पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिबाट उत्साहित व्यवसायीको मनोबल गिर्न नदिने गरी काम गर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् । उनले मौद्रिक नीति राम्रो आएको उल्लेख गर्दै मौद्रिक नीतिबाट देशका उद्योगी व्यवसायीहरूको मनोबल बढेकाले यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले राजस्वको दर बढाउने नभइ दायरा बिस्तार गर्नुपर्ने बताए । उनले व्यवसायीलाई घुँडा टेकाएर मात्रै नहुने भनाइ राखे । तत्काल करका दरमा हेरफेर गर्न नसकिने भए पनि सक्नेजति सहज बनाइने उनले बताए । उनले सेयर बजार मात्रै नभइ सम्पूर्ण बजारलाई नै चलायमान बनाउने गरी सरकारले काम गर्ने विश्वास व्यक्त गरे । उनले पोखरा विमानस्थल, भैरहवा विमानस्थल चलाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिए । प्रधानमन्त्री ओलीले नेपालमा उत्पादन हुने खाद्यान्न गुणस्तरको भएमात्रै निर्यात गर्ने र आयात पनि गुणस्तरयुक्त भएमात्रै आयात गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । उनले तीन महिनाको समय दिएर गुणस्तरयुक्त खाद्यान्न उत्पादन गर्न किसानसँग आग्रह गर्न पनि निर्देशन दिए । उनले निजी क्षेत्रलाई हुने झन्झिटिलोको समाधान गर्न पनि आग्रह गरे ।
थोत्रा बस सञ्चालनमा रोक लगाउन माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले दुर्घटना न्यूनीकरणका योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । ‘स्कुल बस र सार्वजनिक बस निकै पुराना भएकाले पनि दुर्घटनाको जोखिम बढेको छ, सरकारले यसलाई नियमन गर्नुपर्छ’, उनले भने, ‘घुम्ती सडकमा छेकबार तथा सङ्केत चिह्न नहुँदा दुर्घटना हुने गरेका छन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलैमा ध्यान दिनुपर्छ ।’ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यप्रसाद ढकालले बाँकेको राप्तीसोनारी गाउँपालिका– ७ झगडिया क्षेत्रमा राप्ती नदीमा यथाशीघ्र तटबन्धको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए । ‘बेलैमा तटबन्ध गरिएन भने राप्तीसोनारी–७ को आधा गाउँ र नरैनापुर गाउँपालिकाका सबै वडा डुबान जोखिममा पर्ने र ६० हजार बढी जनता विस्थापित हुने देखिएको छ, यतातर्फ सरकार र सिङ्गो सदनको ध्यान जानुपर्छ’, उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले धादिङ जिल्ला अस्पतालभित्र राजनीति गतिविधि व्याप्त भएको दाबी गर्दै अस्पताल व्यवस्थापन समितिलाई पार्टीको भ्रातृ सङ्गठन बनाइएकामा विरोध गरे । ‘अस्पतालमा कार्यरत सक्षम जनशक्तिलाई टिक्न नदिइ सरुवा गराउन गरिएको छ, स्वास्थ्य संस्थालाई यसैगरी अघि बढाउने हो भने स्वाथ्य क्षेत्रमा सुधार हुन्छ ? स्वास्थ्य क्षेत्रमा राजनीतिक दलले गैरजिम्मेवार काम गर्न हुँदैन’, उनले भने । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले चितवनको सीमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजी प्रभावकारी हुन नसकेको उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले वैदेशिक रोजगारी जाने युवाहरु ठगी बढिरहेको तथ्य प्रस्तुत गर्दै ठगी नियन्त्रणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले रुस–युक्रेन युद्धमा घाइते भएका दैलेखका दुई युवाका उद्धार गरी स्वदेश फर्काउन सरकारसँग माग गरे ।
जापानको बेरोजगारी दरमा सुधार
जापान । जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्यांकले मंगलबार जनाएको छ । एक वर्ष अघिको तुलनामा तीन लाख ७० हजारले वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ । मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जून महिनामा ३.३ प्रतिशतले घटेर मौसमी बेरोजगारीमा समायोजित हुदाँ १.७६ मिलियनमा पुगेको हो । स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मे महिनामा १।२४ रहेको जापानको रोजगार–आवेदक अनुपात जूनमा घटेर १.२३ पुगेर लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक सय जना रोजगारी खोज्नेहरूको लागि १ सय २३ रोजगारी उपलब्ध भएको संकेत गरेको छ ।
नेशनल लाइफको गाला कन्सर्ट सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट सम्पन्न भएको छ । कम्पनीले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूसहित कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू गरी करिब ३०० जनाको उपस्थितिमा काठमाडौंको सोल्टी होटलमा गाला कन्सर्ट सम्पन्न गरेको हो । कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसनसहित नेपालका चर्चित कलाकारहरू प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको बेजोड सांगितिक प्रस्तुति रहेको थियो भने चर्चित डिजे नानीको प्रस्तुतिमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए । उक्त गाला कन्सर्टमा कम्पनीका उपकार्यकारी अधिकृतले नेशनल लाइफले सदाझैं अभिकर्ताहरूको चाहानालाई मध्यनजर गर्दै विभिन्न योजनाहरू ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको बताए । यस योजनालाई देशैभरिका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको हुनाले नै योजना सफल भएको बताउँदै अभिकर्ताहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको पनि बताएका थिए ।
प्रधानमन्त्रीले दिए सचिवहरूलाई २६ बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई २६ बुँदे निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई प्रधानमन्त्री ओलीले बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी दिन निर्देशन दिएका छन् । ‘बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी नपाउने अवस्था राम्रो होइन, उनीहरूले ऋण लिएर लगानी गरेका हुन्छन्, हामीले समयमा भुक्तानी नदिने गर्दा उनीहरू मर्कामा पर्छन्, यसरी कृषिको आधुनिकरणमा पुग्न सकिँदैन,’ उनले भने । उनले सचिवहरूलाई ढुक्कसँग काम गर्न निर्देशन दिँदै यो सरकार स्थायित्वको कार्यभार लिएर आएको पनि बताए । यस्ता छन् प्रधानमन्त्री ओलीले सचिवहरूलाई दिएका निर्देशन १. सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद् हो । यो ललितपुरकै एक कार्यालयको घटना हो । सरकारबाट जनता निराश हुनुपर्ने यस्तो खालको रवैया अन्त्य हुनुपर्छ । कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न बसेको होइन, हामीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्छ । नागरिक एप्सका माध्यमबाट पनि सेवा व्यवहारिक र प्रभावकारी बनाउन सकिन्छ । त्यसैले कुनै पनि नागरिकलाई लाइन नगरी सहजरूपमा सेवा दिइनुपर्छ । दुःखी गरिबलाई मान्छे नै नगन्ने प्रवृत्ति राख्नु हुँदैन । यसमा सम्बन्धित मन्त्रालय र निकायको ध्यानाकर्षण गराउँछु । २. ढुक्कसँग काम गर्नुस् । यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ । ३. राज्यका मन्त्रालय र निकायमा तलव दिइएकाले बैठक आदिको भत्ता लिने गर्नु उचित हुँदैन । मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनी छन्, आर्थिक अवस्था राम्रो छैन । हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ । दिनभरि काम नगर्ने र पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नु । ४. हामीले नयाँ काम भन्दा पनि हाल थालिएका काम सम्पन्न गर्ने गरी लाग्नुपर्छ । काम सम्पन्न गर्नेतर्फ मुख्य ध्यान हुनुपर्छ । ५. हामीले इन्धन आयातका लागि खर्चने अर्बौ रकम बचाउने योजनामा जानुपर्छ । जलविद्युतको विकास र उपयोगमा ध्यान दिनुपर्छ । ६. इजरायल र मलेसियाले समुद्रको पानी प्रसोधन गरेर पिउने पानी बनाइरहेको छ । हामीले सगरमाथाको पानीलाई किन ब्राण्डिङ नगर्ने ? यसमा ध्यान दिन सक्नुपर्छ । ७. कुनै पनि कुरामा ढिलासुस्ती नहोस् । समन्वय बढाउनुस् । प्रम्ट रेस्पोन्स गरिनुपर्छ । सेवा लिने नागरिकले कति टाढादेखि बाटो खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम विना झञ्झट गरिनुपर्छ । ८. अनावश्यक समिति र संरचना नबनाउने । कामको परिणाम देखिने गरी गर्ने । ९. हामीले देश र जनताका लागि समर्पित भएकार काम गर्ने हो । जिम्मेवारी अर्कोलाई नपन्छ्याउने हिसाबले काम गर्नू । १०. कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठिक समयमा गरेर पूर्णरूपमा काम गर्ने पद्धतिमा जानू । आदेशका भरमा भन्दा कानुनबमोजिम आफैले जिम्मा लिएर गर्नू । ११. हामी दिगो विकासका लक्ष्य पूरा गराउनुपर्ने दायित्वमा छौँ । गरिबीको अन्त्यको हाम्रो मुख्य निसाना हुनुपर्छ । १२. सम्पति शुद्धिकरणका जटिलताहरू छन् । आफ्नै सम्पति बिक्री गर्दा पनि स्रोत देखाउनुपर्ने जस्ता स्थितिहरू छन् । यस्ता अन्योल र प्राविधिक पक्षहरूलाई व्यवस्थित गर्नुपर्छ । १३. काम गर्नका लागि बजेटको अभाव भन्ने कुरा आएको छ, वास्तविकता के छ ? नियमित बजेट खर्च हुने तर विकास खर्च कम हुने स्थिति देखिएको छ । जनतालाई डेलिभरी दिने विकासले हो । त्यसैले पर्याप्त पुँजीगत खर्च गरेर जानुपर्छ । सेवाग्राहीले निवेदन दिने बित्तिकै काम थाल्ने र निर्णय छिटो दिने पद्धतिमा जानुपर्छ । फाइल रोकेर राख्न मिल्दैन । १४. बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी नपाउने अवस्था राम्रो होइन । उनीहरूले ऋण लिएर लगानी गरेका हुन्छन्, हामीले समयमा भुक्तानी नदिने गर्दा उनीहरू मर्कामा पर्छन् । यसरी कृषिको आधुनिकरणमा पुग्न सकिँदैन । १५. निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने तरिका हुनु हुँदैन । कोसँग के हिसाब नमिलेर वा के भएर हो बनिसकेको कामको रकम निकासा रोकिनु हुँदैन । १६. हामी आर्थिक अनुशासनलाई पालना गर्रौँ । रुजु हुने गरी काम गरौँ । अनुदानका रकमको व्यवस्थित वितरण गराैँ । व्यवसाय गर्नेलाई प्रोत्साहित गर्नुपर्छ तर व्यक्तिगतरूपमा दिइने कृषि अनुदान आदिका रकमको दुरुपयोग भएको छ, अनुगमन गरौँ । १७. करका दरहरू विस्तार गर्ने कुरामा उत्साहित नहोऔँ । मौद्रिक नीतिले बजारमा राम्रो उत्साह दिएको छ, यसलाई काम राखेर जानुपर्छ । बजार चलायमान हुने गरी जानुपर्छ । १८. धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन । पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनर्निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु । १९. सरकारको कार्यकालको सय दिनसम्म पुग्दा साधारणतयताः मन्त्रीहरूले अरुको आलोचना नगर्नू । आफ्नो काम गर्नू । हरेक मन्त्रालये सय दिनभित्र यो यो काम गरियो भन्ने देखिने खालका आकर्षक प्रतिवेदन दिने गरी मान्छेले गरे है भन्ने सोच्ने गरी लाग्नू । २०. प्राथमिकता प्राप्त आयोजनाहरूका काम वर्षौंसम्म नसिकने स्थिति हुन हुँदैन । २१. हामीले सगरमाथा संवाद गर्छौँ । त्यसको तयारीमा लागौँ । २२. मैले एक अन्तर्राष्ट्रिय पुरस्कार पाएको रकम सरकारलाई दिएर र थप बजेट विनियोजन गरेर सुरु भएको राष्ट्रिय प्रतिभा पुरस्कार किन नियमित भएन ? नियमित होस्, प्रतिभालाई हामीले प्रोत्साहन गर्नुपर्छ । २३. हवाइ र सवारी दुर्घटनाका घटनाहरू भइरहेका छन् । हामीले राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरू लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्ने गर्नुपर्छ । रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनतको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ । २४. जनता आवास, एकीकृत विकास कार्यक्रमलाई व्यवसायसँग जोडेर सञ्चालन गर्न सक्नुपर्छ । काठमाडौंका सुकुम्बासीलाई एकान्तमा लगेर घर बनाइदिएर उनीहरूलाई बजारसँग पहुँच हुन सक्दैन । ती घर काम लागेनन् । त्यो खालका कामबाट शिक्षा लिएर अब व्यवहारिकरूपमा उचित हुने गरी काम गर्नुपर्छ । २५. तरकारीमा विषादिको प्रयोग गर्ने नगर्ने क्वारेन्टाइनबारे तीन महिनाभित्र निर्णय दिनुपर्छ । २६. निजी क्षेत्रलाई साथ लिएर जानुपर्छ । व्यवसायिक क्षेत्रका सम्बोधन हुने गुनासा सुन्नुपर्छ ।
१० लाख नगदसहित जुवाको खालबाट नौजना पक्राउ
काठमाडौं । प्रहरीले जुवा खेलिरहेको अवस्थामा दश लाख ११ हजार रुपैयाँसहित नौजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका–६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, बूढानीलकण्ठ नगरपालिका–५ देउला टोल बस्ने २१ वर्षीय कवीर देउला रहेका जनाइएको छ । यस्तै, काठमाडौं–१९ वसन्तपुर बस्ने २१ वर्षीय निलेश महर्जन, सोही ठाउँका ४५ वर्षीय राजेश श्रष्ठ, बूढानीलकण्ठ–५ देउला बस्ने ३३ वर्षीया सरिता देउला, काठमाडौं–१५ डल्लु बस्ने ४८ वर्षीय दीपक महर्जन, काठमाडौं–१३ कालीमाटी बस्ने ४८ वर्षीय विवेक महर्जन तथा काठमाडौं–१५ डल्लु बस्ने ५२ वर्षीय प्रकाश शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘सोमबार राति काठमाडौं–४ चुनदेवीमा रहेको यमकुमारी आलेको साढे तीनतले घरको छतमा हारजित हुने गरी जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।’
प्रभु बैंक र र्याडिसन होटलबीच सम्झौता, ग्राहकलाई होटलमा छुट
काठमाडौं । प्रभु बैंक र र्याडिसन होटल काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाडौंस्थित र्याडिसन होटल, काठमाडौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएका हो । र्याडिसन होटल, काठमाडौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशक भन्दा बढि समय देखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको पाँच तारे होटल हो । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंककका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाडौंका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आवद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सपका साथै र्याडिसन होटल काठमाडौंले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।
राजदूत नियुक्ति समावेशी भएन : सांसद परियार
काठमाडौं । नेपाली कांग्रेस सांसद जीवन परियारले सरकारले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तको आधारमा नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राजदूत नियुक्ति गर्ने सरकारको निर्णय संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे । ‘हिजोको मन्त्रिपरिषद्को बैठकले एउटा निर्णय गरेको छ। उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्न चाहन्छु,’ उनले भने, संविधानको धारा २८२ मा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने उल्लेख छ भने धारा २८३ मा समावेशी सिद्धान्तबमोजिम नियुक्ति गर्नुपर्ने संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने उल्लेख छ।’ सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।