बीमकलाई प्राधिकरणले भन्यो : भ्रम सिर्जना नगरी दावी भुक्तानी सुरु गर्नुस्
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी तत्काल सुरु गर्न निर्देशन दिएको छ । नेपाल बीमक संघबाट जारी भएको विज्ञप्तिमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले भ्रम सिर्जना नगरी उक्त कार्य नरोक्न निर्देशन दिएको हो । संघले नेपाल सरकारले कृषि बीमाको अनुदान रकम नदिएसम्म दावी भुक्तानी नगर्ने भन्दै बुधबार एक विज्ञप्ति जारी गरेको थियो । जसमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले उक्त निर्णयबाट पछि हट्न बीमा कम्पनीहरुलाई निर्देश गरेको हो । सरकारले कृषि बीमाको अनुदान नदिएसम्म दावी भुक्तानी गर्न सक्दैनौं : बीमक ‘कृषि तथा पशुपन्छीं बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छीं विकास मन्त्रालयसंग बारम्बार समन्वय तथा पहल भईरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुदाँ तत्काल उक्त विज्ञप्ती फिर्ता लिई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी सुचारु गरियोस्,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै, आगामी दिनमा यस प्रकारका बीमा बजारमा भ्रम सिर्जना हुने तथा बीमाको विश्वसनियतामा नै असर पर्ने खालका विज्ञप्ती एंव सूचना सम्प्रेषण नगर्न समेत प्राधिकरणले जानकारी गराएको छ ।
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले आज त्रिविका कानुनी सल्लाहकार खनाललाई कुनै पनि कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । शिक्षा मन्त्रालयले केही दिनअघि चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नाम जोडिएकालाई कारबाही गर्न निर्देशन दिएको थियो । त्रिविका कानुनी सल्लाहकार खनालले बिना प्रमाण र अनाहकमा आफूमाथि कारबाहीको सिफारिस गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले कारबाही नगर्न आदेश दिएको हो । रासस
उपनिर्वाचनको मौन अवधि आज रातिदेखि सुरु, प्रचारप्रसार गर्न निषेध
काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ । निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आज जानकारी गराएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।
बैंकरका सामू राष्ट्र बैंक स्तब्ध
काठमाडौं । बैंकरहरूका सामू नेपाल राष्ट्र बैंक स्तब्ध भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकरहरूले राष्ट्र बैंकलाई हराउँदै स्तब्ध पारेकाे हाे । राष्ट्र बैंकको उच्च व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूबीच बुधबार भएकाे मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकर्सले ५-२ गोलले जित हासिल गरेका हुन् । बैंकर्सको टिमबाट कृषि विकास बैंकका सीईओ गोविन्द गुरूङले २ गोल गरेका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी (सिनियर डीसीईओ) सुमन पोखरेलले एक/एक गोल गरे । राष्ट्र बैंककाे तर्फबाट डेपुटी गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक ऋषिकेश भट्टले एक/एक गोल गरे । राष्ट्र बैंककाे टिमबाट डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक भट्ट, पिताम्बर भण्डारी, प्रदीपराज पौड्याल, नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, गुरू प्रसाद पौडेल, बिमल राज खनाल र निर्देशक राम प्रसाद गौतम र राजनबिक्रम थापाले फुटसल खेलेका थिए । बैंकरहरूको टिममा वाणिज्य बैंकबाट ६ जना, विकास बैंकबाट २ जना र फाइनान्स कम्पनीबाट ३ जना सीईओले खेलेका थिए । गत वर्षको मैत्रीपूर्ण खेलमा राष्ट्र बैंकले बैंकरहरूलाई हराएको थियो । यस पटक भने बैंकरहरूले जित हासिल गर्दै गत वर्षकाे बदला लिएका हुन् ।
टीभीएस अपाचेको आरटीआर १६० सार्वजनिक, मूल्य तीन लाख बढी
काठमाडौं । टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको न्यु-जेन इन्जिनले बेस्ट-इन-क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ । टीभीएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर वृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर-टु-वेट रेसिओमा वृद्धि ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०२४ टीभीएस अपाचे आरटीआर १६०मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ जसले यसलाई नेपालमा मोटरसाइकल उत्साहीहरूका बीच एक उत्कृष्ट विकल्प बनाएको छ । यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ जसले यसको गुणस्तर बढाउँछ भने यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित स्मार्टएक्सोनेक्टटीएम सहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । आरटीआर ओभरस्क्वायर न्यु-जेन इन्जिनद्वारा संचालित, २०२४ टीभीएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल-इन्जेक्टेड १५९.७ सीसी सिंगल-सिलिन्डर, दुई-भल्भ ओटा एसओएचसी एयर-कूल्ड इन्जिन रहेको छ । यसको पावर हाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार डबल-क्रयाडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट पाँच-स्पीड गियरबक्स र २७० एमएम रोटो-पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ । नेपालमा २०२४ टीभीएस अपाचे आरटीआर १६०- म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ । जसको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
चिया निर्यातमा भारतीय अवरोध हट्यो
झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘रोकिएका सबै ट्रक आज छाडिए, उनले भने, “‘ब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन ।’ पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरुले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ वटा नेपाली ट्रक रोक्दा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको जनाएको थियो । गाडी नै पिच्छे गुणस्तर जाँच गर्ने व्यवस्था अव्यवहारिक भन्दै नेपाली पक्षले पुरानै प्रावधानअनुरुप चियाको निर्यात गर्न दिन माग गर्दै आएको थियो । नेपाली पक्षले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियमअनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेको गरेको थियो । अन्ततः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियमानुसार चियाको निर्यात खुलाउन सहमत भयो । चियाको एउटा नमूनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म निर्यात गर्दा मान्यता पाउने पुरानो प्रचलन थियो । भारतीय भन्सारले पुरानै जाँच नियमानुसार नेपाली ट्रकहरुलाई आज छाडिदिएको हो । सिटीसी र अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।
नेपाल रिमा लगानी बढाउँदै हिमालयन र एशियन लाइफ, बुधबार किने ६३ करोडको सेयर
काठमाडौं । बुधबार पुँजी बजारमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को सेयर सर्वाधिक कारोबार भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको ६३ करोड रुपैयाँ बढीको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार बुधबार कम्पनीको २२ लाख ६० हजार ८८० कित्ता सेयर खरिद बिक्री हुँदा ६३ करोड ३० लाख ९३ हजार २५८.५० रुपैयाँ बराबरको कारोबार भएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटलले बिक्रीमा राखेको नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर नै बुधबार नेप्सेमा कारोबार भएको स्रोतले बताएको छ । स्रोतका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बिक्रीमा राखेको सेयर हिमालयन लाइफले खरिद गरेको हो । सिद्धार्थ प्रिमियरले प्रतिकित्ता २८० रुपैयाँका दरले २० लाख ७३ हजार ४४६ कित्ता सेयर बिक्रीमा राखेको थियो । सोही मूल्यमा उक्त सेयर हिमालयन लाइफले खरिद गरेको स्रोतको भनाइ छ । उक्त सेयर हिमालयन लाइफले ५८ करोड ५ लाख ६४ हजार ८८० रुपैयाँमा खरिद गरेको हो । यस्तै, ग्लोबल आइएमई क्यापिटलपनि प्रतिकित्ता २८० रुपैयाँका दरले १ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्रीमा राखेको थियो । उक्त सेयर प्रतिकित्ता २८०.२५ रुपैयाँका दरले एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको स्रोतको भनाइ छ । उक्त सेयर कम्पनीले ५ करोड २५ लाख २८ हजार ३८७.५ रुपैयाँमा खरिद गरेको हो । यसअघि गत मंसिरमा पनि हिलमायन लाइफ र एशियन लाइफले नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर खरिद गरेका थिए । हिमालयन लाइफले प्रतिकित्ता ३ सय रुपैयाँका दरले १९ लाख ७९ हजार २४२ कित्ता सेयर ५९ करोड ३८ लाख २७ हजार २ सय रुपैयाँमा खरिद गरेको थियो । यस्तै, एशियन लाइफले छुट्टाछुट्टै मूल्यमा १० लाख कित्ता सेयर २७ करोड ६७ लाख ५४ हजार ५ सय रुपैयाँमा खरिद गरेको थियो । पछिल्लो समय धमाधम संस्थापक सेयरधनीहरू रिइन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेर बाहिरिन लागेका छन् भने हिमालयन र एशियनले उक्त सेयर खरिद गरिरहेका छन् । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्ण लगानी गर्ने अन्य क्षेत्र नभएपछि नेपाल रिइन्स्योरेन्सको सेयर खरिद गरेको बताउँछन् । बैंकको ब्याजदर निरन्तर रूपमा घट्दोक्रममा रहेकाले रिइन्स्योरेन्सको सेयर खरिद गरेको उनको भनाइ छ । ‘लगानी कहाँ गर्ने ?, बैंकको ब्याजदर घटिरहेको छ । नेपाल रिको सेयर खरिद गर्याे भने पछिका दिनमा काम लागि हाल्छ,’ उनले भने, ‘हामीसँग ६५ अर्ब रुपैयाँ पुगिसक्यो । साढे ६ अर्ब लगानी गर्नुपर्छ । नेपाल रिससहित अन्य कम्पनीमा पनि लगानी गरेका छौं । नेपाल रिमा दीर्घकालमा फाइदा भएकाले लगानी गरेका हौं ।’
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
जापान । जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा जीवित रहेपछि तेस्रो पटक बिउँझिएको मुलुकको अन्तरिक्ष एजेन्सीले बुधबार बताएको छ । आफ्नो अवतरण सटीकताका लागि ‘मुन स्नाइपर’ भनिने स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) जनवरीमा चन्द्रमाको सतहमा आएको थियो । यसबाट जापान चन्द्रमामा सफ्ट अवतरण हासिल गर्ने पाँचौँ मुलुक बन्यो । यद्यपि कछुवा गतिमा चल्ने एउटा मिनी–रोभर बोकेको मानवरहित हलुका यो अन्तरिक्ष यान एउटा अस्पष्ट कोणमा उत्रिँदा उसको सौर्य प्यानल गलत दिशामा गयो । निराशावादी भविष्यवाणीहरूलाई बेवास्ता गर्दै फेब्रुअरीको अन्त्यमा पृथ्वीको करिब १४ दिनसम्म चल्ने चन्द्र रात समाप्त भएपछि अनुसन्धानलाई पुनर्जीवित गरिएको थियो । माइनस एक सय ३० डिग्री सेल्सियससम्मको न्यूनतम तापक्रमको सामना गरेपछि यसले गत महिनाको अन्त्यमा यो उपलब्धि दोहोर्यायो र नयाँ तस्बिरहरू पृथ्वीमा पठायो । जापान । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) ले बुधबार यानले तेस्रो पटक बिउँझिएपछि परीक्षणसँग सञ्चार गर्न पुनः सफल भएको बताएको छ । सामाजिक सञ्जाल एक्समा जाक्साले उक्त ल्यान्डरबाट प्राप्त चन्द्रमाको सतहको एउटा तस्बिर पोस्ट गरेको छ । ‘एसएआइएमले तीन रातसम्म जीवित रहेपछि आफ्नो मुख्य काम जारी राखेको छ’, जाक्साले भनेको छ । यसअघि जाक्साले अन्तरिक्ष यानलाई कठोर चन्द्र रातका लागि डिजाइन नगरिएको बताएको थियो । ‘हामी एसएआइएमको अवस्थाको सावधानीपूर्वक अनुसन्धान गर्न जारी राख्नेछौँ र दिन र रातमा चन्द्रमाको वातावरणमा निर्भर गर्दै कुन भाग बिग्रने सम्भावना छ र कुन भाग बिग्रने सम्भावना कम छ भनेर स्पष्ट गर्नेछौँ’, जाक्साले भनेको छ । रासस