विकासन्युज

काठमाडौं बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं । काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई)  एक सय ६२ पुगेको छ । एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिएका छन् । ‘वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण बढेर काठमाडौंलगायतका मुख्य सहरका हावा अस्वस्थ बनेको छ’, उनले भने, ‘केही समय पानी नपरे वन डढेलो पनि नियन्त्रणमा ल्याउन गाह्रो हुने र प्रदूषण अझै बढ्ने खतरा रहेको छ ।’ तर जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसारकेही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि राम्रो वर्षाको सम्भावना छैन । विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात् ग्रीन सिङ्गलले चिनिन्छ । ‘५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेंलो सङ्कतले चिनिन्छ । यसैगरी एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ’, उनले भने, ‘एक सय ५१ देखि दुई सयदेखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ्यका रुपमा लिइन्छ र तीन सय एकदेखि चार सयलाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरा मानिएको छ ।’ बढ्दो वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको भन्दै वन डढेलो जतिसक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुग्ने बताउँछन् वातावरण अभियन्ता राजन थापा । काठमाडौंं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दाबढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ । रासस

अब्बल अनल, ‘अजकल्टो’ साहित्यकार

काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो अनल गौतम । एनएलजी इन्स्योरेन्समा दाबी भुक्तानी प्रमुखका रूपमा काम गरिरहेका उनको क्षमता, सक्रियता र मिहिनेतको तारिफ गर्नेहरू बीमा क्षेत्रमा धेरै छन् । सानैदेखि परिश्रम गर्ने बानी परेका अनलको व्यक्तिगत जिन्दगी भने केही सकसमा बित्यो । वि.सं २०३८ सालमा हेटौंडामा जन्मिएका अनल घरको कान्छो र एउटै छोरा । उनले वि.सं. २०५४ सालमा हेटौंडाको बालज्योति स्कुलबाट एसएलसी (हालको एसईई) पास गरे । एसएलएसी परीक्षा दिएको भोलिपल्टै उनले काम सुरु गरे । किनकि उनमा काम गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ भन्ने भावना सानैदेखि थियो । उसो त उनलाई सानै छँदा वकिल वा पत्रकार बन्ने रहर थियो । तर, जीवन न हो बाटो मोडियो । एसएलसीलगत्तै उनले कुरियरमा काम थाले । तलब थियो ४ सय रुपैयाँ । त्यसपछि उनी पब्लिक कल अफिस (पीसीओ)मा आबद्ध भए । त्यतिबेला मोबाइल थिएन । फोन, फ्याक्स र इमेलबाट मात्रै कुराकानी हुन्थ्यो । त्यसका लागि पीसीओ अफिसको आवश्यक पर्थ्यो । इन्टरनेट सर्वसुलभ नभएकाले इमेल पनि तोकिएको पीसीओबाट मात्रै गर्न मिल्ने व्यवस्था थियो । एक पटक इमेल गरेको २५ रुपैयाँ शुल्क लाग्थ्यो । पीसीओमा उनको मासिक आम्दानी एक हजार रुपैयाँ हुन्थ्यो । त्यो बीचमा उनी धेरै ठाउँमा आबद्ध भए । विसं २०६४ सालमा उनी बीमा क्षेत्रमा प्रवेश गरे । आजभन्दा १७ वर्षअघि उनी साविकको लुम्बिनी जनरल इन्स्योरेन्स (हाल सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी) बाट बीमा क्षेत्रमा प्रवेश गरे । उनले सुरुमा मार्केटिङ गरे । त्यसको ४ वर्षपछि साविकको एभरेष्ट इन्स्योरेन्स (हाल हिमालयन एभरेष्ट) मा गए । त्यहाँ क्लेम विभागमा थिए । त्यहाँ पनि ४ वर्ष बढी काम गरे र २०७३ सालबाट भने हालसम्म एनएलजीमा दाबी भुक्तानी विभागको प्रमुखका रूपमा काम गरिरहेका छन् । उनी भन्छन्, ‘पैसाले आत्मविश्वास बढाउने रहेछ, तर त्यही पैसाले पढ्ने बानी सिध्याउँदो रहेछ ।’ काम गर्दै गर्दा उनले पढाइलाई पनि अगाडि बढाए । तर, कामलाई नै बढी प्राथमिकता दिनुपरेका कारण पढाइतर्फ धेरै ध्यान दिन सकेनन् । उनले कानुनको पढाइ पनि अगाडि बढाए । कामकै कारण पढाइलाई निरन्तरता दिन नसकेको उनी बताउँछन् । ‘त्यतिबेला पढाइलाई दिने समयभन्दा कामलाई दिने समय अलिकति बढ्यो भने आम्दानी अलि बढी हुन्छ र सस्टेन हुन सक्छु भन्नेजस्तो महसुस हुन्थ्यो, बाध्यताले नै जागिरतिर फोकस भइयो, जुन गलत भयो,’ गौतम पश्चाताप महसुस गर्दै भन्छन् । अनलको पहिलेको घर काठमाडौंमै हो । तर, बुबा सरकारी जागिरे भएका कारण सरुवा भएर हेटौंडा गएपछि घर पनि उतै बन्यो । हेटौंडा गएको केही वर्षमै उनका बुवाआमाको निधन भयो । उनी आमाको ब्रेनह्यामरेज र बुवाको पनि रोगकै कारण निधन भएको बताउँछन् । ‘जबसम्म आमाबुबा हुनुहुन्थ्यो, मेरो जीवन एउटा खुसीको चरणमा थियो, तर उहाँहरूको निधन भएपछि जीवनले अर्कै रूप लियो,’ उनले निराश हुँदै भने, ‘बाल्यकालदेखि नै आफूले आफूलाई सम्हाल्नुको पीडा पनि व्यक्त गर्न नसकिने खालको हुँदो रहेछ ।’ उनले आफ्नो कामलाई सर्वोपरि ठान्दै मिहिनेत गरिरहेका छन् । उनी भन्छन्, ‘२०५४ सालदेखि २०८० सम्म अनवरत काम गर्दै आएको छु, बिचमा दुई/चार दिन कामबाट छुट्टी लिएँ होला, नत्र कहिल्यै पनि विश्राम लिइनँ ।’ उनी बीमा क्षेत्रमा कामसँगै साहित्यमा पनि रूची राख्छन् । धेरै कृतिहरू प्रकाशन पनि गरिसकेका छन् । ‘अफिस छिरेपछि मेरो जागिरे जीवन सुरु हुन्छ, बाहिर निस्किएपछि मेरो व्यक्तिगत जीवन सुरु हुन्छ, बाँकी रहेको समय आफ्नो हो, व्यक्तिगत समयलाई उपयोग गरेर साहित्यतर्फ मोडिएँ,’ उनले साहित्यिक यात्रा सुनाउँदै भने । हालसम्म उनले सात वटा साहित्यिक कृतिहरू सार्वजनिक गरिसकेका छन् । शुभप्रभात (हाइकु सङ्ग्रह,२०६४), चिनारी (कविता सङ्ग्रह, २०६६), घाटघाटका कथा (कथोपन्यास, २०७०), सरसी (गीती सङ्ग्रह, २०७०), लभ एट २५ (उपन्यास, २०७४), बार्दली (उपन्यास, २०८०) र दाहिने हाते सिक्का र साइकल (कथा सङ्ग्रह, २०८०) उनका हालसम्मका प्रकाशित भएका साहित्यिक कृतिहरू हुन् । ‘लेखनमा मलाई आख्यान विधा नै मनपर्छ, जसमा प्रेम छुटाउनै सकिँदैन, कोही प्रकृतिप्रेमी, कोही व्यक्तिप्रेमी,’ उनी भन्छन् ‘मेरो कृतिमा लेखिएका विषयहरू समाज केन्द्रित हुन्छन् ।’ अनलको साहित्यिक यात्रा लोकप्रियता र पैसाका लागि होइन । उनी भन्छन्, ‘हामीजस्तो अजकल्टो साहित्यकारहरूलाई किताब निकाल्नु बढो अफ्ठ्यारो हुने रहेछ ।’ अजकल्टो ? हामीले जिज्ञासा राख्यौं । उनी थप व्याख्या गर्दै भन्छन्, ‘न म फ्रेसर त स्थापित साहित्यकार, यी दुईलाई जे गर्दा पनि चल्यो, स्थापित साहित्यकारको फलानो कृति आयो रे भनेपछि त्यसले बजार पाउँछ, फ्रेसरका लागि पनि खासै फरक पर्दैन, तर म जस्तो अजकल्टो साहित्यकार र अजकल्टो लेखकको लागि वास्तवमै कठिन रहेछ साहित्य ।’ लेखनमा मात्रै होइन उनले जागिर लगायत आफ्ना जीवनका हरेक पाटालाई अजकल्टोका रूपमा लिएका छन् । उनी जागिरे जिन्दगीलाई पनि अजकल्टोको संज्ञा दिन्छन् । ‘म माथिल्लो स्तरको कर्मचारी पनि हाेइन, नत म तल्लो स्तरको कर्मचारी, न त म बच्चा, न त म बुढो, अर्थात मेरो जीवनको हरेक पाटाहरू परिपक्व हुने क्रममा छन्,’ उनी भन्छन्, ‘जागिरे जीवन, साहित्य यात्रा, उमेर सबै पाक्ने क्रममा छ ।’ तर, उनी आफूलाई साहित्यकारका रूपमा चिनाउन पाउँदा भने खुसी हुन्छन् । सन्तुष्टि मिल्छ । किनकि साहित्य उनको रूची हो । उनी भन्छन्, ‘विगत २६ वर्षदेखि विभिन्न क्षेत्रमा अनवरत आफ्नै व्यवसाय र जागिर गर्दैगर्दा व्यावसायिक मान्छे हुँ भन्ने जस्तो महसुस हुन्छ, तर साहित्यिक जगतमा चिनाउनु पर्दा साहित्यकार भन्न अझ बढी मज्जा आउँछ ।’ अनलको बुझाइमा जागिर गर्ने प्रतिष्ठाको लागि हो, पैसा कमाउनको लागि होइन । जागिरबाट परिवार पाल्न सकिएला तर जीवनको अरू इच्छा र चाहानाहरू पूरा हुन नसक्ने उनको धारणा छ । आफ्नो लगाव अनुरूपको क्षेत्र छनौट गरी व्यवसाय पनि सँगै अघि बढाउनुपर्ने धारणा उनको छ । सानैमा ‘फोर्स म्यारिज’ बुबाआमाको देहान्तपछि अनलको घरमा अनल र चार जना दिदीसहित पाँच जना थिए । तीन दिदीहरूको क्रमशः विवाह भयो । कान्छी दिदीको विवाह गर्ने बेलामा विवाह गर्न दिइएन । ‘तिम्रो विवाह गरेपछि मात्रै दिदीको विवाह गर्ने नत्र घरमा कोही पनि हुँदैन, एक्लो मान्छे, सारोगाह्रो पर्दा तातोपानी तताएर दिने कोही हुँदैन’ भन्ने जस्ता प्रेसर अनलमाथि आयो । ‘म मेरो विवाह फोर्स म्यारिज भन्छु, बाध्यात्मक रूपमा कम उमेरमै गरिहाल्नुपर्ने भयो, मेरो दिदीहरूले नै मेरो मागी विवाह गराउनुभयो, तर हामी सम्बन्धमा नै थियौं, लगभग डेढ वर्षको सम्बन्धलाई २०/२२ वर्षको उमेरमै विवाहमा परिणत गर्यौं,’ उनले विवाह गर्दाको क्षण स्मरण गर्दै भने । अहिले उनका दुई छोराछोरी छन् । सफल हुने चार चरण अनलका अनुसार जीवनमा सफल हुनका लागि चार वटा चरणहरू छन् । व्यक्तिमा क्षमता चाहिन्छ । दोश्रो, त्यो क्षमता प्रदर्शन गर्ने प्लेटफर्म । तेश्रो, अनवरत प्रयास, मिहिनेत, परिश्रम र चौथोमा भाग्य, भगवान र आर्शीवाद आउँछ । व्यक्तिमा जन्मजात पनि केही न केही क्षमता हुन्छ । त्यो क्षमता आफूले चिन्न सक्नुपर्ने उनको भनाइ छ । व्यक्तिको क्षमता अरूले पहिचान गरेर काम गर्न नसकिने उनको भनाइ छ । बीमाका अब्बल अनल अनल अहिले एनएलजी इन्स्योरेन्समा दाबी भुक्तानी प्रमुखका रूपमा छन् । जहाँ दैनिक बीमितहरूको गुनासाका चाङ लाग्छन् । तर, व्यवस्थापनमा अब्बल गौतमले यसलाई सजिलै सल्टाउँछन् । त्यसैले पनि उनी धेरैको विश्वासी पात्रका रूपमा चिनिन्छन् । दाबी भुक्तनीमा देखिएका समस्यालाई उनी सजिलै सल्ट्याउँछन् । ‘बीमितले जति नै बीमा गरेको थियो, सोही रकम दाबी गर्छन्, यस्तो केश हिजोको दिनमा हुन्थ्यो भने म्यानुपुलेसन हुन्थ्याे, सबै सरोकारवालाहरुले आफ्नो तवरबाट अनड्यिु फाइदा लिग्थे, तर आजको दिनमा पहिलाको जस्तो छैन,’ उनी भन्छन्, ‘अहिले सबै पारदर्शी भइसकेको छ ।’ अनलका अनुसार अहिले नियमन निकायको नियम एकातिर र वास्तविक सिनारियो अर्कोतिर छ । सबैखालका बीमा दाबीलाई एउटै आँखाले हेर्दा र एउटै नियमभित्र ल्याउँदा त्यसले पार्ने असर परिरहेको छ । ‘कुनै दुर्घटना भयो र उक्त दुर्घटनाको रिपोर्ट सर्भेयरले १५ दिनभित्र बुझाउनुपर्छ, कतिपय अवस्थामा त सर्भेयर सम्बन्धित ठाउँमा १५ दिनभित्र जानै सक्दैन, बीमा कम्पनीलाई पनि कागजात प्राप्त गरेको ३५ दिनभित्र दाबी फ्छ्यौट गरिसक्नुपर्छ,’ उनी भन्छन्, ‘तर, कतिपय केश यस्ता हुन्छन् कि समय सीमा ३५ दिन होइन ३ वर्ष पनि लागिदिन सक्छ, यो अवस्थामा आफूले संयमित भएर काम गर्न सक्नुपर्छ ।’ साथै, देशमा छाएको आर्थिक मन्दीले बीमामा खासै ठूलो असर नगर्ने र बीमा गर्न नसक्ने कोही पनि नहुने गौतम बताउँछन् । हामी नेपालीमा जनचेतनाको कमी हुँदै होइन । वास्तवमा नेपालीको हकमा हरेक नियम बाध्यकारी नै हुनुपर्ने गौतम बताउँछन् । दाबी भुक्तानीमा चुनौती उनका अनुसार क्षतिपूर्ति जसरी पनि असूल्नु पर्छ भन्ने मानसिकता बढ्दै गएको छ । जुन निकै खतरनाक हुन्छ । यसले गर्दा समाजलाई भ्रष्टाचारी बनाउँछ । अबको समयमा गलत किसिमको बीमा गरेर त्यसको फाइदा लिन खोज्ने, अपराधिक मानसिकता भएका व्यक्तिबाट बीमा क्षेत्रलाई जोगाउनु नै ठूलो चुनौती रहेको उनको भनाइ छ । ‘जस्तो मानिसको बीमा गरायो, पैसाको लागि उसलाई मारिदियो, यो नै अपराधिक मानसिकता हो,’ गौतम भन्छन्, ‘बीमा गर्ने समयमा बीमा कम्पनीले एउटा लेयर फिल्टर गर्नुपर्छ, जसले गर्दा अपराधिक मानसिकताले बीमा गर्ने व्यक्ति त्यो लेयरबाट माथि उक्लिन नपाओस्, यसमा स्थानीय प्रहरी प्रशासन जसले छानविन गर्छ उसले मिहीन रूपले छानबिन गर्दा फेक क्लेम हो है भन्ने प्रमाणित हुँदा राम्रै सजाय दिनुपर्छ ।’ उपन्यास लेख्दै अहिले उनी एउटा उपन्यास लेख्दैछन् । २०८२ सम्ममा सार्वजनिक गर्ने योजना उनको छ । ‘बाँकी जीवन बीमा क्षेत्रमै हुन्छ, आफूले सतप्रतिशत काम दिनसक्यो भने कुनैले पनि केही गर्न सक्दैन, आफूले मिहिनेत भने गर्नैपर्छ,’ उनी भन्छन् । ‘बीमा क्षेत्र उदयीमान छ, भोलि हुने आर्थिक हानी/नोक्सानीमा मद्दत गर्ने भनेकै बीमाले हो, बीमा नगरी सुखै छैन,’ उनी भन्छन्, ‘नियमनकारी निकायको नियमभित्र रहेर हामीले आफ्नो उत्कृष्ट सेवासहितको भूमिका सशक्त बनाउँदै जानुपर्छ ।’

अण्डाको मूल्य घट्यो

काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघको बुधबार बसेको भर्चुअल बैठकले आजदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । नयाँ निर्धारण भएको मूल्यअनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ । ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्ने संघले जनाएको छ । नयाँ निर्धारण गरिएको मूल्य पहिलेको भन्दा घटेको हो । यसअघि २२ चैतमा मध्यम अन्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ थियो ।

स्पा तथा वेलनेस सेवामा जनशक्ति अभाव

काठमाडौं । पर्यटनको महत्त्वपूर्ण ‘प्याकेज’का रूपमा रहेको स्पा तथा वेलनेस सेवाका लागि आवश्यक दक्ष जनशक्ति अभाव भइरहेको यस पेसा व्यवसायका सरोकारवालाले औँल्याएका छन् । नेपालको पर्यटनमा महत्त्वपूर्ण सेवाका रूपमा रहेको स्पा र वेलनेस सेवाको माग दिनप्रतिदिन बढिरहे पनि दक्ष जनशक्ति अभावले उपभोक्ताको माग धान्न हम्मेहम्मे परिरहेको छ । यसै परिप्रेक्ष्यमा ट्रयान्क्विलिटी स्पा एकेडेमीले रोजगारीको ग्यारेन्टीसहित तीनमहिने ‘स्पा थेरापिष्ट’को तालिममा नयाँ भर्ना खोलेको छ । एकेडेमीले विगत लामो समयदेखि स्पा तथा ब्यूटीसियनसम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको छ । हालसम्म एक हजार पाँच सय स्वदेशी तथा तीन सय विदेशी प्रशिक्षार्थीलाई स्पा थेरापिष्टसहित विभिन्न तालिम दिइएको एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले जानकारी दिए । एकेडेमीले नयाँ पाठ्यक्रमसहितको भर्ना खोलेको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक पुरीले अथाह सम्भावना र माग भइरहेको यो क्षेत्रमा दक्ष जनशक्ति अभाव भइरहेको सन्दर्भमा एकेडेमीले विभिन्न कक्षा सञ्चालनमा ल्याउन लागेको बताए । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीले ‘स्पा थेरापिष्ट’ सहित विभिन्न तालिममा रोजगार ग्यारेन्टीसहित नयाँ भर्ना खोलेको कम्पनीले उल्लेख गरेको छ । एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले हालसम्म तालिम लिएका कोही पनि बेरोजगार नभएको बताए । सन् २००९ मा ट्रयान्क्विलिटी ब्यूटी एकेडेमीका रूपमा स्थापना भएको र हाल ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी नाममा सञ्चालन भएको हो । एकेडेमीका तालिम संयोजक राजेश फैजुले आवश्यकतानुसार छ दिनदेखि एक वर्षसम्मका तालिमको डिजाइन गरेर एकेडेमीमा तालिम दिइन्छ । रोजगारको आवश्यकता भएकाहरूलाई बैकिङ लोन तथा जब ट्रेनिङको समेत व्यवस्था गरिएको उनले बताए । एकेडेमीले भारत, दुबई, थाइल्याण्ड, स्वीजरल्याण्डलगायत देशका प्रतिष्ठित कलेज तथा तालिम केन्द्रबाट तालिमप्राप्त, अनुभवी एवं दक्ष प्रशिक्षकका साथै आयुर्वेद चिकित्सक ऐश्वर्य श्रेष्ठबाट प्रशिक्षण गराइरहेको जानकारी दिएको छ । तालिमप्राप्त जनशक्तिको उच्च माग र आवश्यकतालाई मध्यनजर गर्दै एकेडेमीले डिप्लोमा इन स्पा थेरापी, बेसिक इन मसाज थेरापी, आयुर्वेदा फाउण्डेशन कोर्ष तथा एडभान्स डिप्लोमा इन स्पा म्यानेजमेन्टजस्ता कोर्षहरू डिजाइन गरी सुरुआत गरेको हो । स्पा एकेडेमीबाट तालिम लिएपश्चात स्वरोजगार तथा व्यावसायिक सुरुआत गर्न चाहनेहरूलाई अत्यन्त उपयोगी हुनुका साथै वैदेशिक रोजगारीमा जान चाहनेले आकर्षक तलबसहित सम्मानजनक जागिर प्राप्त गर्न सक्ने एकेडेमीले विश्वास लिएको छ । ट्रयान्क्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी नेपालका अधिकांश पाँचतारे होटलमा सेवा दिइरहेको स्पा तथा वेलनेस जगत्मा नेपालकै सबैभन्दा ठूलो र स्तरीय स्पा चेन भएको ट्रयान्क्विलिटी स्पा प्रालिको भगिनी संस्था हो । यकिन तथ्याङ्क नभए पनि नेपालको प्रमुख पर्यटकीय क्षेत्रमा आठ सयदेखि एक हजार स्पा सञ्चालनमा रहेको व्यवसायीको अनुमान छ । रासस

अप्रिलमा १ लाख ११ हजार बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालमा पर्यटक आगमनमा वृद्धि हुदै गइरहेको छ । सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ को अप्रिलमा ९८ हजार ७ सय ७३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिलमा यो संख्या १२.७६ प्रतिशतले बढी हो। अप्रिलमा सबैभन्दा बढी भारतबाट ३० हजार १ सय ५८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । अमेरिकाबाट ९ हजार ९ सय ४७, चीनबाट ९ हजार ७ सय ५० र बेलायतबाट ५ हजार ३ सय ९१जना नेपाल भ्रमणमा आएका छन् । त्यसैगरी अस्ट्रेलियाबाट ४ हजार १ सय १०, बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५  जनाले नेपाल घुमेका  छन् । यसअघि मार्चमा १ लाख २८ हजार १ सय ७६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । २०२४ को पहिलो तीन महिना (जनवरी, फेब्रुअरी र मार्च) मा ३ लाख ४ हजार ६ सय ९३ विदेशी पर्यटक भ्रमणमा आइसकेका छन् ।

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभुति गर्ने

काठमाडौंं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ ।

भन्सार छलेर ल्याइएका ८ लाखका स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

काठमाडौं । भारतबाट भन्सार छली गरी ल्याइएका ८ लाख रुपैयाँ बराबरका मोबाइल डिस्प्ले बाँके प्रहरीले बरामद गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले यी डिस्प्ले नेपालगञ्जबाट बरामद गरेको हो । भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएका ४०० पिस डिस्प्ले बरामद गरिएको हो । प्हरीका अनुसार डिस्प्ले भित्र्याउने व्यक्तिलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

सन सेक्युरिटिजले ल्यायो विदेशका नेपाली श्रमिकलाई निःशुल्क रेमिट डिम्याट खाता

काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट विदेशमा बस्ने नेपालीलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्न सहज हुने कम्पनीको विश्वास छ । कम्पनीले विदेशमा रहेका नेपालीले आफ्नो पेसाबाट जम्मा गरेकाे बचतबाट केही रकम  नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस् भनेर यो सेवाको सुरुवात गरेको बताएको छ । सनको ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’ को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेसामा आबद्ध नेपालीले समेत खोल्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीको वेबसाइट www.sunsecurities.com बाट open account मा गएर वा सिधा https://www.sunsecurities.com/portal.html बाट रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरु संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीसमक्ष भिडियोमा उपस्थित भई भिडियो केवाइसि भेरिफाई गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनको पालना गरी भिडियो केवाइसी भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुने ग्राहकका लागि बैंक तथा वित्तिय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आइपिएस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकले एकद्वारबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्न सक्नेछन् ।