बीमा क्षेत्रमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियोमार्फत केवाईसी लिने प्रकृया जारी गरेको छ । उक्त सुविधा बैशाख ९ गतेबाट लागू भएको हो । विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई एप्लिकेशन डिकलेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टलमार्फत प्राप्त हुन्छ । केवाईसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ । प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टलमार्फत पेश गरे पश्चात् ई एप्लिकेशन डिकलेरेसन फर्ममा आवश्यक विवरणहरु भरि स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसी सम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ । यो सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने कम्पनीको अपेक्षा छ ।
देशलाई मेडिकल शिक्षाको ‘हब’ का रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पुर्याउनुपर्ने बताए । ‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।’ नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए । सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।’ प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए । ‘सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालको क्षमता विकासमा ध्यान दिनै पर्दछ,’ नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने ।
गोरखा भूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन
गोरखा । वि.सं. २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाई गएको ७.८ म्याग्निच्यूटको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो, भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो । आज सोहि भूकम्प गएको ९ वर्ष पुरा भएको छ । करिब १५ सयभन्दा बढी घरघुरी, अधिकांश मानिसहरु बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, ढुंगाले छाएको घर, बाटो भरि ढुंगा बिछ्याइको सुन्दर गाँउको रुपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ । मौलिकता मासिएको छ, र परिचय फेरिएको छ, भूकम्पको केन्द्रबिन्दु बारपाक । आजभोली बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरु आउने गर्दछन् । सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटलहरु खुलेकाले बारपाक लागि घुम्ने नयाँ गन्तव्य बनेको छ । परम्परागत ढुंगाले छाइएको घरको सट्टा आधुनिक र पक्की घरहरु निर्माण गरिएको छ, ढुंगा छापिएका बाटोहरु मोटर बाटोमा परिणत भएका छन् । ९ वर्ष अगाडी भूकम्पले मानसिक र शारीरिक रुपमा पुर्याएको घाउका टाटाहरु मात्र बाकी छन् बारपाकीहरुको मनमा, दैनिकी सामान्य बन्दै गएको छ, मेलापात, घाँसदाउरा वनजंगल गर्दा गाइने गीतहरुले भूकम्पको कम्पनलाई बिर्साएको छ ।
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिन इभी र्याली (तस्विरहरू)
काठमाडौं । हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा इभी र्याली भएको छ । इप्पान नेपालको आयोजनामा हिमालय हाइड्रो एक्सपोको पहिलो उदघाट्नको अवसर पारि आज बिहान इभी र्याली भएको हो । इभी र्यालीको फ्ल्याग डाउन उर्जा मन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । मन्त्री आफै पनि मन्त्रालयको इभी गाडिमा र्यालीमा सहभागी भएका थिए । र्याली स्काइवाक कमलादीबाट सुरु भएर बानेश्वर, तिनकुने, कोटेश्वर, ग्वार्को, थापाथली, सुन्धारा, लैनचौर हुँदै भृकुटीमण्डपमा पुगी २६ किलोमिटर बाटो पुरा गरेको थियो । र्यालीमा विद्युतीय गाडि, स्कुटर, बाइकहरु सहभागी थिए ।
एक करोड लागतमा औद्योगिक ग्राम निर्माण हुँदै
दमौली । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि एक करोड रुपैयाँ बजेट प्राप्त भएसँगै प्रक्रिया प्रारम्भ भएको हो । खहरे बजार नजिकको करिब ५८ रोपनीमा औद्योगिक ग्राम निर्माणका लागि चालु आर्थिक वर्षमा उक्त बजेट प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त स्थानमा औद्योगिक ग्राम निर्माणका लागि एक करोड रकम विनियोजन गरेको र असार मसान्तसम्म काम सक्न बोलपत्र आह्वान गरिने उनले बताए । नगरपालिकाले सो स्थानमा औद्योगिक ग्राम निर्माणका लागि २४ करोड २८ लाख ८५ हजारको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । औद्योगिक ग्रामका लागि पहुँचमार्ग स्तरोन्नति गर्ने, ग्रामभित्र सडकको ट्रयाक खोल्ने, जग्गा सम्म्याउने र पर्खाल चालु आर्थिक वर्षभित्र निर्माण गरिने नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । औद्योगिक ग्राममा विशेषगरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ । स्थानीय स्तरमा प्राप्त हुने कोदो, मकै, धान, गहुँ, फापर, दूध, मह, चिया कफी, फलफूल, जडीबुटीलगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमूलक उद्योग स्थापना गर्ने लक्ष्य छ ।
कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै
काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ । कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नेछन् । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न यहाँ आइपुगेका हुन् । कतारी विशिष्ट अतिथि आजै अपराह्न काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।
संस्थापकहरूले ‘स्टार्टअप ब्रान्डिङ’ मा गर्ने यी १० गल्ती जसका कारण डुब्छ व्यवसाय
काठमाडौं । स्टार्टअप सुरु गर्न सजिलो छैन । यसमा ब्रान्डिङ बलियो होस् भनेर ध्यान दिनुपर्छ । ब्रान्डिङ गर्दा तपाईंको लक्षित वर्गलाई दिमागमा राख्नु महत्त्वपूर्ण छ । धेरै पटक केही स्टार्टअपले यस्तो गल्ती गर्छन् कि उनीहरूको ब्रान्डिङ गलत दिशामा जान्छ । फलस्वरूप व्यापार बढ्नुको सट्टा डुब्न थाल्छ । आफ्नो व्यवसायमा सफल हुन चाहनुहुन्छ भने यस्ता १० गल्ती गर्नबाट तपाईं बच्न सक्नुहुन्छ । ब्रान्डिङलाई हल्का रूपमा नलिनुहोस् प्रायः नयाँ स्टार्टअपहरूले ब्रान्डिङको शक्तिलाई हल्का रूपमा लिन्छन् । तिनीहरूले एक सुन्दर लोगो, नाम र ट्यागलाइन राख्छन् । तर ब्रान्डिङ गर्नलाई यी विषयमात्र सीमित छैनन्। उनीहरूले आफ्नो ब्रान्ड नामअनुसार व्यवसाय कायम गर्न सक्दैनन्। याद गर्नुहोस्, यदि तपाई सरल भाषामा ब्रान्डिङ बुझ्नुहुन्छ भने यसको अर्थ मानिसहरूले तपाईंलाई कसरी हेर्छन् भन्ने हो । यस्तो अवस्थामा आफ्नो व्यवसायको ब्रान्डिङ गर्दा ध्यान राख्नुहोस् कि यो तपाईंको व्यवसायसँग मेल खाओस् र फरक सन्देश नदेओस् । बजार अनुसन्धान बेवास्ता गर्नु यदि तपाईं आफ्नो उत्पादनलाई राम्रोसँग बुझ्न र लक्षित समूहलाई राम्रोसँग चिन्न चाहनुहुन्छ भने बजार अनुसन्धान गर्न धेरै महत्त्वपूर्ण छ । धेरै स्टार्टअप संस्थापकहरूले बजार अनुसन्धानलाई बेवास्ता गर्छन्, जसको परिणाम स्वरूप तिनीहरू पब्लिकबाट उचित प्रतिक्रिया प्राप्त गर्न असमर्थ हुन्छन् । यदि तपाईं प्रतिक्रिया प्राप्त गर्नुहुन्न भने तपाईं आफ्नो उत्पादन सुधार गर्न सक्षम हुनुहुने छैन । ट्रेडमार्कविना ब्रान्ड नाम छनोट गर्नु धेरैपटक स्टार्टअप संस्थापकहरूले ट्रेडमार्कविना ब्रान्ड नाम रोज्छन्, जुन भविष्यमा समस्याको कारण बन्न सक्छ । कोहीले ब्रान्ड नाम छनोट गर्दा त्यस्तो नाम छनोट गर्छन् जुन ट्रेडमार्क गर्न निषेध गरिएको हुन्छ अथवा त्यो ब्रान्ड नाम पहिले नै दर्ता गरिएको हुन्छ । यस्तो अवस्थामा जब व्यापार बढ्न थाल्छ, ब्रान्ड नाम ट्रेडमार्क गर्न कठिनाइहरू हुन्छन्, जसको परिणाम तपाईंले धेरै पैसा र कडा मिहिनेत गरेको ब्रान्ड नाम त्याग्नुपर्छ । पहिलेदेखि चलिरहेका ब्रान्ड कपी गर्नु धेरै स्टार्टअपहरू पहिले नै चलिरहेको ब्रान्ड कपी गरेर गरेर अगाडि बढ्न चाहन्छन् । उनीहरूले सुरुमा केही सफलता पाउँछन्, जसका कारण उनीहरू एउटै ब्रान्डको नक्कल गरेर डुप्लिकेटजस्तै अगाडि बढिरहन्छन् । यद्यपि, यसको नतिजा एक निश्चित स्तरमा पुगेपछि देखिन्छ, जसले तपाईंको व्यवसायको वृद्धि रोक्छ । किनभने, मानिसहरूलाई थाहा हुन्छ कि यो पहिले नै चलिरहेको ब्रान्डको डुप्लिकेट हो । अर्को, ट्रेडमार्कहरूमा उत्पन्न हुने समस्याहरूले झन्झट निम्त्याउँछन् । ब्रान्डिङमा बारम्बार परिवर्तन गर्नु धेरै स्टार्टअप संस्थापकहरूले बारम्बार केही दिन वा महिनाको अन्तरालमा लोगो, रङ, आफ्नो ब्रान्डको फन्टजस्ता चीजहरू परिवर्तन गर्छन् । यसले लक्षित दर्शकहरूलाई धेरै अन्योलमा पार्छ । सुरुमा आफैं सोचेर ब्रान्डिङ गर्नुहोस् । बजार अनुसन्धानपछि यदि तपाईंलाई ब्रान्डिङमा परिवर्तनको आवश्यकता छ भने एक वा दुई पटकमात्र परिवर्तन गर्नुहोस्, बारम्बार होइन । ब्रान्ड बारम्बार बदलिँदै गएको देखेर मानिसको विश्वास घट्दै जान्छ र बिस्तारै तपाईंको ब्रान्ड बिर्सिन थाल्छन् । स्टोरीटेलिङको शक्तिलाई बेवास्ता गर्नु प्रत्येक व्यावसायिक ब्रान्डका निश्चित रूपमा आफ्नै कथा हुन्छन् । त्यो कथा भावनात्मक, प्रेरणादायी हुन सक्छ र त्यसले तपाईंको संघर्षलाई देखाउन पनि सक्छ । कतिपय ब्रान्ड संस्थापकहरू आफ्नो ब्रान्डको कथा सुनाउन चाहँदैनन् या भनौं उनीहरू संर्घषका कथा बताउन असमर्थ हुन्छन् । एक स्टार्टअप संस्थापकको रूपमा तपाईंका लागि तपाईंको ब्रान्ड कथा मानिसहरूलाई बताउन सक्ने सिप हुनु महत्त्वपूर्ण छ । तपाईंले आफ्नो ब्रान्डको कथा हरेक प्ल्याटफर्ममा सेयर गर्न सक्नुपर्छ ताकि धेरैभन्दा धेरै मानिसहरूले यसलाई थाहा पाउन् र तपाईंसँग जोडिन सकुन् । यदि तपाईं चाहनुहुन्छ भने एक कथा बताउन सक्नेको मद्दत पनि लिन सक्नुहुन्छ । ब्रान्ड म्यासेज गाह्रो बनाउनु धेरै पटक संस्थापकहरूले आफ्नो ब्रान्ड सन्देशलाई आवश्यकता भन्दा बढी जटिल बनाउँछन् किनभने तिनीहरू भारी शब्दहरू प्रयोग गर्छन् । ध्यान राख्नुहोस् कि तपाईंको ब्रान्डको सन्देश सरल हुनुपर्छ ताकि मानिसहरूले यसलाई सजिलै बुझ्न सकुन् र तिनीहरू भ्रममा नपरुन् । ब्रान्ड सन्देशको जटिलताका कारण मानिसहरूले तपाईंको ब्रान्डसँग जोडिन कठिनाइको सामना गर्नुपर्ने हुन्छ र बिस्तारै तपाईंको ब्रान्ड बिर्सिन्छन् । सबैलाई खुसी पार्ने प्रयास गर्नु धेरै स्टार्टअप संस्थापकहरू आफ्नो ब्रान्डिङमार्फत अधिक मानिसहरूलाई आकर्षित गर्न चाहन्छन् । यही कारण उनीहरूले विभिन्न वर्गलाई ध्यानमा राखेर ब्रान्ड नामलाई धेरै कमजोर पार्छन् । तपाईं यसबाट बच्नुपर्छ । सबैभन्दा पहिले तपाईंले आफ्नो लक्षित समूह के हो भनेर निर्णय गर्नुपर्छ र त्यसपछि ब्रान्डिङ सोही अनुसार गर्नुपर्छ । यसको मतलब तपाईंले एउटामात्र लक्षित समूहलाई खुसी पार्ने प्रयास गर्नुपर्छ र सबैलाई खुसी पार्ने जिम्मा लिनु हुँदैन । ब्रान्ड भ्वाइस बेवास्ता गर्नु तपाईंको स्टार्टअपको व्यक्तित्व र यसका श्रोताबीचको सम्बन्ध सिर्जना गर्न बलियो ब्रान्ड भ्वाइस आवश्यक छ । यस्तो अवस्थामा ब्रान्डिङ गर्दा आफ्नो लक्षित दर्शकलाई दिमागमा राखेर ब्रान्ड आवाज छनोट गर्नुहोस् । तपाईंको ब्रान्डको टोन, भाषा र शैली यस्तो राख्नुहोस् कि यसले तपाईंको ब्रान्ड भ्यालु प्रतिविम्बित गरोस् । ग्राहक प्रतिक्रिया बेवास्ता गर्नु कुनै पनि व्यवसायमा त्यो उत्पादन होस् वा ब्रान्डिङ, सबै ग्राहकअनुसार हुनुपर्छ । यदि ग्राहक प्रतिक्रियाबाट तपाईंलाई आफ्नो उत्पादन, मूल्य डिजाइन वा ब्रान्डिङमा कुनै परिवर्तन गर्न आवश्यक छ जस्तो लाग्छ भने परिवर्तनहरू बिना हिच्किचाहट गर्नुपर्छ । ग्राहकको प्रतिक्रिया बेवास्ता गर्दा तपाईंलाई महँगो पर्न जान सक्छ र बिस्तारै ग्राहकहरू तपाईंबाट टाढा जान सक्छन् । एजेन्सी
कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि व्यक्ति वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०६ रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि वैशाख १८ गतेसम्म आवेदन दिनुपर्नेछ ।