काँकरभिट्टा नाकाबाट ८६ देशका साढे ९ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थल मार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा ९ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन ।

नाकाबाट कूल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन् । कूल आगमनको ५३ प्रतिशत अर्थात् ४ हजार ९९४ जना भुटानी नागरिक रहेका छन् । 

यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशत अर्थात् २ हजार १५२ जना पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ । सबैभन्दा बढी पुस महिनामा १ हजार ८५० जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौ महिनामा २१६ जना मात्र आएका थिए ।

पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको निमित्त प्रमुख राजवंशीको भनाइ छ ।

अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भइनसकेको कार्यालयले जनाएको छ । 

Share News