रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भए : संग्रौला
काठमाडौं । साहित्यकार खगेन्द्र संग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गरेका छन् । ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै उनले गत निर्वाचनमा उम्मेदवार थाहा नपाइकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको तर्क गर्दै संग्रौलाले समाजको विवेकहीन भीडतन्त्रलाई राजनीतिक नेताहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको दाबी गरे । साहित्यकार संग्रौलाले नेपाली समाजमा तार्किकताको अभाव रहेको र यसमा एक प्रकारको ‘भेडोपन’ हाबी भएको तर्क गरे । इतिहासको सन्दर्भ जोड्दै उनले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको अभूतपूर्व लहर र दोस्रो निर्वाचनमा त्यो जनमानस एकाएक हराएको प्रसङ्ग उल्लेख गर्दै गत फागुन २१ को निर्वाचनको अनुभव सुनाउँदै चितवन र नवलपरासीका मतदाताहरूमा चरम अन्योल देखिएको बताए । संग्रौलाकाअनुसार धेरै मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान गरेपनि उम्मेदवारका रूपमा बालेन्द्र साहलाई बुझेका थिए । उनकाअनुसार चितवन र नवलपरासीभरिका मतदाताले घण्टीमा भोट त हाले तर उम्मेदवार को हो भन्दा बालेन भन्ने गरेका थिए । कर्मको आधार र तार्किकतामा विचार नगर्ने यस्तो प्रवृत्तिलाई उनले गणेशमान सिंहले प्रयोग गरेको ‘भेडा’ संज्ञासँग तुलना गरे । नेतृत्वको परिभाषा गर्दै संग्रौलाले सफल नेतामा वक्तृत्वकला र आकर्षक एजेण्डा हुनुपर्ने उनको भनाई थियो । नेताले आफ्ना एजेण्डा वा भ्रमलाई यसरी प्रश्तुत गर्छ कि सर्वसाधारण उसको वरिपरि केन्द्रित हुन्छन् । नेपालको सन्दर्भमा मदन भण्डारीलाई उनले ‘करिस्मेटिक’ नेताको रूपमा चित्रण गरे। जसमा वक्तृत्व, तर्कशीलता र आक्रामकताको अद्भुत मिश्रण थियो । पछिल्लो समय उदाएका नेता रवि लामिछानेको प्रसङ्गमा टिप्पणी गर्दै संग्रौलाले भ्रम र यथार्थको सम्मिश्रणबाट आफ्नो वरिपरि ठूलो भीड जम्मा गर्न सफल भएको टिप्पणी गरे । यद्यपि, लामिछानेको कानूनी जटिलता (नागरिकता/राहदानी मुद्दा)का कारण उनले कार्यकारी प्रमुखको भुमिकामा बस्न नमिल्ने परिस्थिति सिर्जना भएको संग्रौलाको विश्लेषण छ। सोही रिक्तता र जनअपेक्षाका कारण बालेन्द्र साह एक विकल्प वा ‘कामचलाउ’ पात्रका रूपमा अगाडि आएको संग्रौलाले दाबी गरे । समाज र राजनीतिबीचको अन्तरसम्बन्धमा केन्द्रित कार्यक्रममा संग्रौलाले नेपाली समाजले विवेकपूर्ण निर्णय लिन नसकेसम्म राजनीतिको स्वरूपमा ठोस परिवर्तन आउन कठिन रहेको जिकिर गरे ।
३ लाख घुससहित भूमि प्रशासन कार्यालयका तीन नासुसहित पाँच जना पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैयाँ घुससहित भूमि प्रशासन कार्यालय, लगनखेलका तीन नायब सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन् । अख्तियारका अनुसार उनीहरूले जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने उजुरी परेको थियो । उक्त सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । टोलीले ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट घुस रकमसहित स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद गरेको जनाएको छ । अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरणमात्र भयो : प्रा. कृष्ण खनाल
काठमाडौं । प्राध्यापक कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक ‘बहुसंकट’ (पोली–क्राइसिस)को अवस्थाबाट गुज्रिरहेको बताएका छन् । समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले राजनीतिक दलहरूले निर्वाचनमा व्यहोरेको हारको वस्तुनिष्ठ समीक्षा गर्नुको सट्टा दोषारोपण गरेर उम्किने गरेको टिप्पणीसमेत गरे । मुलुकको वर्तमान अवस्थालाई ‘बहुसंकट’ को संज्ञा दिँदै उनले सरकारले समस्याको स्थायी समाधान खोज्नुको सट्टा तात्कालिक रूपमा सामसुम पार्ने काम मात्र गरिरहेको आरोप लगाए । मिटरब्याज पीडितसँगको सम्झौता र देवानगञ्जमा भएका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले अहिले समस्यालाई शिथिलमात्र बनाएको तर सम्बोधन नगरिएको जिकिर गर्दै समस्याको शिथिलीकरण समाधान नभएको दाबी गरे । राजनीतिक दलहरूको चरित्रमाथि प्रश्न उठाउँदै प्रा. खनालले कुनैपनि पार्टीले आफू किन हार्यो भनेर गम्भीर विश्लेषण नगर्ने र हारको जिम्मेवारी लिनुको सट्टा अन्तर्घात वा अन्य वाह्य कारण देखाएर जिम्मेवारी पन्छाउने प्रवृत्ति हावी रहेको जिकिरसमेत गरे । अध्ययनकर्ताहरूले हारको वास्तविक कारण बुझेपनि समाज र राजनीतिक वृत्तमा त्यसलाई सुन्ने र स्वीकार गर्ने वातावरण नरहेको बताए । विश्वविद्यालयको शैक्षिक वातावरणप्रति असन्तुष्टि व्यक्त गर्दै खनालले प्राध्यापन र अनुसन्धानबीचको सम्बन्ध टुटिरहेको बताए । हाल आफू नयाँ पुस्ताको राजनीतिक सामाजिकीकरण र वर्तमान राजनीतिक परिवर्तनका आयामहरूबारे अध्ययन गरिरहेको जानकारीसमेत दिए । प्रा. खनालकाअनुसार, जब स्थापित संस्थाहरू र निर्धारित प्रक्रियाहरूबाट समस्या सुल्झिन छाड्छन्, तबमात्र त्यसले संकटको रूप लिने गर्दछ । उनले अहिलेका समस्याहरू समाधानतर्फ नगई केवल मत्थरमात्र पारिएकाले जुनसुकै बेला पुनः बल्झिनसक्ने चेतावनीसमेत दिए ।
मलेसियाको जनसंख्या ३ करोड ४४ लाख पुग्यो
काठमाडौं । मलेसियाको कुल जनसंख्या सन् २०२६ मा ३ करोड ४४ लाख पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको आधिकारिक प्रतिवेदन अनुसार अघिल्लो वर्ष ३ करोड ४२ लाख रहेको जनसंख्यामा ०.५ प्रतिशतको वार्षिक वृद्धिदर देखिएको हो । तथ्याङ्क विभागकाअनुसार मलेसियाली नागरिकको संख्या सन् २०२५ को ३ करोड ८ लाखबाट बढेर ३ करोड १० लाख पुगेको छ । नागरिकहरूको जनसंख्यामा वृद्धिदर ०.६ प्रतिशत कायम रहेको छ । यसको विपरित, गैर–नागरिकको संख्यामा भने गिरावट आएको छ । सन् २०२५ मा ०.५ प्रतिशतले घटेको गैर–नागरिकको संख्या यस वर्ष थप ०.२ प्रतिशतले खुम्चिएको विभागले जनाएको छ । देशको कुल जनसंख्यामा नागरिकको हिस्सा ९०.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ९०।१ प्रतिशत रहेको थियो । जातीय बनोटका आधारमा ‘भूमिपुत्र’ समुदाय ७०.७ प्रतिशतका साथ सबैभन्दा ठूलो समूहका रूपमा रहेको छ । यसमध्ये ५८.४ प्रतिशत मलाया र १२.३ प्रतिशत अन्य भूमिपुत्र रहेका छन् । चिनियाँ मूलका नागरिकको हिस्सा २२.२ प्रतिशतबाट झरेर २२ प्रतिशतमा सिमित भएको छ । त्यसैगरी, भारतीय र अन्य जातीय समूहको हिस्सा भने क्रमशः ६.५ प्रतिशत र ०.८ प्रतिशतमा यथावत रहेको तथ्याङ्कमा उल्लेख छ ।
वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित, केही सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले शनिबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । इलाम नगरपालिका-९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडकखण्ड सामाकोशी खोलाको बहावले कटान गरेपछि यातायात अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित पासाङ ल्हामु राजमार्ग पनि त्रिशूली नदीले सडक कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
गणेश यादवका परिवारसँग ८ बुँदे सहमति, १० लाख राहतसहित सहिद घोषणा गर्ने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग आठ बुँदे सहमति गरेका छन् । जिल्ला सुरक्षा समितिको बैठकपछि गृहमन्त्री गुरुङ शुक्रबार राति सिरहाको औरही गाउँपालिका-२, तुलसीयाहीस्थित मृतक यादवको घर पुगेका थिए । त्यहाँ मृतकका बुबा-आमा तथा आफन्तसँग भएको छलफलपछि आठबुँदे सहमति गरेका हुन् । सम्झौताअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । साथै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ । यस्तै, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्थानीय तहसँग समन्वय गरी स्मृति पार्क तथा सालिक निर्माणका लागि पहल गर्ने सहमति भएको छ । सम्झौतामा मृतककी दाइ र बहिनीको निःशुल्क शिक्षाको व्यवस्था गर्ने, मृतकका बुबा र आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने तथा परिवारका अन्य माग पनि यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।
देशभर पानी पर्ने, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भागमा सामान्यदेखि पूर्ण बदली छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली र पहाडी क्षेत्रका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी र पहिरोको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
साम्प्रदायिक सद्भाव खलल पुर्याउने ३६ जना पक्राउ
काठमाडौं । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट शुक्रबार (आज) ३६ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट नौ, सिरहाबाट पाँच, महोत्तरीबाट दुई र पर्साबाट एक जना पक्राउ परेका छन् । यसैबीच, प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।