काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाएकी छन् । उनले प्रविधिको प्रयोग मात्रै सुरक्षा व्यवस्थापनको समाधान नभई प्रभावकारी शासन, कानुनको निष्पक्ष कार्यान्वयन र नागरिकमा विश्वास जगाउने राज्यको क्षमताबाट मात्रै दिगो शान्ति सुरक्षा सुनिश्चित हुने बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले पछिल्लो समय देशका विभिन्न स्थानमा बढ्दो आपराधिक गतिविधि र असुरक्षाको अनुभूति भइरहेका बेला सरकारले त्यसको प्रभावकारी समाधान दिन नसकेको टिप्पणी गरिन् । आकाशमा सेना र प्रहरीका ड्रोन उडाउनुले मात्रै सुरक्षा अवस्था सुधारिने भ्रम पाल्न नहुने उनको भनाइ थियो ।
'ड्रोन उडाएर मात्रै शान्ति सुरक्षा कायम हुँदैन,' उनले भनिन्, 'राज्यसँग स्पष्ट सुरक्षा रणनीति, त्यसको प्रभावकारी कार्यान्वयन र नागरिकमा विश्वास जगाउने क्षमता हुनुपर्छ ।'
उनले आधुनिक प्रविधि सुरक्षा व्यवस्थापनका लागि सहयोगी साधन भए पनि त्यसलाई प्रभावकारी नीति, सक्षम सुरक्षा संयन्त्र र सुशासनसँग जोड्न नसकिए अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गरिन् । केवल निगरानीका लागि ड्रोन परिचालन गर्नु समस्याको दीर्घकालीन समाधान नभएको उनको धारणा थियो ।
प्रमुख सचेतक ओलीले सरकारको प्राथमिकता प्रविधि प्रदर्शनभन्दा पनि सुरक्षा निकायलाई सक्षम, जवाफदेही र परिणाममुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताइन् । उनले अपराध नियन्त्रण, कानुनको निष्पक्ष कार्यान्वयन र नागरिकले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् ।
उनले सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउँदै अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सरकारलाई आग्रह गरिन् । साथै, शान्ति सुरक्षा कायम गर्न राज्यका सबै निकायबीच समन्वय, पारदर्शिता र उत्तरदायित्व अपरिहार्य रहेको उल्लेख गर्दै नागरिकको विश्वास जित्न सक्ने शासन प्रणाली नै दिगो सुरक्षा व्यवस्थाको आधार हुने बताइन् ।