ग्यासका लागि लाइन बस्न नपर्ने, टेकुबाट सिधै बिक्री सुरु
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ । हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएकी थिइन् । सोही निर्देशनअनुसार निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाइएको जनाएको छ। निगमका अनुसार दैनिक मागअनुसार एलपी ग्यासको आपूर्ति भइरहे पनि केही सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा बिक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ । त्यसैगरी, काठमाडौं उपत्यकामा बढी माग हुने ग्यास ब्रान्डको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ । साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौज्दात नगर्न निगमले अनुरोध गरेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले बजारमा उपभोक्ताको हितलाई केन्द्रमा राख्दै अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै वितरण प्रणालीमा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएकी थिइन् । निगमले सोही निर्देशनलाई कार्यान्वयन गर्दै ग्यास आपूर्तिलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउने कदम अघि बढाएको जनाएको छ ।
भ्रष्टाचार अनुसन्धानका क्रममा मेयरसहित ५५ जना हिरासतमा
काठमाडौं । टर्कीको प्रहरीले राजधानी अङ्काराको एतिमसगुत नगरपालिकाका मेयर एर्दाल बेसिकिओग्लुसहित ५५ जनालाई भ्रष्टाचार अनुसन्धानका क्रममा हिरासतमा लिएको छ । आन्तरिक मन्त्रालयका अनुसार विपक्षी दलद्वारा सञ्चालित नगरपालिकालाई लक्षित गरी यो कारबाही अघि बढाइएको हो । पक्राउ परेका मेयर बेसिकिओग्लु प्रमुख विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी) का सदस्य हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी टर्कीका एक चर्चित अभिनेताका रूपमा स्थापित थिए । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार यस अभियानका क्रममा उनका तीनजना उपमेयरहरूलाई समेत नियन्त्रणमा लिइएको छ । नगरपालिकाभित्र भएको भनिएको भ्रष्टाचार र अनियमितताको उजुरीका आधारमा अभियोजकहरूले गिरफ्तारी वारेन्ट जारी गरेपछि बिहीवार बिहानै समन्वयित रूपमा छापा मारिएको थियो । प्रहरीले नगरपालिकाको कार्यालय र संदिग्ध व्यक्तिहरूको निवासमा समेत विस्तृत खानतलासी गरेको छ । पछिल्लो समय विपक्षी दल सीएचपीको नेतृत्वमा रहेका विभिन्न नगरपालिकाहरूमा भ्रष्टाचार अनुसन्धानलाई तिब्र बनाइएको छ । यसै सिलसिलामा, गत बुधबार मात्रै इस्तानबुलको उस्कुदार नगरपालिकाकी मेयर सिनेम देदेताससहित २३ जना अधिकारीहरूलाई हिरासतमा लिइएको थियो । उनीहरूमाथि निर्माण तथा बसोवास अनुमति पत्र वितरणका क्रममा घुसखोरी र असुली गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
जमल किन डुब्छ ? महानगरको अध्ययनमा खुल्यो वास्तविक कारण
काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा बर्खायाममा दोहोरिने डुबानको मुख्य कारण ढल निकास प्रणालीको क्षमता नमिल्नु रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । साउन १५ गते काठमाडौं महानगरपालिकाको नेतृत्वमा सरकारी निकायका प्राविधिक टोलीले जमल क्षेत्रमा स्थलगत अध्ययन गरेको थियो । अध्ययनमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र स्थानीयबासी सहभागी थिए । कार्यवाहक प्रमुख सुनिता डंगोलले डुबानको वास्तविक कारण पहिचान गरी समाधानको उपायसहित प्रतिवेदन तयार गर्न निर्देशन दिएपछि टोली स्थलगत अध्ययनमा पुगेको हो । अध्ययनका क्रममा ज्याठा, निर्वाचन आयोग, येल्लो प्यागोडा र जनप्रशासन क्याम्पसतर्फबाट आउने गरी कुल २१५ सेन्टिमिटर व्यासका ढल प्रणालीको पानी जमलमा जम्मा हुने देखिएको छ । तर, उक्त पानीको निकास भने ६० सेन्टिमिटर व्यासको एउटा मात्र पाइपबाट हुने भएकाले डुबान हुने निष्कर्ष निकालिएको छ । डिभिजन सडक कार्यालय काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारका अनुसार २१५ सेन्टिमिटरभन्दा बढी क्षमताको पानी ६० सेन्टिमिटरको पाइपबाट एकैपटक निकास हुन नसक्दा पानी सडकमै जम्ने गरेको हो । प्राविधिकहरूले ढलभित्र फोहोर वा अन्य अवरोध नभेटिएको पनि बताएका छन् । जमलदेखि टुकुचासम्मको ढल प्रणाली निरीक्षण गर्दा ढल सफा रहेको देखिए पनि त्यसमा अन्य स्थानको ढल मिसाइएकाले निकास प्रक्रिया प्रभावित भएको पाइएको छ । स्थानीय ७० वर्षीय पुरुषोत्तम श्रेष्ठका अनुसार पहिले जमलको पानी छुट्टै ढलमार्फत निकास हुने व्यवस्था थियो । तर, पछि अन्य क्षेत्रको ढल पनि यही प्रणालीमा जोडिएपछि डुबान फेरि दोहोरिन थालेको हो । स्थानीय चित्राशोभा तुलाधरले पनि दरबारमार्ग क्षेत्रमा वर्षा हुँदा ढलको पानी माथिसम्म उछिट्टिने र ढकनसमेत उठ्ने अवस्था देखिने बताइन् । महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले काठमाडौंका धेरै स्थानमा डुबान हुनुको मुख्य कारण ढल सफाइको अभाव नभई माथिल्लो र तल्लो भागको ढल निकास क्षमताबीचको असन्तुलन रहेको बताए । उनका अनुसार माइतीघर मण्डलापछि अब जमल र दरबारमार्ग क्षेत्रको पनि विस्तृत प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानका उपाय अघि बढाइनेछ ।
सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन छुट्टै इजलास गठनको प्रस्ताव
काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको छ । उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो । कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिस अनुसार मन्त्रालयले समर्पित इजलास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो । सर्वोच्च अदालतले २०८२ माघ ११ गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुरसम्बन्धी मुद्दाको चाप बढी भएका जिल्ला अदालतहरूमा आवश्यकताअनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न भनेपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो । सहकारी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यहरूसहित उक्त प्रतिवेदन सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मालाइ प्रतिवेदन बुझाएकी हुन् । कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक, ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक–आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ । यस्ता मुद्दाको प्रभावकारी र छिटो सुनुवाइका लागि विशेष प्राथमिकतासहित समर्पित इजलास आवश्यक रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ । प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीडित बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन नसक्ने, न्यायमा ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ्ने उल्लेख गरिएको छ । त्यसैले पीडितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनःस्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ ।
दोषी पक्राउको माग गर्दै जनकपुरधाममा चर्कियो प्रदर्शन
काठमाडौं । सुनसरी र सिरहामा भएका घटनाका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । जनकपुरधाममा आयोजित सद्भाव र्याली समापन भएलगत्तै युवाहरूको एक समूहले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो । नगरमा आयोजित सद्भाव र्याली विसर्जन भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन सुरु गरेका थिए । उनीहरूले सुनसरी र सिरहामा भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले समाजमा शान्ति–सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले पीडितलाई उचित न्याय सुनिश्चित गर्न र अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन स्थानीय प्रशासनको ध्यानाकर्षणसमेत गराएका छन् । प्रदर्शनमा सहभागी युवाहरूले शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन अनिवार्य रहेको भन्दै प्रशासनलाई गम्भीर हुन आग्रह गरेका छन् ।
मार्जिन कारोबार सुरू गर्दै डाइनामिक र कोहिनुर, बैंकबाट लिए साढे ३ अर्ब ऋण
काठमाडौं । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४) र कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ३५) ले चालु आर्थिक वर्ष २०८३/८४ देखि मार्जिन कारोबार सेवा सञ्चालन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा निर्देशिका लागू गरेसँगै दुवै कम्पनीले सेवा सञ्चालनको तयारी तीव्र बनाएका हुन् । मार्जिन कारोबारका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न दुवै कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया अघि बढाएका छन् । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले करिब १ अर्ब ५० करोड रुपैयाँ र कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँ ऋण जुटाउने तयारी गरिरहेका छन् । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले गत आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड रुपैयाँ तथा आर्थिक वर्ष २०८०/८१ मा १२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनी नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्य हो । कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भएको यस संस्थाले धितोपत्र खरिद-बिक्री सहजीकरण गर्दै मुख्य रूपमा दलाली शुल्कबाट आम्दानी गर्दै आएको छ । कम्पनी नेपाल स्टक एक्सचेन्जको कारोबार सदस्य तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको निक्षेप सदस्यसमेत हो । हाल कम्पनीका दुई शाखा सञ्चालनमा रहेका छन् । कम्पनीको नेतृत्व कार्यकारी अध्यक्ष मधु जोशी र कार्यकारी निर्देशक रमेश कुँवरले गरिरहेका छन् । सन् २०२६ जुन मसान्तसम्म कम्पनीसँग ६३ हजार ४८१ सक्रिय ग्राहक रहेका छन् । कम्पनीको कुल सञ्चालन आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा धितोपत्र दलाली शुल्कबाट प्राप्त हुने गरेको छ भने बाँकी आम्दानी निक्षेप सदस्य सेवा लगायतका स्रोतबाट हुने गरेको जनाएको छ । यस्तै, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले गत आर्थिक वर्ष २०८२/८३ मा १३ करोड ६२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा १० करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा ७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्य रहेको कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज कम्पनी ऐनअन्तर्गत २०६४ साल कात्तिकमा स्थापना भएको हो । कम्पनीले धितोपत्र खरिद-बिक्री सहजीकरणबाट दलाली शुल्क आर्जन गर्नुका साथै आफ्नो लगानी पोर्टफोलियोबाट लाभांश तथा पुँजीगत लाभसमेत प्राप्त गर्दै आएको छ । कम्पनीको नेतृत्व सञ्चालक समितिका अध्यक्ष भरत रनाभाटले गरिरहेका छन् भने सञ्चालकमा बिनिता रनाभाट रहेकी छन् । सन् २०२६ जुलाईसम्म कम्पनीसँग एक लाख २१ हजार १२५ सक्रिय ग्राहक रहेका छन् । साथै, गत आर्थिक वर्षमा कम्पनीले आफ्नो बजार हिस्सा बढाएर १.९८ प्रतिशत पु¥याएको छ भने ९२ धितोपत्र दलाल कम्पनीमध्ये १२औँ स्थानमा उक्लिएको जनाएको छ । दुवै कम्पनीले मार्जिन कारोबार सेवा सञ्चालनसँगै ब्याज आम्दानीको नयाँ स्रोत थपिने अपेक्षा गरेका छन् । यसबाट दलाली शुल्कमा रहेको उच्च निर्भरता क्रमशः घट्दै आम्दानीका स्रोत विविधीकरण हुने विश्वास गरिएको छ ।
शक्ति र सत्ताकै लागि राजनीति गर्ने ठाउँमा पुग्यौँ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिमा बढ्दै गएको पद र शक्तिप्रतिको आसक्तिप्रति चिन्ता व्यक्त गरेका हुन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्रका रूपमा परिभाषित गरे । उनले नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनुपर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्र राजनीति गर्ने अवस्था आउनु दुःखद् भएको बताए । यो राजनीतिको मूल उद्देश्यभन्दा फरक र विचलित बाटो भएको उनको भनाइ थियो । पार्टीको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उनले संस्थापक नेताहरूले सत्ता वा शक्तिको अभिलाषा राखेर नभई विशुद्ध नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको उल्लेख गरे । बदलिँदो परिवेशमा पार्टीसामु नयाँ विषय र चुनौती थपिएको उल्लेख गर्दै उनले सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याए । थापाले भने, ‘हामी राजनीतिमा आएको पनि त्यही कारणले हो। राजनीतिभन्दा ठूलो सार्वजनिक सेवा अरू केही छैन । राजनीतिभन्दा ठूलो नागरिक सेवा वा मानव सेवा पनि केही होइन । नागरिक र मानव सेवा गर्न शक्ति भयो भने अझ धेरै गर्न सकिन्छ, सत्ता भयो भने अझ प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने सोचबाट हामी चिप्लिएर शक्ति र सत्ताकै लागि राजनीति गर्ने ठाउँमा पुग्यौँ ।’ प्रतिष्ठानको कार्यशैलीप्रति सन्तोष व्यक्त गर्दै उनले पार्टीको मर्म र आत्मालाई बुझेर रचनात्मक कार्य भइरहेको बताए । एकातर्फ नियमित सांगठनिक गतिविधि र अर्कोतर्फ नीतिगत तथा प्रशिक्षणका काम व्यवस्थित ढङ्गले अगाडि बढ्नु सुखद् पक्ष रहेको उनको भनाइ छ ।