उचाइमै पुगेर निम्स दाइ अस्ताए
काठमाडौं । ब्रड पिकको हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पूर्जाको मृत्यु भएको छ । इलाइट एक्स्पेडले उनको निधन भएको पुष्टि गरेको छ । केही दिन अघिमात्र पाकिस्तान पुगेर ब्रड पिकमा आरोहण गर्न उनी पुगेका थिए । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो जाँदा उनी बेपत्ता भएका थिए । टोलीमा ६ जना नेपालीसहित एक अमेरिकी, एक चिनियाँ, एक ओमानी गरी कूल १० जना सहभागी थिए । सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान उनले बनाएका थिए। करिब डेढ दशकको आरोहण यात्रामा निम्स दाइले व्यक्तिगत साहसको सीमा मात्र तोडेनन् । नेपाली आरोहीको पहिचान र नेपालको हिमाल पर्यटनलाई पनि नयाँ उचाइमा पुर्याए। निम्स दाई हिमाल चढ्दाचढ्दै चिनिएका थिए । उनी कुनै समय ब्रिटिश लाहुरेमा भर्ना भएका थिए । लामो समयसम्म सेवा पनि गरे । तर, उनी हिमाल चढ्न पुगेका निम्स हिमालमै अस्ताए । उचाइमा पुगेर चिनिएका थिए निम्सदाइ । उचाइमा पुगेर अस्ताए । जन्मिए नेपालमा मृत्युवरण गरे पाकिस्तानमा । निम्सदाइ सामान्य आरोही मात्र थिएनन् । उनी असम्भव ठानिएको योजनालाई सम्भव बनाउँथे । विश्व पर्वतारोहणको गति, शैली र नेतृत्वबारे स्थापित मान्यता परिवर्तन गर्ने नेपाली आरोहीको रुपमा परिचय बनाएका थिए। करिब २९ वर्षसम्म व्यावसायिक पर्वतारोहणको अनुभव नगरेका उनले त्यसपछिको छोटो अवधिमै संसारका अग्ला- अग्ला हिमालमा आरोहण गरी किर्तिमान बनाएका छन् । उनले म्याग्दीको एक गाउँबाट जीवन यात्रा सुरु गरेका थिए । निम्स दाईको जन्म २५ जुलाई १९८३ मा म्याग्दीको दाना भएको थियो । उनी सानो छँदै परिवार चितवन बसाइँ सरेको थियो। चितवन, ब्रिटिस गोर्खा सेना, बेलायतको विशेष सैन्य इकाइ र संसारका सबैभन्दा अग्ला हिमालसम्म पुगेको अनुभव हासिल गरिसकेका थिए । उनका बुबा ब्रिटिस गोर्खा सैनिक थिए। उनका दाजुहरू पनि गोर्खा सेनामा भर्ती थिए। परिवारको यही पृष्ठभूमिका कारण सानैदेखि उनको सपना पनि गोर्खा सैनिक बन्ने थियो। सन् २००३ मा उनी ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजमा भर्ती भए। करिब छ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेपछि सन् २००९ मा उनी बेलायतको ‘स्पेसल बोट सर्भिस’ अर्थात एसबीएसमा छनोट भए । एसबीएस बेलायतको रोयल नेभीअन्तर्गतको अत्यन्त विशिष्ट सैन्य इकाइ हो । उनी एसबीएसमा पुग्ने पहिलो गोर्खा भएको उनको आधिकारिक विवरणमा उल्लेख गरिएको छ । निम्सदाइको पर्वतारोहण यात्रा बाल्यकालदेखि सुरु भएको थिएन । सन् २०१२ मा सैन्य सेवाबाट बिदामा आएका बेला उनी सगरमाथा आधार शिविरतर्फ पदयात्रामा गएका थिए । त्यही यात्राले हिमालप्रति उनमा रुचि जगाएको थियो । आधार शिविरको यात्रापछि उनले साथमा रहेका गाइडलाई आफूलाई वास्तविक आरोहण सिकाउन आग्रह गरे। डिसेम्बर २०१२ मा उनले ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट आरोहण गरे । त्यही नै उनले चढेको पहिलो हिमाल थियो। दुई वर्षपछि १८ मे २०१४ मा उनले आठ हजार १६७ मिटर अग्लो धौलागिरि आरोहण गरे। त्यो उनको पहिलो आठ हजार मिटरभन्दा अग्लो हिमाल थियो। सन् २०१६ मा उनी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगे। उनले जागिर छाडेर संसारका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सात महिनाभित्र आरोहण गर्ने घोषणा गरे। २३ अप्रिल २०१९ मा अन्नपूर्ण आरोहण गर्दै सुरु भएको अभियान २९ अक्टोबरमा तिब्बतको सिसापाङ्माको चुचुरोमा पुगेर पूरा भयो। उनले अन्नपूर्ण, धौलागिरि, कञ्चनजङ्घा, सगरमाथा, ल्होत्से, मकालु, नाङ्गा पर्वत, गाशरब्रुम –१, गाशरब्रुम–२, केटु, ब्रड पिक, चोयु, मनास्लु र सिसापाङ्मा गरी १४ हिमाल ६ महिना ६ दिन अर्थात् १८९ दिनमा आरोहण गरे। सन् २०१९ मा उनको १८९ दिनको उपलब्धिलाई आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सबैभन्दा छिटो आरोहण गरेको विश्व कीर्तिमान मानिएको थियो। सन् २०२३ मा क्रिस्टिन हरिला र तेन्जेन लामा शेर्पाले ९२ दिनमा १४ वटै हिमाल चढेपछि गति कीर्तिमान पनि तोडिएको छ। तर, यसले सन् २०१९ को अभियानको ऐतिहासिक महत्त्व घटाउँदैन। निम्सदाइले आठ वर्षको पुरानो समयलाई एकैपटक ६ महिनामा झारेर उच्च हिमाली आरोहणको योजना, गति र परिचालन क्षमतामा नयाँ मानक स्थापित गरेका थिए। सन् २०२५ मा नाङ्गा पर्वत आरोहणसँगै उनले आठ हजार मिटरभन्दा अग्ला हिमालमा ५० सफल आरोहण पूरा गरेको घोषणा गरे। उनले आठ हजार मिटरमाथिको आरोहण संख्या अझै बढाएका थिए। उनी कीर्तिमान बनाउने मात्र होइन, आफ्नै कीर्तिमानलाई पुनः चुनौती दिने आरोहीका रूपमा परिचित भए। हिमाली पर्वतारोहणमा गरेको कामका लागि सन् २०१८ मा बेलायती महारानी एलिजाबेथ द्वितीयले निम्स दाईलाई ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’—एमबीई सम्मान प्रदान गरेकी थिइन् । सन् २०२० मा उनले पियोले डी’ओर एसिया सम्मान प्राप्त गरे। सन् २०२३ मा लफबरो विश्वविद्यालयले उनलाई मानार्थ उपाधि प्रदान गर्यो। उनको ‘प्रोजेक्ट पोसिबल’ अभियानमा आधारित वृत्तचित्र ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ सन् २०२१ मा नेटफ्लिक्सबाट सार्वजनिक भयो। वृत्तचित्रले उनको कीर्तिमानलाई मात्र होइन, नेपाली आरोहीको क्षमता, हिमाली भूगोल, जोखिम र टोलीगत योगदानलाई विश्वका करोडौं दर्शकमाझ पुर्यायो। उनले लेखेको पुस्तक ‘बियोन्ड पोसिबल’ ले सैन्य जीवन, आरोहण यात्रा र असम्भव ठानिएको लक्ष्य पछ्याउने उनको सोचलाई समेटेको छ। ‘सम्भव’ र ‘असम्भव’ बारे उनले निर्माण गरेको भाष्य पर्वतारोहण बाहिरका युवामाझ पनि लोकप्रिय बन्यो। निम्सदाइको अन्तर्राष्ट्रिय लोकप्रियताले नेपाललाई सगरमाथाको देशका रूपमा मात्र होइन, विश्व कीर्तिमानी आरोही र उच्च हिमाली नेतृत्व जन्माउने देशका रूपमा चिनायो। नेटफ्ल्क्सि वृत्तचित्र, सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय अन्तर्वार्ताले नेपालको पर्वतारोहण ब्रान्डलाई परम्परागत पर्यटन प्रचारभन्दा फरक दर्शकसम्म पुर्याए। उनको नेतृत्वमा सञ्चालन हुने अभियानले उच्च खर्च गर्ने अन्तर्राष्ट्रिय आरोहीलाई नेपालतर्फ आकर्षित गरे। यस्ता अभियानले पर्वतारोहण अनुमति, होटल, हेलिकोप्टर, वायुसेवा, गाइड, क्याडी, भरिया, उपकरण, बिमा र स्थानीय सेवासम्म आर्थिक गतिविधि सिर्जना गर्छन्। उनले हिमाल आरोहणलाई लामो समय लाग्ने सीमित अभियानको ढाँचाबाट तीव्र योजना, प्रविधि, बलियो टोली र व्यवस्थित परिचालनमा आधारित नयाँ व्यावसायिक मोडलतर्फ लैजान भूमिका खेले। उनको शैलीबारे पर्वतारोहण समुदायमा बहस भए पनि उनले हिमाल पर्यटनमा नेपाली नेतृत्वको व्यावसायिक सम्भावना देखाएको तथ्य अस्वीकार गर्न सकिँदैन। निम्सदाइ फाउन्डेसनमार्फत उनले हिमाली समुदायमा शिक्षा, आपत्कालीन सहयोग र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम अगाडि बढाए। ‘बिग माउन्टेन क्लिनअप’ अभियानमार्फत अग्ला हिमालमा थुप्रिएको फोहोर हटाउने प्रयास गरिएको छ। आफ्नो पछिल्लो कीर्तिमानी अभियानमा प्राप्त हुने सहयोग फाउन्डेसनमार्फत समुदायका लागि प्रयोग गर्ने घोषणा पनि उनले गरेका थिए । लोबुचे इस्टबाट सुरु भएको उनको यात्रा धौलागिरि, सगरमाथा, केटु र विश्वका सबै १४ अग्ला हिमालसम्म पुग्यो। उनले बनाएका केही कीर्तिमान तोडिए, केही पुनर्वर्गीकृतभए र केही अझै कायम छन् तर उनले विश्व पर्वतारोहणमा छाडेको सबैभन्दा गहिरो छाप संख्याभन्दा ठूलो छ ।
आरोहीहरू इतिहासमा सधैँ अमर रहन्छन् : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पाकिस्तानको ब्रोड पिक हिमालमा ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली र चार जना विदेशी आरोहीको निधनले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री शाहले पर्वतारोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन् । उनले हिमालले धेरैलाई शिखरको गौरव दिने र कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने बताएका छन् । प्रधानमन्त्री शाहले निर्मल पुर्जासहित सम्पूर्ण दिवङ्गत आरोहीको भौतिक यात्रा टुङ्गिए पनि उनीहरूको साहस, समर्पण र योगदान सधैँ प्रेरणाको स्रोत बनिरहने विश्वास व्यक्त गरेका छन् । उनले दिवङ्गत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।
साताभर नेप्से १५.७८ अंकले घट्यो, कारोबार २१ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताभर १५.७८ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २७०१.३२ अंकमा रहेको नेप्से यो साता २६८५.५४ अंकमा झरेर कारोबार बन्द भएको हो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से ३३.२८ अंकले घटेको थियो । त्यसपछि मंगलबार ४.६४ अंक र बुधबार ७.७९ अंकले घट्यो । बिहीबार पनि १६.२९ अंकको गिरावट आयो । शुक्रबार भने बजारमा सामान्य सुधार देखियो । शुक्रबार नेप्से १२.९६ अंकले बढे पनि साताभरको समग्र नतिजा भने नकारात्मक रह्यो । साताभर नेप्सेमा २१ अर्ब १९ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पाँच दिनमा ४ करोड ५९ लाख १ हजार ५२६ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा सोमबार सबैभन्दा बढी ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । शुक्रबार सबैभन्दा कम ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ ।
हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयो : राधेश्याम अधिकारी
काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेट (मतदान) को सट्टा हिंसामार्फत सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति यस्तो धारणा राखेका हुन् । अधिकारीले विगतका हिंसात्मक घटनाका दोषीलाई जवाफदेही बनाउन नसक्दा त्यस्ता घटनाको पुनरावृत्ति भइरहेको तर्क गरे । भदौ २३ र २४ गतेका घटनाको स्मरण गर्दै उनले ती घटनामा जवाफदेहिता कायम गर्न नसकिएकै कारण अहिले फेरि त्यस्तै प्रकृतिका घटना दोहोरिन थालेको बताए । हालैका दिनमा देखिएका धार्मिक तथा अधार्मिक प्रकृतिका उच्छृङ्खल गतिविधि र निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानमाथि भएका आक्रमणप्रति पनि उनले चासो व्यक्त गरे । भाटभटेनी र सीजी ग्रुपजस्ता व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी र क्षतिलाई उनले लोकतन्त्रका लागि चिन्ताको विषय बताए । यस्ता गतिविधिले मुलुकको शासन व्यवस्था र लोकतन्त्रको रक्षामा चुनौती थपेको उनको भनाइ छ । अधिकारीले भने, ‘पटक–पटक यस्ता घटना भइरहँदा हिंसा र हिंसामार्फत सत्ता परिवर्तन हुन सक्छ, ब्यालेटबाट होइन भन्ने मान्यता स्थापित हुँदैछ कि भन्ने डर लागिरहेको छ । त्यो हो कि होइन, त्यो आफ्नो ठाउँमा होला । तर आजको दिनमा यो विषय गम्भीर समीक्षा गर्ने विषय बन्न सक्छ कि सक्दैन ? यसतर्फ हाम्रो ध्यान जान आवश्यक छ भन्ने मलाई लाग्छ। भदौ २३ र २४ गतेका घटना भए ।’ अधिकारीले सरकार र संसद्बीचको सम्बन्धका विषयमा पनि प्रश्न उठाए। संसदबाटै नियुक्त हुने प्रधानमन्त्रीलाई आजको अवस्थामा संसद्मै टेक्न गाह्रो हुनु जवाफदेहिताको अभावको संकेत भएको उनले बताए । राज्यको कार्यकारी प्रमुखले नै जिम्मेवारी र जवाफदेहिताको बोध नगर्ने हो भने लोकतन्त्रप्रति जनताको आस्था र विश्वास कायम राख्न कठिन हुने उनको चेतावनी छ । जवाफदेही शासन व्यवस्थाले मात्र लोकतन्त्रलाई बलियो बनाउने भन्दै उनले यस विषयमा गम्भीर समीक्षा गर्न सरोकारवालाको ध्यानाकर्षण गराए ।
निम्स दाइको निधन भएको पुष्टि
काठमाडौं । निर्मल पुर्जा अर्थात् निम्स दाइको निधन भएको छ । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर उनको निधन भएको इलाइट एक्सपेडले पुष्टि गरेको छ । इलाइट एक्सपेडले जारी गरेको विज्ञप्तिमा हिम पहिरोपछि पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ' पुर्जाको दुःखद निधन भएको उल्लेख गरिएको छ । इलाइट एक्सपेड कम्पनी निम्स दाइको हो । उनीसहित केही पर्वतारोही साझेदारी छन् । ‘आज हामी अत्यन्तै गहिरो दुःख र असह्य पीडाका साथ पुष्टि गर्दछौं कि ब्रड पिकमा आएको हिम पहिरोपछि विश्व प्रसिद्ध पर्वतारोही निर्मल 'निम्स' दाइ पुर्जाको दुःखद निधन भएको छ। यस अभियानमा संलग्न अन्य केही सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ,’ विज्ञप्तिमा लेखिएको छ । 'हामीले केवल निम्सलाई मात्र होइन, यस दुःखद घटनामा ज्यान गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ । उनका विश्वासिला आरोहण सहयात्री तथा पर्वत मार्गदर्शक पुरबहादुर गुरुङ (युक्ता) र नीमा शेर्पाको निधनले हामीलाई अत्यन्त मर्माहत बनाएको विज्ञप्तिमा बताइएको छ । निर्मल 'निम्स दाइ' पुर्जा तथा यस दुःखद घटनामा ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। तपाइलाई कहिले बिर्सने छैनौ । तपाइको साहस, उद्देश्यलाई आउने पुस्ताले सधैँभरि सम्झिरहने छन् ।
अशान्तिले साना उद्योग धरापमा पर्ने महासंघको चिन्ता
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । महासंघका अनुसार सीमित पूँजी, स्थानीय बजार र दैनिक कारोबारमा निर्भर रहने घरेलु तथा साना उद्योगहरू अशान्ति, बन्द, तोडफोड तथा बजार अवरोधबाट सबैभन्दा बढी प्रभावित हुने गर्छन् । यस्तो अवस्थाले उद्यमीहरूको आत्मविश्वास कमजोर बनाउनुका साथै उत्पादन र आपूर्ति प्रणालीमा समेत असर पुर्याउने जनाएको छ । विज्ञप्तिमा नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वास नै राष्ट्रिय स्थायित्व तथा आर्थिक समृद्धिको आधार रहेको उल्लेख गरिएको छ । यस्ता घटनाले घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, व्यापार, पर्यटन, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष र दीर्घकालीन नकारात्मक असर पार्ने महासंघको भनाइ छ । महासंघले कुनै पनि समस्या वा मतभेदको समाधान हिंसा वा टकरावबाट नभई संविधान, कानुन, संवाद र आपसी समझदारीका माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै संयमता अपनाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ । विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग प्रभावित क्षेत्रमा प्रभावकारी शान्ति–सुरक्षाको व्यवस्था गर्न, उद्योग–व्यवसाय र सर्वसाधारणको जनधनको सुरक्षा सुनिश्चित गर्न तथा आर्थिक गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण तत्काल निर्माण गर्न आग्रह गरेको छ । साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउन नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई महासंघले आह्वान गरेको छ । महासंघले शान्तिपूर्ण, सुरक्षित तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सबै सरोकारवालासँग आवश्यक सहकार्य गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ ।
धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी
काठमाडौं । तराईका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण अवस्थालाई सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन् । गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिसँग छलफल अघि बढाएका हुन् । गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो । सोही क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीचको विवाद उग्र बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो । आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यतिबेला तराई भ्रमणमा हुनुहुन्छ । वार्तामार्फत केही स्थानको अवस्था क्रमिक रूपमा शान्त बन्दै गएको छ । प्रशासनले केही जिल्लाबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन । सरकारले वार्ता र संवादमार्फत सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको बुझिएको छ ।
डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति, डढेलधुराले अजयमेरुमा गाउँपालिका वडा नं २ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ । सरकारले देशका विभिन्न ठाउँमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तर अघि बढाएको छ ।