कामना सेवा विकास बैंकका ग्राहकले होटेल इस्टन ब्लुमा छुट पाउने
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले होटेल इस्टन ब्लुमा छुट पाउने भएका छन् । बैंकले सूर्योदय, इलाम स्थित ज्होटेल इस्टन ब्लुसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
कर्जा पाइने सुविधाले वैज्ञानिक अन्न भण्डारणमा सर्वसाधारण आकर्षण बढ्दो
काठमाडौं । आधुनिक र वैज्ञानिक अन्न भण्डारण गृहमा सर्वसाधारणको चासो बढ्दै गएको पाइएको छ । सुरक्षित भण्डारण, प्रशोधन, बढाबढमा बिक्री, भण्डारण गरेको अनाज धितो राखी बैंक वित्तीय संस्थाबाट कर्जा पाइने जस्ता सुविधाले यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले बिहीबार विराटनगरमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सुनसरी, बक्राहका किसान तारानन्द यादवले कृषकले उत्पादन गरेको अनाज सुरक्षित रुपमा भण्डारण गर्ने सुविधा उपलब्ध भइसकेको जानकारी पाएपछि आफूले उत्पादन गरेको अन्न सुनसरीको गढीस्थित उक्त भण्डारण गृहमा राखेको बताए । भण्डारण गरेको अन्न बढी मूल्य आउने बेलामा बिक्री गर्ने योजना रहेको पनि उनले सुनाए । सुनसरीको गढीस्थित भण्डारण गृह सञ्चालनमा आएको तेस्रो वर्ष पूरा भएको अवसरमा कम्पनीले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा कम्पनी अध्यक्ष आनन्द बगरियाले उक्त भण्डारण गृहमा दाना उद्योग र सर्वसाधारण किसानले आफ्ना अनाज भण्डारण गरेको जानकारी दिए । मैदा र तेल मिल तथा खाद्य प्रशोधन उद्योगहरुले पनि आधुनिक साइलो (सुरक्षित रुपमा अन्न भण्डारण गर्ने ट्यांकी) बारे जिज्ञासा राखेको उनको भनाइ छ । अन्तरक्रिया कार्यक्रममा कम्पनीका महाप्रबन्धक समिरराज सत्यालले साइलोमा अनाज राख्ने तरिकाबारे जानकारी गराए । उनका अनुसार साइलोमा राख्नुअघि अनाजलाई सफा गरिन्छ । ‘अन्नमा हुनसक्ने धातु र अखाद्य वस्तु हटाएर मात्र साइलोमा राखिन्छ,’ उनले भने, ‘साइलोमा राखेको अन्न ९ नौ महिनासम्म ताजा बस्छ । कुहिने, किरा लाग्ने जस्ता समस्या हुँदैन ।’ वैज्ञानिक अन्न भण्डारण विधि परम्परागतभन्दा सस्तो र सुरक्षित रहेको पनि उनले जानकारी दिए । ‘कम जनशक्तिले पुग्ने हुँदा यसले समय र खर्च दुवै बचाउँछ,’ महाप्रबन्धक सत्यालले भने । भण्डारण गृहमा राखेको अन्न धितो राखेर बैंक, वित्तीय संस्थाबाट ऋण लिने पाइने सुविधाले सर्वसाधारण र व्यवसायीलाई आकर्षित गरिरहेको उनको भनाइ छ । कम्पनीले भण्डारणमा अन्न राख्ने किसानलाई एकै ठाउँबाट बिउबिजन, मलखाद, औषधी, उपकरण तथा अन्य आवश्यक वस्तु र सेवा पनि उपलब्ध गराउँदै आएको छ । भण्डारण गृहमा रहेको अनाज लिलाम बढाबढमा बिक्री गर्ने प्रबन्ध पनि कम्पनीले मिलाइदिने हुँदा आफ्नो उत्पादनको उचित प्रतिफल पाइने विश्वासले किसान यसप्रति आकर्षित भएका हुन् । सर्वसाधारणको २० प्रतिशत स्वामित्व रहेको यो कम्पनीले पर्साको बिरुवागुठीमा केही दिनअघि अन्न भण्डारण गृह सञ्चालनमा ल्याएको थियो । कपिलवस्तुको वीरपुरमा पनि चाँडै नै यो सेवा उपलब्ध गराउने तयारी कम्पनीको छ । हाल कम्पनीको कुल भण्डारण क्षमता ५५ हजार मेट्रिक टन छ । स्वचालित र साइलो प्रविधिमा आधारित यी भण्डारण गृहमा मकै, गहुँ, भटमास जस्ता अनाज भण्डारण गर्न सकिने कम्पनीले जनाएको छ ।
कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित
काठमाडौं । कुमारी बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । इन्फोसिसद्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक कोर बैंकिङ ट्रान्फरमेसन विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि प्रोसेस इनोभेसन श्रेणीमा स्वर्ण विजेता घोषित भएको छ । इन्फोसिस को फिनाकल कोर बैंकिङ सफ्टवेरले बैंकिङ क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ । कुमारी बैंकले प्राप्त गरेको यो उपधिले भविस्यमा नवीन प्रविधिमार्फत बैंकिङ क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहको बैंकले जनाएको छ ।
सामाजिक सञ्जालको सिकार बन्दै बालबालिका, आर्थिक प्रलोभनदेखि हिंसाका घटना बढ्दै
काठमाडौं । घटना-१, एउटी १४ वर्षकी बालिका काठमाडौंको एक घरमा घरेलु काम गर्दै आएकी थिइन् । काम गरे बापत उनले बस्न खानसहित पारिश्रमिक पनि पाइरहेकी थिइन् । बालिकाले पैसा माग्ने बित्तिकै साहुले पनि पैसा दिइरहन्थे । एउटा गाउँबाट आएकी ती बालिका काठमाडौंमा घरेलु कामदारकाे रूपमा काम गरेर गुजारा चलाउँथिन् । हातमा पैसा दिए खर्च गरिसक्ने भन्दै साहुले बालिकाको मासिक पैसा बैंकमा बचत गर्थे । केही समयपछि ती बालिकाले साहुसँग काम गरेको सबै पैसा मागिन् । साहुले एक पटक ३० हजार रुपैयाँ दिए । त्यसको एक महिनापछि फेरि बालिकाले साहुसँग पैसा मागिन् । साहुले पैसा केमा खर्च गरेको, किन चाहियो, अहिले जम्मा गरिराख भनेपछि ती बालिका साहुसँग रिसाइन् । उनले कामै नगर्ने धम्की दिइन् । केहि दिनपछि साहुको मोबाइलमा फोन आयो । थाहा नभएको नम्बरबाट फोन आउँदा उनले कसको रहेछ भनेर फोन उठाए । यताबाट हेलो भन्न नपाउँदै उताबाट धम्की आयो, काम गरेको पैसा नदिने ? आवाज केटाको थियो । काम गर्न लगाउने, पैसा माग्दा नदिने भन्दै फोनबाट धम्की आएपछि ती घरधनी बालिकालाई साथमा लिएर प्रहरी वृत्त महाराजगञ्जमा पुगे । पछि थाहा भयो । ती बालिकालाई एक जना भारतीय नागरिकले ह्वाट्सएपबाट प्रलोभनमा पारेको रहेछ । माया गर्छु, तिमीलाई मन पराउँछु भन्दै ह्वाट्सएपमा कुराकानी गर्ने र पैसा माग्ने गरेको अनुसन्धानबाट खुल्यो । ती बालिकाले तिनै केटालाई दिन साहुसँग पैसा मागेकी रहेछिन् । पैसा नदिँदा तिनै भारतीय नागरिकले फोनबाट साहुलाई धम्की दिएको रहेछ । प्रहरीले ती बालकालाई सोधपुछ गर्दा केटासँग भेट नभएको तर फोनबाटै कुराकानी गरेर प्रलोभनमा पारेको जानकारी भयो । अहिले ती बालिकाले भारतीय युवकविरुद्ध मुद्धा दर्ता गराएकी छन् । घटना-२, एउटा १४ वर्षकी बालिका हरेक दिन अर्धनग्न भएर सामाजिक सञ्जालमा लाइभमा बस्थिन् । उनलाई यसो गरे बापत दुइटा कोठा र ४० हजार रुपैयाँ दिने गरेको थियो । पैसा र कोठा लिदिने अर्की केटी १८/१९ वर्ष की युवति नै थिइन् । फ्रिमा काठमाडौंमा कोठा र ४० हजार पैसा पाउँदा उनलाई काम गर्न कुनै समस्या भएन । तर, सामाजिक सञ्जालमा गरिरहेको यस्तो हर्कतबारे अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी पर्यो । ती बालिकालाई पक्राउ गरियो । तर, उनलाई काम लगाउने व्यक्ति को हो भन्ने उनैलाई थाहा थिएन । अहिले ती व्यक्तिको खोजी भइरहेको टेकु प्रहरीले जनाएको छ । घटना-३, एउटा २४ वर्षीया किशोरी भक्तपुर प्रहरीमा आइन् । उनले सामाजिक सञ्जालमै चिनजान व्यक्तिबाट आफु हिंसामा परेको बताइन् । फेसबुकबाट चिनेको व्यक्तिसँग केही समय कुराकानी गर्दा उनको भेटघाट भयो । दिनहुँको भेटघाटपछि उनीहरू झन नजिक हुन थाले । बिहे गर्ने बचन गरेका उनी घरमा बाआमालाई थाहा नदिइ लुकेर केटासँग बस्न थालिन् । जब ती किशोरीको पेटमा बच्चा बस्यो ति केटा फरार भए । किशोरीलाई केटा कहाँको हो, के गर्छ, उसको परिवार को हो भन्ने समेत थाहा थिएन । उनले घरमा आमालाई भन्न नसकेर प्रहरी कहाँ आएपछि अहिले यो घटना पनि प्रहरीकहाँ दर्ता भएर अगाडि बढिरहेको छ । उल्लेखित घटना काठमाडौंमा शुक्रबार भएको एउटा कार्यक्रममा प्रहरीले बताएका हुन् । बालबालिका सम्बन्धी काम गर्दे आएको समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस)ले ‘प्रहरीसँग पीडित केन्द्रित अनुसन्धान सम्बन्धी छलफल’मा सहभागी प्रहरी अधिकृतहरूले अहिले समाजमा यस्ता घटना निकै बढेका बताएका छन् । सामाजिक सञ्जाल, फेसबुक, ह्वाट्सएप, टिकटक लगाएतका विभिन्न प्लेटफर्मबाट पीडित हुने बालबालिकाको संख्या धेरै छ । बालबालिका बढी सामाजिक सञ्जालमा केन्द्रित हुनु र अभिभावकले ध्यान नदिँदा पनि यस्ता घटना बढ्दै गएको उनीहरूको भनाइ थियो । नेपालमा ठगी, प्रलोभन लगायत विभिन्न अपराधका मुद्दामा बालबालिका पर्ने गरेको साइबर ब्यूरोले जनाएको छ । सामाजिक सञ्जालबाट बालबालिकाहरू कसरी पीडित भइरहेका छन् र कसरी जोगाउने भन्ने विषयमा ठूलो सचेतना फैलाउनु आवश्यक रहेको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी दिपकराज अवस्थीले बताए । उनले अहिले हरेक जिल्लामा यस्ता घटनाको उजुरी दिन सकिने व्यवस्था रहेको बताउँदै अनलाईनबाट पनि उजुरी दिन मिल्ने बताए । यसरी विभिन्न कारण समस्या परेका बालबालिकालाई सहयोग गर्न प्रहरी दिनरात तयार रहेको प्रहरी अधिकृतहरूले बताएका छन् । उपत्यकाका हरेक जिल्लामा महिलासेल स्थापना गरी महिला र बालबालिकाका समस्यालाई प्राथमिकताका साथ हेरिरहेको उनीहरूकाे भनाइ छ । ठगी, हिंसा, प्रलोभनमा परेका बालबालिकाका उजुरी दिनहुँ सयौँको संख्यामा आइरहेको उनीहरूको भनाइ । महिला र बालिबालिकालाई खुल्न सहज होस् भन्दै प्रत्येक महिला बालबालिका सेलमा महिला नै कर्मचारी राख्ने गरिएको छ । बालबालिका विभिन्न कारण हिंसामा परिरहेको बताउँदै उनीहरूले समाजमा सचेतना आवश्यक रहेको बताएका छन् ।
तरकारीखेतीबाट वार्षिक ५० लाख कमाउँदै ‘बक्सिङ’ प्रशिक्षक
तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गरेका छन् । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारीखेतीलाई दिने गरेको उनी बताउँछन् । ‘म बक्सिङ प्रशिक्षक हुँ, दिउँसो जागिरतिर जान्छु’, उनले भने, ‘साँझ होटेलतिर पनि हुर्नुपर्छ, बिहान र कहिलेकाहीँ साँझ मात्रै तरकारीलाई समय दिएको छु ।’ कोरोना महामारीको सुरुआतमा भएको ‘लकडाउन’का बेलादेखि उहाँले व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् । सुरुमा पाँच जनाले संयुक्त तरकारीखेती गरेको भए पनि पछिल्लो दुई वर्षयता राजु एक्लैले उक्त तरकारीखेती गरेका छन् । उनले करेला, बोडी, काँक्रा, लौका, फर्सीलगायतका खेती गरेका छन् । डेढ बिघा क्षेत्रफलमा बोडी, डेढ बिघा क्षेत्रफलमा काँक्रा, १५ कट्ठा क्षेत्रफलमा लौका, एक बिघामा करेला, दुई बिघा जतिमा टमाटर तथा १५ कट्ठामा स्पाइस खेती गरेको राजु बताउँछन् । तरकारी खेतीमा उनले ४५ जनालाई रोजगारीसमेत दिएका छन् । दश जना मासिक तलब दिएर कामदार राखेका छन् । उनीहरुलाई मासिक २५ हजार रुपैयाँसम्म तलब छ, भने बाँकीलाई ज्यालादारीमा रोजगार दिइएको राजुले बताए । उनका अनुसार ज्यालादारीलाई दैनिक पाँचसयका दरले दिने गरेको उनले बताए । रोजगार पाएका सबै गाउँकै हुन् । गाउँमै रोजगारी पाउँदा स्थानीय पनि खुसी भएका छन् । ‘गाउँमै रोजगारी पायौँ, पहिले लेबर गर्न बजार जानुपथ्र्यो’, ज्यालादारीमा काम गरिरहेकी शर्मिला चौधरीले भनिन्, ‘तर, अहिले गाउँमै रोजगारी पाएका छौँ ।’ त्यहाँ उनले दुई याममा तरकारीखेती गर्दै आएका छन् । हिउँदे र वर्षे तरकारीखेती गर्दै आएका उनले एक सिजनमा २० लाख रुपैयाँदेखि बढी आम्दानी गर्दै आएका छन् । ‘एक कुनै समय बजारले भाउ नपाउने, नियमित बर्सात हुँदा तरकारी क्षति हुने गरेको अवस्था पनि छ’, उनले भने, ‘त्योबाहेक राम्रो हुँदै गएमा एक सिजनमा २० लाख रुपैयाँभन्दा बढी पनि आम्दानी हुने गर्छ ।’ एक याममा ४५ लाख रुपैयाँ खर्च आउने गरेकोसमेत उनले बताए । वर्षमा दुई सिजन खेती हुँदा वार्षिक एक करोड रुपैयाँ खर्च हुने र त्यो खर्च कटाएर ५० लाख रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको उनको भनाइ छ । तरकारीले वैशाख १५ गतेसम्म राम्रो मूल्य पाउने गरेको भएपनि त्योभन्दा पछि भने विस्तारै मूल्य घट्दै जाने गरेको उनी बताउँछन् । ‘बजार भाउमा सरकारले अलि कति ख्याल गरिदिए हुन्थ्यो, सबैतिर मूल्यमा एकरुपता भएमा सहज हुन्थ्यो’, उनले भने, ‘तीन दिनअघि मात्रै होलसेलमा ७० रुपैयाँ किलो बिक्री हुने गरेको बोडी हिजोआज मात्रै ३० रुपैयाँमा बिक्री गर्नुपरेको छ’, उनले भने, ‘टमाटर ३० रुपैयाँ थियो, एक्कासि २० रुपैयाँ भयो ।’ दिनप्रतिदिन यसरी तरकारीको मूल्य एक्कासि घट्दै गइरहेको उनको भनाइ छ । उत्पादित तरकारी दाङको बजारमा मात्रै होइन, बाहिरी जिल्लामा समेत निर्यात हुने गरेको छ । सुर्खेत, धनगढीलगायतका बजारमा तरकारी निर्यात हुने गरेको थापाले बताए । दश बिघा जग्गालाई वार्षिक पाँच लाख रुपैयाँ तिरेर भाडामा लिइएको प्रशिक्षक थापाको भनाइ छ । तरकारीखेतीबाट आम्दानी राम्रै लिन सकिने भए पनि यसमा सरकारले थप सहजता भने बनाउनुपर्ने उनको माग छ । ‘समयमा मल पाइँदैन, मल महँगोमा किनेर ल्याउनु पर्छ’, उनले भने, ‘मूल्यमा पनि एकरुपता ल्याइदिए सहज हुन्थ्यो ।’ उनी लामो समय बक्सिङ खेलाडीका रुपमा पनि रहे । २०४८ देखि ०५४ सम्म बक्सिङ खेलाडीका रुपमा रहेका उनले तीनवटा राष्ट्रिय खेल पनि खेले । अहिले प्रशिक्षकका रुपमा रहेका उनले उत्पादन गरेका चेला अन्तर्राष्ट्रिय खेलका लागिसमेत छनोट भएका थिए । तर, उनले लकडाउनले गर्दा त्यो खेल खेल्न जान पाएनन् । उनी ४९ औँ खाद्य दिवसका अवसरमा लुम्बिनी प्रदेशबाट सम्मानितसमेत भएका छन् । तरकारी विधामा उनी सम्मानित भएका हुन् । उनी तुलसीपुर–४ वनहरी निवासी हुन् । रासस
बजेट वक्तव्यपछि बुटवल-भैरहवा करिडोरका उद्योगी उत्साहित
भैरहवा । बुटवल–भैरहवा करिडोरमा रहेको एभरेष्ट रोलिङ मिल्स सञ्चालनको सुरसार हुँदैछ । केही समयदेखि बन्द अवस्थामा रहेको उद्योग सरकारले ल्याएको बजेट र परिवर्तित व्यवस्थापछि सञ्चालनमा ल्याउन थप सहज भएको सञ्चालक अरुण गोयन्काले बताए । ‘केही समययता बन्द रहेको उद्योग सञ्चालनका लागि तयारी गरिरहेका थियौँ, सरकारले बजेटमार्फत थप सहज बनाइदिएपछि हामीजस्ता उद्योगीलाई हर्षित बनाएको छ । अब चाँडै उद्योग सञ्चालन गर्छौं’, उनले भने । गोयन्काले मात्र हैन, रुपन्देहीमै रहेको एसआर स्टिल, गोयन्का स्टिललगायतका उद्योग सञ्चालक पनि अहिले उत्साहित भएका छन् । जेठ १५ गते भएको बजेट वक्तव्यपछि ‘बिलेट’ आयात गर्ने उद्योगलाई लाग्दै आएको अन्तःशुल्क छुट दिने निर्णय गरेपछि यस क्षेत्रका उद्योगी उत्साहित भएका हुन् । आवश्यक कच्चापदार्थ आयात गरी फलामे छड उत्पादन गर्दै आएका उद्योगीले भन्सार महसुलमा दोहोरो कर नीति भएको भन्दै सुधारका लागि आवाज उठाउँदै आएका थिए । यसपटकको बजेट वक्तव्यमार्फत सरकारले त्यसमा लाग्दै आएको भन्सार दर पुनरावलोकन गरेको छ । बजेट वक्तव्यमार्फत फलामे छड निर्माणमा प्रयोग हुने स्पन्ज आइरनमा दुई दशमलव पाँच प्रतिशत र स्क्य्राप (पत्रु फलाम) तथा ‘पिग आइरन’ आयातमा एक प्रतिशत भन्सार महसुल लगाउने जनाइएको थियो । यसअघि स्पन्ज आइरनमा एक प्रतिशत र स्क्य्राप तथा पिग आइरन आयातमा भन्सार शुल्क लाग्ने गरेको थिएन । उता बिलेट आयात गर्नेले भने पाँच प्रतिशत भन्सार महसुल र भन्सार विन्दुमै प्रतिमेट्रिकटन रु दुई हजार पाँच सय अन्तःशुल्क तिर्ने गरेका थिए । अहिले बजेटले आंशिकरूपमै भए पनि आफूहरुको माग सम्बोधन गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठको भनाइ छ । ‘करोडौँ लगानी डुब्न लाग्दासमेत रोलिङ मिल उद्योगका समस्या समाधानका लागि राज्यबाट सुनुवाइ हुने आशामा बसेका थियौँ’, श्रेष्ठले भने, ‘आर्थिक विधेयक २०८१ जारी भएपश्चात् सुनसान भएका बिलेटमा आधारित रोलिङ मिल उद्योगी उत्साहित भएका छौँ ।’ एकैप्रकारका उद्योगमा प्रयोग हुने कच्चापदार्थमा समान भन्सार महसुल लाग्नुपर्ने रोलिङ मिल उद्योगको माग रहे पनि हाल गरिएको कर छुटका कारण ‘इन्डक्सन फर्नेस’ मिलमा प्रयोग हुने कच्चापदार्थमा भन्सार विन्दुमा करिब तीन रुपैयाँ लागत कम पर्न जाने उनको भनाइ छ । यसले उत्पादन लागतमा हुने कम खर्चका कारण इन्डक्सन फर्नेस मिलबाट उत्पादित छडमा करिब आठ रुपैयाँले लागत कम पर्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७८/०७९ मा स्पञ्ज आइरन र बिलेटमा समान पाँच प्रतिशत नै भन्सार महसुल लाग्दै आएको थियो । तर २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरनमा लाग्दै आएको महसुललाई एक प्रतिशतमा झारेका थिए भने बिलेट आयातमा प्रतिकिलो दुई रुपैयाँ ५० पैसा अन्तःशुल्क लगाएका थिए । इन्डक्सन फर्नेस मिलमा स्पञ्ज, स्क्रयाप तथा पिग आइरन पगाल्दा ठूलोमात्रामा वातावरण प्रदूषण हुने हुँदा विश्वभर नै यस प्रकारका मिललाई बन्देज तथा निरुत्साहित गरिएको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूको भनाइ छ । ‘छिमेकी राष्ट्रहरु चीन, फिलिपिन्स, इन्डोनेसिया तथा अन्य विकसित राष्ट्रहरुले यस प्रविधिलाई बन्देज नै लगाएका छन् भने दक्षिण एसियाका देश भारत, पाकिस्तानलगायतले अत्यन्तै कडा निगरानीमा मात्रै बस्तीदेखि टाढा यस्ता उद्योग सञ्चालन गर्न दिएका छन्’, साहुले भने, ‘नेपालमा आर्थिक विधेयक २०८१ मार्फत हरित कर लगाउन थालिएकामा वातावरणमा प्रतिकूल असर पार्ने अन्य उद्योगमा समेत हरितकर लगाइनुपर्दछ ।’ रासस
कुलमानले निर्यातको मार्केटिङ गरेपछि उद्योगी ‘चुर’, प्राधिकरण खुद निर्यातकर्ता बनेको आरोप
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय बिजुलीको निर्यात बढेको जानकारी सञ्चार माध्यमलाई गराएपछि उद्योगी व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन् । नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति उनीहरूले आक्रोश पोखेका हुन् । आफूहरूलाई बिजुली नदिएर विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको भन्दै उद्योगीहरूल विरोध जनाएका हुन् । शुक्रबार उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसंघले विज्ञप्ति नै जारी गरेर प्राधिकरणको विरोध गरेको हो । ‘सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं’, परिसंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । हाल विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गरेको भए पनि प्राधिकरणले उल्टै निर्यात गरेको प्रति उनीहरूले विरोध गरेका हुन् । प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै नगरेको परिसंघको भनाइ छ । यसको मारमा उद्योगहरु परेको परिसंघको भनाइ छ । ‘अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ, प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघ आग्रह गरेको छ । साथै, उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघले माग गरेको छ । बिहीबार मात्रै प्राधिकरणले दैनिक चार सय मेगावाट विद्युत निर्यात भइरहेको बताएको थियो । खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको प्राधिकरणको भनाइ थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको बताएका थिए । ‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ । विगत सात÷आठ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक÷डेढ करोड युनिटको हाराहारीमा रहेकामा हाल बढेर चार÷साढे चार करोड युनिट पुगेको छ’, कार्यकारी निर्देशक घिसिङले भनेका थिए ।
होटल संघले चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम गर्ने
काठमाडौं । चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल संघ नेपालले चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । चिनियाँ पर्यटक भित्र्याउने, नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ यही जेठ १९ देखि २५ गतेसम्म बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ । संघका अध्यक्ष विनायक शाहले चीनबाट बढीभन्दा बढी पर्यटक नेपालमा भित्र्याउने र उनीहरुलाई यहाँ आउन आकर्षित गर्ने लक्ष्यका साथ चीनमा पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्न लागिएको बताए । उनका अनुसार चीनको बेइजिङमा जेठ २०, २१ र २२ गते तथा छेन्दुमा जेठ २३, २४ र २५ गते कार्यक्रम गरिनेछ । ‘कोभिडपछि हामीले पर्यटन प्रवर्द्धन पनि गरेका छैनौँ, त्यसैले नेपाल भ्रमण प्याकेज कार्यक्रमसहित भ्रमणका लागि अग्रिम समय लिने (बुक) गर्ने उद्देश्यले चीन जादैँछौँ’, अध्यक्ष शाहले भने। उनका अनुसार नेपाल ‘डेष्टिनेसन वेडिङ’का रुपमा भारत र चीनको रोजाइमा पर्ने गरेको छ । ‘नेपालमा पर्यटन भित्र्याउन हामी सबै हिसाबले तयारी छौँ’ भन्ने सन्देश दिनका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागिएको शाहको भनाइ छ । कोभिड–१९ महामारीपछि पहिलो पटक हुन लागेको यस कार्यक्रमको होटल संघ नेपालका अध्यक्ष शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटल सम्मिलित नेपाली प्रतिनिधिमण्डल भोलि चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । कोभिडपछि चिनियाँ पर्यटकको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएको अध्यक्ष शाहले बताए । नेपाली प्रतिनिधिमण्डलले ‘चिनियाँ ट्राभल तथा टूर अपरेटर’सँग ‘बीटूबी मिटिङ’ गर्ने भन्दै उनले प्रवर्द्धनात्मक कार्यक्रमबाट चिनियाँ पर्यटक नेपालमा बढाउन प्रत्यक्ष योगदान पुग्ने अपेक्षा गरिएको बताए । बेइजिङ र छेन्दुमा होटल सङ्घ नेपाल र समकक्षी चाइना होटल सङ्घ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न सङ्घसंस्थाबीच तालिम, प्रशिक्षणका साथै दुई पक्षीय पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको अध्यक्ष शाहले जानकारी दिए । दुई देशबीचको सम्बन्धलाई पथ प्रगाढ तुल्याउन मद्दत गर्ने विश्वास लिइएको छ । चीनबाट बढीभन्दा बढी हवाई सम्र्पक सञ्जाल अभिवृद्धिका लागि पनि पहल गरिने अध्यक्ष शाहको भनाइ छ । उनका अनुसार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारीरुपमा सञ्चनल गर्न पहल गरिने योजना छ । उक्त कार्यक्रमको समन्वय बेइजिङस्थित नेपाली राजदूतावास तथा छेन्दुस्थित महावाणिज्यदूतको कार्यालयले गर्ने होटल संघका प्रवक्ता साजन शाक्यले बताए । उनका अनुसार नेपालको पर्यटनसम्बन्धी प्रस्तुतिकरण पर्यटन बोर्डबाट हुनेछ ।