नेपाल र कतारबीच द्विपक्षीय समझदारी, नेपाली कामदारको प्रशंसा

<p>काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच बुधबार बिहान भएको वार्तामा ८ वटा विषयमा सम्झौता भएको हो । दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ [&hellip;]</p>

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच बुधबार बिहान भएको वार्तामा ८ वटा विषयमा सम्झौता भएको हो ।

दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको बताइएको छ ।

दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

कतारी अमिरले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा पनि गरेका छन् । उनले आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो ।

होटल सोल्टीमा भएको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

Share News