पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द
काठमाडौं । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिए । आज साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन् । भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बङ्गालको दार्जीलिङ र विहारको किसनगञ्ज जिल्लामा यही बवैशाख १४ गते एकैदिन हुँदैछ । भारतका दुवै जिल्ला झापासँग सीमा जोडिएका छन् । उक्त अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आउजाउ पूर्णतया बन्द हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए । उनले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिए । खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमानाका बन्द गर्ने विगतदेखिकै प्रचलन रहेको प्रजिअ बाँस्तोलाले बताए । नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सीमानाका बन्द गर्ने गरेको उनको भनाइ छ । चुनाव लक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन् । भारतको दार्जीलिङ जिल्लासँग झापासँगै इलामको समेत सीमाले छोएको छ । उक्त अवधिमा इलामको पशुपतिनगर र मानेभञ्ज्याङ नाका बन्द गरिने बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतको पश्चिम बङ्गालको दार्जीलिङ, रायगञ्ज र बलुरघाट निर्वाचन क्षेत्रमा वैशाख १४ गते मतदान हुनेछ । सोही दिन विहार प्रान्तको किसनगञ्ज, पूर्णिया, कटिहार, भागलपुर र बाङ्का निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।
विस्तृत सेवाको साथ सीएफ मोटो र जीहोका बाइक र स्कुटर लन्च
काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटर र बाइक लञ्च गरेको छ । नेपालका लागि सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले इलेक्ट्रिक स्कुटर र बाइक नेपाली बजारमा सार्वजनिक गरेको हो । यूरोप र एशियाली देशमा अत्यधिक रुचाईएको सीएफ मोटोका एनके २५० फन, एसआर २५० फन र एनके ४५० मोडल र जीहोका एई६ प्लस तथा एई६ प्लस लङ्ग रेन्ज मोडलका इलेक्ट्रिक स्कुटर र सीटी स्पोट्र्स इलेक्ट्रिक बाइक ऋषि ट्रेड सेन्टरले नेपालीमा बजारमा ल्याएको हो । सन् १९८९ मा स्थापित सीएफ मोटोका १ सय देश र ३ हजार बढी बिक्री तथा बिक्रीपश्चात् सेवा प्रदान गर्ने थ्रीएस सोरूम छन् । विश्व प्रतिष्ठित सीएफ मोटो ब्राण्डले इलेक्ट्रिक उद्योगमा आफ्नो सेवा विस्तार गरेसँगै छोटो समयमै बलियो उपस्थिती जनाउन सफल भएको छ । नेपालमा रिलायन्स ग्रुपले वितरकको पूर्ण जिम्मेवारी लिएसँगै सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटरले आक्रामक व्यवसाय गर्ने अपेक्षा कम्पनीले गरेको छ । रिलायन्स ग्रुपका डाइरेक्टर ऋषि अग्रवाल आफ्नो ग्रुपको व्यापारिक इतिहासमा एक महत्वपूर्ण क्षण रहेको बताउँछन् । बाइक तथा स्कुटर पारखीहरूलाई दुवै प्रकारको साधनको साथै सेवालाई फराकिलो रुपमा विस्तार गर्ने उनले बताए । आन्तरिक र बाह्रय पर्यटनमा बाइकको विशेष योगदान रहने र इलेक्ट्रिक मोबिलिटी मार्फत स्वच्छ वतावरणमा टेवा पुग्ने उनको भनाइ छ । कम्पनीले सीएफ मोटोका एमटी४५० र एनके३०० जस्ता उच्च क्षमता र आकर्षक डिजाइनका मोडलहरू चाँडै लञ्च गर्ने योजना रहेको घोषणा गरेको छ । आफ्नो अर्को योजनानै सर्भिस विथ फन क्याम्प सञ्चालनमा ल्याउने रहेको अग्रवालले बताए । कति पर्छ मूल्य ? सीएफ मोटोका बाइकहरू २५० एनके फनको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ, २५० एसआर फनको ६ लाख ७४ हजार ९ सय रुपैयाँ, ४५० एनकेको ११ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै, जीहोका एई६ प्लसको ३ लाख ४४ हजार ९ सय रुपैयाँ, एई६ प्लस लङ्ग रेन्जको ३ लाख ९४ हजार ९ सय रुपैयाँ, सीटी स्पोट्र्स इलेक्ट्रिक बाइकको लाख ४९ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको छ । रिलायन्स ग्रुपले सामाजिक उत्तर दायित्वको लक्ष्य प्राप्ति गर्न ललितपुर महानगरपालिका अन्तर्गतको नगरप्रहरी बललाई सीएफ मोटो र जीहो ब्राण्डका स्कुटर समेत सहयोग गरेको छ । जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया : पुराना बाइक वा स्कुटरसँग नयाँ स्कुटर साट्ने अवसर धमाधम डिलर नेटवर्क विस्तार गर्दै रिलायन्स ग्रुप
यी हुन् लगानी सम्मेलनमा निजी क्षेत्रबाट सोकेस गरिने ३१ परियोजना, कुन क्षेत्रबाट कति ?
काठमाडौं । तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबाट ३१ परियोजना राखिने भएको छ । वैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको सम्मेलनमा निजी क्षेत्रका छाता संगठनहरूले परियोजनाहरू प्रस्तुत गर्न लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल नेम्बर अफ कमर्स (एनसीसी), स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान), होटेल संघ नेपाल (हान) सहित निजी क्षेत्रका छाता संगठनले परियोजनाहरू प्रस्ताव गरेका हुन् । लगानी बोर्डका अनुसार प्रस्ताव पेस भएकामध्ये सबैभन्दा बढी १९ वटा ऊर्जा क्षेत्रका परियोजना पेस गर्ने तयारी गरिएको छ । बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले ऊर्जा क्षेत्रमा धेरै अध्ययन भएको देखिएको बताए । ‘अहिले ऊर्जाकै धेरै सम्भावना छ, अन्य परियोजनाभन्दा ऊर्जाका परियोजनाको अध्ययन पनि धेरै भएको रहेछ,’ उनले भने । कसरी प्रस्तुत हुनेछन् परियोजना ? लगानी बोर्डका अनुसार सम्मेलनमा सम्बन्धित छाता संगठनहरूले विज्ञ प्रतिनिधिहरू खटाउनेछन् । उनीहरूका लागि बोर्डले स्टलनहरू उपलब्ध गराएको छ । ‘हामीले स्टलहरू उपलब्ध गराएका छौँ । उहाँहरूले परियोजनासँग सम्बन्धित विज्ञ व्यक्तिहरू परिचालन गर्नुहुन्छ । अनि लगानीकर्ताहरूले राखेको जिज्ञासाको जवाज दिनुहुन्छ,’ बोर्डका प्रवक्ता उपाध्यायले विकास न्युजसँग भने । निजी क्षेत्रबाट महाकाली सेती क्यासकेड जलविद्युत्, सिक्लेस अन्नपूर्ण केबलकार, जाल्पादेवी केबलकार, भरतपुर आइसल्यान्ड रिसोर्ट, मध्य कालीगण्डकी जलविद्युत्, टिपल्याङ कालीगण्डकी जलविद्युत्, आईएमई सिमेन्ट, काठमाडौं टेक्निकल स्कुल, पोडवेमा आधारित चुनढुंगा उत्खनन तथा वितरण, हेप्पी ल्यान्ड फन पार्क एन्ड रिसोर्ट परियोजना पेस गरिँदै छ । यसगरी, नेचुरल एग्रिकल्चर फार्म, कम्पोस्ट मल परियोजना, रिभल्बिङ पार्किङ, अपर सानी भेरी जलविद्युत्, पेल्मा खोला अर्धजलाशय जलविद्युत्, दाना खोला जलविद्युत्, माथिल्लो बुढीगण्डकी जलविद्युत्, मुगु कर्णाली जलविद्युत्, ल्याद्रुक मोदी जलविद्युत्, बलेफी खोला जलविद्युत्, नरखोला जलविद्युत्, चुवा खोला क्यासकेड जलविद्युत्, अपर चुवा लुरुप्या जलविद्युत्, अपर अप्सुवा जलविद्युत्, अपर भेरी जलविद्युत्, सुर्के दुधकोशी जलविद्युत्, अपर मस्र्याङ्दी–१ जलविद्युत्, अप्सुवा खोला-१ जलविद्युत्, सगरमाथाको ट्रेलमा १० लक्जरी होटेल स्थापना र गोपीकृष्ण सेन्ट्रल प्लाजा परियोजना निजी क्षेत्रबाट सोकेस गर्न लागिएको छ । यसअघि, दोस्रो लगानी सम्मेलन-२०१९ मा सरकारी र निजी क्षेत्र गरी ७७ वटा परियोजना सोकेस गरिएको थियो । त्यतिबेला पनि निजी क्षेत्रबाट ऊर्जा क्षेत्र नै हाबी थियो ।
राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज उनीसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरे । कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न यहाँ आएका हुन्। राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताए । रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए ।
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबीच मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटवार्तामा ढकालले सो बताएका हुन् । रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको प्रतिनिधिमण्डलको नेतृत्व यसका अध्यक्ष सर्गेई कातरिनले गरेका थिए । भेटमा ढकालले नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएदेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अगाडि बढाउने र सहजीकरण गर्दै आएको बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको बताए । ढकालले मंगलबारको भेटले नेपाल र रुसबीचको सम्बन्धलाई थप निरन्तरता दिनुका साथै व्यापार तथा लगानी सम्बन्धलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने बताए । उनले यो साझेदारीले दुवै देशको आर्थिक वृद्धि र विकासका नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरे । भेलालाई ढकालले नेपाल र रुसबीचको कूटनीतिक सम्बन्धको लामो इतिहासबारे जानकारी दिँदै तत्कालीन सोभियत संघले नेपाललाई महत्वपूर्ण, आर्थिक र विकास सहयोग पुर्याएको र नेपालको आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिन योगदान दिएको बताए । उनले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताए । साथै, यस सहकार्यले नेपाली व्यवसायहरूलाई आफ्ना उत्पादन र सेवाहरू रुसको बजारमा निर्यात गर्न मद्दत गर्न सक्ने उनले बताए । यसैबीच ढकालले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको राम्रो वातावरण बनाउन नेपाल सरकारले १२ वटा ऐन नियम परिमार्जन गरेको जानकारी दिए । उनले सरकारले द्विपक्षीय लगानी सम्झौताको रूपरेखा पनि तयार गरिसकेको जानकारी दिए । उनले यो बहुमूल्य अवसरलाई सदुपयोग गर्न र आपसी हितका लागि आकर्षक क्षेत्रमा लगानी गर्न रुसी व्यवसायीहरुलाई आग्रह गरे । उनले नेपालमा लगानीका लागि सम्भावित क्षेत्रहरु पर्यटन र पर्यटन पूर्वाधार, कृषि प्रशोधन, जलविद्युत आयोजना तथा पूर्वाधार, आईसीटी, उत्पादनमूलक क्षेत्र मात्रै रहेको बताए । यसैबीच, अग्रता क्रममा मन्त्रीको पद पाएका रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष सर्गेई काटिरिनले रुसी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनले थप रुसी व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउन पहल गर्ने बताए । उनले रुस ठूलो बजार भएकाले नेपाली व्यवसायीलाई आफ्ना उत्पादन रसिया निर्यात गर्न सहयोग गर्ने बताए । कार्यक्रममा सेन्ट-पिटर्सबर्गको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र लिपेटस्क क्षेत्रको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले पनि प्रस्तुतिहरू राखेका थिए। त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले रुसी प्रतिनिधिमण्डललाई नेपाल उद्योग वाणिज्य महासंघले नेपालको व्यापारिक वातावरण सुधार गर्न चालेका पहलका बारेमा जानकारी गराएका थिए । ढकालले आगामी बैशाख १६ र १७ गते हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुने रुसी संघको उद्योग वाणिज्य संघ र रुसी लगानीकर्तालाई धन्यवाद पनि दिए ।
टीभीएसले ल्यायो लाईफ टाईम ब्याट्री एस्योरेन्स भएको ईलेक्ट्रिक स्कुटर, मूल्य कति ?
काठमाडौं । जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि एस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिवद्धताका साथ कम्पनीले उक्त स्कुटर सार्वजनिक गरेको हो । ब्याट्रीको टिकाउपन, वारेन्टी र लागतलाई सम्बोधन गर्दै टीभीएसले आईक्यूब मार्फत नेपालमा ईलेक्ट्रिक स्कुटरलाई प्रयोगमा ल्याउने उद्देश्य राखेको छ । ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आईक्यूबका ग्राहकले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टीभीएस आईक्यूब र टीभीएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । कम्पनीका अनुसार ग्राहकले २ लाख ९९ हजार ९०० रुपैयाँमा टीभीएस आईक्यूब खरिद गर्न पाउने छन् । टीभीएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार ७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टीभीएस आईक्यूबका करिब ३ लाख ग्राहकहरुले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९ हजार ५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।
कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए । शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न छन् । उनीहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका थिए । अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौं आएका हुन् ।