अब बैंकको कर्जा असुली सहज हुन्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकको कर्जा असुली सहज हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान गरेका छन् । ‘चालु आवमा रेमिट्यान्स उच्च रहेको छ । यसले ब्याजदरमा परेको चाप कम भएको छ, आर्थिक गतिविधिमा सिथिलता आउँदा बैंकको रिकभरीमा समस्या देखिएको छ,’ उनले भने । त्यस्तै, मागमा कमी आएका कारण अर्थतन्त्रमै सुस्तता आएको बताउँदै उनले वाह्य क्षेत्रमा आएको सुधारसँगै ब्याजदर घटिरहेको जनाए । साथै, राष्ट्र बैंकको डिजिटल करेन्सीको अध्ययन भइरहेको उनले जानकारी गराए ।
कामना सेवा विकास बैंकका ग्राहकलाई आईएनजीए सपिङ कम्प्लेक्समा छुट हुने
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई आईएनजीए सपिङ कम्प्लेक्समा छुट हुने भएको छ । कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित आईएनजीए सपिङ कम्प्लेक्ससँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले सपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तैः कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी-फुड तथा एफएमसीजी-नन-फुडमा १० प्रतिशत छुट सम्म प्राप्त गर्न सक्नेछन् । ग्राहकले बैंक सँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जाल, ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवासुविधा प्रदान गरिरहेको छ ।
नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ । भ्रमण कार्यक्रममा सहभागि भएका बरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरु बिच चिनजान हुनुका साथै एक आपसको अन्र्तक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए । ३ रात ४ दिन सम्म संचालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागि अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएका थिए ।
सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बेसेडर अभियान प्रभावकारी बन्दै
काठमाडौं । सूर्यज्योतिसँग आवद्ध मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ । प्रोडक्ट एम्बेसेडर बनाइएका अभिकर्ताको तस्बिरसहित कम्पनीले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत देशव्यापी रुपमा प्रचार–प्रसार गर्नुका साथै शाखा कार्यालयमा उनीहरुको फोटो अंकित ब्यानर, विज्ञापन बोर्ड, पर्चा–पम्पलेटमा समेत कम्पनीको प्रचारप्रसार गर्ने गरिएको छ । कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरुको मान–सम्मान, समाजमा उनिहरु प्रतिको विश्वसनियता बढ्ने, ब्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरु माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो । यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरुको व्यवसायिक मनोवलमा बृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्षमा बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरवकुमार शाही तथा महाराजगन्ज शाखाकी सृजना पन्तले क्रमशः चौरासी पूजा जीवन बीमा योजना, सुरक्षित भविष्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि प्रोडक्ट एम्बेसेडरका रुपमा चुनिएका छन् । कमलप्रसाद घिमिरे जीवन बीमालाई विशुद्ध समाज सेवा गर्ने माध्यमका रुपमा लिएर बीमा सचेतना अभिवृद्धि गर्दै धेरैभन्दा धेरैजनालाई बीमा गराउने उद्देश्य बोकेका घिमिरेलाई प्रोडक्ट एम्बेसेडर बनेपछि समाजमा छुट्टै पहिचान बनेको, बीमा योजनाको ब्रोसर, मोबाइल एप वेबसाइटमा समेत आफ्नो फोटो देखेपछि बीमा गर्ने व्यक्तिले सजिलै विश्वास गर्ने वातावरण बनेको बताए । उनले यस्तो कार्यले बीमा क्षेत्रमा थप सफलता प्राप्त गर्न सहज भएको बताउनुका साथै कम्पनीले आयोजना गर्ने विभिन्न कार्यक्रममा सम्मान प्राप्त हुँदा काम गर्न थप प्रोत्साहन मिलेको प्रतिक्रिया दिए। गौरवकुमार शाही प्रोडक्ट एम्बेसेडर बनेपछि उनको नयाँ परिचय थपिएको छ । सफल अभिकर्ता बन्न सहयोग भएको, विभिन्न शाखामा फोटो हुने, ब्रोसर, प्रचार सामग्रीमा समेत फोटो आउने भएकाले बीमितका बीचमा कम्पनीको आधिकारिक अभिकर्ता हो भन्ने अनुभूति भएको शाही बताउँछन् । साथै, मानिसहरुलाई आफ्नो परिचय दिन सजिलो भएको र फोटो देखेर मानिसहरुले प्रशंसा गर्ने र त्यस्ता व्यक्तिलाई बीमा गराउन झन् सजिलो भएको उनले सुनाए । विगत ३ वर्षदेखि लगातार विभिन्न बीमा योजनाको एम्बेसेडर बन्न सफल भएको र यसको फाइदा आफूले राम्रोसँग अनुभूत गरेकाले आगामी दिनमा अरु बीमा योजनामा समेत आफ्नो दाबेदारी रहने उल्लेख गर्दै उनले यस्ता योजनाले अभिकर्तामा थप ऊर्जा प्राप्त हुनुका साथै सफलता चुम्न सहज हुनेमा आफू ढुक्क रहेको सुनाए । सृजना पन्त यस्तो सम्मान पाउँदा एकदमै गर्व महसुस भएको पन्त सुनाउँछिन् । यो अभियानले गर्दा कम्पनीलाई माया गरेर काम गर्ने एजेन्सीहरुले आफू र आफ्नो कम्पनीप्रति गर्व गर्ने अवसरका रुपमा लिएको उनले बताइन् । प्रोडक्ट एम्बेसेडर बनेपछि आफूलाई आफन्त, साथीभाइ र समाजले हेर्ने दृष्टिकोणमा नै फरक पाएको उनी बताउँछिन् । ‘यो क्षेत्रमा पैसा मात्र होइन, सामाजिक प्रतिष्ठा र सम्मान कमाउन सकिने रहेछ भने प्रस्ट उदाहरण बनेको छ’, सृजना भन्छिन्, ‘कतिले सोध्नुहुन्छ कसरी यति ठूलो कम्पनीको पेजमा तपाइँको फोटो आएको ? कम्पनीले ब्रान्डिङ गरेकोले समाजमा विश्वास बढेको, व्यवसाय गर्न सहज भएको र आत्मविश्वास बढ्नुका साथै अझै बढि जिम्मेवार बनाएको छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीद्वारा प्रदान गरिएको यो मूल्यवान अवसरमार्फत अभिकर्ताले मेचीदेखि महाकालीसम्म रहेका दूरदराजका हरेक घरसम्म पुगेर आफ्ना क्षमता प्रदर्शन गरी हरेक नेपालीको मनमा विश्वसनीयता स्थापित गरी आफ्नो व्यवसाय वृद्धिमा सहज हुनेमा आफू विश्वस्त रहेको बताए ।
राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा.शिवहरि श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सीईओ पदपूर्ति उपसमितिले सीइओको लागि ४ जनाको नाम सर्टलिस्ट गरेको थियो । जसमा डा. शिवहरी श्रेष्ठ, नारायण कुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोईराला थिए । तीमध्ये श्रेष्ठ कम्पनीको सीईओमा छानिएका हुन् । उनलाई कम्पनीको नियमावलीको नियम ३३(५) र नियम ३५ बमोजिम सीईओ पदमा नियुक्त गरिएको कम्पनी सचिव डा. सृजना पन्तले जानकारी दिइन् । डा. श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् ।
गोगोरो स्कुटर नेपालमा, ब्याट्री चार्ज होइन चेन्जको सुविधा
काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी भित्र्याएको छ । गोगोरोले स्मार्ट स्कुटरसँगै नयाँ चार्जिङ प्रविधि पनि भित्र्याएको हो । नेपालमा गोगोरोको आधिकारिक साझेदार नेबुला इनर्जीले गोगोरोको ब्याट्री स्वापिङ टेक्नोलोजीका साथै बीटूबी मोडलको एक स्कुटर नेपाल भित्र्याएको हो । ब्याट्री स्वापिङ प्रविधिमा गागोरोले इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्र लाग्ने टेक्नोलोजी विकास गरिसकेको छ । गोगोरोले काठमाडौं लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित एक कार्यक्रमका बीच ब्याट्री स्वापिङ र नयाँ स्कुटर गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर लन्च गरेको छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी दिर्देशक यांग चेनले संयुक्त रूपमा गोगोरोको क्रसओभर जीएक्स२५० स्कुटर सार्वजनिक गरेका हुन् । यो स्कुटरमा ७ किलोवाट क्षमताको हाई लोड पावर भएको मोटर उपलब्ध छ । यसमा डेलिभरीका लागि प्रयोग हुने एसाेसरिज जडान गर्न मिल्ने तथा १७० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । यसको लोडिङ क्षमता २०० केजी रहेको कम्पनीले बताएको छ । यो स्कुटरको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । स्कुटर लन्च गर्दै प्रबन्ध निर्देशक घिसिङले चार्जिङमा स्वाप टेक्नोलोजीले विद्युतीय दुई पांग्रेको व्यापार ह्वात्तै बढाउने बताए । ब्याट्री स्वाप टेक्नोलोजीले ५ प्रतिशतको बजार छिट्टै ५० प्रतिशत पुर्याउने प्रबन्ध निर्देशक घिसिङकाे विश्वास छ। घिसिङले दुई पांग्रेमा मात्रै नभइ चार पांग्रेमा पनि स्वाप टेक्नोलोजी आवश्यक रहेको बताए । नेपालमा चारपांग्रे बजार हिस्सा ५० प्रतिशत बढी भए पनि दुई पांग्रेको ५ प्रतिशत मात्रै रहेको छ। नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले नेपाल ऊर्जा खपत गर्ने मुलुकमा तल रहेको बताउँदै ऊर्जा खपत बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । यस्तै नेबुला इनर्जीका प्रबन्ध निर्देशक साहायु गोयलले नेपालमा दुई पांग्रे विद्युतीय सवारीको ५ प्रतिशतमात्रै बजार हिस्सा हुनुको मुख्य कारण चार्जिङको समस्याको रहेको बताए । ‘ब्याट्री स्वापिङ इनर्जी प्रविधिले उपभोक्ताले सामना गर्ने समस्या समाधान गर्छ’, उनले भने, ‘अब घरमा ५–६ घण्टा स्कुटर चार्ज गर्नुपर्दैन। चार्जिङ स्टेसनमा गई ६ सेकेन्डमै ब्याट्री स्वाप गर्न सकिन्छ। ब्याट्री स्वापिङ इनोभेटिभ तरिका हो ।’ नेबुलाका प्रबन्ध निर्देशक गोयलले काठमाडौं उपत्यकामा पहिलो चरणमा २/३ किलोमिटरको दुरीमा स्वाप चार्जिङ स्टेसन राख्ने योजना रहेको सुनाए । कम्पनीले लाजिम्पाटस्थित आनन्द भवन र त्रिपुरेश्वरको मायाराम भोलाराम पेट्रोलपम्पमा चार्जिङ स्टेशन राखेको छ । नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ । नोबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पोरेट ग्राहकका लागि गोगोरो स्मार्ट स्मुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउने बताएको छ । स्कुटरहरू दसैंदेखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ । नेबुला इनर्जिले फुडमाण्डु, जुमजुम, अलोइ नेपाल र गलि म्याम जस्ता कम्पनीहरूसँग सहकार्य सुरु गरेको छ । उक्त स्कुटर तथा ब्याट्री स्वाप स्टेशन अनावरण कार्यक्रममा ४० यूनिट स्कुटरसमेत हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । गोगोरोले १० वर्षअघि ताइवानमा स्वाप प्रविधि बजारमा ल्याएको थियो । हालसम्म ६ लाख गोगोरो दुईपांग्रे विश्वभर बिक्री भएका छन् ।
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् । निर्देशक डा मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनले बताए । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा मरासिनीले बताए । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उनको भनाइ छ । हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने निर्देशक डा मरासिनीले बताए । हात्तीपाइले रोगको धेरैजस्तो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताए । उनका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ । रासस
एकल र साझा अधिकार सूचीमा रहेका कानुन तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौं । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले संविधानले व्यवस्था गरेको एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले यथाशीघ्र बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार हेटौंडामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीका लागि कानुन निर्माण, मेलमिलाप तथा राजपत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले संविधान कार्यान्वयन गर्नका लागि एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले यथाशीघ्र बनाउनुपर्ने जरुरी रहेको बताए । उनले पुराना ऐन, कानुनहरूलाई परिमार्जन गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले कानुन निर्माण गर्दा ‘मान्छेको लागि कानुन हो, कानुनको लागि मान्छे होइन’ भन्ने सिद्धान्तलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले संविधानमा स्थानीय सरकारले न्यायिक अधिकार अभ्यास गर्न पाउने व्यवस्था गरे अनुरुप नागरिकहरुले स– साना विवादहरुको इन्साफ न्यायिक समितिबाट प्राप्त गरिरहेका बताए । उनले स्थानीय न्यायिक समितिले वैकल्पिक उपायहरु बार्ता, मेलमिलाप र मध्यस्थताबाट विवाद समाधान गरेर नागरिकको न्याय निरुपण गरेको भन्दै नियमित अदालतको कार्य बोझ कम भएको पनि बताए । नागरिकहरुले स्थानीय न्यायिक समितिबाट सरल र सहज रूपमा न्याय पाइरहेको उनको भनाई छ । मन्त्री श्रेष्ठले न्यायिक समितिको प्रकृति राजनीतिक भएकाले न्याय निरुपण गर्दा न्यायिक पदाधिकारीहरू आफ्ना मतदाता र राजनीतिक दलप्रति जवाफदेही र उत्तरदायी हुनसक्ने खतरा रहेको औँल्याए । उनले कतिपय पदाधिकारीहरूको दक्षता, योग्यता, अनुभवको कमी हुने तथा संयोजकको बहुल जिम्मेवारी हुनेहुँदा समयका कारण न्याय निरुपणमा निष्पक्षता र तटस्थता नहुने जोखिम रहेको पनि बताए । उनले प्रशासनिक व्यवस्था र श्रोत साधनको अपर्याप्तताको कारणले न्याय निरुपण प्रभावित भएको भन्दै सोही कारण प्रदेश सरकारले स्थानीय न्यायिक समिति पदाधिकारीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम गरिरहेको बताए । उनले न्यायिक समितिले न्याय निरुपण गर्दा पहिलो प्राथमिकता ज्येष्ठ नागरिक, बालबालिका, महिला, फरक क्षमता भएका व्यक्ति, दलित, विपन्न, अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायलाई दिन आग्रह गरे । मन्त्री श्रेष्ठले न्यायिक समितिका पदाधिकारीहरूलाई राजनीतिक आग्रह, पूर्वाग्रहबाट मुक्त भई आफ्नो दक्षता अभिवृद्धि गर्न सुझाव दिए । उनले न्यायिक समितिलाई सक्षम, सवल र सुदृढ बनाउँदै लैजान बागमती प्रदेश सरकारले न्यायिक सहजकर्ता पठाएर न्यायिक समितिलाई सहयोग गरेको पनि जानकारी दिए ।