विकासन्युज

भक्तपुरमा ७० घर डुबानमा, लाखौंको क्षति

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त रहे । भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे । कसैले आफ्ना सामान जोगाएभने कयौँका बगे । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो । रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन् । त्यहा लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन् । सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् । हनुमन्तेको बाढी बालकोट पुल हुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ । सडकबाट भेल बगेपछि बाटामात्र बन्द भएका छैनन् यहाँका विद्यालयहरु बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छ । बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीइले ५०जनाभन्दा बढीको उद्धार गरेका आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिए । उनले रातिदेखिनै भक्तपुर अस्तव्यस्त भएको बताए ।

नेपाल लाइफको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड २०२४‘ सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्षः फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सञ्चालक विमल प्रसाद ढकालले गत आवमा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको कुरा बताए । कम्पनीसँग जोडिएर बीमाको पहुँचलाई गाउँघरमा पु¥याउन अहोरात्र खट्ने बीमा अभिकर्ताहरूको जीवन स्तरमा वृद्धि भएको र अबको समय भनेको पुस्तान्तरणको रहेको कुरा समेत बताए । आफूमा भएको सीप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके बीमाको पहुँच अभिवृद्धि हुने कुरा बताए । अहिलेको वर्तमान अवस्थामा नयाँ जोश, नयाँ जाँगर र प्रवृधिसँगको सामिप्यताले नयाँ पुस्तालाई बीमाको बजारीकरण गर्न झन् सहज हुने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आ।व। को कार्यसम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८१/८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उनीहरुकै अथक मेहनत र परिश्रमका कारणनै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकैनै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । कार्यक्रममा बोल्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८०/८१ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता,सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । गत वर्ष कम्पनीले कम्पनीलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको र यसले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको कुरा बताए । यसको अधिकतम प्रयोग गर्दै व्यवसायलाई थप उचाइमा पुर्याउन अहोरात्र खट्नका निम्ति सबैलाई आग्रह गरे ।

इजरायलको आक्रमणबाट हमासका शीर्ष नेता इस्माइल हानिया मारिए

काठमाडौं । हमासका एक उच्च नेता इरानमा मारिएका छन् । हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ । तेहरानस्थित हानिया बसेकै स्थानमा इजरायलले आक्रमण गरेर मारेको हमासले बुधबार वक्तव्य जारी गर्दै जानकारी दिएकाे छ । यसबारेमा इजरायलका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । हमासका अनुसार कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा भाग लिन तेहरान गएका थिए । उनको उपनाम अबू अल अब्द हो ।६२ वर्षीय हानिया हमासका पोलिटब्युरोका प्रमुख थिए । उनको जन्म प्यालेस्टाइन शरणार्थी शिविरमा भएको थियो । उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए । इरानको इस्लामिक रिभोलस्नरी गार्डका अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । इरानका सञ्चार माध्यमले पनि हानिया मारिएको पुष्टि  गरेका छन् । बीबीसी

विन नेपाल लघुवित्तको डीसीईओ बने दीपेन्द्र खतिवडा

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा दीपेन्द्र खतिवडा नियुक्त भएका छन् । साउन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले डीसीईओको पदमा खतिवडालाई नियुक्त गर्ने निणर्य गरेको हो ।

८ हजार संस्थागत लगानीकर्ताको पक्षमा राष्ट्र बैंक, बजार पारदर्शी बन्ने विश्वास

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फ २० करोड रुपैयाँको सीमा खारेज गरेपछि लगानीकर्तामा उत्साह थपिएकाे छ । व्यक्तिगतमा १५ करोड र सोभन्दा माथि ऋण लिनु परेमा संस्थागत लगानीकर्तामार्फत् व्यवस्था खुला भएपछि लगानीकर्तामा उत्साह थपिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कर्जामा व्यक्तिगतर्फको कर्जालाई यथावत् राख्दै संस्थागततर्फको कर्जा सीमा खारेज गरेको घोषणा गरेका थिए । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको भन्दै सेयर धितोमा संस्थागत लगानीकर्तालाई दिइने कर्जाको सीमा हटाइएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरिदिएको छ । संस्थागततर्फको सीमा हटाइए पनि राष्ट्र बैंकले व्यक्तिगत सेयर लगानीकर्तालाई सेयर कर्जाको सीमा यथावत् राखिएको छ । व्यक्तिगततर्फ सेयर कर्जाको सीमा अधिकतम १५ करोड रुपैयाँ छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने मौद्रिक नीतिमा उल्लेख छ । संस्थागततर्फको कर्जामा सीमा खारेज गरेर पुँजीबजारमा थप पारदर्शिता ल्याउन खोजेको हुनसक्ने सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् । उनका अनुसार संस्थागत रूपमा कारोबार गर्नेहरूको संख्या कुल डिम्याट खाताको तुलानामा एकदमै न्यून छ । उनका अनुसार संस्थागत रूपमा कारोबार गर्नेको संख्या करिब ८ हजार मात्रै छ । ‘संस्थागत रूपमा कारोबार गर्ने संख्या साढे ८ हजार हाराहारी मात्रै हुनुहुन्छ, त्यसैले सरकारले सेयर बजारलाई थप चलायमान बनाउनका लागि पनि संस्थागततर्फको सिमा खारेज गरेको हुनुपर्छ,’ उनी भन्छन्, ‘संस्थागत रूपमा कारोबार हुनेबित्तिकै थप पारदर्शी हुने भयो, सरकारलाई करमा पनि थप सहयोग हुने भयो, लगानीकर्ताहरूले ढुक्कले लगानी गर्ने वातावरण पनि सिर्जना हुने भयो, त्यसैले संस्थागत कारोबारतर्फ जोड दिनु राम्रो पक्ष हो ।’ संस्थागत लगानीकर्ताको संख्या थप गर्नकै लागि भए पनि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत २० करोडको सिमा खारेज गरेको हुनसक्ने उनी बताउँछन् । हाल ६३ लाख ३६ हजार ५२९ डिम्याट खाता रहेका छन् । जसमध्ये ५३ लाख ९१ हजार ७१८ मेरोसेयरमा सूचीकृत छन् भने ३६ लाख ६६ हजार ६७९ मात्रै सक्रिय रहेको सीडीएससीले जानकारी दिएको छ । यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीका पनि हाल संस्थागत रूपमा कारोबार गर्नेको संस्था एकदमै कम छ । उनका अनुसार हाल ८ हजार ६२२ संस्थागत लगानीकर्ता छन् भने व्यक्तिगत लगानीकर्ता ३७ लाख ७३ हजार ६५१ रहेका छन् । ‘संस्थागत रूपमा कारोबार हुँदा लगानीकर्ताहरूलाई जोखिम कम हुन्छ, प्रणालीबद्ध रूपमा काम हुन्छ, त्यसैले संस्थागततर्फ लगानीकर्ता बढ्नु राम्रो पक्ष हो’ उनी भन्छन्, ‘राष्ट्र बैंकको यो नीतिले सेयर बजार चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति दिएको छ । मौद्रिक नीतिमा ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्न ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टीकृत संस्थाहरूबाट जारी गरिएका ऊर्जा बन्डलगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सिमामा गणना गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तमा वाणिज्य बैंकहरूबाट ऊर्जा क्षेत्रमा कुल लगानीको ७.९ प्रतिशत ऋण प्रवाह गरेको छ । ऊर्जा क्षेत्रमा ३ खर्ब ५० अर्ब ७४ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । विकास बैंकहरूबाट कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.० प्रतिशत अर्थात् १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ ऋण प्रवाह भएको जनाएको छ । लगानीकर्ताहरू पनि संस्थागततर्फको कर्जा सिमा हट्नुले बजार थप चलायमान बन्ने आशा लिएको बताउँछन् । लगानीकर्ता तथा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल कम्पनीमार्फत कारोबार गर्दा कारोबार गुणस्तरीय हुने बताउँछन् । ‘संस्थागत लगानी गर्नेबित्तिकै राज्यले कर पनि राम्रो पाउने भयो, संस्थाले गर्ने भएपछि रोजगारी पनि सिर्जना हुने भयो, कारोबार पनि पारदर्शी हुने भयो, यी विभिन्न कारणले गर्दा १५ करोडभन्दा माथि कारोबार गर्नेले संस्थागत रूपमा गर्दा राम्रो हुन्छ भनेर संस्थाको सिमा खारेज गरिएको हो,’ उनी भन्छन्, ‘यसले पुँजी बजार चलायमान बनाउँछ, झन् पारदर्शी बनाउँछ ।’ संस्थागत रूपमा कारोबार गर्नेहरूको संख्या न्यून भएकोले यसको संख्या बढाउने सोचले नै सरकारले संस्थागततर्फको सिमा खारेज गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘१५ करोड सम्म कारोबार गर्नेले व्यक्तिगत रूपमा गर्न पाउने नै भयो, त्योभन्दा माथि गर्छु भन्नेले एउटा संस्था स्थापना गरेर त्यहाँबाट कारोबार गर्ने भयो, त्यसैले पनि संस्थागततर्फको सिमा हट्नु सेयर बजार चलायमान बनाउनका लागि एउटा राम्रो आधार हो ।’ व्यतिगततर्फको पनि सिमा खारेज भएको भए सुनमा सुगन्ध हुने बताउँदै सरकारले संस्थागततर्फको सिमा हटाएर स्वागतयोग्य काम गरेको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकले पनि यो नीति सेयर बजार र सरकारका लागि प्रभावकारी हुने बताएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संस्थागत लगानीकर्ताले नाफा कमाउँदा त्यसबाट सरकारले ३० प्रतिशत कर पाउने भएकाले संस्थागत लगानीकर्ताले पाउने कर्जाको सिमा हटाइएको बताए । ‘राष्ट्र बैंकले सरकारको नीतिलाई सहयोग गर्ने गरी पुँजी बजारमा जाने कर्जाको नीतिमा परिवर्तन गरेकाे छ, नयाँ मौद्रिक नीतिले संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरेको छ, संस्थागत लगानीकर्ता धेरै हुँदा सेयर बजार परिपक्व पनि हुन्छ,’ उनले भने ।

सिन्धु विकास बैंकका सीईओ गिरीले दिए राजीनामा

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) रामकुमार गिरीले राजीनामा दिएका छन् । सीईओ गिरीले आफ्नो व्यक्तिगत कारण जनाई गत साउन ६ गतेबाट आफ्नो पदबाट राजीनामा दिएको कम्पनीका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । साथै, साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सीईओ गिरीको राजीनामा स्विकृत गर्ने निणर्य गरेको हो । सोही बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसीलाई साउन १४ गतेबाट लागु हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निणर्य गरेको हो ।

अविरल वर्षासँगैको बाढीले उपत्यका जलमग्न (केही तस्बिर)

काठमाडौं । मंगलबार राति भएको अविरल वर्षासँगैको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् । नदी किनारका सडकहरु, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

असुसको एआई ल्यापटप नेपाली बजारमा

काठमाडौं । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो । नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रमका बिच उक्त ल्यापटप सार्वजनिक गरेको हो । तीन वटा प्रोसेसर सहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणि इन्टरनेशनलका निर्देशक अमित सराफले जानकारी दिए । उनका अनुसार असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चीपभन्दा पनि फास्ट रहेको छ । यसमा क्वालकमको ओरेन सिपियु र हेक्जागन एनपीयु (न्युरल प्रोसेसिङ युनिट) पनि रहेको उनले जानकारी दिए । एआई सुविधायुक्तले सिपियु र जीपीयुलाई फ्री गर्नेछ, जसले गर्दा एकै पटक धेरै काम गर्न उनको तर्क रहेको थियो । विन्डोज ११ अपरेटिङ सिस्टम रहेको यसमा १६ जीवी र्‍याम र एक टिभी एसएसपी स्टोरेज रहेको छ । ल्यापटपको र्‍यामलाई आवश्यकता अनुसार ३२ जाबीसम्म बढाउने सकिने नागमणिले जानकारी दिएको छ । ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याक अप दिने कम्पनीले जानकारी दिएको छ । यसमा आरजीबी किबोर्ड समेत राखिएको छ । असुस भिभोबुक एस १५ मा युएसबी, एचडीएमआई, बाइफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडर लगायत सुविधा समेत रहेको कम्पनीले जानकारी दिएको छ । असुस भिभोबुक एस १५ को मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको र उक्त ल्यापटपको २ वर्षको वारेन्टी अनि एक्सिडेन्ट ड्यामेज प्रोडेक्ट सेवा समेत रहेको कम्पनीले जानकारी दिएको छ । जुन सुविधा मार्फत ग्राहकले पहिलो वर्ष फिजिकल ड्यामेजको मर्मत शुल्कको ८० प्रतिशत सम्म छुट पाउन सक्ने नागमणिले जानकारी दिएको छ । यो सुविधा भने नेपालमा खरिद गरिएका ल्यापटपमा मात्र भएको समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त ल्यापटपमा विभिन्न अन्य सुविधा समेत रहेको छ । जसका कारण हाम्रा दैनिक जीवनका विभिन्न काम तथा गेमिङको दुनियाँमा यो ल्यापटपले अझ सुविधा दिने कम्पनीले विश्वास राखेको जानकारी दिएको छ ।