विकासन्युज

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि व्यक्ति वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०६ रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि वैशाख १८ गतेसम्म आवेदन दिनुपर्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो । वैशाख ७ गते दुवै पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका छन् । नेअशिसले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई निःशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको छ । नेअशिसले यो सेवा दिन थालेको धेरै वर्ष भइसक्दा पनि नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझै सम्म पनि पौराणिक शिक्षण विधि अपनाइएको कारण यो सेवा बारे धेरै संस्थाहरू अनभिज्ञ छन् । देश कोभिड महामारीले आक्रान्त भई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न असम्भव हुँदा नेअशिसले शिक्षण संस्थाहरूलाई जूमको प्रयोग गरी अनलाइन कक्षा लिने सेवा दिन थालेपछि यस सञ्जाल बारे उत्सुकता बढ्न सुरु भएको थियो र सञ्जालको सदस्य सङ्ख्यामा छोटो समयमै उल्लेख्य वृद्धि भएको थियो । कोभिड महामारीको प्रभाव घटेपछि पनि नेअशिसले आफ्नो सेवा निरन्तर दिइरहेको छ । पछिल्लो समयमा नेअशिसको सदस्य सङ्ख्यामा बिस्तारै वृद्धि भएको छ तर अनभिज्ञताकै कारण देशका अधिकांश शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरू यस सञ्जालबाट पाउन सक्ने सेवाबाट अझै टाढा छन् । के हो इडुरोम ? विश्वका शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूको इन्टरनेट जस्तै एउटा छुट्टै सञ्जाललाई इडुरोम भनिन्छ । शिक्षण, अनुसन्धान तथा पेशागत रूपमा बढी प्रयोग हुने यस इडुरोम प्रयोग गर्दा आफ्नो कम्प्युटरमा भाइरस सर्ने सम्भावना रहँदैन । विश्वका सुपर कम्प्युटरहरूको अति शक्तिशाली क्षमतामा निर्वाध पहुँच हुने हुँदा शिक्षण तथा अनुसन्धानको लागि आफैसँग ठूला सर्भरहरू आवश्यक पर्दैन । इडुरोम सेवा आफ्नो मोबाइल वा कम्प्युटरमा छ भने विश्वका कुनै पनि नाम चलेका विमानस्थल, विश्वविद्यालय र अनुसन्धान निकायमा जाने बित्तिकै लगइन नगरिकनै आफै कनेक्ट हुन्छ । के हो नेअशिस ? विश्वका प्रतिष्ठित शिक्षण संस्था तथा अनुसन्धान निकायहरूको एउटा विश्वव्यापी सञ्जाल छ । हरेक देशमा उक्त सञ्जालसँग जोडिन एउटा छुट्टै निकाय स्थापना गरिएको हुन्छ । नेपालमा रहेको उक्त निकाय नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) हो । नेअशिस एउटा विशुद्ध गैरनाफामूलक गैरसरकारी संस्थाको रूपमा दर्ता गरिएको छ । अन्य कयौं देशहरूमा यस प्रकारका संस्था सरकार आफैले वा राष्ट्रिय स्तरका विश्वविद्यालयहरूले सञ्चालन गर्ने गरेका छन् । नेअशिसका व्यक्तिगत तथा संस्थागत सदस्यहरूले यस सञ्जालको सबै सुविधाहरू प्रयोग गर्न सक्छन् । नेअशिसमा अहिले सम्ममा नेपालका कयौं सरकारी, अनुसन्धान तथा शिक्षण संस्थाहरू आबद्ध छन् । नेअशिसले आफ्ना सदस्यहरूलाई जूम प्रयोग गरी अनलाइन कार्यक्रम चलाउने सुविधा, इडुरोम प्रयोग गरी पेशागत सञ्जाल मार्फत निःशुल्क इन्टरनेट प्रयोग, प्रतिष्ठित पेशागत जर्नलमा प्रकाशित शोध लेखहरूमा पहुँच, अन्तर्राष्ट्रिय शिक्षण तथा अनुसन्धान निकायहरूसँग आवद्द रही ती निकायहरूसँग आर्थिक तथा प्राविधिक सहकार्य गर्ने र उनीहरूका शोध पूर्वाधारहरू प्रयोग गर्ने अवसर र नेपालकै संस्थाहरूले आफ्ना शैक्षिक तथा शोधकार्यको नतिजा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गर्न साझा डबली प्रदान गर्दछ ।

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । आज अपराह्न र राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

गण्डकी । रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ । ‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यल तालिम सञ्चालन गरिएको उनले बताए । तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ ।

सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा बस्दै

काठमाडौं । सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा आज बस्दैछ । सभा भैरहवा रुपेन्देहीको होटल भिलासामा बिहान १० बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ चैत २९ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत भएका छन् । चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठलाई सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन गरेको हो । चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने परिषद् सदस्यमा पूर्वअध्यक्षहरू महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार र सुरेशकुमार बस्नेतलाई मनोनयन गरिएको छ । परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यवसायीका हकहित संरक्षणका साथै निजी क्षेत्रको भूमिकालाई सशक्त तुल्याउन समन्वय गर्ने चेम्बरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

डढेलोले म्याग्दीमा ७ सय हेक्टर वन सखाप

गलेश्वर । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । ४५ दिनको अवधिमा जिल्लाको करिब ७ सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ ओटै स्थानीय तहका १ सय ११ वनमा डढेलो लागेको छ । डढेलोले जिल्लाको ६ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ । डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन् । डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताए । जिल्लाको बेनी नगरपालिका लगायत मालिका, मङ्गला, रघुगङ्गा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताए । कतिपय वनमा आगो निभाइएको छभने केही वनमा अझै धुवाँको मुस्लो देखिएको उनी बताउँछन् । दैनिक रूपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उनले जानकारी दिए । वन्यजन्तु गाउँमा डढेलोबाट जोगिन जङ्गली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका पीडित स्थानीयले बताएका छन् । ‘खेतबारीमा लगाएको बाली बँदेल र बाँदरले नष्ट गरे । वन्यजन्तु अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्,’ मङ्गला गाउँपालिका– ५ का किसान टिकानाथ कडेँलले भने । बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उनले बताए । मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु,वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् । मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका खेतबारीको बालीले नपुगेर बाँदर भकारी तथा भान्छामा पुगेका बताए । खेतबारीमा बँदेलले दुःख दिएको उनले गुनासो गरे । यसैबीच, तम्घासबाट प्राप्त समाचारअनुसार खरबारीमा लगइएको आगोले रुरुक्षेत्र गाउँपालिका–५ धोबिघाटस्थित सरोज सारुको दुईतले कच्ची घर जलेको छ । आगोले घरमा भएको अन्न, लत्ताकपडा, भाँडाकुडा नष्ट भएको छ । यसैगरी, भोजपुर नगरपालिका वडा नम्वर ८, पोखरेका भरत कार्कीको १० कोठाको घरमा मङ्गलबार आगलागी हुँदा रु ४२ लाख बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । आगलागीबाट नगद चार लाख ५० हजार, १३ तोल सुन, १० तोला चाँदी, एलइडी टिभी दुई थान, मोबाइल फोन, फर्निचर लगायत घरका सबै सामग्री जलेका उनले बताए ।

१२ वर्षमा १२ सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा १ हजार २ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । भक्तपुरस्थित आफ्नै अस्पतालमा मंगलबार आयोजना गरेको १२औं स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिए । अस्पतालले २०८० वैशाखदेखि चैत मसान्तसम्म एक सय ८४ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको उनले बताए ।आगामी दिनमा प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने, सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने, पाँच सय श्ययाको सुविधा सम्पन्न केन्द्र बनाउनेलगायत लक्ष्य रहेको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहले केन्द्र स्थापनादेखि यसको विकासका लागि मन्त्रालय निरन्तर लागिरहेको चर्चा गर्दै केन्द्रलाई अगाडि बढाउन मन्त्रालयदेखि सबै निकायले हातेमालो गर्नु आवश्यक भएको उल्लेख गरे । सांसद प्रेम सुवालले अस्पतालका लागि जग्गा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएको बताए । सांसद दुर्लभ थापाले भक्तपुर नगरपालिकाले आयोजना गरेको एक हजार दुई सय रोपनीको जग्गामध्ये १० रोपनी मानव अङ्गको अस्पताल बनाउन दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिरामीको चाप बढेकाले भवन विस्तारमा जोड दिनुपर्ने बताइन् । सो अवसरमा २०८० सालमा उत्कृष्ट सेवा गरेबापत डा. दिपेश श्रेष्ठलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट सेवा दिएको भन्दै केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र डा. कल्पनाकुमारी श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।