करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व
खोटाङ । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा २२ लाख ५० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर र अन्य सेवावापत २२ करोड ६१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरिएको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बाँस्तोलाले जानकारी दिए । कार्यालयले गत आवमा समग्रमा ९७.४४ प्रतिशत लक्ष्य पूरा गरेको छ । ‘कार्यालयले अघिल्लो आव २०७९/८० मा २१ करोड ३८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो, गत वर्ष २२ करोड ६१ लाख ९८ हजार रुपयाँ राजस्व संकलन भएको छ,’ निमित्त कार्यालय प्रमुख बाँस्तोलाले भने, ‘यो ९७.४४ प्रतिशत लक्ष्य हो, आगामी दिनमा शतप्रतिशत लक्ष्य पूरा गर्नेगरी काम गछौँ ।’ विसं २०७५ मा स्थापना भएको यस कार्यालयले जिल्लाका विभिन्न ठाउँमा कर शिक्षा तथा कर शिविर सञ्चालन, बजार अनुगमन, जिल्लास्थित लेखासम्बन्धी काम गर्ने कर्मचारीसँग कर शिक्षासम्बन्धी अन्तरक्रियालगायत क्रियाकलाप गर्दै आएको छ । आन्तरिक राजस्व कार्यालय लहानको सम्पर्क कार्यालयको रूपमा स्थापित यस कार्यालयले प्रशासन, घरेलु तथा स्थानीय तहमा दर्ता भएका तर करमा दर्ता नभएका संघसंस्था, व्यापार/व्यवसाय लगायतको विवरण संकलन गरेर करको दायरामा ल्याएको जनाइएको छ । गत आवमा १ सय १५ वटा पसल अनुगमन गर्दा मापदण्ड विपरीत सञ्चालनमा रहेकाहरूलाई कारबाही गरी २ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । सेवा कार्यालय स्थापना हुनुअघि यहाँका नागरिकले कर चुक्ताका लागि मधेस प्रदेश, सिराहाको लहान पुग्नुपर्ने समस्या थियो । यहाँबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर, अन्तशुल्क इजाजत तथा नवीकरण, कर संकलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह हुने गरेको छ ।
वायुसेवा सञ्चालक संघ भन्छ- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नियामकको कमजोरी छैन
काठमाडौं । गएको बुधबार सौर्य एयरलाइन्सको ९एन एएमई कलसाइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि बिग्रेको जहाजलाई उडानको अनुमति दिइएको भन्दै हवाई कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत नियमनकारी निकायमाथि प्रश्न उठेपछि वायुसेवा सञ्चालक संघ, नेपालले ध्यानाकर्षण भएको जनाएको छ । संघले वायुसेवा कम्पनीहरू हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको भन्दै काबुबाहिरको परिस्थितिमा हुने घटना तथा दुर्घटनालाई लिएर नियामकको भूमिकामाथि टिकाटिप्पणी नगर्न आग्रह गरेको छ । संघले साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा नियामककाे कुनै कमजाेरी नरहेकाे र यस्ता घटना नियामक निकाय कसैको नियन्त्रणमा नहुने भन्दै नकारात्मक टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको हो । संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा सदैव प्रतिबद्ध रहेको संघको भनाइ छ । प्राधिकरणका प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त सुझावहरू अनुशरण गर्दै सदस्य वायुसेवा कम्पनीहरुले अक्षरस पालना गर्नुका साथै नियमनकारी निकाय प्राधिकरणबाट प्राप्त हुने निर्देशनहरू पूर्णरूपमा पालना भए/नभएको बारे सम्बन्धित निकायले समय–समयमा अनुगमन गर्ने गरेको संघले जनाएको छ । यस्तै, संघले सञ्चारमाध्यममा भ्रामक तथा कपाेलकल्पित समाचार प्रकाशन हुनु दुःखद् भएकाे भन्दै कुनै पनि समाचार प्रकाशन गर्नुअतघि विशेष ध्यान दिन पनि आग्रह गरेकाे छ । गएको बुधबार नियमित परीक्षणका लागि पोखरा उड्नेक्रममा सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ठलमा दुर्घटना परेको थियो । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए ।
बैंकबाट क्रेडिट कर्जा लिएर नतिर्ने बढ्दै, धमाधम तीनपुस्ते निकाल्दै बैंक
काठमाडौं । गत साउन ७ गते हिमालयन बैंकले क्रेडिट कार्ड होल्डरको नाममा एउटा सूचना जारी गर्यो । १० जना क्रेडिटकार्ड होल्डरको नाम सार्वजनिक गर्दै बक्यौता रकम चुक्ता गर्न ३५ दिनको समय दियो । बैंकका अनुसार क्रेडिटकार्ड प्रयोग गरी ऋण लिएर समयमा उक्त ऋण चुक्ता नगरेपछि ३५ दिनको समय दिएर १० जना ऋणीको नाम सार्वजनिक गरिएकाे हाे । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरू अमृत तामाङ, रामबाबु महतो, प्रमेश बाबु खड्का, ऋषि राम न्यौपाने, सुमन पौडेल, विजय श्रेष्ठ, प्रतीक श्रेष्ठ, मगन बाबु श्रेष्ठ, प्रमोदराज पौडेल र बिना पोखरेल श्रेष्ठकाे नाम पत्रिकामा नै सार्वजनिक गर्यो । उनीहरूलाई बैंकले पटक-पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेकाे छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमोपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएकाे बैंकका एक अधिकारीले बताए । यस्तै, ग्लोबल आइएमई बैंकले पनि साउन ८ गते २० जना, ९ गते २२ जना, ११ गते २० जना र १३ गते २० जना गरी हालसम्म ८२ जनाभन्दा बढी क्रेडिट कार्ड होल्डरहरूलाई क्रेडिट कार्डमार्फत लिएको कर्जा चुक्ता गर्न ताकेता गरेको छ । बैंकले ती ऋणहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने चेतावनी समेत दिएको छ । ‘क्रेडिट कार्ड उपभोग गर्ने ऋणीहरूले क्रेडिट कार्ड लिँदा गरेकाे लिखतको शर्तमा बुझाउनुपर्ने कर्जा समयभित्र नतिरेको र बैंकको मौखिक र लिखित तोकता समेत इन्कार गरेको हुँदा ३५ दिने सूचना प्रकाशित गरिएको हो,’ बैंकले भनेकाे छ, ‘साँवा, ब्याज तथा अन्य दस्तुर समेत बुझाउन सूचित गरिन्छ, उक्त अवधिमा चुत्ता नगरे कानून बमोजिम अघि बढ्छौं ।’ विगतका तुलनामा पछिल्लो समय बैंकका लिलामीका सूचनामा कमी आएको छ । तर, क्रेडिट कार्डमा लिइएकाे कर्जा चुक्ता गर्ने बारेको सार्वजनिक सूचना भने बढेको देखिन्छ । हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली आर्थिक मन्दीका कारण क्रेडिट कार्डको कर्जा डिफल्ट भइरहेको अनुभव सुनाउँछन् । समग्र क्षेत्र सुस्ताएको बेला क्रेडिट कार्ड कर्जामा असर परेको उनको भनाइ छ । ‘अहिले बैंकिङ क्षेत्रका सबै कर्जाहरू उठ्न सकिरहेका छैनन्, व्यवसाय सुस्त छ । किनभने आर्थिक मन्दीका कारण गतिविधि बढ्न सकेका छैनन्, खपतको माग कम भएको छ,’ उनले भने, ‘जसको असर क्रेडिट कार्ड कर्जामा परेको हो, क्रेडिट कार्डबाट कर्जा लिएर टिभी, मोबाइल र घरायसी सामान खरिद गर्ने हो, अहिले आम्दानीमा असर गरेको छ, व्यापार व्यवसाय घाटामा हुँदा तिर्न सकिरहनु भएको छैन ।’ उनका अनुसार क्रेडिट कार्ड होल्डरहरूमध्ये कतिपय बेरोजगार भएका छन् भने कुनैको व्यवसाय बन्द भएको छ । विगतमा धिताे लिलामीका सूचना आउँदा बैंकहरूअब डुब्ने भए भन्ने चर्चा हुने गरेकाे थियाे । बैंकहरू पैसा भन्दा पनि घरजग्गाका धनी भए भन्ने बहस पनि हुने गरेकाे थियाे । अहिले क्रेडिट कार्डबाट लिएकाे पैसा नतिरेका सूचना पत्रिकामा बढ्न थालेका छन् । जसमा बैंकले धिताे पनि लिएकाे हुँदैन । धिताेबिना प्रवाह भएकाे कर्जा असुल नहुँदा अहिले बैंकहरुलाई समस्या सिर्जना भइरहेको छ । कर्जा कसरी असुली गर्ने भन्ने विकल्प बैंकरले खोजिरहेका छन् । ग्लोबल आइएमई बैंकका एक अधिकारी क्रेडिट कार्डमार्फत् जाने कर्जाकाे सीमा सानो आकारको भएकाले त्यसको ठूलाे असर बैंकिङ क्षेत्रमा नपर्ने बताउँछन् । विगतको तुलनामा क्रेडिट कार्ड कर्जा डिफल्ट बढेको उनले स्वीकार गरे । एउटा कार्ड होल्डरले आम्दानी स्रोतका आधारमा अधिकतम ३ लाख रुपैयाँसम्म कर्जा लिने गरेको उनले बताए । ‘क्रेडिट कार्डमा बिनाधितो कर्जा दिइन्छ । तर, बिनाधितो दिनुपर्ने भएकाले ठूलो रकम दिँदैनौं, त्यसैले धेरै रकम नभएकाले बैंक डुब्छ कि भनेर डराउनु पर्दैन, कुनै एउटा शाखा कार्यालयमा बिग्रेको ठूलो परिमाणकाे कर्जा जति पनि क्रेडिट कार्डको कर्जा डिफल्ट हुँदैन,’ उनले भने । बिनाधितो कर्जा दिनुपर्ने भएको बैंकले ठूलो आकारमा कर्जा नदिने र व्यक्तिको आम्दानी लगायतका विषय मूल्यांकन गरेर कर्जा स्वीकृत गर्न अभ्यास रहेकाे उनको भनाइ छ । ‘जस्तो कुनै व्यक्तिको ५० हजार रुपैयाँ आम्दानी छ, बैंकले ५० हजार रुपैयाँ आम्दानी छ भन्दैमा त्यो भन्दा बढी कर्जा दिँदैन, किनभने त्यो ५० हजार रुपैयाँ पनि केही रकम सामाजिक सुरक्षा, घरायसी खर्चमा जान सक्छ, त्यसैले सबै खर्च छुट्याएर बाँकी रहेको खुद रकमका आधारमा बैंकले सीमा तोकेर कर्जा दिन्छ,’ ती अधिकारीले भने । आर्थिक स्थिति कमजोर भएकाले ठूलो कर्जा बिग्रेको उदाहरण दिँदै सानो कर्जा बिग्रिनु स्वाभाविक रहेको उनले बताए । २०/२५ हजार रुपैयाँ तिर्न नसकेर पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका उदाहरण प्रशस्त रहेको उनको भनाइ छ । ‘अहिले ठूलो कर्जा नै बिग्रेको छ, यहाँ काम गर्ने मान्छे अहिले विदेश गएका छन्, आम्दानीको स्रोतको घटेको छ, व्यापार व्यवसायलाई निरन्तरता दिन सकेका छैनन्, व्यापार व्यवसाय घटेपछि नाफा पनि घटेको छ, जसले गर्दा यो समस्या आएको हो,’ उनले भने । कुन बैंकको कर्जा कति ? नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाबाट २ लाख ८७ हजार ५२२ जनाले क्रेडिट कार्ड लिएका छन् । साथै बैंकहरूले ५ अर्ब ६५ करोड १३ लाख रुपैयाँ क्रेडिट कार्डमार्फत कर्जा दिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नेपाल बैंकले ३ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ करोड ४३ लाख रुपैयाँ, नबिल बैंकले ९६ करोड ४२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १९ करोड ५९ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४० करोड रुपैयाँ, हिमालयन बैंकले ३३ करोड ३९ लाख रुपैयाँ, एभरेष्ट बैंकले १४ करोड १९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले २८ करोड ३२ लाख रुपैयाँ क्रेडिटकार्डमार्फत कर्जा दिएका छन् । माछापुच्छ्रे बैंकले ३४ करोड २६ लाख रुपैयाँ, कुमारी बैंकले ६३ करोड ५९ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३५ करोड ६९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ७२ करोड ३६ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ५३ करोड रुपैयाँ, सिटिजन्स बैंकले ११ करोड ५२ लाख रुपैयाँ, प्राइम बैंकले २७ करोड रुपैयाँ, एनएमबि बैंकले २० करोड ७४ लाख रुपैयाँ, प्रभु बैंकले १२ करोड १७ लाख रुपैयाँ र सानिमा बैंकले ९ करोड ७४ लाख रुपैयाँ क्रेडिटकार्डमार्फत कर्जा प्रवाह गरेका हुन् । यस्तै विकास बैंकहरूमा गरिमा विकास बैंकले १ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु भएको छ । डिल्लीबजारस्थित सफ्टवेरिका कलेज परिसरमा आयोजित मेलामा सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । ‘प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने र अध्ययन गर्न चाहनेलाई लक्षित गरिएको छ’, उनले भने,’प्रदर्शनी साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।’ प्रदर्शनीमा ‘रोबोट वारियर्स लिग, २०२४’ सञ्चालन गरिने छ । लिगमा ४० भन्दा बढी रोबर्टहरूले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै ‘रोबो वार ब्याटल’मा सहभागी हुने र सो लिग छ महिनासम्म चल्ने जनाइएको छ । प्रदर्शनीमा रोबोटिक डग, पुस्तकालय तथा विमानस्थल व्यवस्थापनका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि पनि अवलोकन गर्न पाइने छ । विद्यार्थीहरूले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिने कलेजले जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा भइरहेको परिवर्तनबारे जानकारी दिनु रहेको छ । विद्यार्थीहरूले आइटीसम्बन्धी अध्ययनपश्चात् जीवनोपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिनेछ । ‘आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन्, यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ र हामीलाई आइटी अध्ययन किन जरूरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हो’, कलेज प्रमुख प्रमोद पौडेलले भने । विद्यार्थीले बनाएको परियोजना निकै राम्रो भएको र नयाँ पुस्ताको प्रविधि देख्दा खुसी लागेको अवलोकनकर्ता अनुसुया भट्टराईले बताए । फुडस्टल, बौद्धिक खेल समावेश हुने प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विद्युतीय सवारीसाधनको अनुभव लिन सकिने छ । प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोट वारलगायतका ३० भन्दा बढी इन्नोभेटिभ प्रोजेक्टहरू राखिएको छ ।
बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले ६४ सांसदको मत पाएका हुन् । ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिए । जुन बहुमत हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । मतदानमा नेमकिपा तटस्थ बसेको छ । त्यसअघि लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।
पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डरद्वारा राष्ट्रिय रेकर्ड कायम
काठमाडौं । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् । राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९ औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिएका छन् । हिट्स तीनमा रहेका उनले ५१ दशमलव ९१ सेकेण्डमा निर्धारित दूरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन् । यसअघि एक सय मिटर फ्रि स्टाइलमा एलेक्जेन्डरको नाममा ५२ दशमलव १७ सेकेण्डको कीर्तिमान रहेको थियो । उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वल्र्ड एक्वेटिक्स च्याम्पियनशीपमा सो रेकर्ड बनाएका थिए । यो टइमिङमा उनी हिट्समा तेस्रो भए । कुल दश वटा हिट्सको प्रतिष्पर्धा पश्चात १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन् । ७९ खेलाडी सहभागी प्रतिष्पर्धामा एलेक्सले २० खेलाडीलाई पछि पारे । जारी ओलम्पिक्समा भने नेपालले बनाएको यो पहिलो राष्ट्रिय रेकर्ड हो । लगातार दोस्रो पटक ओलम्पिक्स खेलेका एलेक्जेण्डरले टोकियो ओलम्पिक्समा पनि सय मिटर फ्री स्टाइलमा प्रतिष्पर्धा गरेका थिए । जहाँ उनले ५३ दशमलव ४१ सेकेण्डमा दूरी तय गर्दै ५९ औं स्थान प्राप्त गरेका थिए । गत ओलम्पिक्सम भन्दा यो पटक उनले टाइमिङमा भने सुधार गरे । उनले दुवै पटक युनिभर्सालीटी कोटाबाट ओलम्पिक्समा सहभागीता जनाएका हुन् । तीन पटक वल्र्ड च्याम्पियनशीप र एक पटक एशियन गेम्स पनि खेलिसकेका एलेक्जेन्डर हाल अमेरिकामा बसोवास गर्दै आएका छन् । उनी सिधै अमेरिकाबाट ओलम्पिक्समा भाग लिन पेरिस पुगेका थिए । यसअघि पौडी खेलाडी डुवाना पनि हिट्सबाट नै बाहिरिएकी थिइन् । एलेक्जेन्डर बाहिरिसँगै नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिण्टनका प्रिन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन् । प्रीन्सले भने समूह चरणको अन्तिम खेल खेल्न बाकी छ । अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिष्पर्धा मात्र बाँकी छ । उनले म्याराथनमा प्रतिष्पर्धा गर्नेछिन् । उनी आज पेरिस प्रस्थान गरेकी छिन् ।
‘परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्छ’
काठमाडौं । कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने स्याहार अर्थतन्त्रमा परिणत गर्न आवश्यक रहेको बताएका छन् । कैलालीको धनगढीमा साउन ११ गते सम्पन्न निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता विषयक तीनदिने तालिमको समापन समारोहमा ओझाले हेरचाह अर्थतन्त्रको महत्वबारे बताए । अन्तर्राष्ट्रिय श्रम संगठनको ‘सशक्त महिला, समृद्ध नेपाल’परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं बीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले साउन ९ गतेदेखि शुरु भएको तालिमको आयोजना गरेको हो । समापन समारोहको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा लम्की चेम्बर अफ कमर्शका अध्यक्ष पदमराज चौलागाईले गरेका थिए । कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा विशेष अतिथि थिए । समापन समारोहलाई सम्बोधन गर्दै ओझाले हेरचाह अर्थतन्त्र, राज्यले अक्सर बेवास्ता गर्ने महत्त्वपूर्ण आर्थिक गतिविधिमा मुख्यतया महिलाहरू समावेश हुने जानकारी दिए । उनले परम्परागत हेरचाह कार्यलाई प्रविधिमा आधारित, आयआर्जन गर्ने केयर अर्थतन्त्रमा परिणत गर्न निजी र सार्वजनिक क्षेत्रले मिलेर काम गर्नुपर्नेमा जोड दिए । आस्था भट्टले तीन दिने तालिमको प्रमुख प्रशिक्षकको रुपमा काम गरिन् । सहभागी कृष्ण विष्ट महतले तालिमबाट प्राप्त ज्ञानलाई प्रयोगमा ल्याउन र हेरचाहको अर्थतन्त्रको महत्वबारे सरोकारवालाहरूबीच चेतना जगाउने प्रतिबद्धता व्यक्त गरिन् । तीन दिनसम्म चलेको तालिममा सुदूरपश्चिमका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिसहित ३० जनाको सहभागिता रहेको थियो ।
२० महिनापछि बन्यो राज्यका निर्देशक सिद्धान्त समिति
काठमाडौं । प्रतिनिधि सभाले २० महिनापछि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गठन गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकले उक्त समिति गठन गरेको हो । संसदका १५ वटा समिति गत वैशाखमै गठन भए पनि यो समिति गठनमा दलहरूबीच सहमति हुन सकेको थिए । समिति सदस्यमा ठाकुर गैरे, दिलेन्द्र बढु, देवप्रासद तिमल्सिना, प्रतिमा गौतम, प्रभु हजारा दुसाद, बुद्धिमान तामाङ, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे र हेमराज राई चयन भएका छन् । बैठकले यी नाम सर्वसम्मतिले पारित गरेको छ । कार्य व्यवस्था परामर्श समितिमा भएको सहमतिअनुसार सभामुख देवराज घिमिरेले समिति गठन गरेका हुन् ।