काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत असार महिनामा खपत भई साउनमा बिलिङ भएको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै ग्राहकले असुल गरिसकेको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन गरिने जनाएको छ ।
आर्थिक ऐन २०८३ ले विद्युत् सेवामा भ्याट लागू गर्ने व्यवस्था गरेपछि प्राधिकरण साउन १ गतेदेखि मूल्य अभिवृद्धि करमा दर्ता भएको थियो ।
तर असार महिनाको बिजुली खपतको बिल साउनमा जारी गर्दा भ्याट लाग्ने वा नलाग्नेबारे अन्योल उत्पन्न भएपछि प्राधिकरणले आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयसँग स्पष्टीकरण मागेको थियो ।
आन्तरिक राजस्व विभागले साउन ११ गते सूचना जारी गरी २०८३ असार ३२ गतेसम्म खपत भएको विद्युत् शक्तिका हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ (समूह २) अनुसार आधारभूत आवश्यकताको वस्तुभित्र पर्ने भएकाले भ्याट छुट हुने स्पष्ट पारिसकेको छ ।
सोही बमोजिम प्राधिकरणले असारसम्मको खपतमा ग्राहकले भ्याट रकम भुक्तानी गरिसकेको भए पनि उक्त रकमलाई ’अग्रिम भुक्तानी’ का रूपमा कायम राखिने जनाएको छ ।
उक्त असुल भइसकेको भ्याट रकम आगामी २०८३ भदौ महिनाको बिजुलीको बिलमा समायोजन गरी मिलाइने प्राधिकरणले श्रावण ११ गते जारी गरेको सूचनामा उल्लेख छ ।
