कतारका अमिर अल थानी र प्रधानमन्त्रीबीच भेटवार्ता सम्पन्न
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच बुधबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच आज सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध विस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । द्विपक्षीय भेटवार्तामा नेपालकातर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायत मन्त्रीहरु थिए । भेटवार्तापछि दुई देशबीचका सञ्चार, खेलकूद, विज्ञान प्रविधि, उद्योग वाणिज्यलगायतका विषयमा पनि सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि मंगलबार यहाँ आएका हुन् । रासस
नेपाल र कतारबीच द्विपक्षीय समझदारी, नेपाली कामदारको प्रशंसा
काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच बुधबार बिहान भएको वार्तामा ८ वटा विषयमा सम्झौता भएको हो । दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको बताइएको छ । दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । कतारी अमिरले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा पनि गरेका छन् । उनले आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् । द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो । होटल सोल्टीमा भएको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।
महासंघ र कतार चेम्बरबीच सम्झौता, लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने
काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गरे । परिषदले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्नेछ । तिव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसंग सम्वादका लागि परिषद स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो । नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्नेछ । खाडि मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिवुटि, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरि पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ । परिषद स्थापनापछि दुइ चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन् । ‘यस सम्झौताले अगामी दिनमा सहकार्यालाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने । यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदका मार्फत थप सहकार्यका लागि थप काम गरिने बताए । ‘कतारको तिव्र आर्थिक विकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ,’ महासंघका अध्यक्ष ढकालले भने । यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदको स्थापना पछि नेपालको जल विद्युत, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ बताए । यसैगरि महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नविकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे । उक्त सम्झौता पनि कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा नै भएको हो । महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको हो । त्यसयता दुइ चेम्बरले लगानी र व्यापार प्रवद्र्धनमा विविध सहकार्य गर्दै आइरहेका छन् ।
प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सिटिजन्स बैंकको सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठनागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्धेश्यका साथ स्थापना भएकोे सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्ध आश्रम सञ्चालन भइरहेको छ । आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धहरुको सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको कुरा व्यक्त गरे । अशक्त असहाय वृद्धाहरुको सेवामा समर्पित आश्रमलाई सांकेतिक रुपमा सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?
गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । मानिसहरुले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ । चिसो पेय पदार्थहरु अहिले गाउँघरमा छ्यापछ्याप्ती छन् । यस्ता वस्तुहरु अहिले शान, मान र सगुन सामग्री नै बनिसकेको देखिन्छ । यी पेय पदार्थहरुले मोही, सर्वतजस्ता नेपाली शैलीका कैयौँ पेय पदार्थलाई विस्थापन गर्दै लगिरहेका पनि छन् । अति गुलिया र रसायन मिसिएका यी पदार्थका कारण भविष्यमा उपभोक्ताहरुको दाँत, पेट, हाडजोर्नीलगायत शरीरका अन्य अङ्गहरुमा रोगहरुले घर बनाउँछ । यी पेयहरुले मोटोपनको समस्या निम्त्याउँछ । जतिजति यी पेयहरुको उपभोग बढ्दै जान्छ, त्यति नै तिनीहरुको सेवनबाट हुने स्वास्थ्य समस्याहरु पनि थपिदै गएको छ तर उपभोक्ताहरु के कारणले आफुलाई स्वास्थ्य समस्या भइरहेको छ भन्ने कुरा खुट्याउन सकिरहेका हुँदैनन् । रेडियो, टेलिभिजन र ठाउँठाउँमा राखिएका विज्ञापन बोर्डहरुमा गरिएका भ्रम पार्ने विज्ञापनहरुका कारण उनीहरु त्यस्ता पेयले आफुलाई राम्रै गरिरहेको होला भन्ने विश्वास हुन्छन् । यसरी पिउँदापिउँदै कतिपयलाई त नसालु पदार्थ जस्तै लत नै लागिसकेको हुन्छ । प्रसिद्ध खेलाडीले आफ्नो सफलतापछि विभिन्न ब्राण्डका पेय पदार्थ घ्वाटघ्वाट पिएर आनन्द लिएको देखाउने टेलिभिजनको आकर्षक विज्ञापनले युवायुवतीलाई हरेक खुसीमा यसै गर्न प्रेरित गरिरहेको हुन्छ । अद्र्धनग्न नर्तकीले डान्सवार वा डिस्को थेकमा पसिना पुछ्दै बोतलबाट हल्का पेय पिइरहेको देखेपछि यो पिउनै पर्ने पेय पदार्थ रहेछ भन्ने युवा मस्तिष्कमा छाप बस्छ । वास्तवमा उपभोक्तालाई आकर्षित गर्ने यस्ता चिसो पेयको विज्ञापनले धेरैलाई झुक्याइरहेको छ । बजारमा जताततै पाइने चिसो पेय अहिले नेपालका त्यस्ता दुर्गम स्थानहरुमा पनि पुगेका छन्, जहाँ दूधका पाकेट र औषधिहरु पनि पुग्न सकेका छैनन् । यी वस्तुहरुको तडकभडकयुक्त प्रचारप्रसार र पहँुचका कारण दुर्गम ग्रामीण क्षेत्रका मानिसले पनि अहिले यी वस्तुहरुलाई फेसन र आधुनिकताको प्रतीकका रुपमा स्वीकार गरिरहेका छन् । अधिकांश उपभोक्तालाई ती चिसो झोलमा भएका तत्वहरु र तिनीहरुले शरीरलाई पार्ने हानी वारे कुनै जानकारी नै भएको हुँदैन । वास्तवमा यी पेय पदार्थहरु रङ्ग, बास्ना, गुलियो अमिलो स्वाद घोलेर फिँज उठ्ने बनाई आकर्षक बोतलमा बन्द गरिएका चिसो पेय हुन्, जुन धेरै महङ्गा र हानीकारक हुन्छन् । यस्ता चिसो पेयमा चिनीको मात्र अति नै बढी हुन्छ । भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन् । ती तत्वहरुले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने, र क्यान्सरजस्ता रोगहरु लगाउन सक्छन् । अमेरिकन डायविटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसनले चिनी भएको सोडाको हाल भइरहेको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायबिटिज एसोसिएसनले डायबिटिजको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा खाना नै हो । साथै, शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउनका लागि पेय पदार्थको भूमिका उत्तिकै हुन्छ । सो एसोसिएसनले यदि डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने पिउनका लागि पानी, बिनाचिनीको चिया, कफी वा अरु कुनै कम क्यालोरी भएको पेय पदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ । कोल्डड्रिङ्क्समा हुने हानीकारक तत्वहरु चिसो पेय पदार्थहरुमा स्वास्थ्यलाई हानि गर्ने विभिन्न तत्वहरु पाइएका छन् । यी पेयहरुमा एकक्षणका लागि मात्र स्फूर्ति दिने र लत बसाउने तत्वहरु पनि हुन्छन् । ती तत्वहरुले हाम्रो स्वास्थ्यमा दीर्घकालीन रुपमा विभिन्न असरहरु पार्छन् । केटाकेटीहरुलाई यस्तो पेय पदार्थ दिँदा यी झोलहरुमा हुने चिनीले मोटो बनाउँछ । चिसो झोलमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुन्छ र यस अम्लले केटाकेटीको हाडलाई कमजोर पार्छ । चिसो पेय पदार्थमा पाइने क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो । यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगती बढाउँछ । यस्तो उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको, र थकाई मेटिएको अनुभव हुन्छ । तर यस्तो अवस्था क्षणिक हुन्छ । यतिमात्र होइन, चिसो पेय पदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन् । चिसो पेयहरुलाई ताजा राख्न र स्वादिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्लहरु राख्ने गरिन्छ । यी अम्लहरुले झोललाई सड्नबाट रोक्दछन् र मिठासलाई सन्तुलनमा राख्ने मद्दत गर्छ । अम्लहरुको कारणले नै चिसो पेय पिउँदा तिर्खा मेटिएको महशुस हुन्छ । चिसो पेय पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छ । यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्वन डाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन् । यी तत्वहरुका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ । फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्यार्टी सफा गर्न प्रयोग गरिन्छ । यो कुराले नै यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट गर्दछ । धातुको खिया पखाल्ने अम्लले हाम्रो शरीरको मासुलाई सजिलै पोल्न सक्दछ । कोल्डड्रिङ्क्सको सट्टा कागती पानी गर्मीयाममा तीर्खा मेट्नका लागि बजारिया चिसो पेय पदार्थ नै सेवन गर्नुपर्छ भन्ने छैन, वर्षैभरि पाइने कागती गर्मीमा वा जाडो जुनसुकै बेलामा, तातो वा चिसो जे पदार्थमा मिलाएर खान सकिन्छ । स्वाद र स्वास्थ दृष्टिकोणले पनि यो अति राम्रो तत्व हो । म व्यक्तिगत रुपमा कागतीलाई ‘औषधिको डल्लो’ भन्छु । बिहान उठ्नेबित्तिकै चिनी नहालेको कागती चिया खान्छु । दालमा मिलाएर खान्छु । यसैले मैले कहिले पनि भिटामिन ‘सी’ को गोली त खानै परेको छैन । कागतीमा पाइने एउटा महत्वपूर्ण तत्व हो भिटामिन ‘सी’ । भिटामिन ‘सी’को महत्वको बारेमा अहिले त धेरै जनाले थाहा पाइसकेका छन् । विज्ञानले पुष्टि गरेको छ कि भिटामिन ‘सी’ले रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । हाम्रो भान्छामा खाइने अचार पनि भिटामीन ‘सी’ले युक्त हुन्छ । गर्मी शुरु हुने बेलामा अक्षय तृतीयामा सा¥है कागतीको सर्बत र जौको सातु खान दिने हाम्रा पुर्खाहरुले चलाएका चलन पनि कागतीको महत्व बुझेर नै होला । गर्मीको बेलामा कागतीसँग सातु पिउँदा पेट भरिन्छ र गर्मीको बेलामा हुने विभिन्न पेटको गडबडीबाट बच्न सकिन्छ । गर्मीमा शरीरलाई चाहिने ऊर्जा पनि पर्याप्त हुन्छ । सातु र कागती सर्बत पिउने प्रचलन हराउँदै गएर आजकाल त अक्षय तृतीयको दिनदेखि जन्म दिनमा पनि प्याकेटका फलफूलको महँगो तर स्वास्थ्यलाई हानी गर्ने फलफूलको नक्कली रस, चिसो पेय पदार्थहरु खाइन्छ । यसले नेपाली संस्कृतिलाई नष्ट गर्छ, स्वास्थ नष्ट गर्छ, पैसा नष्ट गर्छ । यस्तो चलन कम गर्न नक्कली रसको सट्टा कागतीको रस प्रयोग गर्न सकिन्छ । कति स्वास्थको बारेमा जाने बुझेका व्यत्तिले नै बट्टाको जुस खान्छन्, कागती बर्सत पिउँदैनन् । नेपालको प्रायः सबै ठाँउमा कागती फल्छ । विभिन्न प्रकारको कागतीको स्वाद भिन्दै भए पनि पौष्टिकता भने सबैमा हुन्छ । कागतीको महत्व कति छ भन्ने कुरा आयुर्वेद कितावमा लेखिएको छ, ‘कागती र अदुवा दिनदिनै खाने व्यक्तिको घरमा रोगले प्रवेश पाउँदैन’ । नेपालमा महिलाहरूलाई रगतको कमी भयो भनेर अनेक औषधि दिइन्छ । तर कागतीमा रहेको भिटामिन ‘सी’ले भोजनमा रहेको लौह तत्वलाई शोषण गर्नमा मद्धत गर्छ भन्ने कुरा प्रचार भएको छैन । कतिपय स्वास्थ्यकर्मीहरुले रक्तअल्पता भएका महिलालाई भिटामिन ‘सी’को चक्की दिन्छन् र खानासँग खानु भन्छन् । सायदै कुनै स्वास्थकर्मीले कागतीको रस भोजनसँग मिसाएर खानु भन्ने गर्छन् । ‘कागतीको रस मिसाएर’ भोजन खाउभन्दा औषधि कम्पनीहरुको फाइदा हुँदैन र त्यसैले यस्तो जानकारीलाई बढावा दिने चलन छैन । तर मासको वा कुनै दालसँग कागतीको रस वा गोलभेडाको अचार खाँदा दालमा रहेको लौहतत्व राम्रोसँग सोसिन्छ । फलामको भाँडोमा पकाएको कुनै पनि दाल, तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवती महिलालाई रगतको कमीबाट रोक्न प्रोटिन प्राप्त हुन्छ । साइट्रिक एसिड विभिन्न फलफूलमा पाइन्छ भन्ने जानकारी वैज्ञानिकहरुले १७ औँ शताब्दीमा पत्ता लगाएका हुन् । शरीरको अतिरिक्त क्रियाकलापहरुलाई सञ्चालन गर्न यो एसिडको महत्व छ र कागतीमा यो सहजै पाइन्छ । आजकल कागतीको रस हालेर चिया, सर्वत खान वा पाहुनालाई सत्कार गर्ने चलन बढेको छ । गर्मीको बेलामा पनि स्वास्थ्यकर कागतीको सर्बत हामी दिन हिच्किचाउनु पर्दैन । बालबालिकालाई पनि बट्टाको ‘जुस’ होइन कागतीको सर्बत दिनुपर्छ । यति मात्र होइन, कागतीको रसको प्रयोगले दाँतको गिजाबाट रगत बग्ने समस्यालाई कम गर्न पनि मद्दत गर्छ । त्यसैले गर्भवतीलाई कागती खाने सल्लाह दिने चलन गाउँघरमा अझै पनि छ । रुघाखोकी लाग्दा कागती पानी र मह खानुपर्छ भनेर धेरैले थाहा पाएका छन् । कागतीलाई दैनिक भोजनको नै प्रयोग गरियो भने रोग प्रतिरोधात्मक शक्ति बलियो हुन्छ र हरेक चोटी मौसम बदलिदा रुघाखोकी लाग्न कम हुन्छ भन्ने पनि थाहा पाउनु पर्छ । गाउँघरमा गर्भवती महिलालाई वाकवाक लाग्दा कागती र नून खानु भनेर सल्लाह दिइन्छ र यसले वास्तवमा नै वाकवाक कम गर्छ । कागतीको प्रयोगले कब्जियतबाट पनि बचाउँछ । जाडोको बेलामा कागतीको रस मनतातो पानीमा हालेर खान दिने चलन पुर्खाहरुले थालनी पहिलादेखि नै ल्याएका हुन् । मुख गन्हाउने व्यक्तिको यदि दन्तसम्बन्धी अन्य रोग छैनन् भने कागतीको रस र तातो पानीले फाइदा गर्छ । कागती पानीको कुल्लापछि पुनः पानीले एकचोटी कुल्ला गर्नुपर्छ, ताकी कागतीको अमिलोले दाँतमा असर नपरोस् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट गरिएको अनुसन्धानमा ‘कागतीको रसले हैजाको किटाणु वृद्धि हुन रोक्छ’ भनेर पुष्टि भएको छ तर यो अनुसन्धानको व्यावहारिक प्रयोग हुन सकेको छैन । कागतीको रसको मात्र नभएर बोक्राको उपयोगिताबारे पनि कमैलाई मात्र थाहा हुनसक्छ । केही अनुसन्धानले कागतीको बोक्राको नियमित प्रयोगले कब्जियतको समस्या समाधान गर्छ भनेर देखाएको छ । कागती धोएर काटेर रस निकालेपछि बोक्रालाई सानोसानो टुत्रा पारेर सलादमा हालेर खान सकिन्छ । यदि तीतो स्वाद मन पर्दैन भने कागतीको बोक्रालाई राखेर सिसीमा नून हालेर केही दिन घाममा राखेपछि त्यो बोक्रा अचारमा बदलिन्छ । कागतीसँगै गर्मीमा प्रयोग गर्नुपर्ने बाबरी वा पुदिना पनि हो । बाबरी (मधेसतिर पुदिना पनि भन्छन्) को अचार बनाएर खाने चलन त पहिलेदेखि नै हो । गर्मीको बेलामा त यो पानीमा हालेर खाए हुन्छ । जुन तरिकाले खाए पनि स्वास्थ्य र स्वस्थ दुवै दिन्छ । वीरेनून र कागती हाली पिसेर बनाइएका पुदिनाले खाना रुचाउनुका साथै पाचन प्रक्रियामा पनि सहयोग गर्दछ । पानीमा बाबरी र कागतीको टुक्रा भिजाएर राख्ने र त्यो पानी पिउनाले धेरै नै लाभ पुग्दछ । रासस (लेखक जनस्वास्थ्यविद् हुन्)
सीईडीबी हाइड्रोको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सीईडीबी हाइड्रो पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को लागी ११.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांशलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख रुपैयाँ छ । प्रस्तावित ११ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ९३ करोड १७ लाख नाघ्ने छ ।
५९० मेगावाटका जलविद्युत आयोजनामा सिटिजन्स बैंकको लगानी, १३ वटा प्रोजेक्टमा नेतृत्व
काठमाडौं । २०६० को दशकमा जलविद्युत उद्योग नयाँ क्षेत्रका रूपमा उदाउँदै थियो । निजी क्षेत्रबाट केही जलविद्युत आयोजना बनेका थिए । तर, अहिलेको जस्तो जलविद्युतमय थिएन । सिटिजन्स बैंक वि.सं २०६४ बैशाखमा सञ्चालनमा आयो । खुलेकै वर्ष बैंकले जलविद्युत क्षेत्रमा लगानी गर्ने योजना बनायो । एक मेगावाटको जविद्युत आयोजना सेन्टर फर पावर डेभलपमेन्ट (सीपीडीएस) मा लगानी गर्याे । प्रोजेक्टको लागत कुल २५ करोड रुपैयाँ थियो । बैंक एक्लैले २५ करोड रुपैयाँ कर्जा (फाइनान्सिङ) गर्न सक्थ्यो । तर, सिटिजन्स बैंकले सानिमा बैंकसँग सहवित्तीयकरण (कन्सोर्टियम) गरी कर्जा प्रवाह गर्याे । किनभने त्यतिबेला जलविद्युत नयाँ क्षेत्रका रूपमा उदाइरहेको थियो । ‘निजी क्षेत्रले केही जलविद्युत आयोजना बनाएका थिए । तर, त्यति धेरै विकास भइसकेको थिएन । अधिकांश आयोजना डकुमेन्टको फेजमा थिए,’ बैंकका कन्सोर्टियम तथा पूर्वाधार बैंकिङ प्रमुख रोशन मल्लले भने, ‘त्यसपछि बैंकले विभिन्न २८ वटा जलविद्युत आयोजनामा फाइनान्सिङ गरेका छौं, जसमध्ये १३/१४ वटामा सिटिजन्स बैंकले नेतृत्व गरेको छ, १४ वटा आयोजना सञ्चालनमा आएर कर्जा तिरिरहेका छन् ।’ सिटिजन्स बैंकले १ खर्ब ५५ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसमध्ये २७.५३ प्रतिशत हिस्सा कन्सोर्टियम फाइनान्स रहेको मल्ल बताउँछन् । उनका अनुसार जलविद्युतमा बैंकको अनुभव अब्बल छ । बैंकसँग आवद्ध भएका जलविद्युत लगानीकर्ताहरूले नयाँ आयोजना बनाउँदा पहिलो प्राथमिकता सिटिजन्स बैंकलाई दिने गरेको उनको दाबी छ । ‘हामीले धेरै आयोजना गरेका छौं । परियोजनाको प्रकृति बुझेर बैंकिङ गरिरहेका हुन्छौं, प्रोजेक्ट विश्लेषण गर्न सक्ने एक्सपर्टिज (विज्ञता) बैंकसँग छ, प्रोजेक्टलाई निरन्तर फ्लोअप गर्छाैं, जलविद्युत बाहेक ७/८ वटा सिमेन्ट, स्टिल, पर्यटन, कृषि, म्यानुफ्याक्चरिङ उद्योगमा समेत कर्जा लगानी गरेको छ । तर, धेरै आक्रामक एक्सपोजर भने छैन,’ उनले भने । ठूला परियोजनामा कन्सोर्टियम लोन राष्ट्र बैंकले २०८२ सम्म कुल कर्जाको ७ प्रतिशत जलविद्युतमा र कृषिमा १२ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले तोकेको सीमामा अधिकांश बैंकले कर्जा दिन सकेका छैनन् । तर, सिटिजन्स बैंकले राष्ट्र बैंकले तोकेबमोजिम कर्जा प्रवाह गरेको छ । पुस मसान्तसम्मको तथ्याङ्क अनुसार सिटिजन्स बैंकले जलविद्युतमा ८.५४ प्रतिशत र कृषिमा ११.२८ प्रतिशत कर्जा लगानी गरिसकेको छ । चैतसम्म बैंकले ५९०.३५ मेगावाटका विभिन्न २८ वटा जलविद्युत आयोजनामा कन्सोर्टियम लोन प्रवाह गरेको छ । जसमध्ये १३ वटा आयोजनामा लिड बैंकको भूमिका निर्वाह सिटिजन्सले गरेको छ भने एउटा आयोजनामा सहायक भूमिका (को लिड)निर्वाह गरेको छ । यस्तै, ३ वटा आयोजनामा सोल फाइनान्सिङ र ११ वटा आयोजनामा सहभागी भएर कर्जा प्रवाह गरेको छ । मल्लका अनुसार बैंकले लिड गरेका १३ वटा आयोजनाबाट २८१.९६ मेगावाट विजुली उत्पादन हुनेछ भने ९.२५ अर्ब कन्सोर्टियम फाइनान्सिङ गरेको छ । यस्तै, को लिड गरेका आयोजनाबाट ४० मेगावाट विजुली उत्पादन हुने छ भने १.०८ अर्ब रुपैयाँ लगानी रहेको छ । सोल फाइनान्सिङ गरेका ३ वटा आयोजनाको १८.२५ मेगावाट विजुली उत्पादन क्षमता छ भने १.२४ अर्ब रुपैयाँ लगानी गरेको छ । यस्तै, बैंक सहभागी भएका ११ वटा आयोजनाको विजलुी उत्पादन क्षमता २५०.१४ मेगावाट रहेको छ भने २.३५ अर्ब रुपैयाँ लगानी गरेको छ । चैतसम्म बैंकले जलविद्युतमा १३ अर्ब ९२ करोड रुपैयाँ, सिमेन्टमा ५ अर्ब ६३ करोड रुपैयाँ, निर्माण उद्योगमा ३.९६ अर्ब रुपैयाँ, स्टिल उद्योगमा ३.२४ अर्ब रुपैयाँ, पर्यटन उद्योगमा ३३ करोड रुपैयाँ, कृषि उद्योगमा १.६१ अर्ब रुपैयाँ, म्यानुफ्याक्चरिङ उद्योगमा ३.३० अर्ब रुपैयाा, रिफाइनान्सिङ उद्योगमा ५६ करोड रुपैयाँ, सेवा (आइएसपी तथा केबल र पीएसओ)मा २.६६ अर्ब रुपैयाँ, सेवा (हस्पिटल एण्ड कलेज)मा २.७० अर्ब रुपैयाँ, ट्रेडिङमा ४.७९ अर्ब रुपैयाँ र अन्य उद्योगमा २४ करोड रुपैयाँ कन्सोर्टियम फाइनान्सिङ गरेको छ । ‘लिड गरेको प्रोजेक्टमा वार्षिक शुल्क लिन्छौं । यो सिधैं नाफा हो । नयाँ प्रोजेक्ट गर्दा हामीले क्लोजर गर्छाैं । अर्थात् लगानी जुटाउन अन्य बैंक खोज्नु पर्छ । तीन/चारवटा बैंक चाहिन्छ । कन्सोर्टियम बनाएवापत निश्चित शुल्क लिन्छौं । साथै बैंकले ब्याज आम्दानी गर्छ । लिड म्यानेजमेन्टको फि, वार्षिक एजेन्सी फि बैंकको लागि नाफा हो,’ उनले भने । कन्सोर्टियम लोनको प्रोभिजन अनुसार नाफा घटबढ हुन सक्ने उनले बताए । तर, आजको दिनसम्म कन्सोर्टियम फाइनान्समा एडिसनल प्रोभिजन गर्नु पर्ने स्थिती नरहेको उनको भनाइ छ । राष्ट्र बैंकले कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण सुविधा दिँदा ५ प्रतिशत प्रोभिजन गर्नु परेको मल्लले बताए । रेगुलर प्रोभिजन १.२५ प्रतिशत र एडिसनल प्रोभिजन ३.५ प्रतिशत गर्दा २५/३० करोड रुपैयाँ प्रोभिजनमा छुट्याउनु परेको उनी बताउँछन् । कन्सोर्टियम ऋणको माग कन्सोर्टियम लोन प्रमुख मल्लका अनुसार अहिले अर्थतन्त्रको अवस्था नाजुक रहेकाले कर्जाको माग शून्य छ । कुनै पनि क्षेत्रमा नयाँ प्रोजेक्ट बनाउने गरी कन्फिडेन्स नरहेको उनको भनाइ छ । छिमेकी राष्ट्रको नीति परिवर्तन हुँदा नेपालमा समेत असर पर्ने गरेको उनको भनाइ छ । ‘नयाँ केही प्रोजेक्ट गर्छु भनेपनि उद्यमीलाई कन्फिडेन्स छैन । किनभने अहिले भइरहेका व्यवसायको स्थिती डाउन छ । भारतले निर्यातमैत्री वातावरण नबनाएपछि व्यवसायीहरू मर्कामा छन् । अहिले किराना पसलमा समेत असर परेको छ । आजको दिनमा ग्राहकको माग नै घटेको छ,’ उनले भने, ‘घरजग्गा र सेयर बजार क्षेत्र राम्रो हुँदा पैसा पनि फर्किन्थ्यो । तर, आजको दिनमा १ सय रुपैयाँ लगानी गर्दा ६० रुपैयाँ पनि फर्किने अवस्था छैन ।’ साथै, सरकारले पनि कन्फिडेन्स बढाउन नसकेका कारण नयाँ प्रोजेक्ट पनि थन्किएर बसेको मल्लको भनाइ छ । यदि कसैलाई कर्जा आवश्यक भएर बैंकमा लिन आउँदा राष्ट्र बैंकका नीति नियम कडा भएका कारण कर्जा लिन सक्ने अवस्था नरहेको उनले बताए । ‘वर्किङ क्यापिटल गाइडलाइन भन्दा बाहिरि गएर कर्जा दिन सकिदैन । यो गाइडलाइनका आधामा कतिपयले कर्जा लिन पनि सक्दैनन् । एक्सेस फाइनान्सिङ भएकालाई उल्टै तिर्न भनिरहेका छौं । कर्जा घटाउनु पर्ने दबाव श्रृजना भएको छ । देशको आर्थिक अवस्थाका कारण कर्जाको माग छैन,’ उनले भने, ‘नयाँ केही गर्छु भनेर कोही आएका छैनन् । कुनै बैंकबाट कर्जा लिएर व्यवसाय गरेको छ भने अर्काे बैंकबाट थप ऋण लिने मात्रै आउँन् ।’ सहवित्तीयकरण कर्जाको डिफल्ट अर्थतन्त्र सामान्य अवस्थामा हुँदा कम डिफल्ट हुने कर्जामा कन्सोर्टियम लोन पर्छ । किनभने यस्ता प्रकारका कर्जा व्यवस्थित हुन्छन् । बैंकहरूबीच सूचना आदान प्रदान हुन्छ । लिड बैंकले सबै बैंकको कर्जाको रिपेमेन्ट गर्छ । कुन बैंकलाई कति तिर्नुपर्ने हो सबै व्यवस्थापन लिड बैंकले गरिरहेको हुन्छ । ‘सिमेन्ट, स्टिल उद्योग राम्रो अवस्था हुँदा सहज नै थियो । जलविद्युत कम्पनी सञ्चालनमा आएपछि नेपाल विद्युत प्राधिकरणले सिधैं बैंकलाई पैसा बुझाउँछ । बैंकको नियन्त्रणमा क्यास फ्लो हुँदा डिफल्ट हुँदैन,’ उनले भने, ‘तर, आजको दिनमा सिमेन्ट, स्टिल, जलविद्युत सबैलाई समस्या छ । अहिले सुख्खा समयमा लोडसेडिङ भइरहेको छ । प्राधिकरणसँग सम्झौता गरेको भन्दा ५० प्रतिशत कम विजुली उत्पादन भइरहेको छ । अहिले हाइड्रोलोजिको समस्या उत्पन्न भएको छ ।’ लगानी सम्मेलमा आएका आयोजनालाई कर्जा दिन स्वदेशी बैंकहरू सक्षम नरहेको मल्लको भनाइ छ । तर, विदेशी लगानीकर्ताहरू आएपनि देशको रेटिङ नभएको र राजनीतिक अस्थिरता हुँदा समस्या हुने उनले बताए । ‘नेपाली बैंकहरूले एक÷दुईवटा ठूला प्रोजेक्टको फाइनान्सिङ गर्न सक्छन् । तर, ठूलो लगानी गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘लगानी सम्मेलन भएपनि राजनीतिक स्थिरता छैन । विदेशी लगानीकर्ता लगानी गर्न इच्छुक भएपनि कन्ट्रि रेटिङ छैन । रेटिङ भएपनि लगानीयोग्य रकम आउँछ भन्ने ग्यारेन्टी छैन । लगानी आएपनि त्यसको प्रतिफल लिन सक्ने अवस्था छैन ।’ इन्भाइरोमेन्टल एण्ड सोसियल रिस्क म्यानेजमेन्ट (इएसआरएम) निर्देशन राम्रो भएपनि कार्यान्वयन गर्न नसकेको उनले स्वीकार गरे । प्रोजेक्टमा फाइनान्सिङ गर्दा इएसआरएम गाइडलाइन पालना गर्न सचेत गराइरहेको भएपनि बैंकहरूले जनशक्ति नराखेको उनले बताए । प्रोजेक्टमा फाइनान्सिङ गर्दा ड्यू डेलिजेन्स अडिट अध्ययन तथा विश्लेषण गर्ने गरेको उनले बताए । प्रोजेक्ट टेक्निकल विश्लेषण गर्न कर्मचारी हायर गर्ने गरेको उनको भनाइ छ । बैंक आफैंले पनि कन्सोर्टियम फाइनान्सका लागि ९ जना कर्मचारी खटाएको छ । कन्सोर्टियम ऋण (सहवित्तीयकरण कर्जा)को सुरुवात वाणिज्य बैंक सञ्चालनमा आएदेखि नै कन्सोर्टियम लोन फाइनान्सको अभ्यास भएको देखिन्छ । खासगरी विदेशी लगानी भएका बैंकले नेपालमा कन्सोर्टियम लोन फाइनान्सको अभ्यास गरेका थिए । खासगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकले होटल प्रोजेक्टमा कन्सोर्टियम लोनको अवधारणा ल्याएपछि अन्य बैंकले पनि यस्तो अभ्यास गरिरहेका छन् । १५/२० वर्षअघि बैंकहरूको पुँजी थोरै थियो । ठूला ऋणीलाई एउटै बैंकले कर्जा दिन सक्ने क्षमता थिएन । र, यदि कर्जा दिन सक्ने अवस्था भएपनि बैंकले एउटै प्रोजेक्टमा जोखिम लिँदैनथे । प्रोजेक्टको जोखिम सेयरिङ गरेर फाइनान्सिङ गर्छन् । राष्ट्र बैंकले पनि एउटै प्रोजेक्टमा कोर क्यापिटलको २५ प्रतिशत भन्दा बढी कन्सोर्टियम लोन प्रवाह गर्न दिँदैन । एक्लै ऋण लगानी गर्न नमिलेपछि अर्काे बैंक खोज्नुपर्ने हुन्छ । जस्तो कुनै बैंकको १० अर्ब चुक्ता पुँजी छ भने २ अर्ब भन्दा बढी लगानी पाउँदैन । त्यसपछि शुल्क, कमिसन, ब्याज आम्दानी सेयरिङ मोडालिटीमा जानुपर्छ । कन्सोर्टियम लोन प्रवाहका लागि क्षेत्र नछुट्ट्याएपनि सबै क्षेत्रका प्रोजेक्टको क्षमता र फण्ड आवश्यकताका आधारमा लगानी गरिरहेका छन् ।
बीमा क्षेत्रमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियोमार्फत केवाईसी लिने प्रकृया जारी गरेको छ । उक्त सुविधा बैशाख ९ गतेबाट लागू भएको हो । विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई एप्लिकेशन डिकलेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टलमार्फत प्राप्त हुन्छ । केवाईसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ । प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टलमार्फत पेश गरे पश्चात् ई एप्लिकेशन डिकलेरेसन फर्ममा आवश्यक विवरणहरु भरि स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसी सम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ । यो सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने कम्पनीको अपेक्षा छ ।