एनसीएचएलले नेप्सलाई १ः०.२८ को स्वाप रेसियोमा प्राप्ति गर्ने
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् (नेप्स) लाई १ बराबर ०.२८ को स्वाप रेसियोमा प्राप्त गर्ने भएको छ । बैशाख १३ गते सम्पन्न एनसीएचएलको विशेष साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै नेप्सको १०० कित्ता सेयर बराबर एनसीएचएलको २८ कित्ता सेयर हुने छ । नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फछ्र्यौट विनियम बमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी नेपाल राष्ट्र बैंक समक्ष नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडको संयुक्त रुपमा अन्तिम स्वीकृती प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानूनबमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरी एकिकृत कार्य प्रारम्भ गर्ने छन् । प्राप्ति कार्य गरे पश्चात् परिवर्तन हुने शेयर तथा चुक्ता पूँजी वृिद्घ गर्न, सेयर समूह स्वामित्व परिवर्तन गर्न एनसीएचएलको प्रबन्धपत्र तथा नियमावालीका आवश्यक दफा/नियमहरु संशोधन गर्ने लगायतका विषयहरुमा पनि विशेष साधारण सभाले स्वीकृति तथा अख्तियारी प्रदान गरेको छ । प्राप्तिका लागि २०८० पुस ६ गते प्रारम्भिक सम्झौता र विस्तृत मूल्याङ्ककन पश्चात २०८० चैत २२ गते प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । हाल एनसीएचएल र नेप्सको चुक्ता पुँजी क्रमश १ अर्ब ६६ लाख रुपैयाँ र २१ करोड १२ लाख रुपैयाँ रहेको छ । प्राप्ति पश्चात एकिकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ६ करोड ५८ लाख रुपैयाँ हुनेछ । एनसीएचएलको गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफा ३७ करोड ६८ लाख रुपैयाँ थियो भने नेप्सको ६ करोड ४६ लाख रुपैयाँ थियो । बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ-आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् । नेप्सले कार्डमा आधारित भुक्तानी प्रणालीको सञ्जाल स्थापना गरि सदस्य बैंकहरुलाई विभिन्न अन्तराष्टिय कार्ड स्किममा आधारित कार्डहरु जारी गर्न तथा सो सम्बन्धी विविध कारोबार सञ्चालन तथा फर्छौट गर्ने सेवा प्रदान गर्दै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ । विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरु विस्तार गर्न सहयोग हुने अपेक्षा गरिएको छ । प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीचको प्राप्तिले उल्लेखनीय भूमिका खेल्ने छ । प्राप्ति पश्चात कम्पनीको पुँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत सहयोग हुने कम्पनीको विश्वास छ ।
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
खजुरा । चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार केही दिनदेखि नेपालगञ्जको अधिकतम् तापक्रम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालगञ्जलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार वैशाख १० देखि १४ गतेसम्म पाँच दिनको समयमा तराईका भागका केही स्थानमा तातो हावाको सम्भावना रहेको छ । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा पारस श्रेष्ठले आग्रह गरे । अत्यधिक गर्मी हुने नेपालगञ्जमा विगत केही दिनयता तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए । चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् । भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको डा श्रेष्ठले बताए । दिउँसोको समयमा सुनसानजस्तो देखिने नेपालगञ्ज बजार साँझको समयमा भने भीडभाड हुने गरेको छ । बजारका विभिन्न चोक तथा पसलमा काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थ सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ । रासस
राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका अधिकारी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिमा नेपाल बैंकको प्रतिनिधित्व हुने व्यवस्था भए बमोजिम उनी अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक सदस्य रहने भएका हुन् । सञ्चालक अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरि पद बहाली समेत गरेका छन् । उनले बैशाख ११ गते नै कम्पनीको सञ्चालक समितिका अध्यक्षबाट सपथ लिएका हुन् ।
सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंका विभिन्न संघ संस्थामा छुट हुने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाडौंका विभिन्न संघ संस्थामा छुट हुने भएको छ । बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधाहरु दिने क्रममा विभिन्न संघ संस्थाहरु संग समन्वय गरी छुट दिने सम्बंधमा सम्झौता गरेको हाे । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित दुई संस्था नवदर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. र समाज डेन्टल हस्पिटल प्रा.लि., बौद्ध, काठमाडौंमा अवस्थित उत्पला क्याफे र बसुन्धरामा अवस्थित चिरायू नेस्नल हस्पिटल एण्ड मेडिकल इन्टिच्यूटका सेवाहरुमा १० प्रतिशत देखी २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । यस अघि पनि बैंकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्था संग समन्वय गरि ग्राहकहरुलाई सेवा सुविधाहरु प्रदान गर्दै आएको छ जसमा बैंकका कार्डबाहक ग्राहकहरुले भारत गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पताल र भारतमै अवस्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेडमा विशेष छुट प्राप्त गर्दै आएका छन । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ : मन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरूका लागि २ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताएका हुन् । उनले श्रम स्वीकृती प्रदान गर्ने कार्य १ घण्टाभित्र हुने गरेको बताएपछि सांसदहरूले एकघण्टामा दिदाँ प्रक्रिया नपुर्याइ दिइने गरेको हो कि भनि प्रश्न उठाएका थिए । सांसदहरूले एक घण्टामा श्रम स्वीकृती दिन निकै कम समय भएको भन्दै आवश्यक कागजातहरू अध्ययन गरेर समय लगाएर दिँदा भविष्यमा श्रमिकहरूले दुःख नपाउने धारणा राखेका थिए । त्यसपछि मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे, नपुगेको मात्रै हेरेर स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने जिकिर गरे । उनले एकघण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने २ मिनेट ४४ सेकेण्डमै दिने गरिएको दाबी गरे । उनले सातै प्रदेशबाट श्रम स्वीकृति दिइरहेको बताए । मन्त्री अर्यालले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको कुरा गरिने भए पनि ९६ प्रतिशत श्रमिकले पैसा तिरेर विदेशिने गरेका बताए ।
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरुसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए । सरकारी श्रोतमा भएको सीमितताका कारण सरकारले टाइट गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउनुपर्ने चुनौती रहेको उनको भनाइ थियो । ‘अर्थतन्त्रमा केही सुस्तता छ । जनता र खास गरी युवाहरुको अपेक्षा धेरै माथि छ’, उनले भने, ‘निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाउन केही न केही बोल्ड निर्णय गर्नुपर्ने छ ।’ मन्त्री पुनले बजेट बनाउनुअघि आफूले सम्वद्ध सबै क्षेत्रको सुझाव लिने उल्लेख गरे । सरकार वा मन्त्री परिवर्तन हुँदैमा नीतिमा परिवर्तन गर्न नहुनेमा जोड दिँदै मन्त्री पुनले विगतका मन्त्रीहरुका असल अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । छलफलमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा। रेशम थापा, सोही छलफलमा विभागका पूर्वप्रमुख डा. रामप्रसाद ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका पूर्वरेक्टर तथा प्रा।डा। शिव भुसाल, त्रिभुवन विश्वविद्यालयमै कार्यरत अर्थशास्त्रका प्राध्यापक सञ्जय आचार्य, विश्व बैंकको मुख्यालयमा कार्यरत अर्थशास्त्री गोविन्द तिमिल्सिना, अर्थशास्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता डा। विजय पौडेल, अर्थतन्त्रका जानकार पूर्वअर्थसचिव कृष्ण घिमिरेलगायत सहभागी थिए । त्यस क्रममा उनीहरुले कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथामकितामा राख्न सुझाव दिए । कार्यान्वयन नहुने गरी ठूलो आकारको बजेट नबनाउन तथा बिनातयारीका आयोजनामा बजेट विनियोजन नगर्न उनीहरुको सुझाव थियो । यस्तै बजेटले रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्रीले यसअघि बुधबार पछिल्लो २० वर्षयताका ७ पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका थिए । पूर्वअर्थमन्त्रीहरुले पनि ठूलो आकारको बजेट कार्यान्वयन नहुने भन्दै यथार्थपरक बजेट ल्याउन सुझाएका थिए ।
हिमालयन सेक्युरिटिजले सुरु गर्यो कारोबार
काठमाडौं । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको बिहीबारबाट व्यवसायिक कारोबार सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सेवाहरु प्रदान गर्ने लक्ष्य राखेको हिमालयन सेक्युरिटिज लिमिटेडको कुल चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेका छ । पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिज लिमिटेडले वि.सं. २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो । ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारका सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरि मार्जिन कारोबार तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरु प्रदान गर्ने जनाएकाे छ । वित्तीय क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका बौद्धिक व्यक्तित्वहरुको सञ्चालन समितिबाट निर्देशित हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि प्राथमिक सेवा प्रदायक बन्ने लक्ष्य राखेको छ । कम्पनीले हाल सि.टि.सि. मल, सुन्धारामा रहेको कार्यालयबाट आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
यूनिभर्सल टुर्स एण्ड ट्राभलको आम्दानी बढ्यो, एक अर्ब बढी ऋण लिँदै
काठमाडौं । यूनिभर्सल टुर्स एण्ड ट्राभलस् (यूटीटी) को आम्दानी ३० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०२२ को तुलनामा आर्थिक वर्ष २०२३ मा उक्त कम्पनीको सञ्चालन आम्दानी ३०.२१ प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँले बढेको हो । आर्थिक वर्ष २०२३ मा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीको आम्दानी १८ करोड २० लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०१९ मा १० करोड ६० लाख, २०२० मा ११ करोड ९० लाख र २०२० मा ११ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । कोभिडपछिको अन्तर्राष्ट्रिय हवाईमा भएको सुधार र विदेशी पर्यटकको बढ्दो आवतजावतले कम्पनीको आम्दानीमा टेवा पुगेको हो । साथै, नेपाल सरकारले पर्यटन क्षेत्रमा घोषणा गरेको आर्थिक वर्ष २०२३ देखि २०३२ सम्मको लागि नेपाल भ्रमण दशकले पनि कम्पनीको व्यापार वृद्धिमा सहयोग पुग्ने कम्पनीले जनाएको छ । सन् १९७५ देखि सञ्चालनमा रहेको यूटीटी नेपालको सबैभन्दा पुरानो ट्राभल र टुर अपरेटहरुमध्ये एक हो । सन् १९७८ देखि कम्पनीले नेपालमा विभिन्न एयरलाइन्सका लागि सामान्य बिक्री अभिकर्ताको रुपमा सेवा दिँदै आएको छ । हाल भने कम्पनीले कोरियन एयर फ्लाई दुबई र एमिरेट्स एयरलाइन्सका यात्री र काग्रो दुबै व्यवसायकोे लागि सामान्य बिक्री अभिकर्ताको रुपमा काम गरिरहेको छ । यूटीटी परिवारको स्वामित्वमा रहेको व्यवसाय हो । जसको ९० प्रतिशत सेयर ललिता प्रसाईको रहेको छ भने बाँकी १० प्रतिशत पराशर प्रसाईको रहेको छ । दुबै जना कम्पनीमा प्रबन्ध निर्देशकको रुपमा काम गर्दै आएका छन् । कम्पनीले नेपालमा नयाँ एयरलाइन्सको सामान्य बिक्री अभिकर्ता थपेर आफ्नो व्यवसाय विस्तार र विविधीकरण गर्ने योजना बनाएको छ । जसको लागि कम्पनीले एक अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको ऋण लिँदै छ । उक्त ऋणको लागि कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले ११ करोड १० लाखको दीर्घकालीन लोनको लागि एलबीबी प्लस र बाँकी अल्पकालीन लोनको लागि एफोर प्लसको रेटिङ दिएको छ ।