सीईडीबी हाइड्रोले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी बैशाख ३१ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सो दिन बिहानको ८ बजे दुई आर्थिक वर्षको साधारण सभा आव्हान गरेको हो । सो दिन कम्पनीले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साधारण सभा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी बैशाख १९ गतेदेखि बैशाख ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै बैशाख १८ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको छ ।
एआईको प्रयोगले सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
काठमाडौं । सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले बुधबार सार्वजनिक मानव अधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग, दुर्व्यवहार जस्ता कारणले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख भएको बताए । ‘द्वन्द्वमा परेका नागरिकहरूले उच्चतम मूल्य चुकाइरहेकोमा शक्तिशाली सरकारहरूले मानवतालाई प्रभावकारी अन्तर्राष्ट्रिय कानुन बिनाको एउटा युगमा पुर्याइरहेका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सका कारण पनि समस्या भइरहेको छ ।’ प्रतिवेदनमा दुर्व्यवहारविरुद्ध उभिँदै र मानव अधिकार संरक्षण तथा साझा मानवताको सम्मानको माग गर्दै विश्वभरका मानिसहरू अभूतपूर्व सङ्ख्यामा परिचालित भएको अवस्था रहेको जनाइएको छ । विश्वका एक सय ५५ देशको मानव अधिकारको अवस्थाको मूल्याङ्कनसहितको वार्षिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन प्रभावकारी नहुँदा विश्वले एउटा डरलाग्दो परिणाम भोगिरहेको उल्लेख छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा भइरहेको द्रुत प्रगतिसँगै कानुनको शासनको क्षयीकरणमा थप वृद्धि हुने सम्भावना रहेको र यदि एआईको विकासको तुलनामा नियमन पछाडि नै रहने क्रम जारी रहने हो भने यसले मानव अधिकारको उल्लङ्घनका घटना बढाउन जोखिम रहेको समेत औँल्याइएको छ । एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारका अनुसार गहिरिँदो विश्वव्यापी असमानता, सर्वोच्चताका लागि तल्लिन महाशक्तिहरू र बढ्दो जलवायु सङ्कटको बीचमा मानव अधिकारको दमन र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बढ्दो रहेको पाइएको छ । प्रतिवेदनमा सैनिक, राजनीतिक र व्यावसायिककर्ताले हतियारको रूपमा नियमित प्रयोग गरिरहेका नयाँ र परिचित प्रविधिको अनियन्त्रित प्रयोगले द्वन्द्वग्रस्त क्षेत्र र अन्यत्र अराजकता, विभेद र दण्डहीनता फैलाउनलाई बल प्रदान गरेको उल्लेख छ । प्रतिवेदन भनिएको छ, ‘बढ्दो गतिको अनिश्चितताले घेरिएको वर्तमान विश्वमा विकसित प्रविधि बिस्तार र प्रयोग अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको उल्लङ्घनलाई बढोत्तरी गर्ने माध्यम बनेको छ ।’ एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले राजनीतिक दलका नेता र संस्थाद्वारा मानव अधिकारका सिद्धान्तमाथि विश्वासघात गरेको कठोर मूल्याङ्कन प्रस्तुत गरेको छ । बढ्दो द्वन्द्वहरूको बीच धेरै शक्तिशाली राज्यको व्यवहारले बहुपक्षीयताको विश्वसनीयतालाई थप क्षति पुर्याएको र सन् १९४५मा पहिलो पटक स्थापना गरिएको विश्वव्यापी नियममा आधारित व्यवस्थालाई कमजोर बनाएको प्रतिवेदने देखाएको छ । गत अक्टोबर ७ मा हमास र अन्य सशस्त्र समूहहरूले गरेको भयानक हमलापछि मानव अधिकार उल्लङ्घनमा बढावा दिएको, अत्यावश्यक मानवीय सहायताको पहुँचमा रोक लगाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा गलत सूचना फैलाउन, समुदायहरूलाई एकअर्काको विरुद्धमा खडा गराउन र अल्पसङ्ख्यकमाथि आक्रमण गर्नका लागि राजनीतिक शक्तिको सहयोग र मतियारीका लागि नयाँ तथा विद्यमान प्रविधिलाई हतियार बनाइएको औँल्याइएको छ । ‘प्रविधिहरूको अनियन्त्रित विकासले निम्त्याउने जोखिम र यसबारे नियमन र सुरक्षणका सवालमा जुन ठाउँमा हुनुपर्ने हो, त्यसबीच ठूलो खाडल रहेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘यो भविष्यको पूर्वानुमान हो, अनियन्त्रित प्रविधिको व्यापक बिस्तारलाई कम नगर्ने हो भने यो समस्या अझ खराब मात्रै हुनेछ ।’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले सन् २०२३ मा नेपालमा पनि मानव अधिकारको अवस्था सन्तोषजनक नभएको बताए । प्रतिवेदनमा नेपालमा पहिलो पटक यौनिक तथा अल्पसङ्ख्यक जोडीलाई विवाह दर्ता गरिएको राम्रो पक्ष प्रतिवेदनमा छ । समग्रमा सन् २०२३ मा मानव अधिकारको अवस्था विश्लेषण गर्दा विभिन्न देशमा द्वन्द्वका कारण मानव अधिकारको उल्लङ्घन धैरै भएको र मानव अधिकार रक्षकलाई पनि संरक्षण गर्न कठिनाई भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वभरी नै आर्थिक सङ्कटका कारण शरणार्थी र आप्रवासीलाई थप समस्या परेको जनाइएको छ । रासस
प्राधिकरणको आम्दानीबाट विद्युत सहुलियत धान्न सम्भव छैन : घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानीबाट सरकारले विभिन्न शिर्षकमा दिने विद्युत सहुलियत धान्न असम्भव रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । कार्यकारी निर्देशक घिसिङले सरकारले विद्युतीय सहुलियत घोषणा गर्ने तर सरकारले प्राधिकरणलाई सहयोग नगर्ने अवस्था रहेको बताए । सरकारले दिने विद्युत सहुलियतको रकम प्राधिकरणलाई सरकारले दिनुपर्ने दाबी गरे । घिसिङले विद्युत प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियतको धान्न सम्भव नहुने उल्लेख गरे । सरकारले सहुलियत घोषणा गर्ने तर प्राधिकरणलाई रकम भुक्तानी दिँदा प्राधिकरण समस्यामा परेको गुनासो गरे । शित भण्डारणको लागि सरकारले विद्युतमा ५० प्रतिशत अनुदान दिएको अनुदानको रकम अहिलेसम्म अर्थ मन्त्रालयले नदिएको दाबी उनको थियो । उनले प्राधिकरणले सिंचाईको लागि २.२५ पैसा, खानेपानीमा ५.७५ पैसा र चार्जिङ स्टेसनमा ७.५० पैसा शुल्क लिइरहेको बताए । सरकारले २० युनिट विद्युत खपत गर्नेलाई छुट दिएका उपभोक्ता मात्रै उपभोक्ता २५ लाख रहेको बताए । सरकार विभिन्न शिर्षकमा दिएको २० युनिट विद्युतको शुल्क बाहेक डिमाण्ड शुल्क, खानेपानी, सिंचाई, कोल्ड स्टोरेज समेत गरी करिब ७ अर्ब बराबरको रकम अर्थ मन्त्रालयसँग माग गरिएको तर मन्त्रालयले अहिलेसम्म सम्बोधन गरेको बताए । उनले विद्युत प्राधिकरणले प्रति युनिट ९.३५ पैसा रुपैयाँमा विद्युत दिइरहेको बताए । प्राधिकरणको सबै विद्युत हिस्सा नभएकाले विद्युत प्राधिकरणले पनि विद्युत खरिद गरेर नै उपभोक्तालाई वितरण गर्ने भन्दै प्रत्येक महिना ७ अर्ब रुपैयाँ विद्युत खरिद गरेको पैसा तिर्ने गरेको बताए । विद्युत व्यापारबाट भन्दा पनि अन्य आम्दानीबाट प्राधिकरण नाफामा गएको जानकारी दिए । ‘शित भण्डारणको लागि सरकारले विद्युतमा ५० प्रतिशत अनुदान दिएपछि हामीले ५० प्रतिशत रकम व्यवसायीहरुबाट पाइरहेका थियौं । सरकार विभिन्न शिर्षकमा दिएको २० युनिट विद्युतको शुल्क बाहेक डिमाण्ड शुल्क, खानेपानी, सिंचाई, कोल्ड स्टोरेज समेत गरी करिव ७ अर्ब बराबरको रकम एडजसमेण्टको लागि अर्थ मन्त्रालयलाई पठाएका थियौं । विद्युत प्राधिकरणले प्रति युनिट ९.३५ पैसा रुपैयाँ पर्छ । विद्युत प्राधिकरण विद्युत खरिद गर्नुपर्छ । विद्युत प्राधिकरणको राजश्व संकलनबाट नै सबै कुरा सञ्चालन गर भन्दा एकदमै असम्भव छ’, उनले भने । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलले स्वदेशी उत्पादनहरुलाई भण्डारण गर्ने स्टोरेजहरुलाई मात्रै सहुलियत दिनुपर्ने बताए । उनले त्यसको लागि सम्बन्धित निकायहरुले अनुगमन गर्ने आवश्यक रहेको बताए । सचिव पौडेलले कोल्डस्टोरहरुमा कुन वस्तु प्राथमिकता दिने विषयमा खाल गर्न आवश्यक रहेको बताए । कोल्ड स्टोरेजहरुलाई वर्गिकरण गर्नु आवश्यक रहेको बताए । कोल्ड स्टोरेजहरुलाई विद्युतमा ५० प्रतिशत अनुदान दिने हो भने अर्थ मन्त्रालयबाट कृषि मन्त्रालयलाई बजेटको व्यवस्था गर्नु आवश्यक रहेको जानकारी दिए । बैठकमा कोल्ड स्टोरेज संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत विद्युत शुल्क लिने निर्णयले व्यवसायीहरुले शित भण्डारण सञ्चालन गर्ने अवस्था नभएको बताए । सरकारले विगतमा कोल्ड स्टोरेजहरुमा ५० प्रतिशत विद्युत अनुदान निरन्तरता दिन माग गरे । शित भण्डारहरुमा कृषि मिटर जडान गर्न सम्बन्धित निकायलाई निर्देशन दिन माग गरे ।
पार्किन्सन रोगका कारण वार्षिक ७ सयको मृत्यु, कसरी गर्ने उपचार ?
काठमाडौं । पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अफ्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाईने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै रोगबाट पीडित बिरामीलाई साहस प्रदान गरिन्छ । यस्तै, अफ्रिल महिनाभरलाई पार्किन्सन महिनाका रुपमा समेत मनाउँदै आइएको छ । दिमागको भित्रि भागमा डोपामिन भन्ने तत्व उत्पादन हुन्छ । डोपामिन तत्वले हाम्रो शरिरको सक्रिय बनाउन सहयोग गरेको हुन्छ । जसका कारण हाम्रो शरिर फुर्तिलो र चलायमान हुन्छ । जब डोपामिन तत्व निस्कृय हुँदै जान्छ तव पार्किन्सन रोग देखिन थाल्दछ । उक्त रोग ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी मात्रामा देखिने गरेको पाईन्छ । पार्किन्सन रोगका लक्षणहरु पार्किन्सन रोग लागेका व्यक्तिलाई भिन्नभिन्दै लक्षणहरु देखिने गरेको पाईन्छ । जसमा मांसपेशीलाई असर गर्ने लक्षण र मांसपेशीबाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु हुन्छन् । मांसपेशीलाई असर गर्ने लक्षणहरुमा कम्पन, कडापन सुस्तपना, र हिँडाईमा समस्या आदी रहेका छन् । हिँडडुल गर्दा वा त्यसै बस्दा पनि कुनै व्यक्तिको हात र औंलाहरु काम्न सुरु हुन्छ । शरीर वा हात काप्नु पार्किन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा विरामीको हातमा हुनेवाला कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौं । यो रोग लागेपछि हिँडडुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण एक सहज कार्यमा समेत कठिनाई उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । हिँडडुल गर्दा धेरै समय लाग्न सक्छ । शरीरको कुनै पनि हिस्सा वा मांसपेशीमा दुखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् । माथि उल्लेखित कुनैपनि दुई लक्षण भए पार्किन्सन भएको मान्न सकिन्छ । यस्तै, मांसपेशी बाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु समेत पार्किन्सनका लक्षणहरु हुन सक्छन् । जसमा निन्द्रामा समस्या, निद्रामा बोल्ने, बास्नामा कमी हुने, हातखुटा बाउँडिने, पिसाव तारन्तार लाग्ने, मनमा खिन्नता आउने, डिप्रेसन ५० प्रतिशतलाई देखिने, नभएको कुराहरु देख्ने वा कतिपय कुरा विर्सने आदी हुन् । नेपालमा हाल अनुमानित ४ हजारदेखि ५ हजार मान्छे पार्किन्सनका बिरामी रहेका पाईन्छ । सन् २०२० को आँकडाअनुसार नेपालमा प्रतिवर्ष उक्त रोगका कारण ७ सय जनाको मृत्यु भएको पाइन्छ । उपचार विधि दिमागको भित्रि भागमा रहेको डोपामिन तत्व कमी हुँदा पार्किन्सन रोग लाग्ने भएकाले यसको उपचारका लागि रोग पहिचान गरेर डोपामिन दिन सकेमा केही मात्रामा बिरामीलाई आराम हुने र निको हुने हुन्छ । यो रोग औषधी सेवनका कारण पुरा निको हुने रोग होइन । उक्त रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ । यदी रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ । उमेर बढ्दै गएपछि रोगको लक्षणपनि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक रहेको छ । परिवारसँगै समाजको समेत सहयोग आवश्यक देखिन्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पार्किन्सन रोगका नयाँ बिरामी प्रत्येक वर्ष २०० को हाराहारीमा आउने गरेका छन् । यस्तै पुराना विरामी ७०० को हाराहारीमा रहेका छन् । नेपाल सरकारले डाक्टरको सिफारिसअनुसार पार्किन्सनका बिरामीलाई उपचारका लागि १ लाख रूपैयाँ दिने व्यवस्था गरेको छ । (डा. राजु पौडेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका वरिष्ठ न्यूरोलोजिष्ट हुन् ।)
मेरोमाइक्रोफाइनान्स लघुवित्तले नवनियुक्त कर्मचारीलाई दियो तालिम
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरूलाई ३ दिने अभिमुखिकरण तथा पूर्व सेवाकालीन तालिम तथा सम्पन्न गरेको छ । तालिममा २२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । कर्मचारीहरुलाई संस्था सम्बन्धी कामहरु, नीति-नियमको बारेमा जनकारी गराउने उदेश्यले दिइएको संस्थाले जनाएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाका ग्राहकहरूलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए । साथै कर्मचारीहरूलाई संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराइएको थियो । संस्थाले मुलुकभर १४९ शाखा कार्यालयहरु, २४ अनुगमन कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
क्रेस्ट माइक्रो लाइफका अध्यक्ष ऋषिराज मोरले लिए सपथ
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मोरले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष बुधबार सपथ ग्रहण गरेका हुन् । गत चैत ५ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट मोर संस्थापक सेयरधनी समूहबाट सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । सोही सभापछि बसेको सञ्चालक समितिको बैठकले मोरलाई अध्यक्षमा नियुक्त गरेको थियो । उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीको समेत उपस्थित रहेको थियो ।
कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?
काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा ती सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो । सो अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान सम्झौता तथा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेका थिए । यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । सरकारले उनको भ्रमणका अवसरमा वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिएको थियो । कतारी अमिर थानी आजै दिउँसो काठमाडौंबाट प्रस्थान गरिसकेका छन् । कतारका अमिरका लागि प्रधानमन्त्री दाहालले बुधबार दिउँसो द्वारिका होटलमा दिवाभोजको आयोजना गरेका थिए । कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो वैशाख ११ गते अपराह्न यहाँ आइगेका थिए । कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता गरेका थिए । राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए । कतारका अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत तथा बिदाई गरेका थिए । भ्रमणका क्रममा नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसमूह’ गठन गर्ने समझदारी भएको छ । नेपाल र कतारबीच सन् २००५ मार्च २१ मा नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौता र त्यसको अतिरिक्त प्रोटोकल (२० जनवरी २००८ मा हस्ताक्षर भएको) थियो । त्यसयता कतारमा नेपाली कामदारको संख्या बढ्दै गएको छ । हाल कतारमा रहेका झण्डै चार लाख नेपाली श्रमिकहरुको हक हित तथा रोजगारी सुरक्षाका विषयमा समेत सो कार्यसमूहले आवश्यक काम गर्नेछ । जसबाट त्यहाँ कार्यरत श्रमिकहरुको विद्यमान समस्या समाधान हुनेमा अपेक्षा गरिएको छ । साथै लगानी सम्मेलनको सम्मुखमा भएको कतारका अमिरको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा लगानीका दृष्टिले नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको छ । नेपाल र कतारले सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । त्यस समयदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, सम्मान, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ । नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्ने भएकाले संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले विश्व शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सन् २००५ मार्च २१ मा कतारको भ्रमण गरी नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यस्तै कतार पक्षबाट कतारका महान्यायाधिवक्ता डा अल बिन फेताइस अल–मरीले सन् २०१४ जुलाई १७ र १८ मा नेपालको भ्रमण गरेका थिए । दुवै देश प्राकृतिक स्रोतसाधनले सम्पन्न भएकाले व्यापार, लगानी, कृषि, पर्यटन तथा जनशक्ति उपयोगका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना रहेको छ । साथै, नेपाल पर्यटन, व्यापार र लगानीको अवसरको गन्तव्यको रूपमा मनपर्ने देश भएकोले नेपाल र कतार दुवैले तुलनात्मक लाभ हुने क्षेत्रमा आर्थिक सम्बन्धलाई बढावा दिनुपर्छ । नेपाल र कतारबीच सहकार्य गर्ने महत्वपूर्ण क्षेत्र पर्यटन हो । रासस
नेपाल-कतार द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहाल र नेपालको राजकीय भ्रमणमा रहेका मित्रराष्ट्र कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराए । कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिए । उनले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षितरूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गरे । नेपाल र कतारबीच सदैव सौहार्द सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीच सम्बन्धहरू सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताए । ‘कतार नेपालको विश्वासिलो मित्रका रुपमा रहेको छ’, प्रधानमन्त्रीले भने, ‘हाम्रो सम्बन्ध प्रगाढ र विस्तार हुँदै गएको छ । यो सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित छैन, जनताको तहमा पनि बिस्तार भएको छ ।’ उनले दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाइमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे । ‘लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य’ नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराए । उनले भने, ‘नेपालमा शुद्ध पिउने पानीको पर्याप्त स्रोत भएकाले विश्व बजारमा बोतलबन्द पिउने पानी वितरण गर्न सकिने प्रचूर सम्भावना छ ।’ नेपालले लगानीमैत्री वातावरण सुनिश्चित गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताए । भौगोलिक विविधताका कारण नेपाल अर्गानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई प्रोत्साहित गरिने बताए । नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।’ उनले सन् २०१३ को मेमा शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गरेको सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले कतार पर्यटन प्राधिकरणको बाह्य पर्यटन गन्तव्यको सूचीमा नेपाललाई समावेश गर्न आग्रह गरे । ‘लुम्बिनी र पोखराबाट पनि उडान सञ्चालन गरौँ’ प्रधानमन्त्री दाहालले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौं र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गरेका हुन् । ‘कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु’, प्रधानमन्त्री दाहालले भने । नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरु (एमओयु) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समयको मागसँगै दुवै देशबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिए । आप्रवासी श्रमिक द्विपक्षीय सम्बन्धका सूत्र प्रधानमन्त्री दाहालले कतारमा कार्यरत करिब चार लाख नेपाली द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताएका छन् । उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिकहरु पठाउनका लागि नेपालमा व्यावसायिक तालिम र सीपविकास केन्द्र स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गरे । नेपाली श्रमिकको सुरक्षाबारे चासो राख्दै प्रधानमन्त्री दाहालले भने, ‘नेपाल आफ्ना नागरिकका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ र यससँग सम्बन्धित समस्यालाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छ ।’ आर्थिक विकास नेपालको प्राथमिकता प्रधानमन्त्री दाहालले आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै सन् २०२६ मा अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकाङक्षा पूरा गर्नका लागि मित्रराष्ट्र तथा विकास साझेदारबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताए । उनले जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्था वा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रङ्गशालाजस्ता ठूला पूर्वाधार परियोजनाको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने विश्वास व्यक्त गरे । विपिन जोशीको रिहाइका लागि पहल गरिदिन प्रमको आग्रह प्रधानमन्त्री दाहालले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । ‘आफ्नो शैक्षिक प्रयोगात्मक परीक्षाका लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन’, प्रधानमन्त्री दाहालले भने, ‘म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु ।’ प्रधानमन्त्री दाहालले भने, ‘यस विषयमा महामहिमको व्यक्तिगत ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।’ पश्चिम एसियामा बिग्रँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले जतिसक्दो चाडो युद्ध अन्त्य भएर शान्ति पुनःस्थापना होस् भन्ने कामना गरे ।