विकासन्युज

भक्तपुरमा हौँचुरे घिमिरे वंशावली विमोचन, ज्येष्ठ नागरिक सम्मानित

भक्तपुर । हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट कार्यक्रम भक्तपुरको कौशलटारमा सम्पन्न भएको छ । साहित्यकार गणेश घिमिरे ‘मार्मिक’को अध्यक्षतामा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानसमेत गरिएको थियो । 'ज्येष्ठ नागरिकको सम्मान, हाम्रो अभियान' भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रमुख अतिथि तारानाथ घिमिरेलाई ‘ज्येष्ठतम् पुरुष सम्मान’ प्रदान गरिएको थियो । त्यसैगरी ९४ वर्षीया चेली मनिकर्णिका निरौलालाई ‘ज्येष्ठतम् चेली सम्मान’, इन्दिरा घिमिरेलाई ‘ज्येष्ठतम् महिला सम्मान’ (पन्ध्रौँ पुस्ता), हौँचुरे घिमिरे वंशावलीका विशेष सहयोगी सम्पादक पशुपति घिमिरेलाई ‘विद्वत् सम्मान’ तथा वंशावलीका सङ्कलक एवं सम्पादक गणेश घिमिरे ‘मार्मिक’लाई ‘सम्पादक सम्मान’ प्रदान गरिएको थियो । सत्रौँ पुस्ताको आयोजनामा सम्पन्न कार्यक्रममा ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई पनि माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भावी पुस्तामा ज्येष्ठ नागरिकप्रति सकारात्मक भावना विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्वागत मन्तव्य रमेश घिमिरेले व्यक्त गरेका थिए भने सञ्चालन हरि घिमिरेले गरेका थिए । साहित्यकार तथा समालोचक डा. रमेश शुभेच्छुले पुस्तक समीक्षा प्रस्तुत गरेका थिए ।    

हेटौँडा सिमेन्ट उद्योग: ४० करोड विद्युत् बक्यौता, उत्पादनभन्दा खर्च बढी

काठमाडौं । आर्थिक सङ्कट झेल्दै आएको हेटौंडा सिमेन्ट उद्योगलाई नियमित रूपमा सञ्चालन गर्न माग गरिएको छ । रूग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीसँगै बारम्बार बन्द र सञ्चालन हुने अवस्थाबाट गुज्रिरहेको उक्त उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने आवाज उठेको हो । सिमेन्ट उद्योगलाई पुनः नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएका छन् । उनले उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय तथा बागमती प्रदेश सरकारसँग पहल गरिरहेको बताए । ‘हेटौंडा सिमेन्ट उद्योगलाई कसरी नियमित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग पनि कुरा गरेको छु,’ सांसद गौतमले भने, ‘केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको छु, उहाँहरूले सकारात्मक आश्वासन दिनुभएको छ ।’ उनका अनुसार उद्योगका कर्मचारीहरूसँग पनि अन्तरक्रिया भइरहेको छ र सबैबाट सकारात्मक सुझाव आएको छ । ‘उद्योग सञ्चालन सम्भव छ, तर सरकारी संरचनाका कारण सेवामुखी भन्दा तलब मुखी प्रवृत्ति हावी भएको देखिन्छ,’ उनले भने । उद्योगमा हुने राजनीतिक हस्तक्षेप, आन्तरिक भ्रष्टाचार नियन्त्रण गरी सक्षम व्यवस्थापन टोली गठन गर्न सके उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा गत भदौ १९ देखि २४ गतेसम्म मात्र पाँच दिन उद्योग सञ्चालन भएको थियो । उक्त अवधिमा २ हजार ५०० टन क्लिङ्कर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको निमित्त महाप्रबन्धक डा. शिव नारायण साहले बताए ।  गत चैत १३ गतेदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरिए पनि कच्चा पदार्थ अभावका कारण पुनः रोकिएको छ । कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता भुक्तानी गर्न नसक्दा कोइला आपूर्ति हुन सकेको छैन । ‘हाल मौज्दात कच्चा पदार्थबाट क्लिङ्कर उत्पादन भइरहेको छ, तर एक-दुई दिनमै उत्पादन ठप्प हुने अवस्था छ,’ साहले भने, ‘उत्पादन बन्द भए पनि कर्मचारी तलब, इन्धन र मर्मत खर्च भने निरन्तर भइरहेका छन् ।’ उद्योग सञ्चालनका लागि दैनिक कम्तीमा १२० टन कोइला आवश्यक पर्ने भए पनि हाल आपूर्ति ठप्प रहेको उनले बताए । साथै, आर्थिक अभावका कारण अतिरिक्त काम गरेको भुक्तानीसमेत दिन नसकिएको जनाइएको छ । उद्योगमा हाल १६६ स्थायी, १०० दैनिक ज्यालादारी र ५२ सुरक्षाकर्मी गरी कुल ३१८ जना कार्यरत छन् । विद्युत् महसुलसमेत लामो समयदेखि तिर्न नसक्दा करिब ३०-४० करोड रुपैयाँ बक्यौता रहेको उद्योग प्रशासनले जनाएको छ । वि.सं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि उत्पादन सुरु गरेको थियो । हाल उपकरण पुराना भइसकेका कारण उत्पादन क्षमता प्रभावित भएको प्राविधिकहरूले बताएका छन् ।

ट्रेड टावर भाडामा दिँदै यूनाइटेड अजोड इन्स्योरेन्स

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलेघर भाडामा दिने भएको छ । यूनाइटेड अजोडको नाममा लिजहोल्ड कायम रहेको थापाथलीस्थित ट्रेड टावरको चौथो तल्ला कार्यालय प्रयोजनका लागि भाडामा दिने भएको हो ।  कम्पनीका अनुसार करिब ५ हजार वर्गफिट क्षेत्रफल रहेको उक्त स्थान भौतिक पूर्वाधारसहित, सुरक्षा तथा पार्किङको सुविधायुक्त रहेको छ र तत्काल कार्यालय सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ । भाडामा लिन इच्छुक व्यक्ति वा कम्पनीले प्रस्तावित मासिक भाडादर (करसहित) तथा कति वर्षका लागि लिने भन्ने विवरण खुलाएर आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको प्रशासन विभागमा स्वयं उपस्थित भई, हुलाकमार्फत वा इमेलमार्फत पठाउन सकिने जनाएको छ  प्राप्त प्रस्तावहरूको मूल्यांकनपछि भाडामा दिने वा नदिने अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा नै निहित रहने कम्पनीले स्पष्ट पारेको छ ।

आजदेखि ७५३ वटै स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्‍ताह सुरु हुँदै

काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्‍ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रह बमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो । व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ । यसकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्‍ताह मनाउन लागेका हुन् । त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ । विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्‍ताह मनाउन आग्रह गरिसकेको छ ।

अब भ्याली युनिकले उठाउनेछ कालिमाटी बजारमा सवारी प्रवेश शुल्क

कालिमाटी बजारमा सवारी प्रवेश शुल्क उठाउने ठेक्का स्वीकृत गर्ने तयारीकाठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कालिमाटी बजारभित्र प्रवेश गर्ने ढुवानी तथा सवारी साधनबाट शुल्क उठाउने भएको छ ।  समितिद्वारा  ढुवानी तथा सवारी साधनबाट शुल्क उठाउने जिम्मा भ्याली युनिक निर्माण सेवा प्रालिलाई दिएको छ । भ्याली युनिकलाई मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक मासिक १३ लाख १४ हजार ७ सय रुपैयाँमा ठेक्का भाडामा दिएको समितिले जनाएको छ । समितिको चैत २५ गतेको कार्यकारी निर्देशकस्तरीय निर्णयअनुसार भ्याली युनिकलाई ठेक्का दिइएको हो । उक्त ठेक्का स्वीकृत भएपछि कालिमाटी बजारमा सवारी तथा ढुवानी साधन प्रवेश शुल्क संकलन कार्य सोही कम्पनीमार्फत सञ्चालन हुने छ।

वैशाख १७ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै हिमालयन पावर पार्टनर

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको ५० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत चैत १० गते बुकक्लोज गरेको थियो । त्यसैले चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेँसीशहर, दोर्दी, भोटेओडार र उदीपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

एपोलो हाइड्रोपावरको आईपीओमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २ गते अन्तिम दिन रहेको छ । चैत २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा १४ लाख १० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ४ करोड ७० लाख कित्ता स्थानीय बासिन्दा, सर्वसाधारण लगानीकर्तालाई छुट्याएको सेयरमध्ये ९४ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८ सय कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले ७ करोड ८० लाख २० हजार रुपैयाँको ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ९४ हजार कित्ता सेयर आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

बालेन सरकारको निर्देशन अगावै तनहुँका २ पालिकामा पठनपाठन हुने

काठमाडौं । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्न निर्देशन दिएको पनि तनहुँका २ स्थानीय तहले त्यसअघि नै पठनपाठन सुरु गर्ने भएका छन् । आबुँखैरेनी गाउँपालिकाले बुधबार अर्थात् आजदेखि र बन्दीपुर गाउँपालिकाले वैशाख ९ गतेदेखि पठनपाठन सुरु गर्ने भएका छन् । दुवै पालिकाले सोमबार सूचना प्रकाशित गरी पठनपाठन सुरु हुने मिति ताकिसकेका छन् । सङ्घीय सरकारले वैशाख २१ देखि पठनपाठन सुरु गर्ने निर्णय गरे पनि नेपालको संविधान तथा प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भए बमोजिम स्थानीय आवश्यकतालाई मध्यनजर गरी यो निर्णय गरिएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।   गाउँ कार्यपालिकाको चैत ३० गतेको निर्णयअनुसार गाउँपालिकाको शैक्षिक क्यालेन्डर बमोजिम अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान तथा पठनपाठन गर्न गराउन सूचना प्रकाशित गरिएको छ । यसैगरी बन्दीपुर गाउँपालिकाले गाउँ शिक्षा समितिको निर्णयअनुसार आजदेखि ८ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने, शैक्षिक सत्र २०८३ को कार्ययोजना र वार्षिक कार्यतालिका निर्माण, विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना र वैशाख ९ गतेबाट नियमित पठनपाठन सुरु गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत २६ गते देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ र पठनपाठन २१ गतेबाट मात्र सुरु गर्न लगायत निर्देशन दिएको छ ।