आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३/७४ मा पाँचवटा, २०७४/७५ मा चारवटा, २०७५/७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । आव २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा चार र २०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन् । उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।
तनहुँमा एक वर्षमा ७७१ उद्योग दर्ता
फाइल फोटो दमौली । आर्थिक वर्ष २०८०र८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९र८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो आवमा रु ५१ लाख २१ हजार आठ सय राजस्व सङ्कलन भएको छ । आव २०७९र८० मा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।
देशभर वर्षा, केही प्रदेशमा मुसलधारे वर्षा हुने
काठमाडौं । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।
कोदो दिवस घोषणा गर्दै सरकार, गत वर्ष मात्र ७५ करोड ४४ लाखको आयात
काठमाडौं । चौथो राष्ट्रिय कोदो दिवस ललितपुरको खोकनामा सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को आयोजनामा सम्पन्न दिवसमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले राष्ट्रिय दिवसको रुपमा घोषणा गर्ने प्रकृया अगाडि बढेको बताएका हुन् । अधिकारीले कोदोको महत्वका बारेमा सरकार जानकार रहेको बताउँदै केही दिनमै कोदोजन्य बाली प्रवर्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने तयारीमा रहेको जनाएका हुन् । गत वर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र संघले नै कोदोजन्य बाली वर्षको रुपमा मनाएको थियो । पोषकीय महत्व बोकेको कोदोबालीको प्रवर्धनका लागि अनाज र महासंघले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष साउन १५ मा दिवस मनाउदै आएका छन्। मंगलवार सम्पन्न दिवसमा संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन (एफएओ), भीएसओ नेपालसमेत कृषि तथा पशुपन्छी मन्त्रालयलेसमेत सहकार्य गर्दै ‘कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ कोदो दिवस मनाइएको हो । कृषिमन्त्री अधिकारीले कृषि मन्त्रालयमा आफूले नियमित कोदोको परिकार खाने गरेको पनि बताए । कोदो उत्पादनलाई प्रोत्साहनको निम्ती मन्त्रालयका चेमना गृहहरूले समेत कोदोका परिकार नियमित बनाउने गरेको जनाए । उनले केही वर्षअघि दुबै छाक भातको लागि मरिहत्ते गर्नेले आजको दिनमा कोदोको खोले र रोटी खान कहाँ पाइन्छ भनेर धेरै ठाउँमा भौतारिएर हिडेको अवस्था रहेको बताए । कोदोको महत्वलाई बुझेर अनाज र महासंघले दिवस मनाउने काम गरेकोमा प्रशंसा गर्दै सरकार सदैव साथमा रहेको जनाए । उनले अहिले अस्वस्थ खाना खाँदा १८ देखि २० वर्षका बालबालिकाहरू कुपोषण जस्ता रोगहरूसँग जुध्न बाध्य भएको बताउँदै नियमित कोदोका परिकार खान समेत आग्रह गरे । राष्ट्रिय कृषक समूह महासंघका निवर्तमान अध्यक्ष नवराज बस्नेतले ‘कु’ अन्नको रूपमा चिनिने कोदो आज बहुगुणी चिजको रूपमा परिचित रहेको बताए । उनले कोदोको लागि धेरै मेहनत गर्नु नपर्ने बताउँदै यसको संरक्षण र उत्पादनमा वृद्धि गर्न सबै तहका सरकारहरूले काम गर्नुपर्ने बताए । उनले भने, ‘महासंघ र अनाजले मात्रा यसलाई प्रवद्र्धन गर्न सम्भव छैन। यसको लागि सरकारले पनि विशेष पहल गर्नुपर्छ ।’ कृषि विज्ञ डा. कृष्ण प्रसाद पौडेलले भविष्यमा खाद्य संकट हुने बताउँदै समयमा नै कोदो संरक्षण गरेर राख्न अपिल गरे । उनले कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात गर्ने कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने बताए । राम्रोसँग भण्डारण गरेमा सयौँ वर्ष पनि सुरक्षित रहने भएकाले कोदो नै भविष्यमा खाद्य संकट हटाउन सहयोगी हुने पौडेलको भनाइ छ । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पंचकाजी श्रेष्ठले कोदोको संरक्षण गर्नको लागि राज्यले विशेष पहल गर्नुपर्ने बताए । उनले कोदोलाई सम्मान गर्न र यसलाई स्थानीय तहहरूमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेको बताए । श्रेष्ठले कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मल जस्ता कुनैपनि पदार्थ हाल्न नपर्ने भएकाले यो स्वास्थ्य र देशका लागि नै फाइदा हुने दाबी गरे । कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिवले रामकृष्ण श्रेष्ठले नेपाल कुपोषणको दुष्च्रकमा फसेको र स्कुल पढ्ने बच्चाहरू कुपोषण जस्तो रोगको सिकार भइरहेको चर्चा गर्दै कुपोषणबाट बच्नको लागि कोदोजन्य बालीको उत्पादनमा प्रवर्र्धन गर्नुपर्ने बताए । श्रेष्ठ मन्त्रालयमा कोदो प्रवर्धनको मुख्य अधिकारीका रुपमा कार्यरत छ । कार्यक्रममा अनाजका अध्यक्ष किरण आचार्यले २०७७ सालमा कोदोलाई राष्ट्रिय महत्वको बालीको रूपमा स्थापित गराउन महासंघ र अनाजले कोदो बहस श्रंखलाको सुरुवात गरेको र उक्त कार्यले गर्दा आज कोदोको उपयोग धेरै ठाउँमा बढ्दै गएको बताए । उनले कोदोको औषधिक गुणहरु र अन्य पोषक तत्वहरुले गर्दा स्वस्थ खानपानसम्बन्धी व्यवहारका लागि कोदोको प्रवर्धन अत्यावश्यक रहेको बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय समावेसी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेलसमेतका वक्ताहरुले कोदोको महत्वलाई सबैले आत्मसात गर्नमा जोड दिए । कोदोको महत्व बुझेर उपभोग बढीहरेको चर्चा गर्दै वक्ताहरुले उत्पादनमा जोड दिएका छन् । पछिल्लो समयमा कोदोको उपयोग बढ्दै गए पनि कोदो उत्पादनमा व्यवसायिकता र किसानलाई आकर्षण गर्नको लागि आवश्यक नठान्दा सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ७ करोड १५ लाख २७ हजार रुपैँया बराबरको कोदो आयात भएको तथ्यांक रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ करोड २२ लाख रुपैयाँ बराबरको कोदो आयात भएको छ भने २०७९/८० मा ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०/८१ मा मात्र ७५ करोड ४४ लाख २२ हजार ६५९ रुपैयाँको बराबरको कोदो आयात भएको सरकारी तथ्याक रहेको छ ।
अर्थ सचिवमा डा. घिमिरेको प्रवेश, मरासिनीको फिक्का बिदाई
काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरेले जिम्मेगवारी समालेका छन् । यसअघि अर्थ सचिव रहेका मधुकुमार मरासिनीलाई बिदाई गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो । मन्त्रिपरिषद्को बैठकले राजस्व सचिव डा. घिमिरेलाई अर्थ सचिवमा र अर्थ सचिव मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । काविल मानिएका सचिव मरासैनीले २ पटक अर्थ सचिवको जिम्मेवारी पाए पनि उनको कार्यसम्पादन प्रशंशाजनक रहेन । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव डा. घिमिरेले अर्थ प्रशासनको सफल नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए । अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा मरासिनीले बजेट निर्माण लगायतमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै जुनसुकै ठाउँमा रहे पनि राष्ट्रका लागि योगदान गर्ने विश्वास व्यक्त गरे । अर्थ सचिव डा. घिमिरेले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई धन्यवाद दिँदै सबैको साथ लिएर अघि बढ्ने बताए । सचिव मरासिनीले जहाँ रहेपनि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक पर्दा अर्थ मन्त्रालयलाई सहयोग गर्ने बताएका थिए ।
रिंगिटको भाउ बढ्यो, मलेसियामा रहेका नेपालीलाई फाइदा हुने
काठमाडौं । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले साउन १६ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२७ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४४.७५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.४० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.७९ रुपैयाँ र बिक्रीदर १७२.५६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.४१ रुपैयाँ र बिक्रीदर ८७.८० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.५२ रुपैयाँ र बिक्रीदर ९६.९६ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.९२ रुपैयाँ र बिक्रीदर २९.०५ रुपैयाँ तोकिएको छ । मलेसियन रिंगिटबाहेक अन्य देशको मुद्राको भाउ स्थिर छ । हिजो मलेसियन रिंगिट एकको खरिददर २८.८१ रुपैयाँ र बिक्रीदर २८.९४ रुपैयाँ थियो ।
ओलीले अझैं छोडेनन् पानी जहाज र रेलको कुरा
काठमाडौं । कुनै बेला पानी जहाज र रेलको भाषण दिएर चर्चामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले अझैं पनि सो विषयलाई उठान गरिरहेका छन् । प्रधानमन्त्री ओलीले पानी जहाज र रेलका लागि अब टिकट काट्न तयार रहनुस्, रेल र पानीजहाज हामी जसरी पनि ल्याउँछौ भन्ने भाषणले निकै चर्चा पाएको थियो । त्यो चर्चापछि उनलाई धेरै ‘गफाडी’ नेताको संज्ञा पनि दिए । अहिले पुनः ओलीले सोही विषय अगाडि सारेका छन् । मंगलबार सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले निर्देशन दिँदै सो विषयमा आफ्नो धारणा राखेका छन् । उनलेका भनेका छन्, ‘रेल र पानीजहाज चलाउने हाम्रो योजना छ, रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।’ उनले हवाइ र सवारी दुर्घटनाका घटनाहरू भइरहे पनि रेल र पानी जहाज उत्तम साधन भएको धारणा राखेका छन् । सचिवहरूलाई निर्देशन दिने क्रममा डेढ घण्टा भन्दा बढी समय बिताएका प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन हुनुपर्ने कारणदेखि सरकारले जनतालाई दिने सेवा सुविधा, विकास निर्माण र सुशासनबारे अर्थ्याएका छन् ।
अफवाह फैलाउने ३१ युट्युब च्यानल सञ्चालक कारबाहीमा, २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्तिरकम्पनी) लाई कारबाही गरेको छ । काउन्सिलले मंगलबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्तारसूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो । दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ । मिडियाअन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । हेल्लोटिभी नेपाल फेसबुक पेज, पिएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानललाई उक्त निर्देशन दिइएको हो । काउन्सिलले हिंसा, आतंकलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने त्यस्ता युट्युब च्यानल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ । मिडियासँग सम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ युट्युब च्यानललाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ । गत आर्थिक वर्षमा काउन्सिलले त्यस्ता ४३ वटा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गरेको थियो । ‘प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्वलाई बढावा दिने किसिमका सामग्री सम्प्रेषण गर्ने, गालीगलौजपूर्ण भाषाशैली प्रयोग गर्ने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने, तथ्यगत पुष्ट्याइँबेगर अप्राकृतिक रूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जनागरी सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।’