विकासन्युज

नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गर्दै सो योजना सार्वजनिक गरिएको हो । अनिश्चितताले भरिएको संसारमा, आफ्ना बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरि हुने भएकोले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना कम्पनीले सार्वजनिक गरेको हो । यो योजना मार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने बताइएको छ । ‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ सार्वजनिक गरिएको नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बालबालिका सम्बन्धी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) हो जस्मा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिन पछि) देखि १७ वर्ष सम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्ष सम्म रहने छ । न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि २५ वर्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ । यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भए पछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडी आउँछ सोही देखि जोखिम प्रारम्भ हुनेछ । यस योजना अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमाङ्क भुक्तानी परिपक्वता सुविधा अन्तर्गत बीमा अवधि समाप्ती मिति सम्म बीमित प्रस्तावक तथा बीमित बालबालिका जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने छ । बीमा अवधि भित्र जोखिम प्रारम्भ नहुँदै प्रस्तावक भन्दा अगाडि बीमित बालबालिकाको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क (पुरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) भुक्तानी गरिने छ भने बीमा जोखिम प्रारम्भ पछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पुरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत: अन्त्य हुनेछ । त्यस्तै, बीमा अवधि भित्र जुनसुकै समयमा बालबालिका छदै प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिईनेछ । मासिक आय सुविधा बीमाङ्कको १ प्रतिशत बराबरको रकम बीमित बालबालिकालाई भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटे पश्चात बीमा अवधि समाप्ति सम्म वा बालबालिकाको मृत्यु जुन अघि हुन्छ सो समय सम्मका लागि प्रदान गरिनेछ र बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बीमा अवधि समाप्ति सम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु वापत बीमाङ्क रकमको २५ प्रतिशत रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत: अन्त्य हुनेछ । बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत तथा बीमित बालबालिका जीवित रहुन्जेल सम्मको आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पुरक करार तथा अतिरिक्त बापतको बीमाशुल्क बाहेक) मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत: अन्त्य हुनेछ । यस योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । सर्मपण मूल्यको गणना नेपाल बीमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नेछ । सर्मपण मूल्य प्राप्त भएको बीमालेखमा सर्मपण मूल्यको ९० प्रतिशत वा बीमाङ्क रकमको २५ प्रतिशत रकम तथा आर्जित बोनसमध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रुपमा प्राप्त गर्न सकिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा ऋण सुविधा बापत दिइएको रकम कटाई बाँकी रकम भुक्तानी गरिनेछ । यस योजनामा २१ वर्ष देखिका बीमित प्रस्तावकले अतिरिक्त बीमाशुल्क तिरेर ऐच्छिक पुरक करार सुविधाहरु दुर्घटना मृत्यु लाभ सुविधा, दुर्घटनाबाट हुने अपाङ्ग अशक्त बीमाशुल्क छुट सुविधा तथा घातक रोग सुबिधा लिन सकिने छ । बीमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक तथा एकल गरी ५ तरिकाबाट गर्न सकिने कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । यो योजना सबै सरोकारवालाहरुको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा आग्रह गरे ।

कतारमा बोतल पानी निर्यातको अवसर, वार्षिक चार करोड डलरको बजार

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताएका छन् । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलमा कतार पनि मुख्य गन्तव्य हुनसक्ने उनीहरुको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विश्वमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै यसबारे विश्वव्यापी छलफल सुरु भइसकेको छ । कतारलगायतका खाडीमुलुक पनि पानीको सङ्कटग्रस्त क्षेत्र मानिन्छ । कतारमा पानी निर्यातक्रम बढिरहेको अध्ययनले देखाएको छ । विभिन्न देशमा स्वच्छ खानेपानीको अभाव बढ्दो रहेको अवस्थामा हिमालको पानीको माग उच्च हुनसक्ने उनीहरुको आकलन छ । एक प्रतिवेदनअनुसार कतारमा हाल वार्षिक चार करोड डलरभन्दा बढी बोतलको पानीको व्यवसाय छ । यो प्रत्येक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपालले हिमालको पानी कतारमा पुर्याएर आम्दानी गर्न सक्ने सरोकारवालाको भनाइ छ । नेपालबाट पनि बोतल बन्द पानी कतारमा निर्यात गर्न सके त्यसबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आएका छन् । कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि पहल गर्ने सुनौलो अवसरका रुपमा लिन सकिने उनीहरुको बुझाइ छ । व्यापार तथा निकासी प्रवर्दन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैतसम्म विश्वका दुई वटा मुलुकमा नेपालको पानी निर्यात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा १५ लाख २१ मूल्य बराबरको पानी भारत निर्यात भएको छ भने २० लाख ९० हजार रुपैयाँ बराबरको पानी जापान निर्यात भएको छ । भन्सार विभागका अनुसार आव २०७८/७९ मा नेपालले १८ हजार चार सय तीन लिटर पानी कतार निर्यात गरेको थियो । जसबाट नेपालले २५ लाख ४४ हजार आम्दानी गरेको थियो । तर त्यसपछिका वर्षमा कतारमा पानी निर्यात हुन सकेको छैन । अब त्यसलाई निरन्तरता दिन सके कतार पानी निर्यातको राम्रो गन्तव्य बन्न सक्ने देखिएको छ । केन्द्रकाअनुसार अघिल्लो वर्ष जर्मनी, जापान, भारत, अष्टे«लियामा खानेपानी निर्यात भएको थियो । केन्द्रका शाखा अधिकृत कृष्णराज बज्राचार्यले पानी व्यापार पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको भन्दै पानी निर्यात प्रवद्र्धनलाई जोड दिनुपर्ने बताएका छन् । खानेपानी मन्त्रालयका सहसचिव माधव अधिकारीले कतारमा खानेपानी निर्यातको राम्रो सम्भावना रहेको बताए । ‘हाम्रो हिमाली क्षेत्रको स्वच्छ खानेपानीको विज्ञापन गर्नसकेमा कतार पनि पानी निर्यातको राम्रो सम्भावना भएको मुलुक बन्न सक्छ’, उनले भने, ‘अहिलेसम्म केही निजी क्षेत्रहरुले पिउने पानी निर्यात गर्न थालेका छन् । अव यसलाई अझै व्यापाक प्रचार प्रसार गर्दै कतारलगायतका खाडी मुलुकमा पनि व्यापारको गन्तव्य खोजिनुपर्छ ।’ लगानी सम्मेलन र कतारी राजाको भ्रमणका अवसरमा नेपालको पानीको निर्यात प्रवद्र्धनका लागि पहल गरिर्नुपर्नेमा उनले जोड दिएका छन् । उनका अनुसार पानी निर्यातसम्बन्धी ऐन नभएको भन्दै ऐन बनाउन पहल पनि थालिनुपर्नेमा जोड दिएका छन् । ‘अहिले उद्योग विभागले निर्यातका लागि केही काम गरिरहेको छ । अब अन्तरसरकारी निकायबीच समन्वय बढाएर पानी निर्यातको नीतिगत व्यवस्था गर्न जरुरी छ’, अधिकारीले भने, ‘स्वदेशी पानी विश्वबजारमा बेच्नसकेमा स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन हुने र मुलुकको आर्थिक समृद्धि सम्भव छ ।’ बीना मगर  खानेपानी मन्त्री भएको समयमा नेपालको पानी विदेश निर्यात गर्ने विषयमा छलफल सुरु गरेकी थिइन् । खानेपानी मन्त्रालयले यसैको निरन्तरता दिँदै छलफल चलाइरहेको छ । कतार वातावरण तथा ऊर्जा अनुसन्धान संस्थानले गरेको एक सर्वेक्षणअनुसार कतारको ३० प्रतिशत जनसङ्ख्याले मात्र दैनिक धाराको पानी पिउँछन् । अधिकांशको रोजाइ बोतलको पानीमा छ । खानेपानीको बढ्दो मागबीच ती क्षेत्रमा बोतलको पानीको उद्यम वार्षिक आठ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । बढ्दो जनसङ्ख्या, उच्च खपत उपभोग्य आय, सहज बजार पहुँच, स्वास्थ्यमा बढ्दो जनचेतनालगायतका कारण त्यहाँका जनता धाराको पानीको साटो ‘मिनिरल वाटर’को खपत बढेको अध्ययनले देखाएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले पनि लगानी सम्मेलनको पूर्वसन्धामा कतारी राजा नेपाल भ्रमणमा आएको मौकामा खानेपानी निर्यातका लागि पहल गरेमा मुलुकको अर्थतन्त्र सुधार हुने बताएका छन् । ‘कतारको समृद्धिका लागि हाम्रा नेपाली कामदारहरुले गर्नुभएको योगदान महत्वपूर्ण छ’, उनले भने, ‘अब कतारले पनि हाम्रो मुलुकको समृद्धिका लागि खानेपानीलगायत स्वदेशी वस्तु आयात गरिदिन कतारलाई आग्रह गर्नुपर्छ ।’ नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, संयुक्तराज्य अमेरिका, फ्रान्स, अष्टे«लिया, इण्डोनेसिया, अर्जेन्टिना, थाल्याण्ड, संयुक्त अधिराज्य, साउदी अरेयिबा र ओमान प्रमुखरुपमा रहेको उद्योग मन्त्रालयको भनाइ छ । चालु आर्थिक वर्ष २०८०/८१ प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटामा दुई दशमलव पाँच प्रतिशतले ह्रास आई कूल व्यापारघाटा नौ खर्ब २९ अर्ब ६१ करोडमा सीमित भएको मन्त्रालयको तथ्याङ्क छ । कतारमा पानी निर्यातको गन्तव्य बनाउनसकेमा मुलुकको व्यापार घाटा कम गर्न सकिने विज्ञहरुको भनाइ छ । नेपाल खानेपानी सरसफाइ तथा स्वच्छता नीति २०८० अनुसार पनि खानेपानी निर्यात मुलुकको अवसर रहेको छ । ‘विदेशमा समेत खानेपानी निर्यात गर्न यस क्षेत्रका अवसरका रूपमा रहेको छ’, नीतिमा उल्लेख छ । समुदायस्तरमा आयोजना पहिचान, तर्जुमा र कार्यान्वयनबाट उत्तरदायित्व वृद्धि हुने, जीवनशैलीमा आएको सुधारसँगै गुणस्तरयुक्त खानेपानी र सरसफाइ सेवाको बढ्दो माग, नदीनाला, तालतलैया तथा जलाशयलगायत अन्य वातावरणीय स्वच्छताका विषयमा जनचेतनामा आएको नकारात्मक अभिवृद्धि, सामुदायिक, गैरसरकारी तथा विकास साझेदारको सहयोग र सहभागिता, पर्यटकीय क्रियाकलापको अभिवृद्धि तथा पर्यटकलाई आकर्षण गर्न सकिने नीतिमा उल्लेख छ । नीतिनिर्माणको आवश्यकता पहिचान संविधान प्रदत्त स्वच्छ खानेपानी सेवामा पहुँच तथा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको परिपूर्ति, संरक्षण, सम्वद्र्धन गरी दिगोरूपमा उपभोग गर्नका लागि दिशानिर्देश गर्न, विद्यमान ग्रामीण खानेपानी तथा सरसफाइ नीति र सहरी खानेपानी तथा सरसफाइ नीतिलाई एकीकृत गरी संधीय संरचना अनुकूल बृहत्तर राष्ट्रिय नीति निर्माण गर्न, यस क्षेत्रमा रहेका वर्तमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्न र भविष्यमा उत्पन्न हुनसक्ने समस्याहरूलाई न्यूनीकरण गनै आवश्यक रहेको पनि नीतिमा उल्लेख छ । रासस

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबीच मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटवार्तामा ढकालले सो कुरा बताएका हुन् । रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको प्रतिनिधिमण्डलको नेतृत्व यसका अध्यक्ष सर्गेई कातरिनले गरेका थिए । भेटमा ढकालले नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएदेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अगाडि बढाउने र सहजीकरण गर्दै आएको बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको बताए । ढकालले मंगलबारको भेटले नेपाल र रुसबीचको सम्बन्धलाई थप निरन्तरता दिनुका साथै व्यापार तथा लगानी सम्बन्धलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने बताए । उनले यो साझेदारीले दुवै देशको आर्थिक वृद्धि र विकासका नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरे । भेलालाई ढकालले नेपाल र रुसबीचको कूटनीतिक सम्बन्धको लामो इतिहासबारे जानकारी दिँदै तत्कालीन सोभियत संघले नेपाललाई महत्वपूर्ण, आर्थिक र विकास सहयोग पुर्याएको र नेपालको आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिन योगदान दिएको बताए । उनले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताए । साथै, यस सहकार्यले नेपाली व्यवसायहरूलाई आफ्ना उत्पादन र सेवाहरू रुसको बजारमा निर्यात गर्न मद्दत गर्न सक्ने उनले बताए। यसैबीच ढकालले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको राम्रो वातावरण बनाउन नेपाल सरकारले १२ वटा ऐन नियम परिमार्जन गरेको जानकारी दिए । उनले सरकारले द्विपक्षीय लगानी सम्झौताको रूपरेखा पनि तयार गरिसकेको जानकारी दिए । उनले यो बहुमूल्य अवसरलाई सदुपयोग गर्न र आपसी हितका लागि आकर्षक क्षेत्रमा लगानी गर्न रुसी व्यवसायीहरुलाई आग्रह गरे । उनले नेपालमा लगानीका लागि सम्भावित क्षेत्रहरु पर्यटन र पर्यटन पूर्वाधार, कृषि प्रशोधन, जलविद्युत आयोजना तथा पूर्वाधार, आईसीटी, उत्पादनमूलक क्षेत्र मात्रै रहेको बताए । यसैबीच, अग्रता क्रममा मन्त्रीको पद पाएका रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष सर्गेई काटिरिनले रुसी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनले थप रुसी व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउन पहल गर्ने बताए । उनले रुस ठूलो बजार भएकाले नेपाली व्यवसायीलाई आफ्ना उत्पादन रसिया निर्यात गर्न सहयोग गर्ने बताए । कार्यक्रममा सेन्ट–पिटर्सबर्गको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र लिपेटस्क क्षेत्रको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले पनि प्रस्तुतिहरू राखेका थिए। त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले रुसी प्रतिनिधिमण्डललाई नेपाल उद्योग वाणिज्य महासंघले नेपालको व्यापारिक वातावरण सुधार गर्न चालेका पहलका बारेमा जानकारी गराएका थिए । ढकालले आगामी वैशाख १६ र १७ गते हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुने रुसी संघको उद्योग वाणिज्य संघ र रुसी लगानीकर्तालाई धन्यवाद पनि दिए ।

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा मंगलबार अपरान्ह काठमाडौं आइगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरे । स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए । यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उनी मंगलबार अपरान्ह विशेष विमानबाट काठमाडौं आइपुगेका को हो । सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो । रासस

ओलीले अभिनय गर्ने पहिलो चलचित्र, यसरी हुदैँछ सुटिङ (फोटोफिचर)

काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण भैरहेको फिल्म ‘नमेटिने घाउ’ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाका अध्यक्ष केपी शर्मा ओलीले अभिनय गरेका छन् । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको छ । ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा छन् । साथै फिल्ममा पूर्व प्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र सासद ज्ञानेन्द्र शाही को पनि अभिनय रहेको छ ।      

काठमाडौं आइपुगे कतारका राजा अमिर (तस्बिरहरू)

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आईपुगेका छन् । उनी दुईदिने भ्रमणको लागि मंगलबार नेपाल आएका हुन् । पहिलोपटक कतारका राजा नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी राजाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । पश्चिम एशियाको महत्वपूर्ण शक्ति राष्ट्रको प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

नासाको भोएजर अन्तरिक्ष यानद्वारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको इन्जिनियरिङ प्रणालीको स्वास्थ्य र स्थितिको बारेमा प्रयोगयोग्य डाटा फिर्ता गरिरहेको जनाएको छ । भोएजर–१ ले ४५ वर्षभन्दा बढी समयदेखि हाम्रो सौर्यमण्डलको अन्वेषण गरिरहेको छ । ‘प्रोब’ र यसको जुम्ल्याहा भ्वायजर–२ ताराहरूबीच अन्तरिक्षमा उड्ने एक मात्र अन्तरिक्ष यान हो । स्पेस प्रोबले वैज्ञानिकलाई सौर्यमण्डलको बारेमा जानकारी प्राप्त गर्न मद्दत गर्दछ । नासाका अनुसार अर्को चरण भनेको अन्तरिक्ष यानलाई पुनः विज्ञान डेटा फर्काउन सुरु गर्न सक्षम गर्नु हो । भोएजर–१ ले गत वर्ष नोभेम्बर १४ मा पृथ्वीमा पठनयोग्य विज्ञान र इन्जिनियरिङ डेटा पठाउन रोकेको थियो । यद्यपि मिशन नियन्त्रकहरूले अन्तरिक्ष यानले अझै पनि तिनीहरूको आदेशहरू प्राप्त गरिरहेको र सामान्यरूपमा सञ्चालन गरिरहेको बताएका छन् । मार्चमा दक्षिणी क्यालिफोर्नियामा नासाको जेट प्रोपल्सन प्रयोगशालामा भोएजर इन्जिनियरिङ टोलीले अन्तरिक्ष यानको तीनवटा अनबोर्ड कम्प्युटरमध्ये एउटासँग जोडिएको पुष्टि गरेको थियो । यो पृथ्वीमा पठाउनुअघि विज्ञान र इन्जिनियरिङ डेटा प्याकेजिङका लागि जिम्मेवार रहेको बताइएको छ । करिब ४६ वर्ष पहिले प्रक्षेपण गरिएको जुम्ल्याहा भोएजर अन्तरिक्ष यान इतिहासमा सबैभन्दा लामो र सबैभन्दा टाढाको अन्तरिक्ष यान हो । भोएजर इन्टरस्टेलरको उद्देश्य भनेको सौर्यमण्डलको नासा अन्वेषणलाई बाहिरी ग्रहहरूको छेउछाउभन्दा बाहिरको सूर्यको प्रभावको क्षेत्रको बाहिरी सीमासम्म विस्तार गर्नु हो । तिनीहरूको इन्टरस्टेलर अन्वेषण सुरु हुनुअघि दुवै प्रोबहरू शनि र बृहस्पतिबाट उडेका र भोएजर–२ युरेनस र नेप्च्युनबाट उडेका थिए । रासस

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन् । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएको अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ । मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने तथा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो । त्यसभन्दाअघि कतारको दिल्लीस्थित दूतावासले नेपाल मामिला पनि हेर्ने गथ्र्यो । नेपाल र कतार दुवै संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर हुन् । शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरुमा यी दुवै राष्ट्रहरु सदस्यका रुपमा छन् । दुई देशबीच विभिन्न क्षेत्रगत सहकार्यका लागि सम्झौताहरु भएका छन् । तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौँमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो । यद्यपि हालसम्म उक्त सम्झौता पुनरावलोकन हुन सकेको छैन । दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो । सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् । नेपाल र कतारबीच द्विपक्षीय हवाई सेवा (नागरिक उड्डयन)सम्बन्धी सम्झौता सन् २००२ जुलाइ ८ मा सम्पन्न भएको थियो । त्यस्तै दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा सन् २०११ मा हस्ताक्षर भएको थियो । दुई देशका निजी क्षेत्रबीच पनि सहकार्य हुँदै आएको छ । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सले सन् २०१८ मा दुईपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसैगरी, कतारको मुख्य बैंकमध्ये एक दोहा बैंकले सन् २०१८ डिसेम्बरमा काठमाडौँमा सम्पर्क कार्यालय खोलेको थियो । नेपालका उद्यमीहरु कतारमा सङ्गठितसमेत भएका छन् । सन् २०२१ मार्चमा कतार वित्तीय प्राधिकरण (कतार फाइनान्सियल अथोरिटी) मा ‘नेपाली विजनेस एशोसिएसन कतार’ नाममा नेपालीहरु सङ्गठित भएर संस्था दर्ता भएको थियो । कतार बेलायतबाट सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो । स्वतन्त्र हुनुअघि कतारले आफ्नो अस्थायी संविधान लागू गरिरहेकामा औपनिवेशिक स्वतन्त्रतापछि उक्त संविधानलाई थप संशोधन र परिस्कृत गरी कार्यान्वयनमा ल्याएको थियो । कतारको शासकीय व्यवस्था, कानुन प्रणाली, कार्यकारी अधिकार तथा शासनको उत्तराधिकारीलगायत महत्वपूर्ण विषयहरु समेटेर सन् १९९९ मा स्थायी संविधानको मस्यौदा निर्माणका लागि समिति गठन गर्न अमिरी आदेश जारी गरियो । कतारले सोही वर्ष अर्थात् सन् १९९९ मा पहिलोपटक केन्द्रीय नगर परिषद्को चुनाव गरेको थियो । यसलाई लोकतन्त्रप्रतिको पहिलो कदमका रूपमा कतारले लिँदै आएको छ । विभिन्न समयमा दुवै देशबाट उच्चस्तरीय भ्रमणहरु भएका छन् । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सन् २०११ को अक्टोबरमा कतारको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म कतारको राजकीय भ्रमण गरेकी थिइन् । सन् २०२२ मार्च २१ देखि २३ गतेसम्ममा नेपालका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार भ्रमणमा गएका थिए । त्यसैगरी, सन् २०१९ नोभेम्बर २० देखि २२ गतेसम्म तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कतारको भ्रमण गरेका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महराले सन् २०१९ अप्रिल ६ देखि १० गतेसम्म कतार भ्रमणमा गएका थिए । तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सन् २०१८ नोभेम्बर १३ देखि १४ कतार भ्रमण गरेका थिए । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेका अवसरमा सन् २०१७ जनवरीमा तत्कालिन परराष्ट्रमन्त्री प्रकाशशरण महत कतारको आधिकारिक भ्रमणमा गएका थियो । त्यस्तै तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सन् २०१५ अप्रिल ११ देखि १४ गतेसम्म भ्रमण गरेका थिए । कतारकातर्फबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरुमा सन् २०१५ अप्रिल ४ देखि ७ गतेसम्म कतारको श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्लाह विन सलेह मुबारक अल–खुलाफी नेपाल भ्रमणमा आएका थिए । कतारका वातावरणमन्त्री अब्दुल्लाह विन मुवारक विन अबुद अल–मिधाधीले सन् २०१२ अप्रिल ५ देखि ९ गतेसम्म नेपाल भ्रमणमा आएका थिए । कतारका वैदेशिक मामिला मन्त्री शेख हमाद विन जसिम विन अल थानी सन् २००९ मा नेपाल भ्रमणमा आएका थिए । कतारको योजना तथा तथ्याङ्क प्राधिकरण (प्लानिङ) एन्ड स्टाटिस्टिक अथोरिटीको तथ्याङ्कअनुसार कतारको जनसङ्ख्या २०२४ मार्च महिनासम्ममा ३१ लाख १९ हजार पाँच सय ८९ बराबर छ । जसमध्ये पुरुषको जनसङ्ख्या २२ लाख १२ हजार चार सय ६८ र महिलाको सङ्ख्या नौ लाख सात हजार एक सय २१ बराबर छ । कतारमा आर्थिकरुपमा सक्रिय जनसङ्ख्या करिब ८७ प्रतिशत हाराहारी छ । कतारले सन् २०२३ को पहिलो त्रैमास अवधिसम्ममा गरेको श्रमशक्ति नमुना सर्वेक्षण (लेबर फोर्स स्याम्पल सर्भे) अनुसार कतारमा शून्य दशमलव एक प्रतिशत हाराहारीमा मात्रै बेरोजगारी रहेको छ । कतार प्रतिव्यक्ति आय बढी भएका मुलुकको शीर्ष स्थानमै पर्दछ । कतारको प्रतिव्यक्ति औसत आय अमेरिकी डलर एक लाख १४ हजार हाराहारी छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अमेरिकी डलर दुई खर्ब २४ अर्ब ६९ करोड अमेरिकी डलर बराबर रहेको छ । नेपाल र कतारबीचको वैदेशिक व्यापारको क्षेत्र पनि विस्तारै बढ्दै गएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा एक अर्ब ५३ करोड ५१ लाख ६७ हजार बराबरको आयात र नौ करोड १९ लाख बराबरको निर्यात भएको छ । नेपालको चिया, कफी, पिउने पानी, मसला, अलैँची, कतारमा निर्यात हुने गरेका छन् भने कतारबाट धुलो दूध, मह, काजुलगायत ड्राइफ्रुट, कफीलगायत वस्तुको बढी आयात बढी हुने गरेको छ । रासस