विकासमा राजनीति गर्नु हुँदैन, ओलीजीको शिलालेख खोजेर पूरानै ठाउँमा राख्छौं : लम्साल

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गर्दै मन्त्री लम्साल, जाइकाका अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदुत माएदा तोरु ।

काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शिलालेख खोजेर पुन:स्थापना गरिने बताएका छन् ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार (आज) उद्घाटन गरेपछि उनले यस्तो बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ साल कात्तिक ४ गते शिलान्यास गर्दा राखिएको शिलालेख तोडफोड गरी गायब पारिएको भन्दै विरोध हुँदै आएको थियो ।

मन्त्री लम्सालले हराएको उक्त शिलालेख खोजेर ससम्मान पुन:स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘विकास साझा हो, यसमा कसैले राजनीति गर्नु हुँदैन । शिलान्यासको शिलालेख जहाँ भए पनि खोजेर हामी त्यसलाई पुरानै स्थानमा राख्नेछौं,’ मन्त्री लम्सालले भने ।

मन्त्री लम्सालले यो आयोजनाले नेपाली इन्जिनियरिङ र पूर्वाधारको क्षेत्रमा नयाँ मानक कायम गरेको बताए । 

‘यो सुरुङमार्गले हामीलाई धेरै कुरा सिकाएको छ । अब देशैभरि यस्ता सुरुङमार्गहरू बन्नेछन्,’ उनले भने, ‘आजबाट हामी विधिवत रूपमा सुरुङ युगमा प्रवेश गरेका छौं ।’

जापानी सहयोग र आधुनिक प्रविधि जापान सरकारको ०।०१ प्रतिशत अत्यन्तै सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यो सुरुङमार्ग नेपालकै पहिलो अत्याधुनिक सडक सुरुङ हो ।

यसको मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर रहेको छ भने आपतकालीन र अन्य प्रयोजनका लागि बनाइएको सहायक सुरुङमार्ग २.५५७ किलोमिटर लामो छ ।

यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गाको घुमाउरो सडक र जामको समस्याबाट यात्रुहरूले मुक्ति पाउने विश्वास गरिएको छ ।

साथै यसले इन्धन बचत र यात्राको समय घटाउन ठूलो भूमिका खेल्ने प्राविधिकहरूको भनाइ छ ।

नेपाल र जापानबीचको लामो समयदेखिको मित्रता र विकास साझेदारीको प्रतीकका रूपमा यो आयोजनालाई हेरिएको छ । 

उक्त अवसरमा नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको समेत विशेष उपस्थिति रहेको थियो ।

जाइकाका अध्यक्ष डा. तानाकाले नेपालको समृद्धिको यात्रामा जापान सधै सँगै रहने विश्वाससमेत दिलाए ।

Share News