प्रभु इन्स्योरेन्सको साधारण सभा आज, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा बिहीबार बस्दैछ । कम्पनीको सञ्चालक समितिको ४३४औं बैठकको निर्णयअनुसार सभा काठमाडौं तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । चुक्त पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, सञ्चालक समितिको संरचना परिवर्तन गरी एक जना महिला र एक जना स्वतन्त्र सञ्चालकसहित ७ जनाको समिति गठन गर्नेछ । त्यस्तै, २०७५ जेठ १० गतेको विशेष साधारण सभाबाट निर्वाचित सञ्चालकहरूको आगामी वार्षिक साधारण सभा सम्मका लागि पदावधि थप गर्ने, मिसाज भट्टचनलाई संचालक नियुक्ती गर्ने, पत्र/पत्रिका तथा सञ्चार खर्च वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक सेयरधनी समूह ‘क’ बाट दुई जना ‘ख’ बाट एक र साधारण समूह ‘ग’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचन पनि गरिनेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् ।
सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ । सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य २१० रुपैयाँ निर्धारण गरिएको छ ।
यी स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना छ । राति कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संघसंस्थामध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । उनले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको बताइन् । ‘यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भन्थ्यौँ, पछिल्लो समय सूचना प्रविधि पनि थपिएको छ, युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ भन्ने विश्वास र देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह छ,’ मन्त्री शर्माले भनिन्, ‘यसलाई सहजीकण गर्ने उद्देश्यका साथ सरकार क्रियाशील छ ।’
अब श्रमिकको पारिश्रमिक बढ्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने प्रतिवद्धता गरेका छन् । १३५ औँ संयुक्त ट्रेड युनियन महासंघद्वारा बुधबार आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले श्रमिकको पारिश्रमिक बढाउन आफू लागिपर्ने बताएका हुन् । ’मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो, भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु,’ उनले भने । उनले स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरिएको जानकारी दिए । देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा रहेको उल्लेख गर्दै उनले यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने बताए ।
धुम्म काठमाडौं, अस्तव्यस्त जीवनशैली
काठमाडौं । हरेक वर्ष विश्वकै प्रदूषण सहरमध्येमा पर्छ काठमाडौं । गाउँदेखि हरेक स–साना सहरबाट बसाइँसराइ गरेर काठमाडौंमा बस्ने रहर बोकेर आएकाहरू अहिले काठमाडौंको करूपता भोग्न बाध्य छन् । खासै ठूला उद्योग तथा कलकारखानाहरू सञ्चालनमा नभए पनि काठमाडौंमा वर्सेनि प्रदूषण बढिरहेको छ । धेरैले काठमाडौंलाई फोहोर सहरका रूपमा पनि चित्रण गर्न थालेका छन् । हिउँदको समयमा देशमा बढ्दै गएको आगलागी तथा डढेलो र थोत्रा यातायातका साधनहरूबाट निस्कने धुलो धुवाँले धेरैलाई आजित पारेको छ । यसले थप प्रदूषण बढाउन टेवा पुर्याइरहेको छ । गोलो कचौरा आकारको रूपमा रहेको काठमाडौंबाट प्रदूषण हट्न लामो समय लाग्छ । चिसो हावा तल नआउँदा तातो हावा तल्लो तहमा नै रहने भएकाले पनि काठमाडौं सहर थप प्रदूषित बन्दै गएको धारणा वातावरणविदहरू राख्छन् । वायु प्रदूषणको अवस्था मापन गर्ने वल्र्ड एयर क्वालिटी इन्डेक्स–र्याकिङ्ग’का अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको अग्रस्थानमा छ । जसका कारण राम्रोसँग घाम नलाग्ने, धुम्म रहने गर्छ । जसको प्रत्यक्ष असर व्यक्तिको स्वास्थ्यमा पर्ने गरेको छ । चिकित्सकहरूका अनुसार वायु प्रदूषणले आँखा पोल्ने, चिलाउने, नाक चिलाउने, नाक पोल्ने हाँच्छिउँ आउने, खोकी लाग्ने, घाँटी खसखसाउने लगायतका लक्षणहरू देखिन्छन् । प्रदूषित वातावरणमा लामो समयसम्म रहँदा दम तथा मुटु सम्बन्धि रोग लाग्ने, फोक्सोको क्यान्सर तथा पक्षघात समेत हुनसक्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयले यो प्रदूषणबाट बच्नका लागि अनावश्यक काममा बाहिरि ननिस्कन आग्रह पनि गरेको छ । आँखा अस्पतालमा भीड वायु प्रदूषणका कारण आँखाका बिरामीको संख्या बढ्दै गएको छ । आँखाको बिरामी बढ्दा काठमाडौं उपत्यकाका आँखा अस्पतालहरू भरिभराउ छन् । आँखा रोग विशेषज्ञका अनुसार प्रदूषणले आँखाको जाली र नानीमा असर पर्छ । आँखामा धुलो परेजस्तै बिझाउने, चिलाउने र रातो हुने गर्छ । अहिले अस्पताल आउने धेरैमा आँखा चिलाउने, बिझाउने र रातो हुने समस्या देखिएको अस्पतालहरूले बताएका छन् । आँखारोग विशेषज्ञ डा. बेन लिम्बु प्रदूषणले आँखामा असर पर्ने भएकाले बाहिर निस्कदा अनिवार्यरूपमा चस्मा र मास्क लगाउन सल्लाह दिन्छन् । आँखा चिलाउँदा र बिझाउँदा आँखामा पानी नछ्याप्न पनि उनको आग्रह छ । ‘यस्तो बेला धेरैले आँखामा चिसो पानी छ्याप्छन्,’ उनी भन्छन्, ‘त्यस्तो गर्नु हुँदैन, त्यसले थप असर निम्त्याउँछ, प्रदूषणको बेला घर बाहिर निस्कनु हुँदैन, निस्किहाले पनि चस्मा लगाउनुपर्छ ।’ श्वासप्रश्वासको पनि समस्या चिकित्सकहरूका अनुसार प्रदूषणले श्वासप्रश्वासको पनि समस्या हुन्छ । अहिले अधिकांश अस्पतालमा श्वासप्रश्वासको समस्याहरू लिएर बिरामीहरू आउने गरेका छन् । प्रदूषणले दम लाग्ने र स्वास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन्छन् । अहिले यस्ता बिरामीको संख्या अस्पतालमा बढिरहेको बुझिएको छ । टेकु अस्पतालमा अहिले श्वासप्रश्वासका बिरामीको सख्या बढेको छ । वीर अस्पतालमा पनि बिरामीको संख्या बढेको अस्पतालले बताएको छ । अस्पतालका अनुसार वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलामा बढी जोखिम हुन्छ । छातिरोग विशेषज्ञ डा. अशेष ढुंगान प्रदूषित वातारणमा लामो समय रहँदा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने बताउँछन् । ‘वायु प्रदूषण मानव स्वाथ्यका लागि खतरा हो,’ उनी भन्छन्, ‘जब श्वासप्रश्वासको माध्यमबाट फोहोर फोक्सोमा जान्छ त्यसपछि असर देखिन्छ, प्रदूषणको समयमा धेरै ख्याल गर्नुपर्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार वायु प्रदूषणका कारण विश्वमा प्रत्येक वर्ष ७५ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि हरेक वर्ष ३५ हजारले प्रदूषणका कारण ज्यान गुमाउने गरेको सरकारी तथ्यांकले देखाउँछ । हामीले श्वासप्रश्वास गर्दा हाम्रो श्वासबाट आँखाले देख्न नसकिने किटाणुहरू शरिरभित्र प्रवेश गर्छन्, छाला र आँखाका रोगीहरूको सख्या नेपालमा वर्सेनि बढिरहेको छ । हावामा प्रदूषण हुँदा यसको सिधा सम्पर्क व्यक्तिको आँखा र छालामा पर्छ, जसका कारण स्वास्थ्यमा ठूलो असर पर्ने चिकित्सकहरू बताउँछन् । बढ्दो सहरीकरणको प्रभाव वातावरण र मानिसको स्वास्थ्य कुनै न कुनै रूपमा एक अर्कासँग जोडिएका छन् । बढ्दो सहरीकरण तथा जलवायु परिवर्तनका कारण वातारण प्रदूषण बढ्दै गएको छ । नेपाल जस्तो विकासन्मुख देशमा अझ बढी प्रदूषणको प्रभाव देखिएको वातावणविद्हरू बताउँछन् । गरिबी तथा अव्यवस्थित् सहरीकरण लगायत कारणले वातापरण प्रदूषण हुने गरेको छ । वातावरणविद् भुषण तुलाधर वायुमा देखिने प्रदूषण घातक हुने तर्क दिन्छन् । उनी सबैले मिलेर घरघरबाट यसलाई निर्मुल पार्नु पर्ने बताउँछन् । प्रदूषण कम गर्न प्रत्येक घरबाट कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ,’ उनी भन्छन्, ‘हामीले आफ्नै घरबाट सुरुवात गर्ने भने पनि यसमा ठूलो राहात हुन्छ, घरमा छुट्याएको फोहोर बोक्दा पनि छुट्टै लग्ने र डम्पिङ पनि सोहीअनुसार गर्ने हो भने प्रदूषण कम हुन्छ ।’ घरयासी फोहोर, कृषिमा प्रयोग गरिने रासायनिक पदार्थ, कलाकारखानाबाट निस्किने फोहोर, सवारी साधनबाट निस्कने धुलोधुवाँ तथा अन्य बाहिरी फोहोरले वायुप्रदुषण हुने गरेको उनको भनाइ छ । सहरी क्षेत्रमा प्रदूषण बढ्नुको कारण यातायातका साधनबाट निस्कने धुलोधुवाँ र निर्माण भइरहेका सडकले हो । यो मानवीय कारणले सिर्जित हुन्छ । ग्रामिण क्षेत्रबाट सहरमा बसाइँसराइ गर्दा पनि प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।
संस्था सफल हुने मूलखाँबो पूँजी, प्रविधि र श्रम : उद्यमी पाण्डे
काठमाडौं । निजी क्षेत्रका प्रमुख वाणिज्य बैंकमध्ये एक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष प्रबलजंग पाण्डेले पूँजी, प्रविधि तथा श्रम तीन क्षेत्रबीच समन्वय नभए कुनै पनि संस्था सफल नहुने बताएका छन् । युवा व्यवसायी तथा उद्यमी पाण्डेले १३५औं विश्व श्रमिक दिवसका अवसरमा बुधबार पूँजी, प्रविधि तथा श्रम समन्वय नभई संस्था सफल नहुने धारणा राखेका हुन् । सिटिजन्स बैंकका अध्यक्ष, औषधी उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक तथा उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले ती तीन क्षेत्रलाई कुनै संस्थाको मूलखाँबोका रूपमा चित्रण गरेका हुन् । ‘आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, जीवन जिउन कुनै न कुनै श्रम गर्नु नै पर्छ, तसर्थ काम गर्ने हरेक व्यक्ति श्रमिक नै हो, कुनै पनि संस्थाको तीन खम्बा पूँजी, प्रविधि र श्रम हुन्,’ विश्व श्रमिक दिवसकाे शुभकामना दिँदै उनले भनेका छन्, ‘यी तीनको सही मिश्रणबिना कुनै पनि संस्था सफल हुन सक्दैन, हामी सबै श्रमिकले एक आपसमा शुभकामना आदन/प्रदान गरी श्रम दिवस भव्यरूपमा मनाऔं ।’
२९औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता
काठमाडौं । सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा छन् । गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेकेका उनी यस वर्ष २९औँ पटक आरोहणको तयारीमा छन् । सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् । वसन्त यामको सगरमाथा आरोहणका लागि एकसाताअघि काठमाडौँबाट लुक्ला, नाम्चे हुँदै सगरमाथा आधार शिविर पुगेका कामिरिताले भने, ‘यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ । यति, उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाउँ कति सकिन्छ ।’ करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुचुरोतिर लाग्ने तरखरमा रहेको कामिरिताले जानकारी दिए । सेभेन समिट ट्रेक्स प्रालिमार्फत उनी आरोहणका लागि शिखरतर्फ जाने तयारीमा छन् । सेभेन समिट ट्रेक्सका अध्यक्ष अध्यक्ष मिङमा शेर्पाले आफ्नो कम्पनीमार्फत कामिरिता २९औँ आरोहणका लागि आधार शिविर पुगेको बताए । अहिले आधार शिविरमा रहेका कामिरितासहित आरोहीहरु सगरमाथा आरोहण गर्ने उपयुक्त समयको प्रतीक्षामा छन् । सेभेन समिटमार्फत ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन् । खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रुपमा सगरमाथा आरोहण गर्दै आएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले यसवर्ष सफल आरोहण गरेमा आफ्नै कीर्तिमान तोडिनेछ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए । ‘सगरमाथा आरोहणका लागि जाँदैछु, मेरो अरू उद्देश्य छैन’, कामिरिताले भने, ‘हिमाल आरोहणको पेसालाई निरन्तरता मात्र दिएको हुँ, म कीर्तिमानीका लागि सगरमाथा गएको हैन ।’ मौसमले साथ दिएमा यो वर्ष उल्लेख्य सङ्ख्यामा आरोहीले सगरमाथा चुचुरोमा पाइला टेक्ने कामिरिताको विश्वास छ । उनले भने, ‘अघिल्लो आरोहणमा बढी चिसो भएको थियो, त्यसैले आरोहणमा केही असहजता थियो, आशा गरौँ यो पटक मौसमले साथ दिनेछ ।’ सगरमाथा आरोहणमा जाँदा खुम्बु आइसफल निकै जोखिमपूर्ण भएकाले विशेष सतर्कता अपनाउन आरोहीलाई उनको सुझाव छ । सगरमाथा आरोहणमा हुनसक्ने विकृति रोक्न आरोहीको निगरानी र व्यवस्थापनमा सरकारी निकायले विशेष ध्यान दिन जरुरी भएको उनको भनाइ छ । सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो । पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन् । कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चिज दिएको छ । हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ । कामिरिताको आरोहण यात्रा कामिरिताले विसं २०७९ को वसन्त ऋतुमा दुईपटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनपछि नै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुगेका थिए । कामिरिताले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमान पनि छ । कीर्तिमान जोगाउन चुनौती अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो । पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन् । पर्यटन विभागका अनुसार वैशाख १७ गतेसम्म ३७ आरोही समूहका ७० महिला र ३२० पुरुष गरी कूल ३९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी संकलन भएको छ । अघिल्लो वर्ष ४४ आरोही समूहका चार सय ७८ आरोहीले अनुमति लिएका थिए । जुन सङ्ख्या सगरमाथा आरोहण इतिहासकै सबैभन्दा बढी थियो । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म डोरी टाँग्ने काम सकिएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने अनुमान गरिएको छ । आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का आइसफल डाक्टरहरुले बाटो बनाउने गर्छन् । अघिल्लो वर्ष वैशाख ३० गतेबाट आरोहण सुरु भएको थियो । सात हजार बढी आरोही सगरमाथामा पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर-२०२३’ का अनुसार नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार छ सय २६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । हालसम्म सगरमाथा आरोहण गर्ने महिला ५१९ जना पुगेका छन् । पाँच वर्षको आरोहण सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ६ ५८ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसमा २४० आरोही तथा ४१८ सहयोगी छन् । सन् २०२१ मा १८३ आरोही र २७६ सहयोगी गरी कूल ४५९ ले सगरमाथा आरोहण गरेका थिए । सन् २०२० मा कोभिडका कारणले सगरमाथा आरोहण हुन सकेन । सन् २०१९ मा २८० आरोही र ३६४ सहयोगी गरी जम्मा ६४४ आरोहीले आरोहण गरे । यस्तै, सन् २०१८ मा २८२ आरोही तथा २९८ सहयोगी गरी जम्मा ५६० ले सगरमाथा आरोहण गरेका छन् । दुई साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।