विकासन्युज

रश्मि रिजालको मृत्युको निष्पक्ष छानबिन गर्न वित्तीय संस्था कर्मचारी संघको माग

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फिउन), राष्ट्रिय समितिले सानिमा क्यापिटल लिमिटेडकी कम्प्लाइन्स अफिसर रश्मि रिजालको आत्मदाहबाट भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै दिवङ्गत रिजालप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घटनाको वास्तविक कारण, कार्यस्थलको वातावरण, संस्थागत व्यवहार तथा सम्बन्धित पक्षको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । संघका अनुसार घटनालाई अनुमानका आधारमा निष्कर्षमा पुर्‍याउनु उपयुक्त नहुने भए पनि परिवारले उठाएका प्रश्न, कम्पनी व्यवस्थापनको भूमिकाबारे देखिएका जिज्ञासा तथा अनुसन्धान प्रक्रियाप्रति सार्वजनिक चासोका कारण घटनाले गम्भीर रूप लिएको छ । विज्ञप्तिमा पछिल्लो समय बैंक, बीमा, लघुवित्त, पूँजीबजार तथा अन्य वित्तीय संस्थामा कर्मचारीमाथि बढ्दो कार्यबोझ, अस्वाभाविक कार्यदबाब, सीमित जनशक्तिबाट अत्यधिक काम गराउने प्रवृत्ति, अव्यावहारिक कार्यसम्पादन लक्ष्य, लामो कार्यसमय तथा मानसिक स्वास्थ्यप्रतिको बेवास्ता गम्भीर चिन्ताको विषय बन्दै गएको उल्लेख गरिएको छ । संघले कुनै पनि संस्थाको व्यावसायिक उपलब्धिभन्दा कर्मचारीको जीवन, सम्मान, मानसिक सुरक्षा र मानवअधिकार सर्वोपरि हुने स्पष्ट गर्दै मानसिक उत्पीडन, अस्वस्थ कार्यसंस्कृति, अनावश्यक दबाब तथा संस्थागत असंवेदनशीलता स्वीकार्य नहुने जनाएको छ । संघले अनुसन्धानबाट कुनै व्यक्ति वा संस्थागत तहबाट मानसिक उत्पीडन, दुव्र्यवहार, लापरबाही वा कानुनविपरीत कार्य भएको पुष्टि भए दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ । यस्तै, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज तथा अन्य नियमनकारी निकायलाई वित्तीय क्षेत्रमा कर्मचारीको कार्यदबाब, कार्यस्थलको वातावरण, मानसिक स्वास्थ्य र श्रम अधिकारको अवस्थाबारे विशेष अध्ययन गरी आवश्यक सुधारात्मक कदम चाल्न आग्रह गरिएको छ । संघले बैंक, वित्तीय संस्था, बीमा र पूँजीबजार क्षेत्रमा स्वस्थ कार्यसंस्कृति, पर्याप्त जनशक्ति, व्यावहारिक कार्यसमय, सुरक्षित कार्यस्थल तथा मानसिक स्वास्थ्य संरक्षणसम्बन्धी प्रभावकारी मापदण्ड लागू गर्न र सबै रोजगारदाताले मनोसामाजिक सहयोग, गुनासो सुनुवाइ प्रणाली तथा उत्पीडनमुक्त कार्य वातावरण सुनिश्चित गर्न आवश्यक नीति कार्यान्वयन गर्न पनि माग गरेको छ । संघले रश्मि रिजालको मृत्युको घटनालाई व्यक्तिगत दुर्घटनाका रूपमा मात्र नभई वित्तीय क्षेत्रमा बढ्दो कार्यदबाब, कर्मचारीको मानसिक स्वास्थ्य, श्रम अधिकार र संस्थागत उत्तरदायित्वसँग जोडिएको गम्भीर विषयका रूपमा लिएर सरकार, नियमनकारी निकाय, रोजगारदाता र सबै सरोकारवालाले आवश्यक कदम चाल्नुपर्ने जनाएको छ ।   

मुस्ताङको शिन्तामणि विश्वकै उत्कृष्ट लक्जरी रिसोर्ट

काठमाडौं । मुस्ताङमा रहेको शिन्तामणि विश्वकै उत्कृष्ट लक्जरी रिसोर्टको पहिलो नम्बरमा परेको छ । म्यागेजिन रोबले शिन्तामणिलाई उत्कृष्ट सूचीमा राखेको हो । रोबले विश्वभरको लक्जरी रिसोर्टको अनुसन्धानका आधारमा शिन्तामणिलाई उत्कृष्ट रिसोर्टमा राखेको हो । प्रख्यात डिजाइनर बिल बेन्स्लीले सिर्जना गरेका भव्य र कल्पनाशील उत्कृष्ट होटलहरूमध्ये यो पनि एक हो ।  बागलुङको ढुंगाले निर्माण गरिएको यस भवनका हरेक कोठाबाट नजिकैका हिमालहरूको मनमोहक दृश्य देख्न सकिन्छ । क्रिस्टोफर विलमोट–सिटवेलका शब्दमा भन्नुपर्दा ‘शरीर, मन र आत्मालाई पूर्ण विश्राम दिने यस अन्तिम गन्तव्यबाट देखिने दृश्य साँच्चिकै सास रोक्ने खालका छन् ।’ होटलमा प्रति रातको शुल्क दुई जनाका लागि १८ सय अमेरिकी डलर (पौने ३ लाख रुपैयाँ) बाट सुरु हुन्छ । स्वीट रुमको २२ सय डलर (सवा ३ लाख रुपैयाँभन्दा बढी) सम्म रहेको छ । कम्तीमा पाँच रात बस्नुपर्ने व्यवस्था भएकाले यहाँ आउने पाहुनाले दैनिक व्यस्तताबाट टाढिएर पूर्ण रूपमा विश्राम पाउँछन् । २९ कोठा रहेको यो होटल नेपालका एक समय स्वतन्त्र रहेको क्षेत्रमा अवस्थित छ, जहाँ जनघनत्व सगरमाथा क्षेत्रको तुलनामा निकै कम छ । यही कारण यो स्थान अझ शान्त र आकर्षक मानिन्छ । यहाँ आएपछि घोडचढी, तीरन्दाजी तथा दुर्गम पहाडी भू–भागमा पदयात्राको आनन्द लिन सकिन्छ ।  यस क्षेत्रको ८०० वर्ष पुरानो लुब्रा गाउँसम्म पैदल पुग्ने अवसर पनि छुटाउनु हुँदैन । बोन बौद्ध धर्मको महत्त्वपूर्ण केन्द्र मानिने यो गाउँले आजसम्म आफ्नो प्राचीन धार्मिक परम्परा जोगाएर राखेको छ ।  साथै होटलमै रहेका आम्ची (परम्परागत तिब्बती चिकित्सक)बाट परम्परागत तरिकाबाट उपचार सेवा लिन सकिने सुविधा पनि उपलब्ध छ । रबले यस्ता सूची कुनै एउटा मापदण्डका आधारमा तयार गर्दैन । यस्तो सूची तयार गर्दा पत्रिकाको अनुभवी सम्पादकीय टोली, विश्वभरका लक्जरी यात्रा विशेषज्ञ तथा योगदानकर्ताको प्रत्यक्ष अनुभव र मूल्याङ्कनलाई आधार बनाइन्छ । होटलको सेवा–सुविधा, व्यक्तिगत आतिथ्य, वास्तुकला र डिजाइन, प्राकृतिक वा सांस्कृतिक रूपमा आकर्षक स्थान, खानपानको गुणस्तर, गोपनीयता, विशिष्ट अनुभव तथा वातावरणीय दिगोपनजस्ता पक्षहरूको समग्र मूल्याङ्कन गरिन्छ । साथै होटलले अतिथिलाई अरूभन्दा फरक र सम्झनलायक अनुभव दिन्छ कि दिँदैन भन्ने पक्षलाई विशेष महत्त्व दिन्छ ।

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।      नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूति भइरहेको छ । उनले भने, 'पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ ।' उनका अनुसार उपभोक्ताहरुले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो । उनले उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताए ।       एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेती आफूहरुले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउँछन् । सामान्य अवस्थामा जति आवश्यक पथ्र्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उनको भनाइ छ ।       हाल बजारमा एक करोड ५० लाख थान सिलिण्डर छन् । जसमध्ये ५० लाख सिलिण्डर ग्यास डिपोसँग छन् । सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो । हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन् ।  

अमेरिका–इरानको वार्ता हर्मुज र आणविक मुद्दाले अवरोध

काठमाडौं । अमेरिका र इरानबीच जारी सैन्य तनावमा अस्थायी विराम सोमबारसम्म कायम रहेको देखिएको छ । तर, दीर्घकालीन शान्ति सम्झौताका लागि भइरहेको वार्ताले सप्ताहन्तमा नयाँ अवरोधहरू सामना गरेको छ । दुई सातासम्म चलेको हवाई आक्रमणपछि अमेरिकी सेनाले शुक्रबार सैन्य कारबाही रोकेको थियो ताकि कूटनीतिक पहलमार्फत शान्ति वार्तालाई ‘समय र अवसर’ दिन सकियोस् । पछिल्ला केही दिनदेखि इरानले पनि क्षेत्रीय लक्ष्यहरूविरुद्ध सैन्य कारबाही नगरेको बताउँदै पाकिस्तानमा चीनको पहलमा पुनः सुरु गरिएको कूटनीतिक प्रयास सफल भए आफूले पनि संयम अपनाउने जनाएको छ । यद्यपि, सप्ताहन्तमा अन्य पक्षहरूले भने यस द्वन्द्वसँग सम्बन्धित सैन्य गतिविधि जारी राखे, जसले तनाव अझ बढ्न सक्ने जोखिम र वार्ताकारहरूले सामना गरिरहेका जटिल चुनौतीलाई उजागर गरेको छ । साउदी अरबको सेनाले यमनमा इरान समर्थित हुथी विद्रोहीका लक्ष्यहरूमा आक्रमण गरेको थियो । यो कारबाही हुथीहरूले पछिल्ला दिनहरूमा लालसागर हुँदै आवतजावत गर्ने जहाजहरूमा आक्रमण गरेपछि गरिएको हो । उता युक्रेनी सेनाले क्यास्पियन सागरमा रहेको एक इरानी व्यावसायिक जहाजमा आक्रमण गरेको समाचार सार्वजनिक भएको छ । उक्त आक्रमणमा एक नाविकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । युक्रेनले उक्त जहाज रुसलाई सैन्य सामग्री पुर्‍याउन प्रयोग भइरहेको दाबी गरेको छ भने इरानले यसलाई ‘शत्रुतापूर्ण र आपराधिक कार्य’ भन्दै कडा विरोध जनाएको छ । यद्यपि अमेरिका–इरानबीचको युद्धविरामले लगानीकर्ताहरूमा सकारात्मक सन्देश दिएको छ । यसअघि ह्वाइट हाउसले इरानमाथि ‘व्यापक आक्रमण’ गर्ने सम्भावना विचार गरिरहेको खबर बाहिरिएपछि बजारमा चिन्ता बढेको थियो । सोमबार प्रारम्भिक कारोबारमै अन्तर्राष्ट्रिय तेलको मूल्य करिब ६ प्रतिशतले घट्यो भने फ्युचर्स बजारले वाल स्ट्रिटमा मजबुत कारोबार हुने संकेत देखायो । वार्ताकारसामु चुनौती विशेषज्ञहरूका अनुसार स्थायी शान्तिको सम्भावना अझै चुनौतीपूर्ण छ । वार्ताकारहरूले सबैभन्दा पहिले इरानको आणविक कार्यक्रमको भविष्य, इरानमाथिका प्रतिबन्ध हटाउने विषय तथा मध्यपूर्वका इरान समर्थित समूहहरूलाई तेहरानले गर्ने समर्थनजस्ता विवादास्पद मुद्दामा सहमति जुटाउनुपर्नेछ । आर्थिक दृष्टिकोणले हेर्दा सबैभन्दा महत्त्वपूर्ण विषय सामुद्रिक सुरक्षाको प्रत्याभूति, साथै विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य हुँदै दुईतर्फी जहाज आवागमनलाई पुनः सहज र सामान्य बनाउने विषय हो । विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने यही जलडमरूमध्य अहिले पनि अमेरिकी नाकाबन्दीका कारण बन्द रहेको छ । इरानको ठीक विपरीत किनारमा रहेको ओमान वार्ताको प्रमुख मध्यस्थकर्ताका रूपमा उदाएको छ । समाचारअनुसार शुक्रबार र शनिबार ओमानी प्रतिनिधिमण्डल तेहरान पुगेको थियो । उनीहरूले जलमार्गबाट जहाज सञ्चालनलाई अस्थायी रूपमा व्यवस्थित गर्ने सहमति खोज्ने प्रयास गरेका थिए । दुवै पक्षले वार्तालाई रचनात्मक भनेका छन् । तर विश्लेषकहरूका अनुसार जहाज आवागमन छोटो अवधिमै पूर्ण रूपमा सामान्य हुने सम्भावना कम छ । ड्युश बैंकका विश्लेषकहरूले सोमबार सार्वजनिक टिप्पणीमा भनेका छन्, ‘बजारका लागि सबैभन्दा ठूलो जोखिम ऊर्जा र समुद्री ढुवानी क्षेत्रमै कायम छ । हर्मुज जलडमरूमध्यको आवागमन अझै गम्भीर रूपमा प्रभावित छ भने द्वन्द्व लालसागरसम्म फैलिएको छ ।’ उनीहरूका अनुसार यसले खाडी क्षेत्र र लालसागर दुवैका प्रमुख निर्यात मार्ग एकैपटक अवरुद्ध हुने जोखिम बढाएको छ । मुख्य पक्षहरूबीचको युद्धविराम सकारात्मक भए पनि सहायक मोर्चाहरूमा झडप जारी रहेकाले अवस्था अझै नाजुक रहेको उनीहरूको निष्कर्ष छ । अन्य सामग्रीहरू  :  इरानका परमाणु केन्द्रमा धावा बोल्ने अमेरिकी योजना सार्वजनिक साउदीको परमाणु डिलपछि किन चर्चामा आयो पाकिस्तान ? पृथ्वीतर्फ आउने क्षुद्रग्रहलाई बीच आकाशमै ध्वस्त पार्ने चीनको महायोजना गोप्य रूपमा सुन थुपार्दै चीन, सरकारी तथ्यांकभन्दा धेरै सुन भएको दावी

हिमालयन लाइफको निमित्त सीईओमा दिनेशबहादुर अमात्य नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशबहादुर अमात्यलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनी सचिव विकास बस्नेतका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ । अमात्य यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । अब उनले कम्पनीको नियमित व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् । 

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ ।   विभागले सोमबार (आज) सूचना जारी गर्दै निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत निकासी वा पैठारीमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सूचनाअनुसार सरकारले २०७६ साल असार २ र २०७६ साल चैत २४ गतेलगायत विभिन्न मितिमा नेपाल राजपत्रमार्फत केही वस्तुको निकासी तथा पैठारीमा प्रतिबन्ध तथा नियन्त्रणसम्बन्धी व्यवस्था गरेको थियो ।  विभागले प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी, भण्डारण तथा बिक्री–वितरण गर्ने कार्य कानुनबमोजिम दण्डनीय हुने उल्लेख गर्दै सबै पैठारीकर्ता, सञ्चयकर्ता तथा विक्रेतालाई कानुनले तोकेका दायित्व, सर्त तथा बन्देजको पूर्ण पालना गरी व्यापार–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । कानुनविपरीत प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

राजर्षि जनक विश्वविद्यालयलाई आफ्नै भवन बनाउन सरकारको पहल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढङ्गले अगाडि बढाइने बताएका हुन् । विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा मन्त्री पोखरेलले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गरे । विश्वविद्यालयको आफ्नै भवन नहुँदा परेका कठिनाइबारे चर्चा गर्दै उनले जग्गा प्राप्तिको कानुनी प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्ग्याएर निर्माण कार्य सुरु गरिने आश्वासन दिए । भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई विभिन्न खेलकुद सामग्रीसमेत हस्तान्तरण गरे । करिब दुई महिनाअघिको भ्रमणमा विद्यार्थीले खेलकुद सामग्रीको अभाव रहेको भन्दै राखेको गुनासोलाई सम्बोधन गर्दै उनले क्रिकेट ब्याट, बल र फुटबललगायतका सामग्री उपलब्ध गराएका हुन् । आफ्नै पूर्वप्रतिबद्धताअनुरूप विद्यार्थीको माग पूरा गर्न पाउँदा खुसी लागेको उनले बताए । मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानका सन्दर्भमा मन्त्री पोखरेलले यसअघि नै प्रतिवेदन सार्वजनिक गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए । उक्त अभियानको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उनले यस विषयमा थप समन्वयका लागि प्रदेश प्रमुख तथा सम्बन्धित एकाइ प्रमुखहरूसँग छलफल गर्ने योजना रहेकोसमेत स्पष्ट पारे । मन्त्री पोखरेलले भने, ‘आज हामी उपकुलपतिज्यूसँग छलफल गरी विश्वविद्यालयका समस्या, विशेषगरी जग्गा व्यवस्थापन र आफ्नै भवन निर्माणका विषयमा आवश्यक परामर्श गरेका छौँ। यी कामलाई शीघ्र अघि बढाउने तयारी भइरहेको छ । यसअघि जनकपुर भ्रमणका क्रममा विद्यालयका विद्यार्थीहरूले खेल सामग्रीको अभावबारे गुनासो गर्नुभएको थियो । त्यतिबेला गरेको प्रतिबद्धताअनुसार आज क्रिकेट ब्याट, बल, फुटबललगायत खेल सामग्री विद्यालयलाई हस्तान्तरण गरेका छौँ ।’ शिक्षा क्षेत्रमा थुप्रै चुनौती रहे पनि ती चुनौतीभित्र अवसर खोज्दै सरकार अगाडि बढिरहेको मन्त्री पोखरेलको भनाइ छ ।  

विकासमा राजनीति गर्नु हुँदैन, ओलीजीको शिलालेख खोजेर पूरानै ठाउँमा राख्छौं : लम्साल

काठमाडौं । ‍ पूर्वाधारमन्त्री सुनिल लम्सालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शिलालेख खोजेर पुन:स्थापना गरिने बताएका छन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार (आज) उद्घाटन गरेपछि उनले यस्तो बताएका हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ साल कात्तिक ४ गते शिलान्यास गर्दा राखिएको शिलालेख तोडफोड गरी गायब पारिएको भन्दै विरोध हुँदै आएको थियो । मन्त्री लम्सालले हराएको उक्त शिलालेख खोजेर ससम्मान पुन:स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले भने, ‘विकास साझा हो, यसमा कसैले राजनीति गर्नु हुँदैन । शिलान्यासको शिलालेख जहाँ भए पनि खोजेर हामी त्यसलाई पुरानै स्थानमा राख्नेछौं,’ मन्त्री लम्सालले भने । मन्त्री लम्सालले यो आयोजनाले नेपाली इन्जिनियरिङ र पूर्वाधारको क्षेत्रमा नयाँ मानक कायम गरेको बताए ।  ‘यो सुरुङमार्गले हामीलाई धेरै कुरा सिकाएको छ । अब देशैभरि यस्ता सुरुङमार्गहरू बन्नेछन्,’ उनले भने, ‘आजबाट हामी विधिवत रूपमा सुरुङ युगमा प्रवेश गरेका छौं ।’ जापानी सहयोग र आधुनिक प्रविधि जापान सरकारको ०।०१ प्रतिशत अत्यन्तै सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यो सुरुङमार्ग नेपालकै पहिलो अत्याधुनिक सडक सुरुङ हो । यसको मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर रहेको छ भने आपतकालीन र अन्य प्रयोजनका लागि बनाइएको सहायक सुरुङमार्ग २.५५७ किलोमिटर लामो छ । यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गाको घुमाउरो सडक र जामको समस्याबाट यात्रुहरूले मुक्ति पाउने विश्वास गरिएको छ । साथै यसले इन्धन बचत र यात्राको समय घटाउन ठूलो भूमिका खेल्ने प्राविधिकहरूको भनाइ छ । नेपाल र जापानबीचको लामो समयदेखिको मित्रता र विकास साझेदारीको प्रतीकका रूपमा यो आयोजनालाई हेरिएको छ ।  उक्त अवसरमा नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको समेत विशेष उपस्थिति रहेको थियो । जाइकाका अध्यक्ष डा. तानाकाले नेपालको समृद्धिको यात्रामा जापान सधै सँगै रहने विश्वाससमेत दिलाए ।