लगानी गर्ने र रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् । मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका हुन् । छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाए । पुँजिगत खर्च बढाउनुपर्ने र साधारण खर्च घटाउन, आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनको नीति अख्तियार गर्न, प्रदेश र स्थानीय तहको क्षेत्रमा पर्ने साना आयोजनामा बजेट विनियोजन नगर्न, सहकारी समस्या समाधान गर्न, बजेट खर्च गर्ने निकायको संरचनागत सुधार गर्न, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन, चालु ठूला आयोजनाका काम सम्पन्न गर्न, वैदेशिक सहायता वृद्धि गर्न, तथा कर्मचारी संयन्त्रको मनोबल उकास्न सुझाव दिए । छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. पुष्पराज कँडेल, डा. दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वअर्थसचिवहरु कृष्णहरि बाँसकोटा, सुमन शर्मा, शंकर अधिकारी, राजन खनाल, रामशरण पुडासैनीलगायत सहभागी थिए । पूर्वप्रशासक र विज्ञको सुझाव लिएपछि अर्थमन्त्री पुनले आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्नेबारे सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरु क्रियाशिल र चिन्तित भएको रहेको बताए । ‘आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्ने विषयमा सिंगो देश नै एक ढिक्का छ र चिन्तित पनि छ । यो धेरै सकारात्मक कुरा हो’, मन्त्री पुनले भने । उले गत वर्षको तुलनामा अर्थतन्त्रका धेरै सूचकमा सुधार देखिए पनि केही क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताए । उनले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा तालमेल मिलाएर काम गर्नुपर्ने उल्लेख गेर । अर्थतन्त्रमा संकट हुँदा गरिएका कडाइहरुमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्रबैंकसँग छलफल भइरहेको जानकारी पनि दिए । निजी क्षेत्र र प्रशासन संयन्त्रको कमजोर मनोबल उठाउने गरी सरकार अघि बढेको उनको भनाइ थियो । ‘निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ’, उनले भने, ‘राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको छ ।’ मन्त्री पुनले काम गर्नेले सबैतिर जवाफ दिनुपर्ने र कामै गर्नेहरु लोकप्रिय हुने अवस्था आउनु चिन्ताजनक भएको बताए । काम गर्दा असल नियत राखेको होला वा विकेका प्रयोग गरेको होला भन्नेबाट भन्दा फट्याईं गरेको होला भन्ने कोणबाट सोच्ने प्रवृत्ति समाजमा संस्थागत हुन खोजेको उनले औंल्याए । ‘कसैले न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैन । राजनीतिक वा प्रशासनिक नेतृत्वमा बस्नेहरु जसले काम गर्दैन त्यो ठीक र लोकप्रिय जसले काम ग¥यो त्यसले जवाफ दिनुपर्ने जस्तो सोच समाजमा हाबी हुन थालेको छ’, उनले भने, ‘काम गर्दा मानिसले विवेक प्रयोग गर्छ, असल नियतले गर्छ भन्ने पनि सोच्नुपर्छ । सबैतिर अविश्वासको वातावरण छ । सबै लोक रिझ्याइँको पछि लागेर हुँदैन । मुलुक बनाउने हो भने यो अवस्था हटाउनुपर्छ ।’ राजनीतिक र प्रशासनिक नेतृवले कामका लागि आँट गर्नुपर्ने र त्यसमा समाजका अरु पक्षले साथ दिनुपर्ने उनले बताए । ‘सबैले एकपटक आँट गर्नुपर्ने भएको छ । राजनीतिक कोर्षभित्रै रहेर काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने भएको छ । सबैले सबैलाई शंका गर्ने र कसैले केही पनि गर्नुनपर्ने जस्तो भइरहेको छ’, उनले भने । फरक प्रशंगमा मन्त्री पुनले विकासका संरचना बनाउँदा आर्थिक क्षेत्र, कृषि र बजारको व्यवस्थासमेत गर्नुपर्ने महसुस गरिएको बताए । ‘हामीले मध्यपहाडी राजमार्ग बनायौं तर बजार र आर्थिक कार्यक्रम बनाएनौं । उत्पादनको क्षेत्र बनाएनौं । पूर्वपश्चिम हुलाकी राजमार्ग छ, तर सबैभन्दा गरिबी त्यसकै आसपासमा छ’, उनले भेन, ‘विकासका संरचना निर्माण गर्दा आर्थिक कार्यक्रम नबनाउँदा त्यस्तो भयो ।’ मन्त्री पुनले उच्चस्तरीय कर सुधार सुझाव आयोगको प्रतिवेदन अध्ययन क्रममा रहेको र आयोगका सुझावका आधारमा बजेटमार्फत सुधारका कार्यक्रम ल्याउने पनि उल्लेख गरे । सरकारले लगानी सम्मेलनमा अध्यादेशमार्फत ऐन संशोधन गरेर लगानी वातावरण बनाएको चर्चा गर्दै उनले अर्थतन्त्रको ९० प्रतिशत हिस्सा धान्दै आएको निजी क्षेत्रको मनोबल उठाउन सरकार प्रयासरत हरेको बताए । ‘लगानी गर्ने, रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो’, उनले भने, ‘सरकारले त सहजीकरण गर्ने, नीतिगत सुधार गर्ने र प्लाटफर्म दिने हो ।’
गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह
काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले मंगलबार गाजा पट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह गरेका छन् । इजिप्टको राजधानी कायरोमा भएको भेटवार्तामा दुवै नेताले प्यालेस्टिनी जनतालाई अतिक्रमित क्षेत्रमा सुरक्षित, पर्याप्त र दिगो मानवीय सहायता उपलब्ध गराउने र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरू कार्यान्वयन गर्ने आवश्यकतामा जोड दिएका हुन् । दुवै नेताहरुले गाजापट्टी भित्र मानवीय सहायताको प्रवेशलाई सहज बनाउनको लागि संयुक्त राष्ट्र संयन्त्र स्थापना गर्न आह्वान गरे । इजरायली अभ्यासले द्वन्द्वलाई बिस्तार गर्ने र क्षेत्रको सुरक्षा र स्थायित्व र अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिलाई खतरामा पार्ने भन्दै दुवै नेताले यस्तो कदमबाट निम्त्याउने गम्भीर मानवीय परिणामबारे चेतावनी दिए । दुवै नेताले प्यालेस्टिनी समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले दुई–राज्यीय समाधान कार्यान्वयन गर्न र सन् १९६७ सीमानामा रहेको प्यालेस्टिनी राज्यलाई पूर्वी जेरुसेलमको राजधानी बनाएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।
गर्मी बढेसँगै रामेछापमा दैनिक साढे ३ लाखको जुस बिक्री
रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ । स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् । विशेष गरी काठमाडौं र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो जुस जिल्लाका दुईवटा उद्योगबाट दैनिक ३ लाख ५० हजार रुपैयाँबराबरको बिक्री हुने गरेको उत्पादकहरूले बताएका छन् । जिल्लामा निजी क्षेत्रका डिलक्स एग्रो फरेस्ट्री प्रडक्ट र मन्थली डिलक्स एग्रो फरेस्ट्रीले ‘स्क्वास’ बनाएर बिक्री गरेका छन् । दुवै कम्पनीले अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्दै आएका छन् । जिल्लामा जुनारको स्क्वास प्रतिलिटर एक सय ५० र किवीको प्रतिलिटर २ सय रुपैयाँमा बिक्री हुने गरेको छ । एक भागमा चार भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाप जिल्ला सदरमुकाम मन्थलीका साथै जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायत विभिन्न बजार, दोलखा, ओखलढुंगा, काठमाडौं, ललितपुर भक्तपुर र तराईका जिल्लामा कोसेलीका रूपमा लैजाने गरिएको र दैनिकरुपमा दुवै कम्पनीबाट गरी ३ लाख ५० हजार रुपैयाँको बिक्री हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताए । त्यसैगरी गर्मीको समयमा चिया पिउनेको भन्दा बढी जुस पिउने आफ्नो कम्पनीमा आइर जुस खाने र किनेर लैजाने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए ।
अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द
बुटवल । अत्यधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । उपमहानगरपालिकाले बिहीबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो । केही दिनयता तातो हावा चल्न थालेकाले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० र २१ गतेका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा उल्लेख छ । सूचनाअनुसार विद्यालय बन्द भए पनि जारी रहेको कक्षा १२ को परीक्षा भने यथावत् रहने छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै
वैदेशिक रोजगारीमा भएकाहरूलाई लक्षित गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘वैदेशिक रोजगार बचतपत्र २०८६’ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरूका लागि पाँच वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्र आगामी जेठ २९ गते निष्कासन हुँदैछ । उक्त बचतपत्र बिक्री खुला हुने अवधि वैशाख २२ गतेदेखि जेठ २३ गतेसम्म रहेको छ । कार्यालयले वार्षिक ९ प्रतिशत ब्याजदर रहेको १ अर्ब रुपैयाँको बचतपत्र निष्कासन गर्न लागेको हो । न्युनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउने कार्यालयले जनाएको छ । यस बचतपत्रमा विदेशीमा रोजगारी गरिरहेका, नेपाल फर्केको ६ महिना नबितेका नागरिक, गैर आवासिय नेपाली र तिनका परिवारले लगानी गर्न पाउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यस बचतपत्रमा लगानी गर्नेले अर्धवाषिर्क रूपमा ब्याज भुक्तानी पाउनेछन् । तर, उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने छ । आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेस गर्नुपर्नेछ । लगानीकर्ताले बचतपत्र खरिदका लागि १४ वाणिज्य बैंकहरू सिटिजन, नबिल, माच्छापुच्छ्रे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा, सिटी उक्सप्रेस मनी ट्रान्फर, आइएमई लिमिटेड, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, इसेवा र नेपाल रेमिट इन्टरनेसनल कम्पनीहरूबाट आवेदन बुझाउन सक्नेछन् । यस बचतपत्रको अवधि ५ वर्षको हुनेछ ।
काभ्रे रोशीका १५ अग्नि पीडित परिवारलाई आर्थिक सहयोग
काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो । समितिले बुधबार गाउँपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य सङ्घद्वारा उपलब्ध राहत सामग्री वितरण गरेको हो । गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हुरीबतासका कारण बस्तीमा फैलिएपछि सानोपोटा गाउँका १५ घर जलेका थिए । गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाकुँडा, कम्बललगाय सामग्री तथा सङ्घले पीडितलाई प्रतिपरिवार एक बोरा चालम, दाल एक किलो, खानेतेल एक लिटर, नुन एक किलो प्रदान गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामासहित तरुण दलका केन्द्रीय सदस्यको टोलीले बुधबार नै पीडित प्रतिपरिवारलाई दुई बोरा चामल, नुन, तेल दाल तथा बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले खाद्यान्न सहयोग गरेका थिए । विपद् व्यवस्थापन समितिले पीडितलाई प्रतिपरिवार ५ हजार रुपैयाँका दरले नगद पनि उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई रु पाँच हजार दिइएको र बाँकी रु दश हजार केही दिनमै उपलब्ध गराइने बताइन् । साथै, क्षतिग्रस्त घर पुनःनिर्माण गर्न स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा प्रक्रिया अघि बढाउन पहल गरिने शर्माले बताइन् । आगलागीबाट २ करोड २६ लाख ३० हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई दाजुभाइले एप विकासमा गरेको ‘क्रान्ति’
काठमाडौं । सामान्यतया बालबालिका आफ्नो ग्रेड र स्कुलको कामबारे चिन्तित हुन्छन् । त्यसमा केही बालबालिका असाधारण प्रतिभा भएका पनि हुन्छन् । यस्तैमध्येका दुई बालक जो कक्षा ६ र ८ मा पढ्दा भारतमा कम्पनीको सबैभन्दा कान्छो सहसंस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । त्यस्ता दुई प्रतिभाशाली भाइहरू हुन् श्रवण र सञ्जय कुमारन । उनीहरूले सबैभन्दा कान्छो एप विकासकर्ताको उपाधि हासिल गरे। दुवै ‘३० अन्डर ३०’ को सूचीमा परेका छन् । श्रवण र सञ्जयले सन् २०११ मा चेन्नईस्थित आफ्नो घरबाट गोडाइमेन्सन्स नामक कम्पनी स्थापना गरेका थिए । त्यतिबेला उनीहरू १० र १२ वर्षका थिए । सञ्जयले सीईओको रूपमा काम गरे । जबकि श्रवणले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । छोटो समयमै दुई दाजुभाइले सातवटा मोबाइल एप विकास गरे । उनीहरूले ५० भन्दा बढी देशमा लोकप्रियता प्राप्त गरे । हजारौं प्रयोगकर्ताहरूले ती एप प्रयोग गरे । बुबाका कारण प्रोग्रामिङमा रुचि बढ्यो उनीहरूको बाल्यकालमा प्रोग्रामिङमा रुचि उनका बुबा कुमारन सुरेन्द्रनका कारण परेको थियो। बुबाबाट सिकेर सानैदेखि कम्प्युटरमा काम गर्न थालेका थिए । दुवैले चार वर्षको उमेरमा पावरप्वाइन्ट प्रिजेन्टेसन (पीपीटी) बनाउन थालेका थिए । कुमारन भाइहरूले विकास गरेको पहिलो एप ‘क्याच मी कोप’ थियो । यो भारतको प्रसिद्ध बाल्यकालको खेल ‘चोर-पुलिस’बाट प्रेरित गेमिङ एप हो । भाइहरूले अन्य एपहरू पनि विकास गरेका छन् । यसमा बाल शिक्षा एप- अल्फाबेट बोर्ड र कलर प्यालेट, आपतकालीन सेवा एप- इमर्जेन्सी बुथ, द प्रेयर एप र गेमिङ एप- सुपरहिरो र कार रेसिङ समावेश छन् । यसबाहेक उनीहरूले १ सय ५० टेस्ट एप पनि बनाएका छन् । दुवै दाजुभाइ अहिले कहाँ काम गर्छन् ? पछि दुवै होनहार भाइहरूले अमेरिकाको टेक्सास ए एन्ड एम विश्वविद्यालयबाट कम्प्युटर विज्ञानको डिग्री हासिल गरे । दुवैको लिंक्डइन प्रोफाइल अनुसार श्रवण हाल सान फ्रान्सिस्कोको सेल्सफोर्समा सफ्टवेयर विकासकर्ताको रूपमा काम गरिरहेका छन् । उही समयमा सञ्जय माइक्रोसफ्टमा सफ्टवेयर इन्जिनियर इन्टर्नको रूपमा काम गर्छन् । एजेन्सी
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाइने
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामै पहिलो पटक मनास्लु हिमाल आरोहण दिवस मनाइने भएको छ । सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु शेर्पाले पहिलोपटक मनास्लु हिमालको सफल आरोहण गरेको दिन पारेर ६८औं मनास्लु हिमाल आरोहण दिवस मनाउन लागिएको आज सदरमुकाममा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको हो । सोही समयदेखि अन्तर्राष्ट्रिय साहासिक पर्यटन क्षेत्रमा मनास्लु हिमालको चर्चा चुलिएको पाइन्छ । धार्चे मनास्लु पर्यटन विकास समितिले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले यसअघि काठमाडौंमा मनास्लु हिमाल आरोहण दिवस मनाउने गरिए पनि गाउँपालिकाले भने पहिलोपटक दिवस मनाउन लागेको जानकारी दिए । दिवसको अवसरमा मनास्लु पदमार्ग हुँदै मनास्लु क्षेत्रमा पुग्ने पर्यटकलाई सम्मान गर्ने, प्रकृति पूजा गर्नेलगायत अन्य स्थानीय संस्कृतिको उजागर गर्ने गरी सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष लामाको भनाइ छ । ‘सोही अवसरमा पर्वतारोहण सङ्घको झण्डा र ब्यानरसहित र्याली निकाल्ने कार्यक्रम पनि रहेको छ,’ उनले भने, ‘त्यसबाहेक अन्य थुप्रै कार्यक्रमको आयोजना गरिएको छ ।’ यस वर्षदेखि नियमितरूपमा स्थानीय सरकारले नै स्वामित्व लिएर दिवस मनाउन लागिएको उनको भनाइ छ । यसले गोरखाको पर्यटन र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु संरक्षण क्षेत्र ट्रेकिङ टुरिजममा पहिलो गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले जिल्लामै मनास्लु हिमाल आरोहण दिवस मनाउने शृङ्खलाको सुरुआत हुनु गोरखाका लागि महत्वपूर्ण हुने बताए । ‘मनास्लु हिमाल आरोहण गर्नका लागि स्वेदशी तथा विदेशी पर्यटकको आर्कषण पनि बढ्दै गएको छ,’ उनले भने, ‘यसलाई थप प्रवर्द्धन गर्दै मनास्लु हिमालको प्रचारप्रसारका लागि दिवस मनाउन लागिएको हो ।’ मनाास्लु हिमाल आरोहणका लागि जापानसहित नर्वे, संयुक्त राज्य अमेरिका, डेनर्माक, क्यानडा, चेक रिपब्लिकलगायतका थुप्रै विदेशी पर्वतारोहीको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । गोरखाको नुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमाल विश्वको आठौं अग्लो हिमशृङ्खला हो ।