भव्य भवनभित्रको उकुसमुकुसको कहानी
काठमाडौँ । बाहिरबाट हेर्दा हरेक चिज सुन्दर लाग्छ । तर, भित्री कहानी र कथा उसको गहिराइमा पुगेपछि थाहा हुन्छ । यस्तै, सुन्दर भवनको एउटा कथा छ । चिटिक्क परेको ठूलो भवन । सडकमा हिँड्ने जोकोही मान्छेको ध्यान त्यो भवनको सुन्दरताले तान्छ । सडकमा हिँडने अधिकांशले भन्दा हुन्, ‘आहा ! कति राम्रो ।’ काठमाडौंको रानी पोखरीको ठ्याक्कै अगाडि एउटा विशाल सेताम्य भवन छ । त्यो विशाल भवन दरवार हाइस्कुलको हो । तर, अहिले दरबार हाइस्कुलभन्दा पनि त्यहाँभित्र अर्कै विद्यालय सञ्चालनमा छन् । अर्थात् दरबार हाइस्कुलको नाम परिवर्तन भएको धेरै भयो । यो भवन जति बाहिरबाट हेर्दा सुन्दर देखिन्छ, त्यसभित्र पसेर नियाल्दा अर्कै समस्या र सकसले बाँधिएको छ । त्यहाँका कर्मचारीले न ढुक्कले काम गर्न पाएका छन्, नत विद्यार्थीले शान्त वातावरणमा अध्ययन गर्न पाएका छन् । दरबार हाइस्कुलको भवनमा अहिले दुइटा विद्यालय सञ्चालनमा छन् । एउटा भानु मावि र अर्को संस्कृत मावि । कुनै पनि विद्यालयमा विद्यार्थीले स्वतन्त्र रूपले पढ्न, खेल्न र अतिरिक्त क्रियाकलाप गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । शान्त वातावरणमा पढ्नु र पढाउनु विद्यालय र शिक्षक दुवैको चाहना पनि हुन्छ । विद्यार्थीहरू घरभन्दा बढी विद्यालयमा रमाउन चाहन्छन् । साथी भाइसँग खुलेर खेल खेल्न चाहन्छन् । मज्जाले गफिन चाहन्छन् । तर, यो सेताम्य सुन्दर भवनभित्र अध्ययन गर्ने विद्यार्थी खेल्नु त परको कुरा हो, ठूलो स्वरले बोल्न समेत पाउँदैनन् । किनकि एउटा विद्यालयको विद्यार्थीले ठूलो स्वर गर्दा अर्को विद्यालयका विद्यार्थीलाई डिस्टर्ब हुने पीर त्यहाँभित्र छ । यो सुन्दर सेताम्य भवनभित्र छिर्ने गेट पालेदेखि विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको एउटै असन्तुष्टि र गुनासो छ, ‘एउटै भवनभित्र दुई विद्यालय सञ्चालन गर्न कठिन भयो ।’ तर, त्यो गुनासो सुनिदिने अहिलेसम्म भेटिएका छैनन् । भूकम्पले पुरानो संरचना भत्किएपछि २०७७ सालमा नयाँ भवनमा सरेको भानु मावि र संस्कृत मावि दुवै विद्यालयका विद्यार्थी र शिक्षकको माग अलग–अलग भवनबाट सञ्चालन गर्न पाउनु पर्ने हो । तर, यसको सुनुवाई कुनै पनि तहबाट हुन सकेको छैन । पुरानै भवनमा हुँदा राखेको दुवै विद्यालयको माग न काठमाडौं महानगरले पुरा गर्न सकेको छ नत शिक्षा मन्त्रालयले नै । दुवै विद्यालयकोे एउटै भनाइ छ, ‘कि मर्ज गरेर एउटै विद्यालय बनाउनुप¥यो कि छुट्टाछुट्टै संरचना हुनुप¥यो ।’ तर, फरक धार र फरक उद्देश्य बोकेका यी दुई विद्यालयबीच मर्जर पनि असम्भव नै छ । इतिहास बोकेका भानु र संस्कृत विद्यालय दरबार हाइस्कुलको भवनमा रहेका भानु माध्यामिक विद्यालय र संस्कृत माध्यामिक विद्यालयको ठूलो इतिहास छ । भानु मावि नेपालको सबैभन्दा पुरानो स्कुल हो । जहाँ राणाका छोराछोरीमात्र अध्ययन गर्न पाउँथे । त्यस्तै, संस्कृत मावि पनि नेपालको सबैभन्दा पुरानो संस्कृत विद्यालय हो । जहाँ राणाका नजिक रहने, ब्राह्मण, पुरोहित अथवा गुरुका छोराछोरी पढ्थे । विसं. १९१० सालमा जंगबहादुर राणाले आफ्ना परिवारका सदस्यलाई अंग्रेजी भाषाको अध्ययन गराउन थापाथलीमा दरबार हाइस्कुल स्थापना गरेका थिए । राणाहरूले आफ्ना छोराछोरीको लागि बनाएका स्कुलमा अरुले पढ्न पाउँदैनथे । राणाहरूले आफ्नो बालबच्चाका लागि विद्यालय बनाएपछि राणासँगै नजिक रहेका पुरोहित अथवा गुरुहरूले पनि आफ्ना बालबच्चाका लागि स्कुलको माग गर्दा संस्कृत विद्यालय स्थापना गरेको इतिहास छ । विसं. १९३४ सालमा रणोद्दिप सिंह राणाले रानीपोखरीमा रानीपोखरी पाठशाला स्थापना गरेका थिए । पछि वीर शमसेरले संस्कृत पाठशालाको अर्को तला थप्दै दरबार हाइस्कुललाई संस्कृत पाठशालाको भवनमै ल्याएर राखे । यसरी १९४८ सालमा दरबार हाइस्कुल संस्कृत पाठशाला एउटै भवनबाट सञ्चालन भएका थिए । त्यसपछि आजसम्म यी दुवै स्कुल एउटै भवनमा सञ्चालन हुँदै आएका छन् । वि.सं २०२४ सालपछि नाम फेरिएर दरबारहाइ स्कुलको सट्टा भानु माविमा परिणत गरिएको थियो । यसरी सँगसँगै इतिहास बोकेका विद्यालय एउटै भवनमा हुँदा न विद्यार्थीले राम्रोसँग पढ्न पाएका छन् न विद्यालयले कुनै शैक्षिक कार्यक्रम गर्न सकेका छन् । क्षमताभन्दा दोब्बर विद्यार्थी समयक्रम अनुसार विद्यालयका नाम फेरिए, संस्कृत पाठशालाको नाम संस्कृत माध्यमिक विद्यालय रह्यो, दरबार हाइस्कुलको नाम भानु माध्यामिक विद्यालय रह्यो । यी दुवै विद्यालयमा राणा परिवारभन्दा सर्वसाधारणका बालबालिका भर्ना हुँदै गए अहिले दुवै विद्यालयमा विद्यार्थीको बाक्लो चाप छ । विद्यार्थी भर्ना गर्न सक्दैनौं भन्दै अभिभावकमाझ हात जोडेर माफि माग्नु पर्ने बाध्यता शिक्षकहरुलाई छ । नाम फेरिएर विद्यार्थीको चाप बढे पनि विद्यालय भने एकै भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । वि.सं २०७२ सालको भूकम्पले पहिलेको संरचना भत्काएपछि अहिले नयाँ संरचनामा विद्यालय सरेका छन् । तर, न विद्यालयमा विद्यार्थीलाई खेल्ने ठाउँ छ, न कुनै शैक्षिक क्रियाकलाप गर्ने ठाउँ छ । करिब १ हजार विद्यार्थी अट्ने क्षमता रहेको भवनमा करिब २ हजार विद्यार्थी राख्नुपर्ने बाध्यतालाई विद्यालय छ । पदम बटाला । भानु माविका सहायक प्रधानाध्यापक पदम बटाला एउटै भवनमा दुइटा विद्यालय चलाउँदा अनुशासन कायम गर्नेदेखि शैक्षिक क्रियाकलाप गर्न पनि साह्रै गाह्रो भएको बताउँछन् । ‘यी दुई स्कुललाई कि मर्ज गरेको भए हुने, नभए संस्कृतलाई महानगरले कतै सार्न सकेको भए सहज हुन्थ्यो,’ उनी भन्छन्, ‘सम्बन्धित निकायमा गएर दुई/तीन पटक कुरा पनि राखिसकेका छौं । तर, यसले ठोस रुप लिएन, हामी ठूलो समस्यामा छौं ।’ समस्यै समस्या यो समस्या अहिलेको होइन, वर्षौँदेखिको हो । तर, नयाँ भवनमा सरेपछि समस्या झन बढेको संस्कृत माविका प्राचार्य शिवराज अधिकारीले बताउँछन् । एउटै विद्यालयमा हुँदा पहिले पनि समस्या थियो । तर, त्यो समयमा विद्यार्थीको संख्या कम थियो । विगतमा संरचना पनि केही फरक थियो । पहिलेको भवनमा एकतिर चेनगेट लगाइएको थियो । यति हुँदा अर्कोतिरका विद्यार्थीलाई प्रवेश गर्न गाह्रो हुन्थ्यो अथवा एउटै भवन भएपनि भित्रको संरचना केही स्वतन्त्र खालको थियो । तर, अहिले यो भवनमा सरिसकेपछि दुवैतिर विद्यार्थीलाई जानको लागि रोकतोक छैन । प्राचार्य अधिकारीका अनुसार एउटा विद्यालयले कुनै कार्यक्रम गर्नुपर्याे भने अर्को विद्यालयलाई सिधै डिस्टर्व हुन्छ । कहिलेकाँही स-साना कुराहरूमा पनि विद्यार्थीहरूबीच मनमुटाव हुन्छ । दुइटै विद्यालयको एउटै क्यान्टिन छ । महानगरले दिवा खाजाको व्यवस्था गरेको छ । नर्सरी देखि १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था छ । खाजा खाने क्यान्टिन पनि एउटै हुँदा र खाजा वितरण पनि एकैचोटी दिँदा क्यन्टिनले व्यवस्थापन गर्न सकिरहेको छैन । पटक-पटक गर्दा पनि एउटा विद्याथीको टोली खाँदै गर्दा अर्को विद्यार्थीको पठनपाठन हुँदै गर्दा उनीहरूको ध्यान क्यान्टिनमा हुने गरेको शिक्षकहरू बताउँछन् । विद्यालयमा खेल्न पाउनु विद्याथीको नैसर्गिक अधिकार हो । विद्यार्थीले विद्यालयमा नाच्न, गाउन, खेल्न उफ्रन पाउनुपर्छ । तर, यसो गर्दा अर्को विद्यार्थीलाई डिस्टर्व भइरहेको हुन्छ । यही कारणले दई विद्याल एकै ठाउँ हुँदा गाह्रो भएको छ । पहिले भानु मावि नर्सरी देखि १० सम्म थियो भने संस्कृत मावि कक्षा ६ देखि १० सम्म थियो । अहिले दुवैले कक्षा १२ सम्म कक्षा सञ्चालन गरिरहेका छन् । सम्पत्ति नै असुरक्षित दुवै विद्यालयले कक्षा ११ र १२ का कक्षाहरू बिहान सञ्चालन गरिरहेका छन् । कहिलेकाहीँ बिहानका विद्यार्थीलाई अबेरसम्म बस्नुपर्दा दिउँसोका विद्यार्थीलाई समस्या पर्ने गरेको छ । एक विद्यालयलाई समस्या पर्दा अर्को विद्यालयको कक्षाकोठा समेत प्रयोग गर्नु पर्ने बाध्यता छ । ‘हामीलाई कक्षा कोठाकै अभाव छ, कहिले भानुको कक्षा कोठा हामीले प्रयोग गर्नुपर्छ कहिले हाम्रो कक्षा कोठा भानुले प्रयोग गर्छ’ उनी भन्छन्, ‘यस्तो हुँदा दुवै विद्यालयको सम्पत्ति सुरक्षित हुँदैन, अहिले राखेका बोर्डहरू निकै महँगा छन् अर्काका विद्यार्थी भइसकेपछि हाम्रो सम्पत्ति होइन भन्ने भाव विद्यार्थीमा पनि जान्छ उनीहरूले सामान अनावश्यक चलाइदिने, डेस्क बेन्च भाँचियो भनेपनि एउटाले प्रयोग गरिरहेको हुन्छ अर्कोको सम्पतीको नाश भइरहेको हुन्छ ।’ कतिपय सामानहरू एउटा विद्यालयको अर्को विद्यालयको कक्षा कोठामा पुगिरहेको हुने उनीहरु बताउँछन् । आफ्नो सम्पत्ति व्यवस्थापन र सुरक्षित राख्न ठूलो चुनौती रहेको उनीहरू बताउँछन् । भवनको भागबण्डा एउटै भवनमा सञ्चालनमा रहेका यी दुवै विद्यालयको हिसाबकिताब छुट्टै छ । तर, स्वतन्त्र रुपमा दुवै विद्यालय चल्न सकेका छैनन् । भएको भवनको पनि भागबण्डा गर्नु परेको छ । पहिलेको भवनमा संस्कृत मावि भुइँतलामा थियो । अहिलेको भागबण्डामा पहिलो, दोस्रो र तेस्रो तलाको भ¥याङदेखि उत्तर खण्ड र चौथो तला संस्कृत माविले प्रयोग गरिरहेको छ । यस्तै, पहिलो, दोस्रो र तेस्रो तलाको भ¥याङदेखि दक्षिण खण्ड भानु माविले प्रयोग गरिरहेको छ । विद्यालयको भागबण्डा सम्झौता नै गरेको उनीहरु बताउँछन् । त्यो सम्झौताले पनि कतिपय कुरा मिलेको छैन । आवश्यकताका आधारमा एक अर्काको कक्षा प्रयोग गर्ने भइरहेका छन् । शिवराज अधिकारी । ‘यताको नपुग्दा उताकोले चलाउने उताको नपुग्दा यताकोले सामान प्रयोग गर्ने काम भइरहेको छ । तर, यसले समस्या सिर्जना गरिरहेको छ, बत्ति पानीकै कुरामा पनि समास्या छ, बिल एउटै आउँछ, कसले कति खर्च गरेको छ, त्यसको हिसाब नै हुँदैन, बिलको पैसा तिर्दा पनि समस्या नै हुने गरेको छ,’ अधिकारीले भने । विद्यालयले अतिरिक्त क्रियाकलाप गर्दा ठूलो समस्या हुने गरेको उनी बताउँछन् । विद्यालयका आन्तरिक समारोह, अभिभावक भेला यही कारणले गर्न नसकेको उनी बताउँछन् । ‘समस्याको सम्बोधन भएन’ दुवै विद्यालयले समस्या भोगिरहेको भन्दै विभिन्नन समयमा सम्बन्धित ठाउँमा नगएका होइनन् । शिक्षामन्त्रालयदेखि संघ, प्रदेश र स्थानीय तहमा पनि धाए । तर, समाधान यो समस्याको समाधान हुन सकेको छैन । यो विषयमा सम्बन्धित निकायको एउटै जवाफ छ, ‘जग्गा नै छैन ।’ काठमाडौंमा यति ठूलो विद्यालय चलाउन जग्गाको अभाव भएकोले समस्या समाधान हुन सकेको छैन । संस्कृत माविका प्राचार्य अधिकारी अब नेपाल सरकार मन्पिरिषदले यो समस्याधो सम्बोधन गर्नका लागि उचित कदम चाल्नु पर्ने उनी बताउँछन् । काठमाडौं महानगरबाट दुइटै विद्यालयलाई मर्जर गराउने विषयमा पनि छलफल नगरको होइन । तर, यी दुइटै विद्यालयको उद्देश्य र प्राथमिकता फरक भएकोले त्यो विषय सम्भव नभएको बताइएको छ ।
सरकारले स्रष्टाको सम्मान गर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्रष्टाहरुको सम्मान गर्ने बताएका छन् । एमाले साहित्य, कला तथा संस्कृति विभागले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको स्रष्टा भेटघाट तथा कृति लोकार्पण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले जनतामा जागरण ल्याउनका लागि स्रष्टाहरुले दिएको योगदान सदा स्मरणीय रहिरहने बताए । स्रष्टाहरुसँगको भेटघाट सर्वदा मिठो हुने टिप्पणी समेत गरे । जनवादी कलाकारहरु रामेश, रायन लगायतले जनचेतना अभिवृद्धिमा पुर्याएको योगदान अतुलनीय रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे । उनले भने, ‘म पुराना साथीहरुको योगदानहरुको सम्मान गर्न चाहन्छु, स्मरण गर्न चाहन्छु । अरु साथीहरुको मैले नाम उल्लेख गरिन होइन, अब कसको नाम उल्लेख गर्ने, कसको नगर्ने ? शुम्भ राईको उल्लेख गर्दा बमबहादुरको छुट्ला भन्ने डर ।’ एमालेले पछिल्लो केही वर्ष यतादेखि साउन १५ गते खिर खाने दिनको अवसर पारेर स्रष्टाहरुसँग भेटघाट गर्ने कार्यक्रम तय गर्दै आएको छ । प्रधानमन्त्री ओलीले सो कार्यक्रमले स्रष्टाहरुले देश र जनताका लागि दिएको योगदानको स्मरण गराउने जानकारी दिए ।
हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल नियुक्त
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा रञ्जना दहाललाई नियुक्त गरेको छ । साउन १५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको कार्यकारी (प्रबन्धक सञ्चालक) अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले १६ गतेबाट लागु हुने गरी आगामी चार वर्षको लागि उनको कार्यकाल रहने निर्णय गरेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै साउन २९ गतेबाट उक्त सेयरको लकइन अवधि सकिने भएको जनाएको हो । साबिक सानिमा लाइफका संस्थापक र कर्मचारीसँग रहेको सेयर हाल लकइनमा रहेको छ । कम्पनीका संस्थापकसँग रहेको १ करोड ४० लाख कित्ता र कर्मचारीसँग रहेको ३ लाख कित्ता सेयरको लकइन अवधि सकिने भएको हो । कम्पनीको सेयर रजिस्ट्रार सानिमा क्यापिटल रहेको छ । लकइन खुलेपछि यी दुवै समूहको सेयर कारोबारमा आउनेछ ।
यूएईमा मृत्युदण्ड सजाय सुनाइएका पहलमान र भुवन स्वदेश फर्किए
काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसुङगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरूले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान मगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । भुवन र पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुनअनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे । बिहान त्रिभुवन विमानस्थलमा ओर्लंदै पहलमानले आफूहरूले हत्या नगरेको भए पनि झुटो आरोपमा फसाइएको बताए । मृत्यु भएको साँझसँगै रक्सी पिएको भए पनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिएको बताए । उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियान्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् ।
पर्सामा एकै वर्ष २३२ साना तथा घरेलु उद्योग खारेज
फाइल फोटो वीरगञ्ज । गत आर्थिक वर्षमा पर्सामा २३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक संकटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरू घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले भने, ‘आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ, अर्कोतर्फ सरकारले आव २०८१/८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षौंदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन् ।’ उनले पछिल्लो समय घरेलु तथा साना उद्यम गर्र्ने उद्यमीलाई सहज रूपमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भइरहेको बताए । ‘अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलतातर्फ लगिरहेको छ, जसको कारण साना तथा घरेलु उद्योग मारमा परिरहेका छन्,’ उनले भने, ‘राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक छ ।’ पर्सा जिल्लामा आव २०७९/८० मा भने एक १७७ वटा साना तथा घरेलु उद्योग खारेजीमा परेका थिए ।
सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउन काम गरिरहेको छ : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताएका हुन् । सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको जानकारी दिए । यस्तै, उनले साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताए । यसको निम्ति कानून, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । ‘हाम्रो कोशिस के छ भने तपाईहरुलाई उत्साहका साथमा आफ्नो पेशामा, आफ्ना व्यवसायमा, आफ्ना उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्ने कुरामा हाम्रो ध्यान छ । त्यस उद्देश्यले हामी केही न केही गर्छौं’, उनले भने । उनले घरेलु तथा साना उद्योग व्यवसायीहरुले ऐन, कानूनमा सुधार गर्न चाहेको बुँदाहरुको सम्बन्धमा लिखित रुपमा सुझाव दिन पनि आग्रह गरे ।
टोलटोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक छैन : सभापति थापा
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् । मंगलबार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन् । उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताए । अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले बचत तथा ऋण सहकारी धेरै भएको जानकारी दिए । सभापति थापाले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताए । उनले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको बताए । सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए । बचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७/०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको जानकारी दिए । यस्तै, उनले काठमाडौंका टोलटोलमा बैंकका शाखा रहेकाले बचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताए । सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलापमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको बताए । सहकारीमा १४ करोडसम्म बचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा बचत गर्नु गैरकानूनी भएको जानकारी दिए । उनले १० लाख भन्दा बढी बचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरुले पाइने विषय राम्रो नभएको बताए । सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले बिगारेको बताए । समितिले छानबिन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको जानकारी दिए । ‘काठमाडौंका टोलटोलमा बैंक छन् । सहकारी किन चाहियो ? ठग्न ।सहकारीमा १४ करोडसम्म बचत गर्छ भने त्यो कानून विपरित हो । १० लाख भन्दा बढी बचत, १० लाख बढी बचत र फिर्ता गर्न पाइदैन’, उनले भने । उनले १२ वटासम्म एउटै मानिसको नाममा सहकारी दर्ता गरिनु खोजिको विषय भएको जानकारी दिए । सहकारीमा देखिएको अहिलेको गम्भिर समस्या सहकारी अभियन्ताहरुको पनि असफलता भएको बताए ।