नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन् : राजदूत ढकाल
काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । अरब मुलुकबाट राष्ट्र प्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिकरुपमा सम्पन्न मुलुकको अमिरबाट भएको नेपाल भ्रमणलाई ऐतिहासिक रुपमा अथ्र्याइएको छ । भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण सहमति एवं समझदारी पनि भएका छन् । कतारको अमिरको नेपाल भ्रमणको पर्दा पछाडि रहेर कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनी दुई वर्षदेखि कतारका लागि नेपाली राजदूतका रुपमा क्रियाशील छन् । कतारका अमिरको नेपाल भ्रमण, भ्रमणका उपलब्धिलगायत विषयमा कतारका लागि नेपाली राजदूत ढकालसँग गरेको कुराकानीको सम्पादित अंशः हालै कतारका राजाको नेपाल भ्रमण सम्पन्न भएको छ । कतारको अमिरको भ्रमण मध्यपूर्व एसियाबाटै हालसम्मको उच्चस्तरको हो । कतारका लागि नेपाली राजदूतका रुपमा यहाँले पर्दापछाडि के–के तयारी गर्नुभयो ? प्रत्येक राजदूतले आफ्नो नियुक्तिको सिफारिसपछि संसदीय समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुपर्ने हुन्छ । मैले समितिमा प्रस्तुत गरेको कार्ययोजनामा १३ योजनामध्ये दोस्रो नम्बरमा कतारको अमिरको नेपाल भ्रमणको गराउँछु भन्ने थियो । तत्पश्चात कतारमा नेपाली राजदूतका हैसियतले मैले पदभार ग्रहण गरेँ । त्यसपछि कतारका अमिरसँग ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा उहाँसँग नेपाल भ्रमणको सन्दर्भ उठान गरेँ । त्यतिबेला उहाँले आफू फिफा विश्वकप २०२२ का कारण अत्यन्त व्यस्त रहेको र २०२३ मा उपयुक्त समय पारेर नेपाल भ्रमण गर्ने जवाफ दिनुभएको थियो । त्यसपछि म निकै नै उत्साही भएँ । दुई वर्षका अवधिमा मैले पाँच पटक कतारको अमिरसँग भेटवार्ता गर्ने अवसर पाएँ । कतारमा अमिरले २०२३ भित्र नेपालको भ्रमण गर्ने विषय प्रथम चरणको भेटमा नै आश्वासन दिनुभएको थियो । त्यसैअनुसार २०२३ को नोभेम्बर ६–७ मा अमिरले नेपाल भ्रमण गर्ने मिति तय भयो । विशेष कारणले निर्धारित मितिमा भ्रमण हुन नसके पनि त्यसको करिब छ महिनाभित्र यो भ्रमण सम्भव भयो । कतारका अमिरको नेपालको दुईदिने भ्रमण कति उपलब्धिपूर्ण रह्यो ? अरब मुलुकबाट प्रायःजसो राष्ट्रप्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिक रुपमा सम्पन्न मुलुकको अमिरबाट नेपालको भ्रमण हुनु आफैँमा ऐतिहासिक विषय हो । यस भ्रमणबाट हामीले धेरै अपेक्षा पनि गरेका छौँ । यद्यपि, तत्काल हेर्दा केही समझदारीमा हस्ताक्षर भएको देख्दा कसैले कम आँकलन गर्न पनि सक्नुहोला । तर यसको ऐतिहासिक महत्व छ । यस भ्रमणले अन्य अरब मुलुकका राष्ट्र प्रमुखलाई नेपालमा भ्रमण गर्ने प्रेरणा प्रदान गरेको छ । हामीले नेपालसँग फरक ढङ्गले द्विपक्षीय सम्बन्ध विकसित गर्नुपर्छ भन्ने सन्देश दिएको छ । कतारमा रहेका नेपालीलाई अन्य मुलुकका नागरिकले हेर्ने दृष्टिकोणमा व्यापक प्रभाव परेको छ । अमिरले रुचाएको र भ्रमण गरेको मुलुक र त्यो देशका नागरिक भनेर नेपाली नागरिकलाई हेर्ने दृष्टिकोणका ठूलो परिवर्तन आउँछ । त्यसकारण अमिरको नेपाल भ्रमण महत्व आफैँमा शब्द, अङ्क, तथ्याङ्कमा विश्लेषण गरेर देखिने नभई आत्मसात गर्ने र यसको परिणाम तत्काल देखिने भएकाले मैले यसलाई अत्यन्त ठूलो महत्वका साथ हेरेको छु । कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच द्विपक्षीय भेटवार्तापछि नेपाल र कतारबीच विभिन्न आठ वटा सहमति र समझदारीमा हस्ताक्षर भएका छन् । यी समझदारी कति पूर्ण छन् ? हाम्रा आवश्यकता अलग खालका थिए । आपसी समझदारीपत्रमा हस्ताक्षर हुँदा हाम्रो आवश्यकताभन्दा फरक भयो कि भन्ने महसुस सबै हुन सक्छ । यो स्वभाविक हो । सहमतिको बुँदा हेर्दा के देखाउँछ भनेर हे¥यो भने साँधुरो छ । भित्री कुरा के हो भनेर हेर्दा आठ वटा समझारीले व्यापक क्षेत्र ओगटेको छ । यसका कारण यो आफँैमा यसले व्यापकता ओगटेकोे छ । यसको परिणाम हेर्न हामीले व्यापक तयारी गर्नुपर्छ । द्विपक्षीय भेटवार्ताका क्रममा कतारका अमिर र प्रधानमन्त्रीबीच सहकार्यमा सहजीकरण गर्न संयुक्त कार्यदल बनाएर जाने सहमति भएको छ । उक्त कार्यदलले कहिलेसम्म मूर्त रुप लिन्छ र कुन कुन क्षेत्रमा काम गर्छ ? भेटमा प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको उडान होस् भन्ने कुरा राख्नुभएको थियो । नेपालले पर्यटन, कृषि र ऊर्जालाई प्राथमिकता दिएको अवस्था छ । कतार राजा अमिरले पनि यही विषयमा सम्भवानाको खोजी र अनुसन्धान गरेर त्यसका आधारमा लगानी गर्नका लागि संयुक्त कार्यदल बनाएर अघि बढ्ने बताउनुभयो । कतारका अमिरको भ्रमण भर्खरै सम्पन्न भएको छ । म पनि केही समयमा कतार फर्किदैछु । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको बारेमा सकेसम्म छिटो काम थाल्नेछौँ । त्यसका लागि नेपाल आएको कतारी प्रतिनिधिसँग हामी चाँडै नै बैठक बस्नेछौँ । उच्चस्तरीय कार्यदल बनाउनका लागि मेरो प्रयत्न बलियो हुनेछ । तर यसमा मेरो प्रयत्न पर्याप्त समेत नहुन सक्छ । राजा अमिर स्वयंम्ले बोल्नुभएका कारण पनि यसले विशेष महत्व राख्छ । उक्त कार्यदलले कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा हाम्रो अपेक्षाअनुसार लगानी भित्राउनेमा विश्वस्त छु । नेपाल र कतारबीच लगानी सुरक्षासम्बन्धी सम्झौता भएको छैन । निजी क्षेत्रका लगानीकर्ताले आफ्नो लगानीको नाफा लैजान चाहन्छन् । त्यसका लागि पनि हामी गम्भीर रुपमा छलफल गर्छौँ । भर्खरै कतारी राजाको भ्रमण सकिएको छ । अब नेपालबाट पनि कतारमा उच्चस्तरीय भ्रमणको निरन्तरताका लागि प्रयत्न गरिरहन्छौँ । यसलाई टुङ्गोमा पुर्याएरै छाड्छौँ । नेपालले कतारसँगको श्रम सम्झौता पुनरावलोकन होस् भन्ने चाहेको थियो । तर यो विषय टुङ्गोमा पुग्न नसक्नुको कारण के होला ? नेपाल र कतारबीच श्रम सम्झौता भएको १८ वर्षसम्म पुनरावलोकन भएको छैन । हाम्रो पनि जोड उक्त सम्झौतालाई समयानुकूल बनाउन परिमार्जन गर्नुपर्छ भन्ने नै थियो । पछिल्लो समय उक्त विषयलाई नेपाल र कतारका तर्फबाट विश्लेषण गर्दा हामीले के भन्यौँ भने कतारले घरेलु कामदारको माग गरिरहेको अवस्थामा घरेलु कामदार लैजाने विषयलाई पनि श्रम सम्झौतामा समेटेर जानुपर्छ । अन्य क्षेत्रका श्रमिक र घरेलु श्रमिकको कामको प्रकृति धेरै अन्तर छ । घरेलु श्रमिकले झण्डै १८ घन्टा काम गर्नुपर्छ । लामो समय काम गर्दा पारिश्रमिक पनि सोही अनुसार तोकिनुपर्छ । घरेलु श्रमिकको खाने, बस्ने तथा सुरक्षाको सवाललाई घरबाहिर काम गर्ने श्रमिकसँग तुलना गर्न मिल्दैन । नेपालका तर्फबाट घरेलु कामदारका विषयलाई हतारमा नगरी दीर्घकालीन समाधान खोजेर जानुपर्छ भनेर अडान छाडेका छैनौँ । उक्त सम्झौता पुरानो भइसक्यो । अहिलेको बजार मूल्य धेरै माथि भइसक्यो । श्रमिकको आधारभूत पारिश्रमिक परिमार्जन गर्नुपर्छ भन्ने विषय नेपालले राखिराखेको छ । कतारका तर्फबाट हेर्दा त्यहाँ नेपालको मात्रै नभई अन्य मुलुकको श्रमिक पनि ठूलो सङ्ख्यामा काम गरिरहेका छन् । कतारको श्रम कानुन निकै राम्रो छ । श्रम कानुनले कुनै पनि मुलुकका श्रमिकलाई कुनै विभेद् गरेको छैन । कतारमा आठ लाख बढी भारतीय, चार लाख बङ्गलादेशी, तीन लाख ५० हजार बढी नेपाली र त्यत्तिकै सङ्ख्या फिलिपिनी श्रमिक छन् । त्यसकारण कतारले नेपालसँग गरेको सम्झौताका आधारमा कतारमा काम गर्दै आएका सबै श्रमिकलाई त्यहीअनुसार सुविधा दिनुपर्छ । त्यसकारण एउटा देशले मात्रै श्रमिकको आधारभूत पारिश्रमिक टुङ्ग्याएर नहुने भए पनि नेपालका तर्फबाट निरन्तर यस विषयलाई छलफल गरेर एउटा समझदारीमा पुग्ने गरी अहिलेलाई छलफलकै क्रममा राखिएको छ । तर हामी आशा गरौँ, श्रम सम्झौता परिमार्जन दुवै देशको आवश्यकता हो । जतिसक्दो चाँडो हामी यसलाई निष्कर्षमा पुर्याउँछौँ । यसमा केही समय निर्धारण गर्न सकिन्छ कि ? यो छलफलकै विषय हो । कतारलाई घरेलु कामदार चाहिएको छ । घरेलु कामदारका माग उच्च भएका कारणले चाँडो लैजाने भन्ने छ । किनकी नेपालीहरु इमान्दार छन् । नेपाली श्रमिकमा काममा जतिसुकै कठिनाइ भए पनि ‘मुस्कान’ सहितको सेवा दिन सक्ने क्षमता छ । नेपाली श्रमिकमा थकाइको महसुस छैन । त्यसैले कतारले नेपाली नागरिकलाई चाहेको छ । कतारको आवश्यकता भएको र बेरोजगार नेपाली युवाले रोजगारी पाउने भएकाले मिति नै किटान गरेर यति समयभित्र हुन्छ त भन्न सकिँदैन । यद्यपि, छिटो गर्नका लागि हामी दुवै पक्ष प्रयत्नरत रहनेछौँ । घरेलु महिला श्रमिकको सुरक्षाको सुनिश्चितता नभएको भन्दै संसदीय समितिको निर्देशनमा सरकारले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । श्रम सम्झौतामा घरेलु काममा जाने महिला श्रमिकको सुरक्षाको प्रत्याभूति कसरी गर्न सकिन्छ ? अवैधानिक बाटोबाट गएका बाहेक, अहिलेसम्म वैधानिक रुपमा त्यहाँ घरेलु श्रमिक महिला हुनुहुन्न । वैधानिक हिसाबले नयाँ बाटो अवलम्बन गर्दैछौँ । त्यसका लागि मैले दुई जना पूर्व श्रममन्त्रीसँग पनि छलफल गरेको छु । वर्तमान श्रम मन्त्रीसँग पनि यस विषयमा छलफल गरिरहेका छौँ । मेरो प्रस्ताव के हो भने कुनै पनि महिला कामदारलाई लगियो भने उहाँलाई मोबाइल फोन उपलब्ध गराउने प्रावधान राख्नुपर्छ । मोबाइल फोनमा एउटा ‘एप्स’को सहायताले सामान्य पढलेख गरेका व्यक्तिले समेत ‘हो’ र ‘होइन’ को उत्तर दिन सक्ने गरी उक्त व्यक्तिको अवस्थाबारे जानकारी लिने संयन्त्रको प्रयोग गर्न सकिन्छ । उक्त एप्सबाट उक्त व्यक्तिलाई सोधिएने प्रश्नमा मासिक रुपमा पारिश्रमिक पाएको छ, छैन रु कुनै किसिमको मानसिक तनाव दिइएको छ वा छैन रु भन्ने प्रश्नहरुसहितको रिपोर्ट दूतावास र कतार सरकारको निश्चित निकाय सन्देश जाने व्यवस्था गर्न सकिन्छ । यदि दुवैतर्फ सन्देशमा कुनै पनि समस्या देखिएमा दुवै सरकारबीचको प्रतिनिधिले समाधान गर्ने बाटोमा जानुपर्छ भनेर निरन्तर पहल गरिरहेको छु । पारिश्रमिकको कुरा अत्यन्त महत्वपूर्ण छ । अहिले सरकारले तल्लो तहमा काम गर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक एक हजार रियाल तोकेको छ । तीन सय रुपैयाँ खानाको पर्न आउँछ, पाँच सय रुपैयाँ आवासका लागि छ । आवासीय हिसाबले रोजगारदाता आफैँले व्यवस्था गर्दै आएका छन । पाँच सय रुपैयाँमा आवास पाइँदैन त्यहाँ न्यूनतम् पनि आवासका लागि पाँच हजार पर्न आउँछ, महँङ्गो पर्न आउँछ । यही हिसाबले घरेलु श्रमिकलाई एक हजार हिसाबले पारिश्रमिक दिएर काम गराउनु हुँदैन । कम्तिमा पनि दुई हजार हुनुपर्छ भन्दै आएका छौँ । हाम्रो नागरिकले दुःख नपाउन भनेरै हामी यसमा गम्भीर छौँ । दक्षिण कोरिया र इजरायलमा जाने नेपाली श्रमिकले अन्य मुलुकका तुलनामा धेरै पारिश्रमिक पाउने गरेका छन् । कतारमा रहेका नेपाली श्रमिकको पारिश्रमिक बजार मूल्यअनुसार परिमार्जन हुन नसक्नु कमजोरी होइन र ? यो मेरो एकल प्रयत्नले सम्भव हुने कुरा हैन । अन्य देशका श्रमिकले पनि कतारमा समान पारिश्रमिकमा काम गरिरहनुभएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले पटकपटक बैठक राख्ने गरेको छ । त्यसमा हामी विभिन्न देशका प्रतिनिधिहरुले बजार मूल्यअनुसार पारिश्रमिक वृद्धिका लागि एक स्वरमा आवाज उठाउँदै आएका छौँ । अन्तरराष्ट्रिय श्रम बजारअनुसार पारिश्रमिक कायम गर्नुपर्नेमा जोड दिंदै आएका छौँ । मलाई खड्किएको अर्को विषय भनेको श्रमिकको मृत्यु पनि हो । वर्षेनी एक डेढ सय श्रमिकको मृत्यु भइरहेको हुन्छ । अधिकांश नेपाली श्रमिक कोठामा बसिरहेको समयमा वा अन्य कुनै ठाउँ अथवा कार्यालय/कामको समय बाहिर मृत्यु भएको देखिन्छ । त्यहाँ २४ घन्टे बीमाको व्यवस्था छैन । हामी श्रमिकको २४ सै घण्टा जीवन बीमाका लागिपरेका छौँ । कतारका अमिरको भ्रमणका क्रममा दुबै देशका समाचार समिति रासस र क्युएनएबीच समाचार आदानप्रदान गर्ने सहमति भएको थियो । यसलाई कसरी हेर्नुहुन्छ ? राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए)बीच समाचार सामग्री आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दुबै देशका लागि यो अत्यन्त महत्वपूर्ण कुरा हो । यसले दुई देशको सम्बन्धलाई जनस्तरमा दरिलो बनाउँछ । राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत विभिन्न सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज भई दुबै देशका जनता लाभान्वित हुनेछन् । यसले एकअर्काबीच सूचना आदानप्रदान हुने वातावरण बन्छ । अब कार्यान्वयन महत्वपूर्ण कुरा हो । अब हामी यसमा जुट्नुपर्छ । यसका लागि आवश्यक सहजीकरण गर्न म तयार छु । अमिरको भ्रमणका अवसरमा नेपालले दुई वटा हात्ती उपहार दिने विषय चर्चामा थियो । तर यो विषयले छलफलमा प्रवेश पाएन नि ? कतारका तर्फबाट सन् २०१७, २०१८/२०२१ मा तीन पटक चिडियाघरमा राख्नका लागि हात्तीको अनुरोध भएको रहेछ । म राजदूतका रुपमा गइसकेपछि यससम्बन्धी कागजात हेरेर उक्त विषयलाई पुनः अगाडि बढायौँ । कतारका अमिर नेपाल आएको सन्दर्भमा हात्ती उपहार दिने बारेमा मैले राष्ट्रपति, प्रधानमन्त्री र वन तथा वातावरणमन्त्रीसँग पनि कुरा राखेको थिएँ । कतारका अमिरको भ्रमण हुँदा हात्ती उपहार दिने भन्ने उच्चस्तरमा कुराकानी भएपछि हामी त्यो प्रक्रियामा लाग्यौँ । हात्तीको जीवन्तताका लागि पुश चिकित्सकसहित वन मन्त्रालयको टोली नै कतार गएर वासस्थानको अवलोकन गरेको थियो । उहाँहरुले केही सुझाव पनि कतारी पक्षलाई दिनुभयो । कतारका तर्फबाट पनि त्यहाँको चिडियाघरको निर्देशकसहितको टोली आएर यहाँ अध्ययन गर्यो । त्यसपछि नेपालका तर्फबाट उपहारका रुपमा दुई हात्ती दिने समझदारी थियो । अहिले पनि नेपालले हात्ती नदिने भन्ने होइन तर अन्तर्राष्ट्रिय नियम कानुनको सबैले पालना गर्नुपर्ने भइएको हुनाले प्रक्रियागत हिसाबबाट बाँकी रह्यो । प्रक्रिया नटुङ्गिँदै पठाउँदा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुन्थ्यो । अब अन्तर्राष्ट्रिय कानुनको पालना गरेर कतारलाई हात्ती उपहार दिँदा खासै फरक नपर्ने हुँदा अहिलेलाई यो ‘पेन्डिङ’ छ । प्रक्रिया पूरा भएपछि नेपाल सरकारले एक जोडी हात्ती उपहारस्वरुप कतारलाई हस्तान्तरण गर्छ । रासस
विश्वका धेरै देशहरूमा प्रतिबन्धित छन् भारतीय फुड आइटम
भारत विश्वमा मसलाको सबैभन्दा ठूलो उत्पादक, उपभोक्ता र निर्यातकर्ता हो । तर, हाल सिंगापुर र हङकङले दुई भारतीय कम्पनी भरेस्ट र एमडीएचलाई मसला उत्पादनमा प्रतिबन्ध लगाएका छन् । ती कम्पनीका उत्पादनमा तोकिएको सीमाभन्दा बढी विषादी ‘इथिलिन अक्साइड’ भेटिएको आरोप छ । सरकारले यी दुई देशमा रहेका भारतीय दूतावाससँग यस विषयमा विस्तृत प्रतिवेदन मागेको छ । साथै, यस सम्बन्धमा दुवै कम्पनीसँग विवरण माग गरिएको छ । विश्वका धेरै देशमा धेरै भारतीय खाद्य वस्तु प्रतिबन्धित छन् । समोसा भारतको सबैभन्दा लोकप्रिय स्ट्रिट फूड समोसा पूर्वी अफ्रिकी देश सोमालियामा प्रतिबन्धित छ । सोमालियामा समोसा प्रतिबन्धित हुनुको कारण यसको त्रिकोणीय आकार हो । सोमालियाको कट्टरपन्थी इस्लामिक संगठन अल शबाबले यसलाई क्रिस्चियन धर्मको प्रतीकको रूपमा हेर्छ । यो देशमा समोसा बनाउने, किन्ने र खानेलाई पनि सजाय दिइन्छ । च्यवनप्राश च्यवनप्राशलाई भारतमा औषधीका रूपमा लिइन्छ । यो धेरै प्रकारका जडीबुटी र मसलाको मिश्रण हो । तर, च्यवनप्रास क्यानडामा प्रतिबन्धित छ । सन् २००५ मा क्यानडा सरकारले यसलाई प्रतिबन्ध लगाएको थियो । यसमा ठूलो परिमाणमा सिसा र मरकरी भेटिएको आरोप छ । घिउ भारतमा शताब्दीयौंदेखि घिउ व्यापक रूपमा प्रयोग हुँदै आएको छ तर अमेरिकामा यसलाई प्रतिबन्धित गरिएको छ। धेरै प्रतिवेदनलाई उद्धृत गर्दै अमेरिकी एफडीएले घिउले मोटोपना, हृदयाघात र उच्च रक्तचापको जोखिम बढाउने बताएको छ । फोर्ब्सको रिपोर्ट अनुसार सन् १९६० को दशकदेखि घिउलाई अस्वस्थकर मानिन थालिएको थियो । मुटु रोगका लागि जिम्मेवार मानिन्थ्यो । तर, पछिल्ला केही वर्षयता प्रतिबन्ध हटाउने अभियानले तीव्रता पाएको छ । खसखस खसखस अथवा पोस्ता दाना अफिमको बिरुवाबाट अफिमको बीउ निकालिन्छ । धेरै देशहरूमा यो प्रतिबन्धित छ । यसको कारण यसमा मर्फिन र कोडिन जस्ता लागूऔषध पाइने जोखिम रहेको छ । साउदी अरब, सिंगापुर र युएईमा यसमा कडा प्रतिबन्ध छ । तोरीको तेल तोरीको तेल भारतमा खाना पकाउन व्यापक रूपमा प्रयोग गरिन्छ । तर, अमेरिका र युरोपका धेरै देशमा यो प्रतिबन्धित छ । यसमा युरिक एसिड हुने विश्वास गरिन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । धेरै मात्रामा युरिक एसिड हुँदा मुटुमा असर पर्छ र लिपिड मेटाबोलिज्ममा पनि प्रतिकूल असर पर्छ । एजेन्सी
डिएभी विद्यालयले सम्पन्न गर्यो सांस्कृतिक कार्यक्रम
काठमाडौं । डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ललितपुरस्थित डिएभी सुशिल केडिया विश्व भारती विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरंग’ बुधबार विद्यालयको सभागृहमा सम्पन्न भएको हो । भारतीय राजदुतावासका डेप्यूटी चिफ अफ मिशन प्रसन्न श्रीवास्तवको मुख्य आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भारतीय चर्चित कलाकारहरुको एकल प्रस्तुति रहेको थियो भने डिएभी विद्यालयको तर्फबाट विभिन्न प्रकारका सामूहिक तथा एकल प्रस्तुति रहेका थिए । डिएभी विद्यालय र सुशिला आर्ट एकेडेमीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा भारतीय चर्चित कलाकार शशी रमेशको भरतनाट्यम नृत्य, बिभाहरी आशिश नेभ्रेकारको कथक नृत्य र शिव प्रसाद एन.एन. को बेजोड गीत र सङ्गीतले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउन सफल भएका थिए । त्यसैगरी डिएभी विद्यालयका विभिन्न तह र कक्षाका विद्यार्थीहरुले टाट्कर जय पुरी घराना र ठुम्रीमा आधारित कथक नृत्य, काशी विश्वनाथम कथामा आधारित भरतनाट्यम नृत्य र उत्तर–दक्षिण भारतको क्लासिकल जुगलबन्दी नृत्यलाई बेजोड रूपमा प्रस्तुत गरेको विद्यालयले जनाएको छ । साथै, केही समसामयिक चर्चित नेपाली र हिन्दी गीत सङ्गीतलाई समेत क्लासिकल विद्याका विभिन्न तालमा प्रस्तुत गरेका थिए । तरङ्गको राग आयामलाई घनिभूत तुल्याउन डिएभी विद्यालयका विद्यार्थीहरुले एकल, युगल र सामूहिक गीत प्रस्तुत गरे । कार्यक्रममा साहित्य, सङ्गीत र कला अनुरागी, अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति थियो । कार्यक्रममा सुशिला आर्ट एकेडेमीकी संस्थापक एंव अध्यक्ष युलीया कोइरालाले स्वागत मन्तव्यसहित गीत सङ्गीत र नृत्यले शिक्षा क्षेत्रमा पुर्याइरहेको अतुलनिय योगदानको चर्चा गर्दै डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया र प्राचार्य डा. भुवनेश्वरी रावको साहित्य र कलाको प्रशंसा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय दुतावासका डेप्यूटी चिफ अफ मिशन प्रसन्न श्रीवास्तवले कार्यक्रमका आयोजकले दुई देश बिच साहित्य, कला र संस्कृति आदान–प्रदान र जगेर्ना गर्ने अभियानमा पुर्याइरहेको योगदानको चर्चा गर्दै उपस्थित सम्पूर्ण विद्यार्थी, अविभावक, शिक्षक र साहित्य अनुरागीहरूलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । सोही अवसरमा उनले अनादिकालदेखि नेपाल–भारत बिच रहेको पारस्परिक सम्बन्धमा सांस्कृतिक भूमिकाको विस्तृत रुपमा चर्चा गरेका थिए । तरंग कार्यक्रममा प्रस्तुत भएका भारतीय कलाकार लगायत डिएभी विद्यालय र सुशिला आर्ट एकेडेमी सम्बद्ध सङ्गीत र नृत्य विभागका सम्पूर्ण शिक्षकहरूलाई मुख्य अतिथि श्रीवास्तव, उनकी श्रीमती निधी श्रीवास्तव र विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले मायाको चिनोसहित प्रसंशा पत्र प्रदान गरेका थिए । उपस्थित पाहुनाको स्वागत र सत्कारको लागि विद्यालयका उप–प्राचार्य रामचन्द्र खनाल, सि.ए.ओ. विजया टाटर, एस.एस.ओ. प्रशान्त सामल र प्लस टु कोर्डिनेटर टेङ्क मेघजी देवजी लगायत विभिन्न तहका कोर्डिनेटरहरुको उपस्थिति रहेको थियो । तरंग सांस्कृतिक कार्यक्रमको उद्घोषक शिक्षकद्वय शशिल्ता राई र मोहिनी तामाङ्ग थिए । आस्था ठाकुरको मन्तव्यसहित कार्यक्रम औपचारिक रूपमा समापन भएको विद्यालयले जनाएको छ ।
सिद्धार्थ बैंकलाई ‘अन्तर-बैंक पुरुष फुटसल’ को उपाधि
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले आयोजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बैशाख ९ देखी १२ गतेसम्म आयोेजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । बुधबार वीरगञ्ज स्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६-० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो । विजेता टिमलाई वीरगञ्ज उप-महानगरपालिकाका मेयर राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरेका थिए । सो फाइनल खेलमा ४ गोल गर्दै म्यान अफ द म्याच सिद्धार्थ बैंकका सुदिप ताम्राकार भएका थिए । साथै, उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्वल जंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।
प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत
काठमाडौं । प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत भएको छ । बैंकको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटाको राजीनामा स्वीकृत गरेको हो । सापकोटा बैंकको संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।
विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो, सञ्चालन खर्च कम आउने
गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । एक महिनाअघि पोखरा–बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालिले आउँदो सातादेखि सेवा बिस्तार गर्ने योजनामा छ । ‘एउटा भ्यान थपेर सेवा बढाउँदैछौँ, पोखरा–बागलुङ दिनमा छपटक भ्यान छुट्छ’, प्रालिका अध्यक्ष उमेश केसीले भने, ‘सुविधायुक्त र वातावरणमैत्री भएकाले यात्रु पनि आकर्षित छन् ।’ चौध सिट भएको उक्त भ्यानमा सिसिटिभी, वाइफाइ र मोबाइल भुक्तानीको समेत व्यवस्था रहेको छ । भ्यानमा पोखरा–बागलुङको भाडादर प्रतियात्रु चार सय ५० रुपैयाँ तोकिएको छ । प्रालिले निकट भविष्यमा बागलुङबाट नारायणगढ र काठमाडौंमा उक्त सेवा बिस्तार गर्ने योजना बनाएको अध्यक्ष केसीले बताए । बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन, पाटपुर्जाआदिका दृष्टिबाट भने विद्युतीय सवारीसाधन सञ्चालनमा केही अन्योलता देखिएको उनको भनाइ छ । ‘सरकारले विद्युतीय सवारीसाधनको आयातदेखि चार्जिङ स्टेसन बिस्तार, बाह्रैमास विद्युत् सेवाको सुनिश्चितताजस्ता विषयमा ध्यान दिनुपर्छ’, अध्यक्ष केसीले भने । यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले उक्त कार्यालयमा ५० भन्दाबढी विद्युतीय भ्यान दर्ता भएको जानकारी दिए । पोखरामा आठ वटा विद्युतीय ट्याक्सी र स्कुटर एक सयभन्दा बढी दर्ता भई सञ्चालन भइरहेको उनको भनाइ छ । ‘निजी विद्युतीय कारको सङ्ख्या पनि उल्लेख्य मात्रामा बढ्दो छ’, प्रमुख रिजालले भने, ‘पोखरामा विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दो छ ।’ उनले डिजेल–पेट्रोलबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको सञ्चालन खर्च कम आउने बताए । ‘प्रदुषणमुक्त हुने र सेवासुविधाका कारणले पनि विद्युतीय सवारीसाधनप्रति व्यवसायी र यात्रुको आकर्षण बढेको देखिन्छ’, प्रमुख रिजालले भने, ‘सुरुमा यसप्रति खासै रुचि देखिएको देखिएन, अहिले विद्युतीय सवारीसाधनको किनबेच र दर्ता ह्वात्तै बढेको छ ।’ प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले मझौला र साना विद्युतीय सवारीसधान प्रयोगमा आइरहेको बताए । ‘गण्डकी प्रदेशमा ठूला विद्युतीय बस सञ्चालनमा आइसकेका छैनन्, कार, भ्यान र स्कुटरको संख्या बढ्दो छ’, उनले भने, ‘कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिन्छ ।’ पोखरामा ११, १४ र १५ सिट क्षमताका भ्यान सञ्चालनमा छन् । चार्जिङ स्टेनशन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको महाशाखा प्रमुख पौडेलले बताए । विद्युतीय सवारीसाधनका लागि नेपाल विद्युत् प्राधिकरणले पोखरामा दुई वटा चार्जिङ स्टेशन स्थापना गरेको उनको भनाइ छ । बागलुङमा न्यून क्षमताको चार्जिङ स्टेशन राखिएको छ । मुख्य राजमार्ग र सहरी क्षेत्रमा थप चार्जिङ स्टेशन राख्न पहल भइरहेको मन्त्रालयले जनाएको छ । रासस
समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरीङ सेन्टरमा छुट हुने
काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरीङ सेन्टरमा छुट हुने भएको छ । बिहीबार डिलाइट टेलरीङ सेन्टर, पुतलिसडक काठमाण्डौसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले शुक्रबारदेखि समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरि उक्त टेलरीङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरीङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
कोरिया । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ । विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स इलेक्ट्रोन रेकटमा दक्षिण कोरियाली समयानुसार बुधबार माहिया स्पेसपोर्टबाट उपग्रह प्रक्षेपण गरिएको थियो । नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो । यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ । यसले कोरियाली प्रायद्वीप र त्यस वरपरका क्षेत्रहरूको निगरानी गर्नेछ र तस्बिर लिएर सरकारलाई राष्ट्रिय सुरक्षामा आउने कुनै पनि धम्की, प्राकृतिक विपत्ति वा कुनै पनि खतराको तुरुन्त प्रतिक्रिया दिन सहयोग गर्नेछ । दक्षिण कोरियोले सन् २०२६ जुनमा थप पाँच नानोस्याटेलाइट प्रक्षेपण गर्ने र सन् २०२७ सेप्टेम्बरमा स्वदेशी नुरी अन्तरिक्ष रेकटमा अन्य पाँचवटा नानास्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ । रासस