विकासन्युज

एसईईपछि कुन विषय पढ्दा सजिलै पाइन्छ जागिर ? यस्तो छ विज्ञको सुझाव

काठमाडौं । विद्यार्थीका लागि एसईई आधार स्तम्भ हो । एसईई पछिको पढाइले नै विद्यार्थीको भविष्य तय गर्छ । एसईईपछिको पढाइले नै विद्यार्थी भविष्यमा के भन्ने विषयको संकेत गर्छ । अहिले करिब ५ लाख विद्यार्थी एसईई दिएर घरमै बसिरहेका छन् । कतिले ब्रिजकोर्ष पढिरहेका छन् भने कतिले अब के पढ्ने भनेर अभिभावक, साथीभाई तथा अग्रजहरूसँग सल्लाह लिइरहेका छन् । कतिपय आफू अब के विषय पढ्ने भन्ने विषयको दुविधामै छन् । पछिल्लो समय विद्यार्थीलाई कम उमेरमा नै जागिर पाइने विषय पढ्ने इच्छा हुन्छ । त्यसैले पनि धेरैले प्राविधिक विषय अध्ययन गरेर छोटो समयमै जागिरको जिन्दगी सुरु गर्छन् । विद्यार्थीको रुची, आफ्नो रुची भएको विषयको प्रकृति, गर्नु पर्ने मिहिनेत र खर्च हुने समयका विषयमा पनि अगाडि नै जानकार हुनुपर्छ । विद्यार्थीले आफूले रोजेको विषयको स्कोप कस्तो छ ? त्यसमा आफुले भोलि करिअर बनाउन सकिन्छ कि सकिँदैन भनेर पनि जानकारी राख्नु पर्ने विज्ञहरूको सुझाव छ । आज हामीले कुन विषय पढ्ने भनेर बसिरहेका विद्यार्थीहरूका लागि यो सामग्री तयार गरेका छौं । शिक्षाविद् विनय कुसियत अरूको लहलहैमा लागेर विषय छान्नुभन्दा आफै विषय छनोट गरेर अध्ययन गर्दा फलदायी हुने धारणा राख्छन् । उनी सबै विषय जीवनउपयोगी हुने भएकोले विद्यार्थीको पढाइको स्तरले यस विषयलाई निक्र्यौल गर्ने बताउँछन् । ‘आर्थिक क्षमताले धान्न सक्ने र आफूलाई भविष्यमा के बन्ने इच्छा छ, त्यही अनुसार के पढ्ने भन्ने विषय छनोट गर्नुपर्छ,’ उनी भन्छन्, ‘पढाइमा अब्बल विद्यार्थीका लागि सरकारले छात्रवृत्ति पनि दिन्छ, अन्य सेवा सुविधा पनि दिन्छ, त्यसमा नाम निकाल्ने गरी मिहिनेत गर्न सक्यो भने आर्थिक क्षमताले भ्याउन नमिल्ने विषय पनि पढ्न पाइन्छ ।’ मनोविद् सुर्कीति देवकोटा विद्यार्थीलाई विषयबारे जानकारी गराए पनि के पढ्ने भन्ने विषय भने विद्यार्थीेले नै छनोट गर्नु पर्ने तर्क दिन्छिन् । ‘अहिले विद्यार्थीसँग समय हुन्छ, के पढ्ने, कहाँ पढ्ने भन्ने कुराको निर्णय गर्न सक्नुपर्छ, यसो गरे मानसिकरूपमा पनि गाह्रो पर्दैन ।’ कुनैपनि विद्यार्थीले दबाबमा पढ्ने हुँदैन,’ उनी थपिछन्, ‘बुवाले तिमी डाक्टर पढ्नुपर्छ भन्नुभएको छ अथवा आमाले नर्स बन्नुपर्छ भन्नु भएको छ, साथीहरूले यस्तो उस्तो गरिरहनुभएको छ भनेर पढ्ने होइन, त्यसो हुँदा गाह्रो हुन्छ । आफूलाई मनदेखि के इच्छा छ भन्ने सोच्नुपर्छ ।’ एसईईपछि के-के हुन्छ पढाइ ? एसईईपछि नेपालमा प्राविधिक र अप्राविधिक विषय पढाइ हुने गर्छन् । त्यसको लागि प्राविधिक विषय के-के हुन् र अप्राविधिक विषय के-के हुन् भनेर थाहा पाउनुपर्छ । प्राविधिक विषय अन्तर्गत सीटीईभीटीबाट मान्यता प्राप्त १५ महिने तथा १८ महिनेदेखि तीन वर्षे कोर्षहरू हुन्छन् । जुन अप्राविधिक विषयभन्दा केही फरक हुन्छन् । जसमा नर्सिङ, एचए, सीएमए, फार्फेसी ओभरसियर लगायतका विषयहरू पर्छन् । यी विषय लिएर पढ्ने विद्यार्थी तुलनात्मकरूपमा अन्य विषय अथवा अप्राविधिक विषय लिएर पढ्ने विद्यार्थी जस्तो बेरोजगार बस्नु पर्दैन । उनीहरूले पढिसकेपछि जागिर नपाउँदा पनि आफैं केही गर्न सक्छन् । तर, यी विषय पढ्न पनि त्यत्तिकै मिहिनेत र पैसा लाग्छ । यसको मतलब अप्राविधिक विषय लिएर पढ्ने विद्यार्थीले जागिर पाउँदैनन् वा मिहिनेत गर्न पर्दैन भन्ने होइन । छोटो समयमै रोजगारी पाउने वा स्वरोजगार बन्न सक्ने सम्भावना बढी हुन्छ । प्राविधिक विषय एसईई दिएका विद्यार्थीले प्राविधिक विषयतर्फ स्टाफ नर्स पनि पढ्न सक्छन् । यसका लागि एसईई दिनेबित्तिकै तयारी गर्नुपर्छ । त्यसपछि प्रवेश परीक्षामा नाम निकालेर पढ्न मिल्छ । पछिल्लो समय यो क्षेत्रमा विद्यार्थीको आकर्षण बढ्दाे छ । सीएमए, फार्फेसी ओभरसेयर र एचएतर्फ विद्यार्थीको आकर्षण छ । विद्यार्थीले यी विषय पढ्न न्यूनतम १८ महिनामा पढ्न सक्छन् । पढाइ सकेपछि विद्यार्थीले काम पाउने सम्भावना धेरै हुन्छ । यी विषय पढ्ने विद्यार्थीले आफैं औषधी पसल खोलेर पनि बस्न सक्छन् । तर, तुलनात्मक रूपमा यो क्षेत्र महँगो हुन्छ । अप्राविधिक विषय यो विषय भित्र विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका विषयहरू पर्छन् । यी विषय पढ्दा पनि मिहिनेत उत्तिकै गर्नुपर्छ । मिहिनेतका साथ राम्रो नम्बर ल्याउँदा विद्यार्थीलाई खाली बस्नु पर्दैन । नेपाली, गणित, अंग्रेजी, जनसंख्या, अर्थशास्त्र, लेखा लगायतका विषय लिएर पढ्दा भविष्य राम्रो हुन्छ । कुनै पनि विषय नराम्रो भन्ने हुँदैन । तर, यी विषयमा तपाईंले कत्तिको दख्खल राख्न सक्नुहुन्छ भन्ने महत्वपूर्ण कुरा हो । मानविकी संकायमा पढ्ने विद्यार्थीहरूले भविष्यमा शिक्षक बन्ने, समाजशास्त्री तथा दर्शनका विषयमा राम्रो दख्खल राख्न सक्छन् । यस्तै, व्यवस्थापन पनि विद्यार्थीका लागि आकर्षक संकायकारूपमा देखिएको छ । यस संकायमा अध्ययन गर्ने विद्यार्थीको माग पनि बजारमा बढी हुन्छ । यो विषय पढेका विद्यार्थीको स्वदेशमा मात्र नभइ विदेशमा पनि उत्तिकै स्कोप छ । यो विषय पढ्ने विद्यार्थीहरू कम्प्युटर साइन्सदेखि होटेल म्यानेजमेन्ट, एकाउन्ट, मार्केटिङ, फाइनान्स, इकोनकिम लगायतका विषयहरू पढ्न मिल्छ । यी विषय पढेका विद्यार्थीहरू शिक्षण पेशादेखि वित्तिय क्षेत्रमा काम गर्ने अवसर मिल्छ । यस्तै, कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पनि विद्यार्थीले पढ्न सक्छन् । तर, विज्ञानमा केही मिहिनेत चाहिन्छ । प्लसटुमा विज्ञान पढेका विद्यार्थीका लागि भविष्यमा डाक्टर, पाइलट, इन्जिनिएर र आईटी क्षेत्रमा काम गर्न सकिन्छ । प्लसटुपछि म्यानेजमेन्ट, आर्टस् लगायतका विभिन्न क्षेत्रमा पनि प्रवेश गर्न सकिन्छ । विज्ञान, प्रविधिमा रुची भएकाले विज्ञान संकाय रोज्न सक्छन् । कला, संस्कृति लगायत क्षेत्रमा भविष्य बनाउन सोच भएका विद्यार्थीेले मानविकी संकायमा अध्ययन गर्न सक्छन् । डाक्टर, इन्जिनियर, पाइलट, आइटी, म्यानेज्मेन्ट, मानविकी, लगायत हरेक क्षेत्रमा करिअर बनाउनको लागि अलिकति मेहिनेत गर्न सक्ने विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा साइन्स एजुकेसन पढ्न विज्ञहरू सुझाव दिन्छन् । विषय पढाइसँगै कलेज छनोट पनि महत्वपूर्ण विषय हो । अहिले गाउँदेखि सहर बजारसम्म जताततै कलेज सञ्चालनमा छन् । तर, विद्यार्थीले आफ्नो रुची भएको विषय पढाइ हुने राम्रो कलेज छनोट गर्न सक्नुपर्छ । शिक्षाविद् डा. कुसियत आफू पढ्ने कलेज कस्तो हो ? त्यसमा कस्ता शिक्षक छन् ? त्यसको वातावरण कस्तो छ ? र समाजमा त्यो कलेजप्रतिको दृष्टिकोण कस्तो छ भनेर मात्र भर्ना हुनु पर्ने राय दिन्छन् ।

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा इमानदारी नदेखिएको बताएका छन् । उनले नेपालले हाल अवलम्बन गरिरहेको मिश्रित निर्वाचन प्रणाली र शासकीय स्वरूपबीच तालमेल नभएकाले मुलुकको राजनीति र सरकारको स्थायित्व नभएको बताए । पूर्वमन्त्री राईले भने, ‘‘म र मेरो’ भनिरहँदा ‘मेरो देश’ भन्नेचाहिँ देखिन्न । उनीहरूमा देशप्रतिको कर्तव्य पालनामा कमी भएको हो कि भन्ने महसुस हुन्छ । अहिले हामीले अभ्यास गरिरहेको शासकीय स्वरूप र संसदीय प्रणाली पनि स्वस्थ्यकर देखिन्न ।’ झापा आन्दोलनको प्रभावबाट २०२९ सालमा वामपन्थी राजनीतिमा प्रवेश गरेका राईले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले)को कोअर्डिनेसन केन्द्रको २०३३ मा सदस्यता लिए । वि. सं २०३५ मा भूमिगत भएका उनी २०४६ मा नेकपा (माले) को केन्द्रीय सदस्य भए । वि. सं २०४८ मा खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राई २०५९ मा नेकपा (एमाले) स्थायी कमिटी सदस्य र २०६५ मा सोही दलका उपाध्यक्ष भए । वि. सं २०६९ मा एमाले परित्याग गरी सङ्घीय समाजवादी पार्टीका संस्थापक अध्यक्ष भएका उनी २०७० मा संविधानसभा सदस्य भए । विसं २०७९ को चुनावमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राई अघिल्लो सरकारमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीको जिम्मेवारीमा थिए । उनले यसअघि पनि निर्माण तथा यातायात, कानुन, न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा वातावरणमन्त्रीका रूपमा तीन पटक कार्यभार सम्हालिसकेका छन् । उनका ‘अँध्यारोभित्रको लिलिङुङ्गा’ कविता सङ्ग्रह सहलेखनका रूपमा आएको छ भने ‘शब्दाञ्जलि’ संस्मरण, ‘पहिचानमाथिको प्रश्न’ अन्तर्वार्तासङ्ग्रह प्रकाशित छ । प्रस्तुत छ पूर्वमन्त्री राईसँग गरिएको कुराकानीको सम्पादित अंश : वर्तमान संसदीय अभ्यासलाई तपाईँले कसरी लिनुभएको छ ? अहिले हामीले गरिरहेको संसदीय अभ्यास स्वस्थ्यकर देखिन्न । पहिलो कुरा संविधान नै संसदीय र सङ्घीय दुई शासकीय प्रणाली तथा मिश्रित निर्वाचन प्रणाली रहने गरी बनाइयो । यो सम्मिश्रण संविधानमा छ । यी एकापसमा नमिल्ने विषय हुन् । मिश्रित वा समानुपातिक निर्वाचनमा जाने हो भने राष्ट्रपतीय प्रणाली राखौँ, होइन भने मिश्रित निर्वाचनले राजनीतिक स्थिरता दिँदैन भन्ने विषय संविधानसभाकै बखत नेतालाई धेरै अनुरोध गरिएको थियो । अहिले अपनाएको शासकीय स्वरूप राष्ट्रपतीय र संसदीय दुबै होइन । केही विशेषता संसदीय राखेर समावेशिताका निम्ति मिश्रित निर्वाचन प्रणाली राखेर आइयो । त्यसो भएर जतिसुकै पवित्र आकाङ्क्षा भए पनि संवैधानिक व्यवस्थाले नै अस्थिरताको विकार लिएर आएको छ । हामीले मुलुकमा ठुलो राजनीतिक परिवर्तन गरी लोकतन्त्र ल्याएका छौँ, त्यसको सुदृढीकरणका अभ्यासमा छौँ, तर हाम्रा नेताका मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न सकेको छैन । तर मेरो भनिरहँदा ‘मेरो देश’ भन्नेचाहिँ देखिन्न । उहाँहरूमा देशप्रतिको कर्तव्य मधुरो रहेको हो कि भन्ने महसुस हुन्छ । राजनीतिक दल र व्यक्ति विशेषका महत्त्वाकाङ्क्षा तथा इच्छामा भइरहने सत्ताको फेरबदललाई प्रणालीसँग जोड्न मिल्छ ? राजनीतिक स्थायित्व नहुनामा मनोवृत्तिसँगै प्रणालीको पनि दोष छ । कसैलाई मन नपर्नासाथ विश्वास र अविश्वासको खेल सुरु हुन्छ । अहिलेको निर्वाचन प्रणालीकै कारण कसैको बहुमत आउनै नसक्ने स्थिति छ । अर्कातिर मनोवृत्ति पक्ष पनि बलियो छ, बहुमत पाएका अवस्थामा पनि पाँच वर्ष सरकार चलाउन नसकेको उदाहरण छन् । दुई तिहाइ होस् वा सहज बहुमत (कम्फर्टेबल मेजोरिटी) का समयमा पनि सरकार पूरा अवधि टिकाउन र चलाउन सकिएन । प्रतिपक्षले पाँच वर्ष पर्खन र सरकारको जिम्मा लिनेबाट पूरा अवधि टिकाउन नसकेको अवस्था छ । गएको ३२ वर्षको अनुभव र अभ्यास यही छ । विधायकको मुख्य जिम्मेवारी कानुन निर्माण भए पनि पछिल्लो डेढ वर्षको अनुभव र प्रगतिको समीक्षा गर्दा कार्यसम्पादन कमजोर देखिएको छ, यसमा तपाईँको टिप्पणी के छ ? संसद् परिणाम दिने गरी कानुन निर्माण गर्न कमजोर छ । यसमा संसद् र सांसद दोषी छैनन् । सरकारले ‘बिजनेस’ दिँदैन भने संसद्ले के बनाउने भन्ने प्रश्न उब्जन्छ । संसद्लाई ‘बिजनेस’ सरकारले दिने हो । सरकार नै अस्थिरतामा रहन्छ भने कानुन कसरी बनाउन सक्छ रु संसदमा भएका विधेयकमाथि समितिमा छलफल चलि नै रहेका छन् । अरू ‘बिजनेस’ गएको छैन । संविधान कार्यान्वयनसँग जोडिएका ऐन कानुन पहिलो प्राथमिकतामा राख्नुपर्ने हो, त्यो भएको छैन । सरकारको अस्थिरतासँगै मन्त्रीमा हुने फेरबदलले कानुनमा ढिलाइ र अन्योलको अवस्था देख्छु । म केहीअघिसम्म शिक्षामन्त्रीका रुपमा कार्यरत थिएँ । त्यहाँ गएपछि मुलुकको शिक्षा प्रणालीमा अलमल र समस्या ऐन कानुनमा देखेँ । देशको समग्र शिक्षा र विज्ञान प्रविधिसँग सम्बन्धित ११ ऐन कानुन संशोधनका लागि सदनमा लगिएको थियो, सरकार फेरियो त्यो विषय अलमलमा परिहाल्यो । आगामी अधिवेशन बजेटमा केन्द्रित हुन्छ । स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रबाट पनि आवश्यक सहयोग भएन भन्ने कतिपय नेताको गुनासो सुनिन्छ । यसमा तपाईं के भन्नुहुन्छ ? हो, निजामतीतन्त्रमा अदब, अनुशासन र कार्यसम्पादन विगतका तुलनामा कमी छ । ‘सरकारको काम कहिले जाला घाम’ भनेजस्तो शिथिल अवस्था देखिन्छ । प्राप्त जिम्मेवारी कसरी छिटो सक्ने भन्ने हुटहुटी कम छ । व्यक्तिगत रूपमा केही सक्रिय, इमान्दार र पूरापुर काम गर्नुपर्छ भन्ने भावना देखिन्छ । तर समग्रमा कर्मचारीतन्त्रको ‘नट बोल्ट’ खुकुलोअर्थात् ढिलाढाला जस्तो छ । सही ढङ्गबाट नचलिरहेको जस्तो देखिन्छ । अन्तर-मन्त्रालय समन्वय जति हार्दिकतापूर्ण र तीव्र हुनुपर्थ्यो, त्यो पाइँन । रायका लागि पठाइएको फाइल तीन महिनादेखि तीन वर्षसम्म मन्त्रालयमा रोकिएर बस्ने अवस्था छ । नहुने भए त्यस समयमा हुन्न भन्नुपर्यो, हुने भए समयमै गर्न र बताउनुपर्यो । त्यस खालको समस्या देखियो । म चार वटा क्याबिनेटमा बस्दा त्यो भिन्नता पाएँ । स्थायी सरकारका रूपमा रहेको राज्यको यो संयन्त्र किन शिथिल भयो ? हामीले कर्मचारीतन्त्रलाई राजनीतिकरण ग¥यौँ । हरेक दलले आफ्ना समर्थकलाई गोप्यरूपमा सदस्य दिएर ट्रेड युनियन खोल्न लगायौँ । सामूहिक स्वार्थका लागि बोल्न एउटा ट्रेड युनियन दिन सकिन्थ्यो होला, तर हरेक राजनीतिक दलले कर्मचारी आफ्नो बनाउने होड चलायो । कर्मचारी संयन्त्रमा राजनीति प्रवेश ग¥यो । कर्मचारीमा राष्ट्र, राष्ट्रियता, जनताप्रतिको कर्तव्य, ऐन कानुन, विधिभन्दा बढी मेरो पार्टी भन्ने मनोविज्ञान दिमागमा हुलिदियौँ । अर्को भनेको, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन । राजनीतिक नेताले पनि भ्रष्टाचार बेसरी गर्ने अनि कर्मचारीलाई पनि औजारका रूपमा प्रयोग गर्ने प्रवृत्ति छ । त्यस कारण राम्रा, इमान्दार कर्मचारी निरुत्साहित हुन पुगे । भ्रष्टाचार र अवसर प्राप्तिका निम्ति त्यस्तै खालका मानिसको प्रयोगले इमान्दारको उनीहरूको मनोबल खस्कियो । अर्कातर्फ अहिलेका निजामती कर्मचारी लोकसेवा उत्तीर्ण भए पनि समस्यालाई बुझ्ने र समाधानका उपाय निकाल्ने क्षमतामा कमी छ । अबको भर्ना छनोट प्रक्रियामा सुधार गर्नुपर्छ । घोकेर, रटेर पाठ्यक्रमभित्रको प्रश्नलाई कण्ठ गर्नेभन्दा सिर्जनात्मक परीक्षण विधि थप्नुपर्छ । कर्मचारीलाई चुस्त तुल्याउन समयबद्ध तुल्याउन तालिम दिनपर्छ । स्थायी सरकारका सदस्यका रूपमा रहेका कर्मचारीको वृत्ति विकास, सरुवा र जिम्मेवारीमा पनि समस्या छ ? कर्मचारीलाई दक्ष, योग्य, कार्यकुशल बनाउनु सरकारको दायित्व हो । समयबद्ध तरिकाले तालिम, प्रशिक्षण, सरुवा र बढुवाको आवश्यकता छ । लामो समयदेखि एकतात्मक शासन प्रणालीको अभ्यास गरिआएकाले उनीहरूलाई सङ्घीयताको मर्म र भावना बुझाउन सकिएको छैन । सङ्घीयताको मर्म र भावनाबारे तालिम-प्रशिक्षण तथा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्छ । सङ्घीयता किन उत्कृष्ट शासन व्यवस्था हो, यो नेपालमा किन जरुरी छ भन्ने पाटो नबुझेर विरोध गरिएको छ । सङ्घीयतासँग सम्बन्धित करिब डेढ सय कानुन अझै बनाउन सकिएको छैन । त्यसैले प्रदेश कमजोर अवस्थामा छन् । प्रदेश टिकाइ मात्र राख्ने, काम गर्न नपाउने जस्तो अवस्था छ । सङ्घीयताको असल अभ्यास गर्ने हो भने सोहीअनुरूप ऐन, कानुन र संविधान संशोधन गरी कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि कर्मचारीतन्त्रको पुरानो मनोविज्ञान र धङधङीलाई सङ्घीयतातर्फ उन्मुख गराउनुपर्छ । सङ्घले प्रदेश र स्थानीय तहलाई अधिकार नै दिन नचाहने प्रवृत्ति नेता र कर्मचारीमा छ । सरकार बाहिर बस्दा सङ्घीयता भन्ने तर सरकारमा गएपछि अधिकार किन दिने भन्ने प्रवृत्ति छ । यो अधिकार ऐन कानुन निर्माण गरेर हस्तान्तरण गर्नुपर्छ । उपलब्धिको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनका लागि देशका प्रमुख शक्तिबीच एकता नभएको आरोप छ । तपाईँलाई केही भन्नुछ ? पाखुरा सुर्किएर झगडा गर्ने नेपाली समाजको प्रवृत्ति सदनमा पनि देखिन्छ । त्यो नभई दिए हुन्थ्यो भन्ने लाग्छ । एउटै कुरालाई अनेक कोणबाट प्रस्तुत गर्न सकिन्छ । सदनमा आफ्ना विषयवस्तु रोचक, घोचक र मननीय हिसाबले प्रस्तुत गर्न सकिन्छ । सदन खण्डनमण्डनभन्दा पनि राष्ट्रको मनन र चिन्तन गर्ने थलो हो । त्यहाँ नेतृत्वले नरम र उदाहरणीय ढङ्गबाट प्रस्तुत भइदियोस् भन्ने लाग्छ । नेता सदमार्ग देखाउने अगुवा हो । ऊ समाज र जनतालाई असल मार्ग देखाउने हिस्साबाट प्रस्तुत हुनुपर्छ । विगतमा संसदीय अभ्यास नजानेर, नबुझेर गलत कार्य भए । तर यसबीचमा सदनमा अलि बढी नै तहसम्म गयो कि भन्ने छ । सदनमा एउटाले बोलेको अर्काले खण्डन गरिरहनुपर्ने होइन । सदन वाद विवादको मञ्च होइन, त्यो खासमा जनताको आवाज राख्ने मञ्च हो, कानुनसम्बन्धी छलफल गर्ने स्थल हो । सभामुखतर्फ मुख फर्काएर बोल्नुपर्नेमा अर्कैतर्फ मुख फर्काएर बोलेकोजस्तो देखिन्छ । संसद् र विषयगत समितिका बैठक गणपूरक सङ्ख्या नपुगेर स्थगत हुनु सांसदको कर्तव्य र अनुशासनसँग सम्बन्धित विषय होइन ? सांसदले आफ्नो जिम्मेवारी नबुझ्नुमा समस्या छ । विधायकले ऐन कानुन निर्माणको मूल भूमिका निर्वाह गर्नुपर्छ । जनताको अपेक्षा पानीको धारादेखि विश्वविद्यालयसम्मका लागि बजेट, कार्यक्रम र आयोजना ल्याउनुपर्छ भन्ने छ । जनताको इच्छामा मेरो जिम्मेवारी होइन भन्न सक्ने अवस्था छैन । त्यो भएर मन्त्रीलाई भेट्न मन्त्रालय धाउनुपर्ने स्थिति छ । हामी सबै धाइरहेकै छौँ । अहिलेको मानसिकता, प्रक्रिया र पद्धति नफेरिइन्जेल धाउनुपर्ने नै होला नि । समितिमा कोरम नपुग्ने विषय भने लाजमर्दो छ । समितिका बैठक छाड्नै हुन्न, अनिवार्य उपस्थित हुनुपर्छ । समितिमा अर्को गलत अभ्यास धेरैजसो सांसद सुरुमा हात उठाएर बोल्ने अनि हिँडिहाल्ने छ, त्यो हुनहुन्न । गहन र मसिनो छलफल गरी उपयुक्त निर्णय गर्नुपर्छ । त्यो नहुँदा गुणात्मक नीति र कानुन बनाउन हामीले ध्यान दिएका छैनौँ भन्ने लाग्छ । प्रत्येक सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन हो तर भ्रष्टाचार किन नियन्त्रण हुन सकेन ? भ्रष्टाचार भनेको मनोवृत्ति हो । अन्त्यन्त सम्पन्न मुलुकका नेता र नेतृत्व पनि भ्रष्टाचारमा मुछिएको देखिन्छ । यो पैसाको लेनदेन मात्रै पनि होइन, नीतिगत भ्रष्टाचार पनि धेरै छ । यो पाप र लोभसँग सम्बन्धित छ । लोभी मनोवृत्ति भएका मानिस पाप गर्न पुग्छन् । भ्रष्टाचार प्रणालीगत रूपमा संस्थागत भएको प्रतिवेदन र सेवाग्राहीले बताइरहेका छन् । तलदेखि माथिसम्म कमिसनतन्त्र मौलाउँदो छ । अर्कातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीले पनि भ्रष्टाचारलाई बढाउने काम भइरहेको छ । निर्वाचनमा विभिन्न शक्ति, व्यक्ति र प्रवृत्तिले खर्च गरिरहेका हुन्छन् । हालको निर्वाचन प्रणालीले पार्टीलाई पैसा चाहिने अवस्था सिर्जना गरेको छ । त्यसका लागि उद्योगी, व्यापारीबाट चन्दामार्फत खर्च जुटाइन्छ । चन्दा लिने र दिने भएपछि नेताहरू दबाबमा पर्छन् । त्यो भएर हामीले प्रत्यक्ष निर्वाचन हटाएर समानुपातिकमा जाऔँ भनिरहेका छौँ । यसले समावेशीतालाई पनि सुनिश्चित गर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाऔँ । सांसदबाट मन्त्री नबनाउने, स्वच्छ छवि भएका व्यक्तिलाई लैजाने व्यवस्था हुनुपर्छ । सरकारलाई स्थायित्व दिऔँ, भ्रष्टाचारलाई स्रोतमै रोकौँ भनेर संविधानसभामा म धेरै कराएँ । अहिले अभ्यासमा रहेको शासन प्रणाली ‘कक्टेल’जस्तो भयो, निर्वाचन पनि ठिमाहा बनाइयो । मिश्रित निर्वाचन प्रणाली विकृतिपूर्ण छ । यसले लेनदेनको अवसर गराउँछ । अब पूर्ण समानुपतिक प्रणाली अवलम्बन गर्नुपर्छ । नेपालीले संसारमै विश्वासिलो छवि बनाएका छन् तर यहाँको राजनीतिप्रति अविश्वास किन ? बेरोजगारी समस्या र रोजगारीको अभावले पनि विदेश जाने युवा-विद्यार्थीको सङ्ख्या बढेको छ । आजको संसार विज्ञान, प्रविधि, यातायातका हिसाबले जोडिएर एउटा गाउँ र परिवारजस्तो भएपछि आवतजावत बढ्यो । अहिले जो जहाँ पनि पुग्न सक्ने अवस्था बन्यो । विकसित मुलुकमा न्यूनतम तलब-सुविधामा काम गर्ने श्रमिकको अभाव भयो । उनीहरूले हाम्रा मानिसलाई रोजगारी दिन थाले, अर्कातर्फ हाम्रो अर्थतन्त्र पनि कमजोर भयो । तुलनात्मक रूपमा विदेश गएकाहरूले बढी पैसा ल्याउन थाले । त्यो व्यक्ति गाउँमा जाँदा फुर्तीफार्ती बढ्यो, अनि अरू पनि त्यसबाट लालायित हुन पुगे । ‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने मनोवृत्ति मौलाउँदै गयो । अनि ठूलो संख्यामा युवा-विद्यार्थी विदेश दौडन थाले । त्यसलाई रोक्न मनोवैज्ञानिक रूपमा देशप्रेम भर्नुपर्छ । अवसर यहीँ सिर्जना गर्नुपर्छ, अर्थतन्त्र सुदृढ गर्नुपर्छ । राज्य व्यवस्थाभित्रको ढिलासुस्ती, भ्रष्टाचार तथा सेवाग्राहीलाई हेप्ने र दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ । स्वदेशका विश्वविद्यालयले समयमै अध्ययन-अध्यापन गराउने, परीक्षा लिने व्यवस्था गर्नुपर्छ, राष्ट्रभक्ति दिने शिक्षा दिलाउनुपर्छ । त्यो अनुभूति गराउनुपर्छ । तर यहाँ मुड्की बजाएर नेता हुने प्रवृत्ति छ । अब्बल विद्यार्थी नेता हुने अवस्था अहिले देखिन्न । गुण्डागर्दी गर्ने, तालाबन्दी गर्ने, प्राध्यापक कुट्ने नेता हुने प्रवृत्ति छ । त्यसो भएर असल र मेहनतीको विदेश पलायन बढेको हो । एउटा व्यक्तिले सङ्कल्प गरेमा देशको विकास सम्भछ भन्ने छिमेकी मुलुकहरुको प्रगतिबाट प्रष्ट हुन्छ । तपाईंबाट पनि जनताले त्यही आशा गरेका छन् । के भन्नुहुन्छ ? मलेसिया र सिङ्गापुरको जस्तो उदाहरण विद्यमान शासन प्रणालीबाट नेपालमा एउटा व्यक्तिले गर्न र दिन सक्ने अवस्था छैन । राष्ट्रपतीय प्रणालीमा जाँदा आफूअनुकूलको मन्त्रिमण्डल बनाउन सकिन्छ । त्यस प्रणालीका आधारमा मात्र एउटा सज्जन, इमान्दार व्यक्तिको छनोट भएमा मुलुक बन्ने आधार तयार हुन्छ । अहिलेको प्रणालीमा एउटा नेता जतिसुकै सज्जन भए पनि केही लाग्दैन । खुट्टा तानेर लडाइदिन्छन् । शासकीय स्वरूपमा परिवर्तन गर्नैपर्छ । स्थानीय तहलाई पार्टी बाहिर राख्नुपर्छ । स्थानीय सरकारलाई सेवाग्राहीलाई सेवा उपलब्ध गराउन र विकास निर्माणमा संलग्न गराउनुपर्छ । अन्त्यमा, केही भन्नुछ ? मतदाताले पनि मुलुकलाई सही ढङ्गले मार्गनिर्देश गर्न सक्ने नेतृत्व रोज्नुपर्छ । जनताले खोजिरहेको विकल्प उनीहरूको चाहनाअनुसारको नपर्ने हो कि भन्ने मलाइ लागेको छ । निरास नै हुनुपर्ने अवस्था छैन । मुुलुकले चाहेको जस्तो नेता मतका माध्यमबाट जन्माउनुपर्छ । त्यो क्षमता जनतामा छ । ती नै सर्वशक्तिमान् छन् । चित्त नबुझेका नेता र पार्टीलाई फालिदिने शक्ति उनीहरूमा छ । उनीहरूले त्यो अस्त्र प्रयोग गर्न सक्नुपर्छ ।

साधना र सबैको लघुवित्त मर्जरमा जाने, गरे अन्तिम सम्झौता

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । सो प्रयोजनको लागि दुई संस्थाबीच बैशाख १२ गते साँझ अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सन् २०१७ अक्टोबर ३० देखि सञ्चालनमा आएको साधना लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ छ । त्यस्तै, सन् २०१७ जुलाई १४ देखि सञ्चालनमा आएको सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ छ । साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा जिल्लाको हरमटारीमा रहेको छ भने सबैको लघुवित्तको तनहुँको डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको छ ।

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार ७ सय रुपैयाँको लागतमा संघीय सरकारले ती पुल निर्माण गर्न लागेको हो । रुकुम पश्चिम आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तल्नुबगर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङ, सोही पालिकाको वडा नं १ छलगाडमा पक्की पुल बन्न लागेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायले बताए । चितवन भरतरपुरस्थित वाइपी, एमआर जेविले निर्माणको जिम्मा लिएको तीनवटै पुल ४२ महिनभत्र पूरा गर्ने सम्झौता भएको छ । तल्नुबगरमा पुल निर्माण सुरु भइसकेको र खदाङ र छलगाड खोलामा केही महिनाभित्रै काम थालिने निर्माण कम्पनीले जनाएको छ । छलगाड खोलमा निर्माण हुने पुलको वातावरणीय प्रभाव मूल्यांकनबारे सार्वजानिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । सुनुवाइका क्रममा त्रिपुराकोटका स्थानीयले तल्नुबगर र रूपगाड खोलमाजस्तो पुल निर्माणमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराएका थिए । सार्वजनिक सुनुवाइ भए पनि आयोजनाका वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अझै स्वीकृत नभएको बताइएको छ ।

अर्बौं लगानीमा एकै वर्ष खुले दर्जन बढी तारे होटल

काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या बढ्दै जान थालेपछि तारे स्तरका होटल दर्जनभन्दा बढी थपिएका छन् । यसले होटल उद्योगमा उल्लेख्य परिमाणमा लगानी बढ्न थालेको पुष्टि गर्छ । बढी पैसा खर्च गर्ने ‘क्वालिटी’ पर्यटक लक्ष्य गर्दै थपिएका यस्ता तारे होटलले पर्यटन क्षेत्रमा उत्साहको सञ्चार गराएको व्यवसायी बताउँछन् । सन् २०२३ मा एकै वर्ष एक दर्जनभन्दा बढी तारेस्तरका होटल थपिएका हुन् । यी होटलमा अर्बौं रुपैयाँबराबर लगानी भएको छ । पर्यटन विभागका अनुसार २०२३ मा १३ वटा तारे होटल थपिएका छन् । यिनमा एकदेखि पाँचतारे स्तरसम्मका छन् । २०२३ मा होटल उद्योगमा राम्रो परिमाणमा लगानी थपिएको होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् । ‘यस उद्योगमा पछिल्लो एक वर्षमा थपिएको होटल संख्या र लगानीले पर्यटन क्षेत्रमा उत्साहको सञ्चार गराएको छ,’ शाहले विकासन्युजसँग भने, ‘यसबाट हामीले बढिभन्दा बढी क्वालिटी टुरिस्टलाई सेवा दिन थप सहज हुनेछ ।’ पर्यटन बोर्डको तथ्यांकअनुसार २०२३ मा १० लाख १४ हजार ८ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अर्को वर्ष दोब्बर संख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । पर्यटक नेपाल घुम्न आउने सन्दर्भमा नेपाल २०१९ कै तहमामा आइसकेको अध्यक्ष शाह बताउँछन् । त्यस वर्ष करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । ‘नेपालमा पर्यटक आगमन वृद्धि हुनु, तारेस्तरका होटलहरू धमाधम खुल्दै जानु, होटलहरूमा राम्रो बुकिङ भएकाले हामी उत्साहित र सकारात्मक दुवै छौं,’ शाहले भने, ‘हाम्रो होटल क्षमता वृद्धि भएर गयो, तर पर्यटक ल्याउन सक्ने क्षमता भने अझै वृद्धि भएन ।’ नेपालका होटलले ३० देखि ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता बनाएको अध्यक्ष शाह बताउँछन् । ‘नेपाली आतिथ्य उद्योगको क्षमता ३५ लाखको भइसकेको छ,’ उनले भने, ‘हाम्रो क्षमता त भयो, तर यो क्षमतालाई कसरी परिपूर्ति गर्ने भन्ने पनि महत्वपूर्ण छ ।’ अहिले नेपालमा जति पनि ठूला लगानीका होटल, रिसोर्ट थपिएका छन् र अझै थपिने क्रममा रहेका छन् तिनलाई कसरी चलायमान बनाउने र तिनबाट प्रतिफल कसरी लिने भन्नेमा सरकारले पनि ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘सरकारले सन् २०२३ सम्म ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यो लक्ष्य पूरा गर्न हाम्रा पूर्वाधार छन् कि छैनन् भन्ने हेर्नुपर्यो,’ उनले भने, ‘२०२३ मा काठमाडौंको विमानस्थलले १० लाख पर्यटक ल्यायो, हाम्रो क्षमता ३५ लाखको छ, त्यो क्षमताको एक तिहाइ मात्रै उपयोग भयो । निजी क्षेत्रले आफ्नो तर्फबाट पूर्वाधार बलियो बनाइसक्यो अब पालो सरकारको हो ।’ उनका अनुसार विमानस्थल र बाटोघाटो मात्रै बलियो हुने हो भने नेपालले पर्यटनबाट मनग्य आम्दानी गर्न सक्छ । अहिलेसम्म देशैभरि होटल, लज, रिसोर्ट, होमस्टेलगायत गरेर झन्डै १० हजार बेड पर्यटकीय स्तरका उपलब्ध रहेको शाह बताउँछन् । दिनमा १० हजार पर्यटक आउँदा पनि सेवा दिन सक्ने उनको भनाइ छ । नेपालको होटल उद्योगमा हालसम्म करिब १५ खर्ब रुपैयाँ हाराहारीमा लगानी भइसकेको हानको तथ्यांक छ । सरकारले २२ वटा पाँचतारे होटलको लाइसेन्सिङ गरेको छ भने अर्को वर्षसम्म १८ देखि २० वटा पाँचतारे होटल थपिने क्रममा रहेको शाह बताउँछन् । ‘हामीसँग अर्को दुई वर्षमा ४०–४२ वटा पाँचतारे होटल हुन्छन्,’ उनी भन्छन्, ‘यो खुलिरहेका होटल क्वालिटी टुरिस्ट लक्ष्य गरेर खोलिएका हुन्, यो निजी क्षेत्रको प्रयास हो, अब सरकारका तर्फबाट हुनुपर्ने प्रयास आवश्यक छ । क्वालिटी टुरिस्टका लागि हाम्रो सर्भिस पनि क्वालिटी हुनुपर्छ ।’ यस्तै नेपाल पर्यटन बोर्ड निर्देशक मणिराज लामिछाने देशमा तारे होटल बढ्नु भनेको समृद्धि आउनु भएको बताउँछन् । नेपालमा पर्यटक संख्या बढिरहेका बेला तारेस्तरका होटलमा पनि वृद्धि हुनुले अन्तर्राष्ट्रिय बजारमा पनि सकारात्मक सन्देश पुग्ने उनको विश्वास छ । उनका अनुसार पहिला तारे होटल भन्नासाथ विदेशी पर्यटक मात्रै जाने भन्ने थियो । तर, अहिले तारे होटलमा विदेशी पर्यटक मात्रै जाने भन्ने भाष्य बदलिएको उनी बताउँछन् । ‘अहिले विदेशीमात्रै होइनन् नेपाली पनि तारे होटलमा खर्च गर्न सक्ने छन्,’ उनी भन्छन्, ‘पछिल्लो समय मध्यम वर्गीय र उच्च मध्यम वर्गीय पनि तारेस्तरका होटलमा पाहुना बन्न थालेका छन्, यसलाई पनि सकारात्मक रूपमै लिन सकिन्छ ।’ अहिले देशभरि तारेस्तरका होटल तथा रिसोर्टहरू धमाधम खुल्नुले क्वालिटी पर्यटकको आगमनमा पनि वृद्धि हुँदै गएको बुझाउने निर्देशक लामिछानेको भनाइ छ । अहिले नेपालमै पनि विवाह तथा अन्य समारोहका लागि तारे होटल मानिसहरूको रोजाइमा पर्न थालेका छन् । अहिले सानादेखि ठूला कार्यक्रम पनि तारे होटलमै आयोजना हुन्छन् । नेपालमा तारे होटल वृद्धि हुनु आन्तरिक र वाह्य दुवैका लागि फाइदाजनक देखिने निर्देशक लामिछाने बताउँछन् । अब २०२३ मा कहाँ–कहाँ कस्ता होटल थपिए त ? यसबारे विस्तृतमा चर्चा गरौं । पाँचतारे होटल वर्णवास संघीय राजधानी काठमाडौंको बालुवाटारमा लक्जरियस पाँचतारे बुटिक होटल वर्णवास सञ्चालनमा आएको छ । होटलमा कुल ४८ वटा कोठा छन् । यो होटल निर्माणमा १ अर्ब ३१ करोड रुपैयाँ लगानी भएको छ । व्यवसायी तथा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको लगानीमा होटल सञ्चालनमा आएको हो । पाँचतारे होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालनमा आएको सिद्धार्थ भिलासा होटलले पाँचतारे स्तरको मान्यता पाएको छ । यो होटलमा ८५ वटा कोठा छन् । बाराही जंगल रिसोर्ट बाराही ग्रुपले चितवन मेघौलीमा लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको छ । बाराही जंगल भिल्लैभिल्ला रहेको रिसोर्टमा ३५ कोठा छन् । सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट कपिलवस्तु चन्द्रौटामा चारतारे होटल सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट सञ्चालनमा आएको छ । यो होटलमा ६१ वटा कोठा छन् भने यसको चुक्ता पूँजी १५ करोड रुपैयाँबराबर रहेको छ । चारतारे होटल रोम रिजेन्सी पर्यटन राजधानी पोखरामा खुलेको रोम रिजेन्सी चारतारे स्तरको होटल हो । यस होटलको चुक्ता पूँजी १५ करोड रुपैयाँ छ भने यसमा ६१ वटा कोठा रहेका छन् । चातारे होटल आइकावा इन चितवन सौराहामा चारतारे स्तरको होटल आइकावा इन सञ्चालनमा आएको छ । आइकावामा डिलक्स, सुपर डिलक्स, एक्जिक्युटिभ र प्रेसिडेन्सियल सुइट गरी ४ श्रेणीका कोठा छन् । होटलमा ६१ वटा कोठा रहेको छ । यसको पनि चुक्ता पूँजी १५ करोड रुपैयाँ छ । पाँचतारे होटल अकामा काठमाडौंको धुम्बाराहीमा रहेको अकामा होटल पाँचतारे स्तरको हो । यो होटलमा १ सय ८ कोठा छन् । दुईतारे होटल द मायसा काठमाडौंमा सञ्चालनमा आएको मायसा होटल दुईतारे स्तरको होटल हो । यस होटलमा ४१ वटा कोठा रहेका छन् । दुईतारे होटल सनसेट भ्यु काठमाडौं बानेश्वरमा रहेको सनसेट भ्यु होटल दुईतारे स्तरको होटल हो । यस होटलमा २१ वटा कोठा रहेको छ । दुईतारे होटल हिमालयन होराइजन काभ्रेपलान्चोक धुलिखेलमा रहेको होटल हिमालयन होराइजन दुईतारे स्तरको होटल हो । यस होटलमा ४८ वटा कोठा रहेका छन् भने यस होटलको चुक्ता पूँजी ३ करोड रहेको छ । एकतारे होटल फरेस्ट इन काठमाडौं बूढानीलकण्ठमा रहेको होटल फरेस्ट इन एकतारे स्तरको होटल हो । यो होटलको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ भने होटलमा कोठा संख्या २० रहेको छ । एकतारे होटल रूपम कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालनमा आएको होटल रूपम एकतारे स्तरको होटल हो । यो होटलको चुक्ता पूँजी २ करोड रुपैयाँ छ । यस होटलमा २१ कोठा रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार २०२३ मा झन्डै २ सय नयाँ होटल थपिएका छन् । तिनमा तारेस्तरका नयाँ ९ होटल थपिएका छन् भने तारेस्तर नभएका १ सय ८८ वटा नयाँ होटल छन् । प्रतिवेदनअनुसार २०२२ मा मुलुकमा तारे होटलको संख्या १ सय ७३ थियो । एक वर्षपछि २०२३ मा बढेर १ सय ८२ पुगेको छ । तारेस्तर नलिएकातर्फ २०२२ मा १ हजार २ सय २८ थियो भने २०२३ सम्म आइपुग्दा १ हजार ४ सय १६ पुगेको छ । ती सबै र नयाँ बनेका होटलमा रुम संख्या पनि राम्रै बढेको छ । २०२२ मा तारे र तारेस्तर नभएका होटल दुवैमा गरी ५३ हजार ३ सय ६५ रुम थियो । एक वर्षपछि २०२३ मा आइपुग्दा ५४ हजार ३ सय ७० पुगेको छ । यो भनेको नयाँ १ हजार ५ रुम थपिएको हो ।

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् । पहिलोपटक चैते धानको खेती गरेकी बैजनाथ गाउँपालिका–६ की किसान गीता खत्रीले चैते धानको खेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताइन् । उनले बर्खे धान खेतीभन्दा चैते धान खेतीमा बढी मिहिनेत गर्नुपर्ने र उक्त धान खेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गरिन् । यद्यपि, उनले मनग्य उत्पादन हुनेमा आफू ढुक्क भएको बताइन् । करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानको खेती गरेकी खत्रीले बीउको ब्याड राख्न नजानेर समस्या झेल्नुपरेको बताइन् । कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षदेखि चैते धानको खेती सुरु गरेको जानकारी दिए । उनले चैते धान खेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते ५ जातको चैते धानको खेती भएको बताए । उनले भने, ‘चैते धान लगाउन किसानले झन्झट मानेका कारण कतिपय सिँचाइको सुविधा भएको ठाउँमा मकै खेती पनि गरेका छन् ।’ बागवानी अधिकृत यादवले अहिले चैते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै बर्खे धानलाईजस्तै प्रशस्त पानी नचाहिने बताए । कृषि ज्ञान केन्द्रका अनुसार केही किसानले आफ्नै लगानीमा र केहीले कृषि अनुसन्धान केन्द्र खजुराले दिएको बीउबाट गरी कूल ४० हेक्टर क्ष्जमिनमा चैते धानको खेती गरेका छन् । यस वर्ष जिल्लाको बैजनाथ गाउँपालिका–८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका–३ को सूर्य, लालपुर्जा, वनकट्टि, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका–२ को के गाउँमा चैते धानको खेती भएको छ । साथै गाउँपालिकामा स्थापना भएका कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरिएको छ ।

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१र०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा भेला गराएका थिए । अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन भनेका पौडेलले राजनीतिक अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको बताए । उनले हल्लाहरूको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नहरेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताए । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गरे । ‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरूले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो’, पौडेलले भने, ‘संसदमा कसैको पनि एकल बहुमत छैन । यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ । त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन । ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ ।’

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८ सय ५ कित्ता सेयर लिलामीमा राखेको हो । यस सेयरमा विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा  लेख्नुपर्छ । लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै एनआईसी एशिया बैंकका शाखा कार्यालय विराटनगर, मोरङ, आदर्शनगर, वीरगञ्ज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगरमा पेस गर्नुपर्नेछ । संस्थाले उक्त सेयर यसअघि संस्थापकहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेको जनाएको छ ।