एकल र साझा अधिकार सूचीमा रहेका कानुन तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौं । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले संविधानले व्यवस्था गरेको एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले यथाशीघ्र बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार हेटौंडामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीका लागि कानुन निर्माण, मेलमिलाप तथा राजपत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले संविधान कार्यान्वयन गर्नका लागि एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले यथाशीघ्र बनाउनुपर्ने जरुरी रहेको बताए । उनले पुराना ऐन, कानुनहरूलाई परिमार्जन गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले कानुन निर्माण गर्दा ‘मान्छेको लागि कानुन हो, कानुनको लागि मान्छे होइन’ भन्ने सिद्धान्तलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले संविधानमा स्थानीय सरकारले न्यायिक अधिकार अभ्यास गर्न पाउने व्यवस्था गरे अनुरुप नागरिकहरुले स– साना विवादहरुको इन्साफ न्यायिक समितिबाट प्राप्त गरिरहेका बताए । उनले स्थानीय न्यायिक समितिले वैकल्पिक उपायहरु बार्ता, मेलमिलाप र मध्यस्थताबाट विवाद समाधान गरेर नागरिकको न्याय निरुपण गरेको भन्दै नियमित अदालतको कार्य बोझ कम भएको पनि बताए । नागरिकहरुले स्थानीय न्यायिक समितिबाट सरल र सहज रूपमा न्याय पाइरहेको उनको भनाई छ । मन्त्री श्रेष्ठले न्यायिक समितिको प्रकृति राजनीतिक भएकाले न्याय निरुपण गर्दा न्यायिक पदाधिकारीहरू आफ्ना मतदाता र राजनीतिक दलप्रति जवाफदेही र उत्तरदायी हुनसक्ने खतरा रहेको औँल्याए । उनले कतिपय पदाधिकारीहरूको दक्षता, योग्यता, अनुभवको कमी हुने तथा संयोजकको बहुल जिम्मेवारी हुनेहुँदा समयका कारण न्याय निरुपणमा निष्पक्षता र तटस्थता नहुने जोखिम रहेको पनि बताए । उनले प्रशासनिक व्यवस्था र श्रोत साधनको अपर्याप्तताको कारणले न्याय निरुपण प्रभावित भएको भन्दै सोही कारण प्रदेश सरकारले स्थानीय न्यायिक समिति पदाधिकारीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम गरिरहेको बताए । उनले न्यायिक समितिले न्याय निरुपण गर्दा पहिलो प्राथमिकता ज्येष्ठ नागरिक, बालबालिका, महिला, फरक क्षमता भएका व्यक्ति, दलित, विपन्न, अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायलाई दिन आग्रह गरे । मन्त्री श्रेष्ठले न्यायिक समितिका पदाधिकारीहरूलाई राजनीतिक आग्रह, पूर्वाग्रहबाट मुक्त भई आफ्नो दक्षता अभिवृद्धि गर्न सुझाव दिए । उनले न्यायिक समितिलाई सक्षम, सवल र सुदृढ बनाउँदै लैजान बागमती प्रदेश सरकारले न्यायिक सहजकर्ता पठाएर न्यायिक समितिलाई सहयोग गरेको पनि जानकारी दिए ।
बढी रेमिट्यान्स भित्र्याउने तीन वाणिज्य बैंक सम्मानित, यी हुन् अन्य कम्पनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएका तीन वाणिज्य बैंकलाई सम्मान गरेको छ । आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले बढी रेमिट्यान्स भित्र्याएका ग्लोबल आईएमई, हिमालयन र नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो । जसमध्ये ग्लोबल आईएमई बैंकले कूल रेमिट्यान्सको २१.१ प्रतिशत, हिमालयन बैंकले २०.६ प्रतिशत र नेपाल एसबिआईले १९.१ प्रतिशत रेमिट्यान्स उक्त आर्थिक वर्षमा भित्र्याएका थिए । त्यस्तै, राष्ट्र बैंकले वाणिज्य बैंक बाहेकका अन्य कम्पनीहरुलाई पनि सम्मान गरेको छ । बढी रेमिट्यान्स भित्र्याएको भन्दै राष्ट्र बैंकले इसेवा मनि ट्रान्सफर, सिटी एक्स्प्रेस र आईएमई लिमिटेडलाई सम्मान गरेको छ । इसेवा मनि ट्रान्सफरले कूलको १२.१ प्रतिशत, सिटी एक्स्प्रेसले १४.९ प्रतिशत र आईएमईले कुलको २७.५ प्रतिशत रेमिट्यान्स गत आर्थिक वर्षमा भित्र्याएका थिए । त्यसैगरी, राष्ट्र बैंकले सबैभन्दा बढी डिजिटल कारोबार गरेका भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती र ईसेवालाई पनि सम्मान गरेको छ ।
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक श्रीमती मुना पौडेलले संयुक्त रुपमा बीमा रकम हस्तान्तरण गरेका छन् । दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटाैँडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
राष्ट्र बैंकका पूर्व गभर्नर ढकाल सम्मानित, अन्य को-को ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकाल सम्मानित भएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा उनीसहित अन्य विभिन्न कर्मचारी विभिन्न पदकबाट सम्मानित भएका हुन् । सम्मानित भएकामध्ये तीन जना कर्मचारी दीर्घसेवा पदकबाट सम्मानित भएका छन् । २० वर्ष काम गरेका बैंकिङ विभागमा कार्यरत कार्यकारी निर्देशक विष्णु थापा, गभर्नर कार्यालयमा कार्यरत निर्देशक डिल्लीराम पोखरेल र भुक्तानी प्रणाली विभागमा कार्यरत लक्ष्मीप्रसाद प्रसाईं रहेका छन् । त्यसैगरी, नेपाल राष्ट्र बैंक कर्मचारी सेवा पुरस्कारबाट चार जना उत्कृष्ट र एक जना सर्वोत्कृष्ट कर्मचारीको पदकबाट सम्मानित भएका छन् । सिद्धार्थ नगरमा कार्यरत सुवराती पठान, टक्सार महाशाखामा कार्यरत कामु निर्देशक श्यामकुमार श्रेष्ठ, जनकपुर कार्यालयमा कार्यरत प्रियंका ठाकुर र कानुन महाशाखामा कार्यरत सुमन आचार्य उत्कृष्ट कर्मचारीबाट सम्मानित भएक हुन् भने निर्देशक किरण पण्डित सर्वोत्कृष्ट कर्मचारीको पदबाट सम्मानित भएका हुन् ।
राजधानीको सुन्दरता बढाउने फुल ज्याकारान्डा (तस्बिरहरु)
काठमाडौं । राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकारान्डा फूलेर निलाम्य बनेका छन् । मध्य चैतदेखि बैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक भरेको छ । दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकारान्डाले राजधानी थप सुन्दर देखिएको छ।
एक किलो ७६८ ग्राम सुन र एक करोड रकमसहित सात जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । बिहीबार साँझ काठमाडौंको इन्द्रचोकबाट पक्राउ परेका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
कर्जाको ब्याज एकल अंकमा आएको अवसरलाई सदुपयोग गरौं : डेपुटी गभर्नर ढुंगाना
काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगानाले कर्जाको ब्याज एकल अंकमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताएकी छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव समाराेहमा स्वागत मन्तव्य राख्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन् । उनले आर्थिक श्रृङ्खलामा अवरोध आउँदा पनि राष्ट्र बैंकले प्रभावकारी काम गरिरहेको बताइन् । उनले भनिन्, ‘अहिले खराब कर्जा बढिरहेको छ, गैर बैंकिङ सम्पत्ति बढिरहेको छ, यो चुनौतिका बिच पनि रेमिट्यान्स बढेको छ ।’ डेपुटी गर्भनर ढुंगानाले अहिले बैंकिङ क्षेत्रमा अराजकता बढेको बताउँदै गलत गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनु बताइन् ।
नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को-अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे । उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्स अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ । कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे । उनले राष्ट्रपति सी जिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पुर्याएको बताए । उनले ती दुवै उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्यवन हुन बाँकी भएकाहरुको कार्यान्वयनमा जोड दिए । चीनले पछिल्लो समय हासिल गरेको विकास लोभलाग्दो र प्रशंसनीय रहेको र नेपालमा पनि विकासको सोही गति समाउन चाहेको उनको भनाइ थियो । विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै उनले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गरे । चीनले नेपालप्रति राखेको विश्वाको सधैं कदर गर्ने मन्त्री पुनले बताए । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका लियु झाओ हुईले नेपवाल चीनको असल मित्र रहेको भन्दै नेपालको विकासमा सधैं साथ रहेको बताए । राष्ट्रपति सी को नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एकएक गर्दै पालना गर्दै जाने प्रतिबद्धता उनले जनाए । उनले आफूहरु तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सिलसिलामा नेपाल आएको प्रंग उल्लेख गर्दै नेपालमा चिनियाँ लगानी आउने बताए ।