विकासन्युज

सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी भएको छ । बैंक र पोखराको कास्कीस्थित चरक मेमोरियल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सेयर बजार ३५ अंकले बढ्दा होटल र फाइनान्समा उछाल, १७ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । सेयर बजार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६६९.६५ को विन्दुमा कायम भएको छ । मंगलबार १८९ कम्पनीको सेयर बढेको छ भने ४७ कम्पनीको सेयर घटेको छ भने ७ कम्पनीको सेयर स्थिर रहेको छ । सेयर बढे पनि कारोबार रकम भने घटेको छ । दिनभरिमा ३२९ कम्पनीको १७ अर्ब २६ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । सोमबार १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । लगानीकर्ताहरू होटल तथा पर्यटन समूह र फाइनान्स समूहमा झुमिएका छन् । सो समूहहरू क्रमश ५.९९ र ५.९८ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै बैंकिङ समूह ०.७६ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयर रिइन्स्याेरेन्स सेयर कारोबार भएको छ । कम्पनीको ६० करोड १० लाख रुपौयाँको सेयर कारोबार भएको छ । मंगलबार प्रोग्रेसिप फाइनान्स, बरुण हाइड्रोपावर, सानजेन जलविद्युत, नेपाल वेयरहाउसिङको सेयरमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा एशियन हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।      

बेरुजु नरहोस् भन्नेमा सरकारको जोड छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बेरुजु नरहोस् भन्नेमा जोड दिएर काम गरिरहेको बताएका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । बेरुजुको मात्रा बढी देखाएर केही फाइदा नरहेको भन्दै डिक्लियर बेरुजुलाई कसरी समाधान गर्ने भन्नेमा संसदमा छलफल गरिरहेको उनले बताए । उनले त्रिभूवन विश्वविद्यालयको बेरुजु नबढेको पनि बताए । उनले अहिले त्रिविको बेरुजु २८ अर्बको देखिए पनि २ वर्षको सम्परीक्षण गर्न नपाउँदा ६ अर्ब बढी बेरुजु देखिएको बताए । उनले २ वर्षको सम्परीक्षण गर्ने हो भने २२ अर्बमात्रै बेरुजु रहेको बताए । बेरुजु बढेर भयावह स्थिति भएको नभइ पहिलाको स्थितिमा खासै सुधार ल्याउन नसकिएको बताए । प्रधानमन्त्री ओलीले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्दा कुनै समस्या नआउने पनि स्पष्ट पारे । अन्तिममा प्रधानमन्त्रीमै गएर समस्याहरू जुध्ने भएकाले विश्वविद्यालयका समस्या विभिन्न ठाउँमा पुर्‍याइ धाइरहनुभन्दा प्रधानमन्त्री नै कुलपति भएको खण्डमा सिधा सम्पर्क रहने जिकिर गरे ।

जसरी पनि यो सरकारलाई सफल बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए । ‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन लडेर आएका यी पार्टी मुलुकको विकास र परिवर्तनका लागि सधैँ मुख्य भूमिकामा छन् । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।’ उपप्रधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन । हामीले सफलताको संकेत चालु आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा अझ धेरै काम गर्नुपर्छ । यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।’ यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एकदिन अघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुने बताए । ‘त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारी ढुक्कले काम गर्नुस्, त्यसको जिम्मेवारी सरकारले लिनेछ,’ प्रधानमन्त्री ओलीले भने । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम जनतामा प्रभावकारी सेवा प्रवाह गर्न, भोकमरी, र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध ढङ्गले काम गर्न निर्देशन दिए ।

समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रविधिमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा सञ्चारमन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले रूढी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐनकानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिएको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक कुरीति अन्त्य गर्न समाजका सबै वर्गको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भने, ‘बोक्सी प्रथालाई पूर्ण रुपमा अन्त्य गर्न सरकार पूर्ण प्रतिबद्ध छ । सति प्रथा सकियो तर यसको धङधङी अहिले पनि नेपाली समाजमा बाँकी छ,’ उनले मुलुक राजनीतिक रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरे पनि आर्थिक रुपमा धेरै पछाडि रहेको वास्तविकता औँल्याए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हलिया, छाउपडी, हरवाचरवा  र कम्लरी प्रथालाई पनि पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा उनले बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’को पोष्टर पनि सार्वजनिक गरे ।

सांसद पौडेलको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

काठमाडौं । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनेर प्रश्न गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकको शून्य समयमा उनले भने, ‘स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?’ गत आर्थिक वर्षमा १ लाख १२ हजार ४ सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्यांक पेस गदै उनले यसका लागि १ खर्ब ५२ करोड रुपैयाँभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताए । विसं २०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसईई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उल्लेख गरे । राष्ट्रिय सभाको बैठकमा अधिकांश सांसदहरुले विपत व्यवस्थापन र भइरहेको विभिन्न दुर्घटनाप्रति सरकारकालाई ध्यानर्काषण गराएका छन् ।

प्रधानमन्त्रीले सचिवहरूसँग भने : यो सरकारलाई असफल हुन दिइन्नँ, ढुक्कले काम गर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन् । नेपालका सरकारका सचिवहरुलाई मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए । ‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्, राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’ उनले भने । उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन, भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन । हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्काे आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।’ यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेहरुलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साता अघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरता सन्देश दिने स्पष्ट गरे । ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन, कर्मचारीहरुले ढुक्कले ठिक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनछ, प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाबमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तिव्रता दिन योजनाबद्ध काम गर्न गर्नुस् ।’

त्रिभुवन विश्वविद्यालयको बजेट २६ अर्ब १६ करोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८१/८२ का लागि २६ अर्ब १६ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार कीर्तिपुरमा विश्वविद्यालयको साधारण सभा बैठक (सिनेट) बसेको थियो । सभामा त्रिवि रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बजेट तथा कार्यक्रम प्रस्तुत गरे । विश्वविद्यालयका अनुसार नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुनेछ । आन्तरिकतर्फ चालु तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा १ अर्ब खर्च हुने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार नियमित कार्यक्रममा हुने कुल खर्चमध्ये आन्तरिक आम्दानीबाट १ अर्ब ५७ करोड ६१ लाख ७० हजार बेहोर्ने र बाँकी १२ अर्ब १४ करोड ३६ लाख विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग अनुदान माग गरिने छ ।