गुहेश्वरी मर्चेन्ट बैंकिङले गर्यो विद्यार्थीलाई वितरण स्कूल ब्याग
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले विद्यार्थीहरु स्कुल ब्याग वितरण गरेको छ । फाइनान्सले ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित श्री क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बिहीबार स्कूल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेकोमा विद्यालयका प्रधानाध्यापक यज्ञरत्न शाक्य, यस संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा यस संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगत देखिनै सामाजिक कार्य गर्दै आईरहेको छ । आगामी दिनहरुमा पनि यसैगरी सहयोग कार्यलाई निरन्तरता दिने कुरामा संस्था प्रतिबद्व रहेको जनाएको छ ।
सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन् : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उनले यस्तो बताएका हुन् । उनले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताए । अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको जानकारी दिए । उनले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको बताए । समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताए । देशको योजना बनाउँदा हावादारी योजना बनाउन नहुने जानकारी दिए । अध्यक्ष नेपालले आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताए । नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको जानकारी दिए । ‘अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । नेताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले, कार्यकर्ताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले । देश पनि बिग्रिएको छ भ्रष्टाचारले । राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्याएर चल्नुपर्दछ । सबै चिजलाई ध्यानमा राखेर चल्नुपर्छ । संवेदनशील भएर पनि चल्नुपर्छ । संवेदनशील भएर चल्न सक्यो भने संवेदनशीलताको कवच आवश्यकता पर्दछ’, उनले भने । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्याउन जरुरी रहेको जानकारी दिए ।
सहकारी रकम हिनामिनाको आरोपमा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै
मध्यविन्दु । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए । ‘प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमासहकारीको रकम हिनामिना गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेत, उहाँका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी गरेका छौ’, उनले भने । गत हप्ता जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपैयाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा र अन्य २५ जना फरार रहेका छन् । विसं २०६६ सालमा स्थापना भएको यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् । रासस
दुई अर्ब ५० करोडमा पेट्रोलियम पदार्थको अन्वेषण, दर्जनौ कामदार उत्खननमा व्यस्त
दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खननका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए । कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा अन्वेषण थालिएको हो । रासस
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार २ सय पुग्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला १७ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा शुक्रबार १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा १७ सय रुपैयाँलेनै बढेर १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सेबोनको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिईएको छ । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरी डा. अधिकारीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन् । यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । उनी वि.सं २०७९ पुस ४ गतेदेखि प्रवक्ताको भूमिकामा थिए । सेबोनका उपनिर्देशक तेज प्रसाद देवकोटाले सूचना अधिकारीको भूमिका निर्वाह गरिरहेका छन् ।
६ विश्वविद्यालयले ५ अर्ब कमाउँदा त्रिवि एक्लैको २४ अर्ब आम्दानी, सुदूरपश्चिम विश्वविद्यालय घाटामा
काठमाडौं । नेपालका विश्वविद्यलयको शैक्षिकस्तरको विषयमा लामो समयदेखि बहस तथा पैरवी हुँदै आएको छ । वर्सेनि खस्किदै गएको विद्यार्थी संख्या र विश्वविद्यालयबाट उत्पादित विद्यार्थीहरू बजारमा रोजगारी नपाएर विदेश जानु पर्ने बाध्यता पनि आफैंमा दुःखद छ । अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला एकपछि अर्को विश्वविद्यालय थपिँदै गएका छन् । सञ्चालन भइरहेका विश्वविद्यालयभित्रको नाजुकताका कथाहरू त्यो भित्रका अध्यापक, विद्यार्थी र कर्मचारीलाई मात्रै होइन यस सम्बन्धि सबैले नजिकबाट बुझेका छन् देखेका छन् । शैक्षिक पद्धति, प्रणाली र गुणस्तरको विषयमा सधैझैं बहस हुने विश्वविद्यालयको कमाइको विषयमा भने प्राय कमैको चासो हुन्छ । आज हामीले नेपालमा सञ्चालित प्रमुख सात वटा विश्वविद्यालयको कमाइको सामग्री तयार पारेका छौं । त्रिभुवन विश्वविद्यालय देशको सबैभन्दा जेठो विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालय । उच्च शिक्षाको क्षेत्रमा अध्ययन, अनुसन्धान गरी नवीनतम् ज्ञान, प्रविधि र सीपको विकास गर्न त्रिभुवन विश्वविद्यालयको भूमिका महत्वपूर्ण छ । २०१६ सालमा स्थापना भएको त्रिवि अन्तर्गत ९ वटा अध्ययन संस्थान, चार संकाय, चार अनुसन्धान केन्द्र, ६३ वटा आंगिक क्याम्पस, ४० वटा केन्द्रिय विभाग, चार स्कुल र एक हजार ५४ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । सात वटा विश्वविद्यालयको तुलना गर्दा अन्य ६ वटाको भन्दा एक्लै त्रिविको आम्दानी बढी देखिन्छ । त्रिभुवन विश्वविद्यालयको आक्दानी नेपालका ६ वटा विश्वविद्यालयको भन्दा चार गुणा बढी छ । महालेखा परीक्षक कार्यालयको ६१ औँ प्रतिवेदनका अनुसार पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयल र खुल्ला विश्व विद्यालयभन्दा त्रिविको आम्दानी चार गुणा छ । त्रिभुवन विश्वविद्यालयको सरकारबाट प्राप्त गरेको रकम र आन्तरिक आम्दानी गरी कुल २४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ आम्दानी रहेको छ । अन्य ५ वटा विश्वविद्यालयको आम्दानी कुल ५ अर्ब ३५ मरोड ६३ लाख रुपैयाँ मात्रै रहेको महालेखाको तथ्यांकले देखाउँछ । त्रिविको आम्दानी अन्य विश्वविद्यालयको तुलनामा साढे ३ सय प्रतिशत बढी छ । तर, त्रिविको खर्च भने न्यून देखिन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले नेपालमा विज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र प्रवद्र्धनका लागि विश्वविद्यालयलाई सहयोग गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयले सरकारी अनुदान १३ अर्ब ८७ करोड १० लाख, र आन्तरिक आय ११ अर्ब ४७ लाख गरी जम्मा २४ अर्ब ८७ करोड ५७ लाख प्राप्त गरेको छ । त्रिविले अनुदान तर्फ १० अर्ब ३७ करोड ३७ लाख र आन्तरिक आय तर्फ ८ अर्ब ६७ करोड ५५ लाख गरी जम्मा १९ अर्ब ४ करोड ९२ लाख अर्थात (७६.५८ प्रतिशत) खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पूर्वाअञ्चल विश्वविद्यालय कोशी प्रदेशको विराटनगरमा रहेको यो विश्वद्यिालयले ९० करोड ९५ लाख ४५ हजार आम्दानी गरेको छ । नेपाल सरकारबाट प्राप्त २१ करोड अनुदान गणना गर्दा यस विश्वविद्यालयले कुल ९० करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ । यस विश्वविद्यालयले ६४ करोड ९८ लाख २२ हजार खर्च गरेको छ । यस विश्वविद्यालय अन्तर्गत ९ आङ्गिक र ११७ सम्बन्धन प्राप्त क्याम्पसहरू छन् । ती क्याम्पसहरू मार्फत् यस विश्वविद्यालयले आफ्नो कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । घाटामा सुदूरपश्चिम विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालयले आम्दानी भन्दा बढी खर्च गरेको महालेखाको प्रतिवेदनबाट देखिन्छ । सरकारबाट प्राप्त गरेको ४३ करोड ८२ लाख ७९ हजार रुपैयाँ र आन्तरिक आय गरेर कुल ८६ करोड ९३ लाख ५ हजार रुपैयाँ सुदूरपश्चिम विश्वविद्यालयले आम्दानी गरेको छ । गत वर्षको मौज्दात समेतबाट कुल १ अर्ब १ करोड २८ लाख ९ हजार रुपैयाँ यस विश्वविद्यालयले खर्च गरेको छ । कला, विज्ञान, चिकित्साशास्त्र लगायत विभिन्न विधाका विषयमा अध्ययन, अध्यापन र अनुसन्धानद्वारा दुर्गमलगायत सबै क्षेत्रका जनतालाई सुलभ रूपमा गुणस्तरयुक्त उच्च शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले स्थापना भएको यो विश्वविद्यालयको स्थापना ३०६७ सालमा भएको हो । यस विश्वविद्यालय अन्तर्गत ६ संकाय, १५ आङ्गिक क्याम्पस, २ कार्यालय र ६ विभाग रहेका छन् । पोखरा विश्वविद्यालय उच्च शिक्षामा निजी क्षत्रको सहभागिता वृद्धी गरी प्राविधिक तथा अन्य व्यावसायिक विषयमा गुणात्मक विकास गर्ने उद्देश्यले यस विश्वविद्यालयको स्थापना १९९६ मा भएको हो । चार आंगिक र देशभर ५० भन्दा बढी सम्बन्धन प्राप्त महाविद्यालयहरू रहेको यस विश्वविद्यालयको आम्दानी न्यून छ । पोखरा विश्वविद्यालयले सरकारबाट प्राप्त गरेको २२ करोड ७ लाख ६५ हजार र आन्तरिक आम्दानी १ अर्ब ६१ करोड ३८ लाख ८१ हजार रुपैयाँमध्येबाट ६४ करोड ४७ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ । नेपाल खुला विश्वविद्यालय नेपाल खुला शिक्षा प्रणाली द्धारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने गराउने उद्देश्यले यो विश्वविद्यालय सञ्चालनमा ल्याइएको हो । वि.सं. २०७३ सालमा स्थापना गरिएको यस विश्वविद्यालयले औपचारिक शिक्षामा नसमेटिएकाहरूलाई समेट्ने काम गर्छ । यो विश्वविद्यालयले सरकारबाट प्राप्त १० करोड २८ लाख रुपैयाँ र आन्तरिक तर्फ गरी कुल आय ७४ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । तयसमध्ये यस विश्वविद्यालयले ८ करोड ३८ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय यो विश्वविद्यालय नेपाल सरकारद्धारा प्रस्तावित नयाँ विश्वविद्यालय हो । देशको अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने तथा नयाँ ज्ञान र प्रविधिको सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको यो विश्वविद्यालय मकवानपुरको चित्लाङमा छ । यो विश्विद्यालयले नेपाल सरकारबाट प्राप्त ३ करोड ५० लाख रुपैयाँ र आन्तरिक ६४ करोड ५७ लाख १२ हजारमध्ये २७ करोड ३१ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ । मध्यपश्चिम विश्वविद्यालय यो विश्वविद्यालयले कर्णाली प्रदेशको सुर्खेतमा छ । अध्यापन र अनुसन्धानद्वारा सबै क्षेत्रका जनतालाई गुणात्मक र स्तरयुक्त उच्च शिक्षाको अवसर सुलभ रूपमा उपलब्ध गराई राष्ट्रिय विकासमा दक्ष जनशक्तिको आपूर्ति गर्न र बहुविश्वविद्यालयको अवधारणाअनुरूप प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउन नेपाल सरकारको लगानीमा मध्यपश्चिम विश्वविद्यालयको स्थापना गरिएको थियो । सरकारबाट प्राप्त ४२ करोड ५१ लाख १७ हजार रुपैयाँ, गत वर्षको बचत १३ करोड ८३ लाख ९६ हजार र आन्तरिक आय १ करोड ९ लाख ३ हजार गरी कुल आय ५७ करोड ४४ लाख १६ हजार रुपैयाँ यस विद्यालयले आम्दानीका रुपमा देखाएको छ । यस विश्वविद्यालयले कुल ५७ करोड १३ लाख ७० हजार रुपैयाँ खर्च गरको छ ।
पेट्रोलियम पाइपलाइन अन्वेषण गर्नेकुराले समस्या निम्तिन्छ : जलवायु विज्ञ
काठमाडौं । जलवायु विज्ञहरुले इनर्जी ट्रान्जिशनको मुद्दामा छलफल शुरु गरेका छन् । काठमाडौंमा ५० जना भन्दा बढी जलवायु विज्ञहरुले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा जलवायु परिवर्तनको सन्दर्भमा उर्जा रुपान्तरणबारे ल्याएको योजना र प्राथमिकतामाथि छलफल शुरु गरेका हुन् । उनीहरुले आगामी आर्थिक वर्षको बजेटमा सरकारले ल्याएको जलवायु सम्बन्धी प्रावधानहरु केही विरोधाभाषपूर्ण रहेको बताएका छन् । उनीहरुले सरकारले पेट्रोलियम पाइपलाइन बनाउने, पेट्रोलियम अन्वेषण गर्ने जस्ता कार्यक्रमलाई निरन्तरता एकातिर दिने र अर्कोतिर जलविद्युतका आयोजनालाई पनि प्राथमिकतामा राख्नुले समस्या आउने बताए । जलवायु परिवर्ततका असर कम गर्न सरकारले लिएको दुई थरीको नीतिले नेट जिरो इमिसनको लक्ष्य प्राप्त गर्नका लागि समस्या हुने प्रकृति रिसोर्स सेन्टर संस्थाका निर्देशक प्रविनमान सिंहले बताए । उनले जलवायु परिवर्तनको सन्दर्भमा उर्जा रुपान्तरण अथवा इनर्जी ट्रान्जिशनको मुद्दा अहिले विश्वव्यापी रुपमा बहसको मुद्दा बनेको उल्लेख गरे । जलवायु परिवर्तनको असर न्युनिकरणको उपाय खनिज इन्धनको प्रयोगलाई कम गर्दै नविकरणीय उर्जाको प्रयोगलाई बढाउनु रहेको बताए । ५० जना भन्दा बढी विज्ञहरुको छलफलमा उर्जा रुपान्तरणबाट प्रभावित हुने समुदाय, व्यक्ति, परिवार अथवा व्यवसायहरुको हक हितको अधिकारको विषयमा पनि छलफल गरेको जानकारी दिए । रुपान्तरणको मुद्दामा न्यायका कुराहरुलाई कसरी जोडेर लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल भएको जानकारी दिए । ‘यो जलवायु परिवर्तनको जुन सन्दर्भ छ । जलवायु परिवर्तनको सन्दर्भमा उर्जा रुपान्तरण अथवा इनर्जी ट्रान्जिशनको मुद्दा अहिले विश्वव्यापी रुपमा बहसको मुद्दा बनेको छ । नेपाल सरकारले यो वर्षको नीति तथा कार्यक्रममा र बजेट पनि ल्याइसकेको अवस्थामा यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा उर्जा रुपान्तरणसँग सम्बन्धित कस्ता खालका कार्यक्रम र प्राथमिकताहरु रहेका छन् भन्ने वस्तुमा आजको छलफल केन्द्रित थियो । दुई थरीको नीतिले नेट जिरो इमिसनको लक्ष्य प्राप्त गर्नका लागि यस्तो नीतिले समस्या दिन्छ’, उनले भने । विज्ञहरुले उर्जा क्षेत्रमा नेपाल अहिले सही दिशामा अघि बढिरहेको बताए । प्राथमिकताको दिशामा हिँडेको तर प्राप्त गर्नुपर्ने उपलब्धि प्राप्त गर्न अझै नसकेको उनीहरुको निस्कर्ष छ । उर्जा क्षेत्रका सम्बन्धमा सन् २०३० सम्म नेपालले थुप्रै लक्ष्यहरु लिएको तर उक्त लक्ष्य प्राप्त गर्न अझै ठूलो फड्को मार्न जरुरी रहेको विज्ञहरको भनाइ छ ।