष पनि नाघ्ने देखिन्छ । नेपालमा पनि त्यो सम्भावना नकार्न सकिँदैन । पहाडमा ३० डिग्रि भन्दा बढी भयो भनेपनि त्यो हिट वेभ हो । ठाउँअनुसार थ्रेसहोल्ड हुन्छ । तापक्रम वृद्धि भयो, लू भयो भनेर मात्रै हुँदैन । यसलाई हामीले प्रभावमा आधारित पूर्वसूचनाको रुपमा पनि लैजानुपर्छ ।’ औसत भन्दा बढी गर्मी/बढी वर्षा हुने यस वर्ष नेपालमा औषत भन्दा बढी गर्मी हुनेछ । साथै बढी वर्षा हुने पूर्वानुमान रहेको विज्ञ उप्रेतीले बताए । नेपालमा वैशाख, जेठ र असारको महिनासम्म बढी गर्मी हुने र असारदेखि असोजसम्म औषत भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको बताए । उनले यो अवस्थालाई सामान्य मौसममा परिवर्तन भएको अवस्थाका रुपमा बुझ्न नहुने बताए । उनले लामो समय देखि समुन्द्रमा एल निनो जलवायु चक्रको असर थियो । जसले हिउँदमा वर्षा हुन दिएन । यस्तै ला निना नामको जलवायु चक्रको प्रभाव बढिरहेकाले हिट वेभको अवस्था छ । यी दुवै अवस्था जलवायु परिवर्तनसँग जोडिएको बताउँदै उनले यही समयमा गत वर्ष विश्व तापमान वृद्धि १.१ डिग्रि रहेकोमा अहिले विश्व तापमान वृद्धि १.२ डिग्रि पुगेको बताए । विश्वतापमानमा वृद्धि हुनु, समुन्द्रको तापक्रममा आएको परिवर्तन र हिन्द महासागरको आइवोडी सकारात्मक भएको अवस्थालाई हेर्दा क्लाइमेटिक प्यारामिटरहरु आकर्षित भएको बताए । लामो समयको क्लाइमेटिक प्यारामिटर आकर्षित हुनुको अर्थ वा त्यसमा आएको परिवर्तनको अर्थ भनेको जलवायु परिवर्तनको असर भएको बताए । जलवायु परिवर्तनसँग विश्लेषण गर्ने दक्षिण कोरियामा अवस्थित एपेक सेन्टरले निकालेको विश्लेषणको आधारमा नेपालमा औषत भन्दा बढी गर्मी हुने अवस्था ९१ प्रतिशत रहेको उनले बताए । नेपालमा तातो हावा अझै ५ दिनसम्म रहने विज्ञ उप्रेतीकाअनुसार अबको ४ देखि ५ दिनसम्म नेपालमा लू रहनेछ । पश्चिमी वायु सक्रिय भइ पानी परेको अवस्थामा भने लू बाहिरिने बताए । उनले आगामी शुक्रबारदेखि हल्का वर्षा हुने सम्भवना भएकाले तातो हावालाई विस्थापित गरी चिसो हुने अवस्था रहेको बताए । अहिले वायुमण्डलीय चाप उच्च रहेको बताउँदै उनले वायुमण्डलीय उच्च चापले माथिबाट हावालाई धर्तीमा थिच्ने काम गरिरहेकोले बलियो पश्चिमी वायु र समुन्द्री आँधीले ल्याउने वाष्पीकरणले मात्रै लूको अवस्था घटेर जाने बताए । उनका अनुसार तीन महिनासम्म तातो हावा आउने/जाने क्रम जारी रहने छ । के हुन् लू का लक्षण ? गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण लू लाग्ने खतरा बढी हुन्छ । यदी अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ । यी दुवै लू लागेको लक्षणहरु हुन् । लू ले मिर्गौला, दिमाग र मुटुमा धेरै प्रभाव पार्दछ । जसबाट यी अंगहको कार्य क्षमता प्रभावित हुन्छ । लू लागेपछि नाडी र श्वासप्रश्वासको गति तिब्र हुन्छ । छाला रातो हुनुलाई पनि लू को लक्षणका रुपमा लिने गरिन्छ । केही मानिसहरुमा लू का कारण छिटो छिटो पिसाव आउने, शरीर चिलाउने आदि लक्षणहरु देखा पर्दछन् । गर्मीबाट बच्न के गर्ने/के नगर्ने ? विज्ञ उप्रेतीका सुझावः घरमै बस्ने । बसेको स्थानमा चिसो अवस्था कायम गर्ने । मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिर हिँडडुल कम गर्ने, गर्नैपरे छाता लगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने । गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरुले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने । गर्मीको प्रभाव न्युनिकरण गर्न स्वास्थ्यचौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने । स्वास्थ्यकर्मी/स्वास्थ्य स्वयंसेविकाहरुलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने । खानेकुरामा सावधानी अपनाउनेः जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुँदिनाको रस, चामल पखालेको (चौलानी) खाने । प्रोटिनयुक्त खानेकुरा कम गर्ने/नखाने । जस्तैः दुध, माछा मासु आदि । सरकारले के गर्नुपर्छ ? सरकारले भएका अस्पतालहरुको अवस्था नियालेर गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी शतर्क रहन आग्रह गर्नुपर्छ । स्थानीय सरकार (७५३ वटै पालिकाहरु) ले पालिकामा रहेका स्वास्थ्य केन्द्रहरुलाई शतर्क रहन आग्रह गर्नुपर्छ । क्षेत्रिय अस्पतालहरु पनि सक्रिय बनाउनुपर्छ । तीन तहकै स्वास्थ्य केन्द्रहरुले गर्ने कामको सन्दर्भमा स्पष्ट नीतिका साथ अघि बढ्नुपर्छ । पूर्व चेतावनीलाई ख्यालख्यालमा लिनु हुँदैन र संवेदनशील हुन जरुरी छ । स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्छ । लू बाट बच्ने घरेलु उपाय घरबाहिर निस्किँदा छाताको प्रयोग गरौँ । घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गरौं । यसरी पनि लू बाट बच्न सकिन्छ । घरबाट बाहिर निस्कनु पर्यो भने चिसो पानी र चिसो सर्वत पिएर मात्रै निस्किने बानी बसालौं । गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिउनुस् । गर्मी समयमा बारम्बार पानी पिइराख्नुस् । किनभने यसले शरीरमा पानीको मात्रालाई कम हुन दिँदैन । पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउनुभयो भने पनि लू लाग्नबाट बच्न सकिन्छ । गर्मीमा बाहिर जाँदा खाली पेट नहिँड्नुस्, तरकारीको झोल पिउँदा पनि लू बाट बच्न सकिन्छ । गर्मीमा कम खाना खाने बानी बसालौँ । खानामा दही अनिवार्य गरौँ ।

भैरहवा-कतार हवाई उडानका लागि पहल गर्न आग्रह

भैरहवा । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ । विमानस्थल उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा नआउँदा आर्थिक गतिविधि बढ्न नसकेको भन्दै सरोकारवालाहरूले कतारका अमिरको भ्रमणका अवसरमा भैरहवा-कतार हवाई उडानका लागि पहल गर्न आग्रह गरेका हुन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले कतारका अमिरको भ्रमणका क्रममा हुने द्विपक्षीय छलफलमा भैरहवा–कतार हवाई उडान भर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गर्न आग्रह गरे । ‘भैरहवाबाट कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडान भर्न कतारका अमिरको भ्रमण उपयुक्त अवसर हुनसक्छ । त्यसैले यो विषयलाई प्राथमिकताका साथ उठाएर भैरहवा-दोहा उडानका लागि पहल गर्न सरकारसँग हाम्रो आग्रह छ’, श्रेष्ठले भने । सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष एवं होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले पनि सरकारले कतारका अमिरको भ्रमणमा भैरहवा-कतार हवाई उडानको प्रस्ताव राख्न आग्रह गरे । भैरहवा-कतार उडान भए निजी क्षेत्रमा आशा बढ्नुका साथै भैरहवा आसपासमा आर्थिक गतिविधि बढ्न गई देशलेसमेत उल्लेख्य लाभ लिनसक्ने श्रेष्ठको भनाइ छ । रासस

डेभलपमेण्ट बैंकर्स संघको सीईओमा डंगोल नियुक्त

काठमाडौं । डेभलपमेण्ट बैंकर्स संघ नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्जिला डंगोल नियुक्त भएकी छन् । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालिन सनराईज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव रहेको छ । अनुसन्धान तथा बिकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौंला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास एशोसिएसनले लिएको छ । आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउनेक्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरवन्दी सिर्जना गरेको एशोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको बताएकाे छ ।

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनमा सहयोग पुग्ने

काठमाडौं । वैशाख १२ गतेदेखि काठमाडौंमा हुन लागेको चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ । एक्स्पो वैशाख १२ गते (बुधबार) बाट १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा शुरु हुनेछ । पहिलो दिन बुधबार बिहान साढे ६ बजेबाट स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्याली शुरु हुने स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए । र्यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु हुने बताए । उनले स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना हुँदै कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा लगेर अन्त्य गर्ने र हिमालय एक्स्पोको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए । उर्जाको क्षेत्रमा लगानी किन गर्ने, फाइदा र समस्याहरु केके छन् ? भन्नेबारेमा विभिन्न चरणमा छलफल हुने बताए । १३ गते बिहीबार र राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले एक्स्पोले विगतका भन्दा फरक खालको सन्देश प्रवाह गर्ने बताए । जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्याउने विश्वास रहेको बताए । सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने जानकारी दिए । ‘हिमालयन हाइड्रो एक्स्पोको हामी अन्तिम तयारीमा छाैँ । यो चौथो संस्करण हो । बुधवार १२ गते बिहान हामीले साढे ६ बजे स्काई टावरबाट इभी र्याली गर्नेछौँ । जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु त्यत्ति धेरै हुँदैनन् । सामान बेच्नका लागि मात्रै होइन, जलविद्युतमा कसरी आफूले लगानी गर्न सकिन्छ भन्ने खालका र निजी प्रवद्र्धकहरुसँग भेट गर्न पाइन्छ की पाइँदैन भन्ने खालका प्रश्न थुप्रै आइसकेकाले यो एउटा राम्रो प्लेटफर्म हुनेछ । साथै सरकारले लिएको २८ हजार ५ सयको जुन योजना छ, त्यो पूरा गर्न निजी क्षेत्रको पहलमा यो एकदमै ठूलो सहयोग हुन्छ’, उनले भने । अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताए । एक्स्पोले सरकारले गरेको लगानी सम्मेलनलाई पनि धेरै ठूलो सहयोग पुग्ने बताए । देश अहिले उर्जामय भएकाले उर्जाको क्षेत्रमा लगानी गर्न धेरै लगानीकर्ताहरु इच्छुक रहेको जानकारी दिए । नेपालमा लगानी गर्न इच्छुक हुनेहरुका लागि सबैभन्दा राम्रो ठाउँ उर्जा क्षेत्र भएको दाबी गरे ।

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । बैंकले यस दिवसको अवसरमा सरसफाइ र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरू आयोजना गरेको हो । स्वच्छ वातावरण निर्माणमा सघाउ पुऱ्याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको बैंकले जनाएको छ । बैंकले सरसफाइ कार्यक्रम अन्तर्गत देशको सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै, बैंकले बालबालिकाहरूलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरूको बारे सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘पाल्नेट भरसेज पाल्स्टीक’मा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो ।

सूर्यज्योति लाइफ १७औं वर्षमा, थप गुणस्तरीय सेवा प्रदान गर्ने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको हो । कम्पनीका अनुसार १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०७९ पौष ७ गते आफ्नो संयूक्त कारोबार सूरु गरेको थियो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण ग्राहकवर्ग, अभिकर्ताहरु,कर्मचारीहरु, सेयरधनीहरू, सञ्चालक समिति, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरु लगायत सम्पूर्ण संचारकर्मीहरूमा आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे । साथै, कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पुर्ण सरोकारवालाहरु लगायत सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरू प्रति कृतज्ञता ज्ञापन गरे । कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँ सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिदै आएको छ। कम्पनीका अनुसार नेपालको एकमात्र तथा पहिलो आईएसओ ९००१ः२०१५ बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४५४ करोड रुपैयाँ, जीवन बीमाकोष ३,२०० करोड रुपैयाँ, कुल लगानी ३,७५० करोड रुपैयाँ रहेको छ भने नेटवर्थ ७५६ करोड रुपैयाँ रहेको छ । कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।