विकासन्युज

४३६ स्थानमा डढेलो

काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए । ‘आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।’ उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उनका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरु हुन्छन् । ‘असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन्  । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्छन्  । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ’, शर्माले भने । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले बताए । प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो । रासस

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको आज उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उहाँहरूको अधिकारको विषय भएको उल्लेख गरे । ‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ’, उनले भने । कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनःस्थापना गर्न आवश्यक भएकामा जोड दिँदै गृहमन्त्री लामिछानेले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रुपान्तरण गराउन जरुरी भएको औँल्याए । ‘कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप कुनै पनि सजाय पाउनु हुँदैन’, उनले भने । अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधारगृहका रूपमा रुपान्तरण गर्न मन्त्रालाय लागिपरेको बताए । गृहमन्त्री लामिछानेले कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्दै पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा जोड दिए । ‘आवाज र पहुँचका आधारमा होइन, असल आचरण र कानुनले तोकेको मापदण्ड पूरा गरेको जोसुकै कैदीबन्दी नियमानुसार छुट्नुपर्छ’, उनले भने । गृहमन्त्री लामिछानेले कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीले प्रदेशमा लागेको डढेलो नियन्त्रण गर्न कदम चाल्न सङ्घीय गृह मन्त्रालयको ध्यानाकर्षण गराए । लुम्बिनी प्रदेश सरकारका समाजिक विकासमन्त्री रत्न खत्री, कारागार व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाललगायतले कारागार सुधारका विषयमा आफ्नो धारणा राखेका थिए । विसं २०७९ मङ्सिरमा निर्माण गरिएको बाँकेको नौबस्ता कारागारमा हाल एक सय ३० कैदीबन्दी छन् । तीन हजार कैदीबन्दी राख्ने क्षमताको उक्त कारागारमा हाल करिब एक हजार कैदीबन्दी अट्न मिल्ने पहिलो चरणको काम सम्पन्न भएको छ । कारागारको दोस्रो र तेस्रो चरणको काम अझै बाँकी छ । रासस

आइएमई लाइफ : व्यवसायमा बलियो, लाभांशमा आकर्षक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमै दोस्रो बढी लाभांश घोषणा गर्यो ।  आईपीओ जारी गरेको १० महिनामामै कम्पनीले ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश घोषणा गरेको हो । यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात् वितरण हुनेछ । कम्पनीले पछिल्लो समय व्यवसाय पनि राम्रै गर्दै आएको छ । कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार ३३ करोड १५ लाख ६० हजार रुपैयाँ खुद नाफा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको ७५.७९ प्रतिशत नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ सेयर प्रिमियम शिर्षकमा सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीका अधिकांश वित्तीय सूचकहरू बलियो देखिन्छन् । वित्तीय संस्था तथा बीमा कम्पनीहरू आर्थिक सुस्तताको समस्या भोगिरहँदा आइएमई लाइफले भने राम्रो व्यवसाय गरिरहेको देखिन्छ । सेयर बजारमा उच्च कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले उच्च लाभांश घोषणा गरेपछि त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको छ । बिहीबार ३४.५० प्रतिशत लाभांश घोषणा भएपछि सुरुवाती अवस्थामा कम्पनीको सेयर मूल्य बढेको थियो । तर, अन्तिम अवस्थामा भने त्यो अवस्था रहन सकेन । अर्थात्, बिहीबार कम्पनीको सेयर मूल्य २ रुपैयाँले घट्यो । मूल्य घटे पनि कारोबार भने बढी भएको छ । हाल यस कम्पनीको सेयर मूल्य ५७१ रुपैयाँ छ । बिहीबार कम्पनीको ४ लाख ९७ हजार ५७ कित्ता सेयर किनबेच भएर कुल २८ करोड ७७ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । जुन बिहीबार भएको कम्पनीहरूमध्येको उच्च कारोबार हो । लगानीकर्ता राजन लम्साल अन्य कम्पनीको तुलनामा आइएमई लाइफको लाभांश आकर्षक नै भएको बताउँछन् । उनी कम्पनीमा सर्टटर्म लगानीकर्ताको आकर्षण भएको धारणा राख्छन् । हाल यस कम्पनीको सञ्चालक समितिको अध्यक्षको रूपमा रामहरी अर्यालले नेतृत्व गरिरहेका छन् भने व्यवस्थापनबाट कबी फुयालले प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका छन् ।

नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

नुवाकोट । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । बिहीबार नुवाकोटस्थित ईलाका प्रहरी कार्यालय, पञ्चकन्याको नवनिर्मित कार्यालय भवन तथा ब्यारेकको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका हुन् । उनले नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिकको साथी भएको उल्लेख गर्दै समस्या तथा विपद्मा परेका नागरिकको सेवामा सबैभन्दा अगाडी पुग्नुपर्ने बताए । उनले सिमित स्रोत तथा साधनको बिचमा पनि प्रहरीले नागरिकलाई दिइरहेको सेवाको प्रशंसा गरे । मन्त्री श्रेष्ठले स्रोत, साधनको अभावका कारण प्रहरीलाई परिरहेको समस्यालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रदेशभर प्रहरी भवन निर्माणका लागि सहयोग गरिरहेको पनि बताए । उनले आगामी दिनमा पनि प्रदेश सरकारले प्रहरीको लागि कार्यालय, आवास तथा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि प्राथमिकता दिने बताए । उनले अहिले डढेलो लगायतका विपद्हरु आइरहेका भन्दै विपद् व्यवस्थापनमा सक्रियतापूर्वक लाग्न आग्रह पनि गरे । वर्षायाम् सुरु हुन लागेको भन्दै मन्त्री श्रेष्ठले वर्षायाम्मा हुने प्राकृतिक प्रकोपका घटनाबाट नागरिकलाई बचाउन पनि सेचततापूर्वक लाग्नुपर्नेमा उनले जोड दिए । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ईलाका प्रहरी कार्यालय, पञ्चकन्या नुवाकोटको कार्यालय तथा भान्छाघरको निर्माण भएको हो । प्रदेश सरकारको २ करोड २ लाख ६९ हजार ५८० रुपैयाँ ८५ पैसा आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको प्रहरीले जनाएको छ ।

सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोड रुपैयाँभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष १७ करोड रुपैयाँको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो ५५ देखि ६० रुपैयाँका दरले बिक्री भएको छ । बेनी नगरपालिकाबाट सबैभन्दा बढी तीन करोड ३८ लाख रुपैयाँको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट एक करोड ३६ लाख रुपैयाँ, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः एक करोड ३० लाख रुपैयाँको दरले सुन्तला बिक्री भएको छ । धवलागिरि गाउँपालिकाबाट ३० लाख ७० हजार रुपैयाँ तथा रघुगङ्गाबाट २५ लाख रुपैयाँको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताउनुभयो । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै दुई करोड २० लाख रुपैयाँको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट एक करोड १० लाख रुपैयाँको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताए । म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । ‘सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ’, उनले भने, ‘अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।’ कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए । जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३ राखुका किसान खिम पुनले बताए । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि ६२ लाख रुपैयाँ अनुदान दिन छनोट गरेको जनाएको छ । रासस

सेयर बजारमा ७ अंकको गिरावट, ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा ७.३१ अंकको गिरावट आएको छ । योसँगै नेप्से परिसूचक १९९८.९६ अंकमा अडिएको छ । यस दिन ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १६१ कम्पनीको सेयर घट्दा ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ को स्थिर रहेको छ । आज सबैभन्दा धेरै आइएमई लाइफको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १५ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कमाउनेमा समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाका लगानीक छन् । यस दिन यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए । विजय लघुवित्त वित्तीय संस्थाले ९.७१ प्रतिशत, आरएसडिसी लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतले कमाए । आज सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स पावर कम्पनीका लगानीकर्ताले छन् । आज यस कम्पनी लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाए ।

सन नेपाल लाइफको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ०६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाडौंमा बिहीबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

बैंकिङ कसुरका घटना बढे, ५० वटा मुद्दा दर्ता

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । विगत वर्षमा न्यून मात्रमा बैंकिङ कसुरका घटना प्रहरीकहाँ आउने गरेकामा अहिले सो सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही वैशाख १५ गतेसम्ममा  ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । आव २०८९/८० मा २३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए । दर्ता भएका बैंकिङ कसुरका सबैजसो मुद्दा चेक अनादरका छन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप छैन् वा निक्षेप भए पनि पर्याप्त छैन् भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बन्धित बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको ठहर्छ भने चेक अनादर भएको मानिन्छ । चेक अनादर भएको छ महिनाभित्र चेक पाएको व्यक्तिले अदालतमा मुद्दा दायर गर्नुपर्छ । दाबी प्रमाणित भएको खण्डमा अदालतले बिगो र त्यसबमोजिम जरिवाना गर्नसक्ने प्रावधान रहेको प्रहरी उपरीक्षक रेग्मीले बताए । चेक अनादरका मुद्दा ह्वात्तै बढ्नुमा प्रमुख कारण आर्थिक सङ्कट हो । कोभिड–१९ पछि रोजगारी र व्यवसायमा परेको असर अहिले देखिन थालेको छ । आर्थिक सङ्कटका कारण लेनदेनमा अविश्वास र शङ्का बढ्दा बैंकिङ कसुरका घटना बढेका प्रहरी उपरीक्षक रेग्मीले बताए । आर्थिक कारोबारमा विश्वास कम हुँदै जाँदासमेत यस्ता घटना बढेका हुनसक्ने उनको भनाइ छ । कसैलाई व्यक्तिगत रूपमा दिएको रकम फिर्ता आउने सुनिश्चितता नहुने अवस्था देखेपछि तथा विश्वास कम हुँदै जाँदा मुद्दा दर्ता गर्न आउनेको सङ्ख्या बढी छ । रासस