विकासन्युज

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८ सय ५ कित्ता सेयर लिलामीमा राखेको हो । यस सेयरमा विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा  लेख्नुपर्छ । लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै एनआईसी एशिया बैंकका शाखा कार्यालय विराटनगर, मोरङ, आदर्शनगर, वीरगञ्ज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगरमा पेस गर्नुपर्नेछ । संस्थाले उक्त सेयर यसअघि संस्थापकहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेको जनाएको छ ।

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४० हजार ५ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको छ । यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्ने सेयर र मूल्य खुलाई बाँके कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार तोकिएको समयसम्म संस्थापकहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुन तथा नियमानुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाइने छ ।

यी हुन् विश्वका सबैभन्दा लामो पाँच रेलमार्ग

काठमाडौं । म्याग्लेभ र बुलेटजस्ता हाई स्पिड ट्रेनहरूको साथ तपाईं आँखा झिम्काउँदा एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्नुहुन्छ । तर, आज पनि संसारमा यस्ता धेरै रुट छन् जसमा यी ट्रेनहरू पनि पसिना बगाउन बाध्य छन् । हामी विश्वको सबैभन्दा लामो रेल मार्गहरूको बारेमा कुरा गर्दैछौं । यीमध्ये एउटा बाटो यति लामो छ कि यो एउटा महासागरबाट सुरु भएर अर्को महासागरमा जान्छ । विश्वका पाँचवटा लामो रेल मार्गमध्ये भारतसँग पनि एउटा रुट छ । ट्रान्स-साइबेरियन रेल्वे रुस क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठूलो देश हो । विश्वको सबैभन्दा लामो रेल मार्ग पनि रुसमा छ । यसले देशको राजधानी मस्कोलाई पूर्वी शहर भ्लादिभोस्तोकसँग जोड्छ । ९ हजार २ सय ५९ किलोमिटर लामो यो रुटमा सामान्य रेलले यात्रा पूरा गर्न सात दिन लाग्छ । यदि भारतको वन्दे भारत १ सय ६० किलोमिटर प्रतिघण्टाको पूर्णगतिमा चल्यो भने यो मार्गमा यात्रा गर्न लगभग ५८ घण्टा लाग्छ । त्यसैगरी ४ सय ६० किलोमिटरको गतिमा गुड्ने चीनको म्याग्लेभ ट्रेनले पनि यात्रा पूरा गर्न २० घण्टा लाग्ने छ । टोरन्टो टु भ्यानकुभर संसारको दोस्रो सबैभन्दा लामो रेलमार्ग क्यानडामा छ । चाखलाग्दो कुरा के छ भने क्यानाडा क्षेत्रफलको हिसाबले विश्वको दोस्रो ठूलो देश हो । यो मार्गले टोरन्टोलाई भ्यानकुभरसँग जोड्छ । यसको लम्बाइ ४ हजार ४ सय ६६ किलोमिटर छ। आधिकारिक रूपमा यो यात्रा पूरा गर्न चार दिन लाग्छ । यस ट्रेनबाट प्रकृतिको मनोरम दृश्यहरू देख्न सकिन्छ । यस रुटमा चल्ने ट्रेनको न्यूनतम भाडा ५ सय २९ डलर हो । बुलेट ट्रेनले यस रुटमा ११ घण्टाभन्दा बढी समय लिनेछ भने वन्दे भारतले पूर्ण गतिमा यो यात्रा एक दिनमा कभर गर्न सक्छ । सांघाई टु ल्हासा विश्वको तेस्रो ठूलो रेलमार्ग चीनमा छ । यसले देशको आर्थिक राजधानी सांघाईलाई तिब्बतको ल्हासासँग जोड्छ । यसको लम्बाइ ४ हजार ३ सय ७३ किलोमिटर छ । यस रुटमा चल्ने रेल नम्बर जेड१६४ ट्रेनले यात्रा पूरा गर्न ४६ घण्टा ४४ मिनेट अर्थात करिब दुई दिन लगाउँछ । यो सांघाई रेल्वे स्टेसनबाट बिहान ८ः०२ बजे छुट्छ र दुई दिनपछि साँझ ६ः४६ बजे ल्हासा पुग्छ । बुलेटलाई पनि यो यात्रा पूरा गर्न आधा दिन लाग्नेछ । सिड्नी टु पर्थ अअस्ट्रेलियाको रेलमार्ग यो सूचीमा चौथो नम्बरमा छ । सिड्नी र पर्थ जोड्ने यो मार्ग ४ हजार ३ सय ५२ किलोमिटर लामो छ । यस रुटमा इन्डियन प्यासिफिक ट्रेन चल्छ जसले चार दिनमा यात्रा पूरा गर्छ । यो हिन्द महासागरको तटबाट बगेर प्रशान्त महासागरको तटमा पुग्छ । यस यात्राको क्रममा तपाईंले प्रकृतिका धेरै चमत्कारहरू पनि देख्नुहुनेछ । यस अवधिमा ट्रेन संसारको सबैभन्दा लामो सिधा स्ट्रेच हुँदै जान्छ । यो ४ सय ७८ किलोमिटर लामो स्ट्रेच दक्षिण अस्ट्रेलियामा छ जसलाई द न्युलरबोर भनिन्छ। वन्दे भारतले पूर्ण गतिमा यात्रा पूरा गर्न एक दिन लाग्छ । डिब्रुगढ टु कन्याकुमारी भारतको सबैभन्दा लामो रेल्वे लाइनले आसामको डिब्रुगढलाई तमिलनाडुको कन्याकुमारीसँग जोड्छ । यो विश्वको पाँचौं लामो रेलमार्ग हो । यसको लम्बाइ ४ हजार २ सय २७ किलोमिटर छ। यस रुटमा चल्ने विवेक एक्सप्रेसले आफ्नो यात्रा पूरा गर्न ७२ घण्टा लाग्छ । यदि वन्दे भारत एक्सप्रेस यस रुटमा फुल स्पिडमा चल्यो भने यो दूरी पूरा गर्न २६ घण्टाभन्दा बढी समय लाग्ने छ । त्यसैगरी म्याग्लेभ ट्रेनले यो दूरी पार गर्न करिब १० घण्टा लाग्नेछ । एजेन्सी

अर्थमन्त्री पुनलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव : पपुलिष्ट बजेट नल्याउनू, आकार सानो बनाउनु

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार साँझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरूले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाए । उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । यस्तै उनीहरूले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका छन् । ‘बजेटको आकार ठूलो नबनाउनुस् । जे पजि गर्छु भन्ने टाइपका नल्याउनुस्’, निवर्तमान अर्थमन्त्री महतले भने, ‘पपुलिज्मको पछाडि कोही लाग्नु हुँदैन । कार्यान्वयन नहुने कुरा गरेर पछि हल्का हुने काम नगर्नुस् भन्ने मेरो सुझाव छ ।’ अर्का पूर्वअर्थमन्त्री डा. खतिवडाले पनि अर्थमन्त्रीको यो कार्यकाल नै अन्तिम हो भन्ने ठानेर पपुलिष्ट बजेट नल्याउन सुझाए । उनले बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या रोगका रूपमा विकास भएको भन्दै बजेटको साख गिराउने काम गर्न नहुने उल्लेख गरे । ‘ हामीले विगतदेनि नै बजेटको साख गिराउने काम गर्दै आएका छौं’, खतिवडाले भने, ‘यो पटक पनि राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको बजेटको सिलिङ ठूलो हो ।’ खतिवडाले दायित्वजति संघीय सरकारमा राखेर स्रोतजति प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति हानिकारक रहेको औंल्याउँदै त्यसो नगर्न भने । ‘दायित्वजति संघीय सरकारमा राख्ने र श्रोतजति तल पठाउँदा अर्थमन्त्री असफल भयो भन्ने आरोप आउने गरेको छ’, खतिवडाले भने, ‘श्रोत तल पठाउने हो भने त्योसँगै दायित्व पनि पठाउनुस् भन्ने मेरो आग्रह छ ।’ अर्का पूर्वअर्थमन्त्री डा. लोहनीले देशको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै एक जना अर्थमन्त्रीले मात्र चाहेर सुधार गर्ने ठाउँ नहुने स्पष्ट गरे । त्यसका लागि प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सबै, राजनीतिक दल र राज्य संयन्त्र नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो । ‘एकजना अर्थमन्त्रीले मात्र चाहेर केही गर्न सक्दैन’, उनले भने, ‘नीति निर्माता सबैले सोच्नुपर्छ । अरु मन्त्रालयहरूको पनि सहभागिता चाहिन्छ ।’ राजनीतिक स्थायित्वको ग्यारेन्टी नभएसम्म आर्थिक विकास नहुने भन्दै उनले असुरक्षाको वातावरण निर्माण हुनुमा अस्थिरता बाधक रहेको औंल्याए । उनले कम्तिमा तीन वर्ष वर्तमान सरकारले निरन्तरता पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । अर्का पूर्वमन्त्री शंकर कोइरालाले विगतमा जलस्रोतमा लगानी गर्दा स्रोत नखोज्ने र १५ वर्षसम्म थप आयकर नलाग्ने नीतिका कारण अहिले विद्युत निर्यात हुने अवस्था आएको चर्चा गर्दै आर्थिक स्थायित्वका लागि कम्तिमा यस्तै एउटा क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए । अर्का अर्थमन्त्री जनार्दन शर्माले अख्तियार सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धा र सिआईबीजस्ता निकायले जथाभावी अधिकारको दुरुपयोग गरेका कारण कर्मचारीको काम गर्ने मनोबल घटेकाले पुँजीगत खर्च निराशाजनक रहेको उल्लेख गरे । ‘नियामक संस्थाहरूका कारण निजी क्षेत्र आतंकित भएको छ’, उनले भने, ‘सचिवदेखि कर्मचारीहरुलाई हुँदै नभएको मुद्धा लगाइदिने प्रवृत्तिका कारण कोही पनि फाइल सदर गर्ने अवस्थामा छैन ।’ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कागजमा मात्र अर्थतन्त्रको आकार बढाउने तर यथार्थमा कार्यान्वयन नहुने बजेट नल्याउन सुझाव दिए । पाण्डेले गलत नियतका साथ सामाजमा राजनीतिज्ञ र कर्मचारीतन्त्र सबै खत्तम भन्ने मनोविज्ञान फैलाइएकाले त्यसलाई नचिरेसम्म काम गर्ने वातावरण नबन्ने औंल्याए । ‘पुँजीगत खर्च किन हुँदैन भने कोही कर्मचारी फाइल सदर गर्न तयार छैन । विधिपूर्वक काम गर्दा केही हुँदैन भन्ने ग्यारेण्टी गरिनुपर्छ’, पाडेले भने, ‘कुन दिन कसलाई अख्तियारमा लाने हो टुंगो छैन । काम गरेबापत गाउँमा सबैले भ्रष्टाचारी भन्छ । करिअर पनि सकिन्छ ।’ संसदीय समिति, अख्तियार, सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धानजस्ता निकाय राज्यभन्दा अलग नभएको उनको भनाइ थियो । ‘देश बनाउने हो भने सबै एकैतिर फर्किनुपर्छ । कोही कता कोही कर्ता फर्किएर मुलुक बन्दैन’, पाण्डेले भने । पाण्डेले नियामक निकायलाई राजनीतिक वा व्यक्तिगत प्रतिशोधका आधारमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन फुकाएर बजेट बनाउने अवस्था नभएकाले प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सदस्य र सरकारमा संलग्न दलका नेताहरुलाई अहिलेको अथार्थ अवस्था, बाध्यता र सीमाबारे बुझाउन अर्थमन्त्री पुनलाई आग्रह गरे । उपलब्ध श्रोतबाट अवस्था सुधार्न कठिन भएकाले नीतिमार्फत सुधार गर्न उनले सुझाव दिए । बजेटको विश्वसनीयता कायम राख्न आकार अनावश्यक ठूलो बनाउन नहुनेमा उनको पनि जोड थियो । ‘असीमित ढंगले बजेटको आकार फराकिलो बनाउन सकिँदैन’, पौडेलले भने, ‘राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र चालु आयोजनामा मात्र बजेट राखौं । अनगिन्ती योजना थप्ने काम नगरौं ।’ उनले विगतमा राजनीतिक दबाबका कारण बिना तयारी र बिनास्रोत राखिएका हजारौं टुक्रे आयोजना खोज गर्न आँट गर्न अर्थमन्त्री पुनलाई सुझाव दिए । त्यसमा आफू र आफ्नो दलका तर्फबाट अर्थमन्त्रीलाई साथ रहने प्रतिबद्धता जनाए । मन्त्री पुनले पूर्वअर्थमन्त्रीहरूका सुझावलाई मनन् गरी बजेट निर्माण गर्ने बताए । विकास र सुशासनलाई सँगै लाने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने खालको बजेट ल्याउने उनको भनाइ थियो । उनले अर्थतन्त्रलाई तीव्रता दिन वस्तुगत बजेट बनाउने भन्दै अर्थमन्त्रीहरुका सुझावलाई गाइडलाइनका रूपमा गह गर्ने प्रतिबद्धता जनाए ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टाअघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ । निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आज जानकारी गराएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

ललितपुरमा पाठेघर र स्तन क्यान्सर परीक्षण थालियो

पाटन । ललितपुर महानगरपालिकामा बुधबारदेखि महिलाका लागि पाठेघर र स्तन क्यान्सरको परीक्षण सुरु भएको छ । महानगरको जनस्वास्थ्य महाशाखाले बुधबार ललितपुर महानगरपालिका–१४ तिखेदवलमबाट शिविर सञ्चालन गरी गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुलासम्बन्धी निःशुल्क क्यान्सर परीक्षण सुरु गरेको हो । शिविर शुभारम्भ गर्नुहुँदै सामाजिक विकास समितिका संयोजक एवं महानगरका प्रवक्ता राजु महर्जनले एचपिभीडिएनए विधिद्वारा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी क्यान्सर रोग लाग्नबाट बचाउने अभियान थालिएको बताए । ‘हामीले पाठेघर क्यान्सर रोकथामका लागि गत वर्षदेखि अभिमुखीकरण र स्क्रिनिङ कार्यक्रम सुरु गरेका थियौँ । गत वर्ष आठ वडामा भएको कार्यक्रम यस वर्ष २९ वटै वडामा गरिनेछ । पहिला अभिमुखीकरण, त्यसपछि परीक्षण र परीक्षणपछि डाक्टरको परामर्शमा निःशुल्क उपचार गरिनेछ,’ प्रवक्ता महर्जनले भने । ललितपुर महानगरले स्वास्थ क्षेत्रमा ज्येष्ठ नागरिकलाई निमोनियाबाट बचाउन विगत दुई वर्षदेखि निःशुल्क खोप सेवासमेत सञ्चालन गर्दै आएको जानकारी गराउँदै उनले गत महिना चार सय जनालाई खोप दिइएको बताए । महानगरले ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रमअन्तर्गत चिकित्सकसहित घरमै सेवा प्रदान गरिरहेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा एम्बुलेन्स नै लिएर गएर अस्पतालसम्म ल्याउने व्यवस्थासमेत रहेको बताए । हरेक क्षेत्रमा अन्य पालिकामा भन्दा महानगरले अलि फरक तरिकाले व्यवस्थापन गर्दै आइरहेको प्रवक्ता महर्जनको भनाइ छ । स्वास्थ्य बिमामा आबद्ध भएका र हुनेका लागि ५० प्रतिशत बिमा शुल्क वडाले बेहोर्ने तयारी भइरहेको उनले जानकारी गराए । हाल महानगरले यल स्वास्थ्य केन्द्र स्थापना गरेर बिमाका बिरामीलाई २४सै घण्टा चिकित्सक, ल्याब, एक्सरे र औषधिसहितको सेवा प्रदान गर्दै आइरहेको छ । ललितपुर महानगर–१४ का वडाध्यक्ष अमृतजङ्ग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिएको बताए । ‘समाजलाई स्वस्थ बनाउन महानगरले चालेको यो एक महत्वपूर्ण कदम हो, त्यति मात्रै होइन, महानगरले महिला र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई धेरै प्राथमिकता दिएको छ भन्ने प्रमाण पनि हो,’ उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी महिलाको एचपिभी डिएनएबाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए । सरकारले आव २०८०÷८१ मा कोशी, मधेस र बागमती र लुम्बिनीका आठ जिल्लाका १४ स्थानीय तहबाट एचपिभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा सुरु गरेको हो । नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसारभरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपिभी डिइनए प्रभावकारी विधि हो । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये सात जनालाई नसर्ने रोग लाग्ने गरेको तथ्यांक रहेको बताए । महिलामा अन्य क्यान्सरको तुलनामा स्तन र पाठेघरको क्यान्सर धेरै देखिएको बताउँदै समयमै थाहा पाउन सके स्तन र पाठेघरको क्यान्सर निको पार्न सकिने जानकारी गराए । महानगरकी जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले गत वर्ष आठवटा वडामा एचपिभी डिएनए विधिद्वारा एक हजार तीन सय महिलामा परीक्षण गर्दा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखिएको र अहिले उनीहरूको उपचार महानगरले गराइराखेको जानकारी गराइन् । उनले यस वर्ष हुने स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूहभित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने जानकारी गराइन् ।

भन्सार छलेर ल्याइएको १६ लाख बराबरको सामान बरामद

महेन्द्रनगर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको १६ लाख रुपैयाँबराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार दुई दिनयता भारतबाट भन्सार छली गरेर ल्याएको गहुँ, ट्रली र दैनिक उपभोग्य सामाग्री बरामद गरिएको हो । बरामद गरिएका सामाग्री कञ्चनपुर भन्सार कार्यालयको जिम्मा लगाइएको छ । ‘भारतबाट भन्सार छलेर ल्याइएका सामाग्री बरामद गरेर भन्सारको जिम्मा लगाउँदै आएका छौँ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने । प्रहरीले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा कञ्चनपुरमा चार करोड रुपैयाँभन्दा बढीको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थान अन्य प्रदेशका छिटपुट ठाउँमा हुरीबतासको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी भागका तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।